काठमाडौं- बिहीबार मध्याह्नको एक बजे। नयाँ बानेश्वरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयमा पुग्दा त्यहाँ एक वृद्धा सेलरोटी र अचारले भरिएको कार्टुन बिसाउँदै थिइन्।
म सरासर एसपी कृष्ण कोइरालाको कक्षभित्र पसेँ। ‘नमस्कार सर’ भन्दै उनी त्यहीँ आइपुगिन्। विस्तारै थाहा भयो, उनी केही महिनाअघि अनलाइन ठगीको उजुरीसहित महाशाखा आइपुगेकी पीडित रहिछिन्। त्यसैले कोइराला सरसँग उनको पुरानै चिनजान रहेछ।
७० वर्ष टेक्दै गरेकी ती वृद्धाले भन्न थालिन्, ‘सर, अस्तिदेखि आउने भन्दा आउनै पाइनँ। ढिलै भएपनि घरमा आफैँ रोटी र अचार बनाएर ल्याएकी छु। सबैले यो आमाको प्रसाद सम्झेर खाइदिनुपर्यो।’
विभिन्न माध्यमबाट ठगिएकाहरु पछि रकम फिर्ता भएपछि लड्डु बोकेर आएको त कोइरालालाई थाहा थियो। तर, यसरी कार्टुनभरि सेलरोटी पकाएर ल्याउने पीडित चाँहि उनी पहिलो नै थिइन्।
प्रहरीप्रति किन यति अनुग्रहित भइरहेकी थिइन् त उनी? जिज्ञासा स्वाभाविक थियो।
‘उहाँको अनलाइनबाट ३० लाख रुपैयाँ ठगिएको थियो। साढे १७ लाख फिर्ता दिलाउन सफल भयौं। त्यही खुशीमा प्रसाद ल्याउनुभएको रे,’ एसपी कोइरालाले सेल बोकेर ल्याउनुको रहस्य प्रष्ट पारे।
काठमाडौंस्थित बाँसबारी घर भएकी उनी बिहान सबेरै उठेर सेल पकाउन जुटेकी रहिछिन्। ‘म आफैँले पकाएको, नपत्याए हेर्नुस् है’ भन्दै उनले हामीलाई तस्बिर नै देखाइन्।
आश मारेको पैसा आधा भएपनि १५ दिनअघि फिर्ता पाएकोमा औधी खुशी रहिछन् उनी। भन्दै थिइन्, ‘म त डिप्रेसनमै गइसकेकी थिएँ। एक रुपैयाँ फिर्ता आउँला भन्ने आश थिएन। तर पाएँ। यो सब प्रहरी सरहरुको मेहनेतले भएको हो। त्यसैले प्रसाद खुवाउन आ’को।’

संयोगले ती आमाको खुशीमा हामी पनि सरिक हुन पायौं। प्रसाद हामीलाई पनि खान जुर्यो।
मनकुमारी राजभण्डारी (नाम परिवर्तन) कसरी अनलाइनबाट ठगिन पुगिन्? सेल खुवाइसकेपछि हामीले उनीसँग जिज्ञासा राख्यौं। परिचय नखुलाइदिने सर्तमा उनी हामीसँग खुल्न तयार भइन्।
त्यसनपछि फर्किइन् ०७७ को माघतिर।
000
मनमाया काठमाडौंमा एक्लै बस्दै आइरहेकी थिइन्। कुनैबेला नजिककै सरकारी विद्यालयमा पढाउँथिन् उनी। भएका दुई छोरी ज्वाइँसँग अस्ट्रेलियामा बस्दै आइरहेका थिए।
यता उनले शिक्षण पेशाबाट अवकाश पाएको १० वर्ष भइसकेको थियो। अवकाशपछि अध्यात्म, योग त उनको साथी भएकै छ। सँगसँगै फेसबुक पनि समय कटाउने मेलो बनेको थियो।
०७७ माघतिर उनका केही साथीहरू अष्ट्रेलियाबाट नेपाल आएका थिए। तिनै साथीहरु भेट्न उनी हेटौँडा पुगेकी थिइन्। त्यही बेला फेसबुकमा उनलाई एकजना विदेशी नागरिकको 'फ्रेन्ड रिक्वेस्ट' आयो। नाम थियो– डाक्टर जोन लरेन्स। ठेगाना चाँहि जर्मनी।
त्यसपछि लरेन्सको म्यासेज आउन थाल्यो, अंग्रेजीमै। रिटायर्ड शिक्षिका रहेकी मनमायाले पनि अंग्रेजीमा रिप्लाई पठाउन थालिन्। परिचयबाट सुरु भएको उनीहरू गफगाफ विस्तारै गहिरो मित्रतामा परिणत भयो।
भिडियो कल गर्दा पनि उनी डाक्टरकै सेतो ड्रेसमा हुन्थे। वरिपरि अन्य कर्मचारी पनि देखाउँथे। त्यसैले लरेन्स फेक हुन् भन्ने कतैबाट पनि उनलाई लागेन। भन्छिन्, ‘लाग्ने छनक नै दिएन।’
०७८ को साउनमा उनीहरु साथी बनेको सात महिना भइसकेको थियो। यतिन्जेलसम्म लरेन्सले मनमायालाई कुनै ठगीका काम गरेका थिएनन्, बस् प्रेम र सम्मान प्रकट गरेका थिए। बरु भन्थे, ‘म डिभोर्सी हुँ।’
तर, साउनतिर एक्कासी उनले आफूले भारतको दिल्ली आइपुगेको म्यासेज गरे। अनि दिल्ली पुगेको एक महिनापछि अचानक कहिल्यै नगरेको प्रस्ताव गरे, ‘मेरो यहाँ एटीएम चलेन। मलाई खान बस्न पैसा पुगेन। पैसा पठाइदिनू न, म जर्मनी पुग्नेबित्तिकै फर्काइदिन्छु।’
सुरुमा त मनमायालाई पनि विश्वास लागेन। तर, लगातार १०-१५ दिनसम्म अनुरोध गरेपछि उनी पैसा पठाउन तयार भइन्। भन्छिन्, ‘हामी महिलाको मन न हो, साँच्चै बिजोग भयो कि भन्ने लाग्यो। त्यसपछि २५ हजार भारु पठाइदिएँ।’
तर, अब लरेन्सलाई यतिले के पुगोस्! यसैगरी अप्ठेरो पर्यो भन्दै चार पटकसम्म उनले मनमायासँग रुँदै,भावुक हुँदै अनि जर्मनी पुग्नेबित्तिकै फर्काइदिन्छु भन्दै पैसा मागिरहे। मनमायाले पनि सहजै विश्वास गरिन्। ठानिन्, साँच्ची इन्डियामा एटीएम नचलेर अप्ठेरो परेको हुन सक्छ। त्यसैले चार पटकसम्म २५-२५ हजार भारु पठाइदिइन्।

त्यसको केही दिनपछि लरेन्सले उनलाई म्यासेज पठाए, ‘म जर्मनी फर्किदै छु है।’
जवाफमा उनले लेखिन्, ‘ल राम्रो जानुस्, फर्केर पैसा पठाइहाल्नुस् है।’
मनमायाले त्यो पैसा खोजखाज गरेर पठाएकी थिइन्। तर, फर्केको केही दिनसम्म लरेन्सले नियमित च्याट त गरे, तर पैसा पठाउने कुरै गरेनन्।
अति भएपछि मनमाया आफैले म्यासेज पठाइन्, ‘मलाई खोइ त पैसा पठाउनुभएको? मलाई यहाँ अप्ठेरो भइसक्यो।’
जवाफमा रिप्लाइ आयो, ‘डन्ट वरी, म पैसा पठाउँदैछु, अहिले अन द वे छु, तिम्लाई पैसा पठाउनकै लागि एयरपोर्ट जाँदैछु।’
मनमायालाई विश्वास लागेन। तर, उनले पैसैपैसाले भरिएको सुटकेससहितको भिडियो र फोटो नै पठाए। जहाँ दुइटा सुनको लकेट पनि थियो।
मनमायालाई सुरुमा ह्वाट्सअप भनेको थाहा थिएन। तर, लरेन्सले फेसबुकभन्दा ह्वाट्असअप राम्रो र सुरक्षित भन्दै खोल्न लगाए। मनमायाले सिक्न खोजिन्, तर जानिनन्। त्यसपछि नजिकैको साइबर पुगेर पनि सिकेरै छाडिन्। त्यसपछि उनीहरुको संवाद बढीजसो ह्वाट्सअपमै हुन्थ्यो। लरेन्सले सुटकेसको फोटो/भिडियो पनि ह्वाट्सअपमै पठाएका थिए।
लरेन्सले एयरपोर्ट गइरहेको त बताए तर मनमायाको हातमा कुनै सुटकेस आइपुगेन। बरु भोलिपल्ट नयाँ नम्बरबाट फोन आयो। उसले फोनमा भन्यो, ‘नमस्कार, इन्डियाबाट बोल्दैछु। तपाईलाई ह्वाट्सअपको प्रतिष्पर्धाबाट १ लाख ५० हजार पाउन्ड चिठ्ठा परेको रहेछ। अब पार्सल लिनलाई निश्चित प्रक्रिया पुरा गर्नुपर्छ। निश्चित चार्ज तिर्नुपर्छ। यसका लागि राना प्रतावलाई फोन गर्नुहोला।’
राना प्रताव पनि भारतीय नागरिक नै रहेछन्।
कसरी पो चिठ्ठा पर्यो! मनमाया आश्चर्यमा परिन्। त्यहीक्रममा उता जर्मनमा लरेन्ससँग सम्पर्क भयो। उसलाई यो सब सुनाइन्। उनले ‘चिठ्ठा साँच्चै परेको हो, मैले नै यताबाट पठा’को हो’ भन्दै झन् आश्वास्त पारिदिए।
त्यतिमात्रै होइन, उनले त चिठ्ठासँगै थप उपहार पनि पठाएको भनेर झन् लोभ देखाए। मनमायाले ‘यस्तो केही पर्दैन, मलाई मेरो पैसा गरिदिए पुग्छ’ भनिरहिन्।
तर, लरेन्स थाकेनन्। अनेक आश्वासन बाँड्दै कन्भिन्स गरेरै छाडे। ‘यो चिठ्ठाको रकम आइपुगेपछि तँलाई गाडी, घर सबथोक किन्ने पैसा पुग्छ। त्यसपछि म पनि छोरीलाई लिएर नेपाल घुम्न आउँछु,’ भन्नसम्म भ्याए उनले।
त्यसपछि भन्न थाले, ‘भारतीयहरुले ठग्छन् है, त्यसैले उनीहरु कुरा नसुन्नु। म जे जे भन्छु, त्यहीअनुसार गर्नु। पैसा घरमै आइपुग्छ।’
सुरुमा डेलिभरी चार्ज भन्दै एक लाख रुपैयाँ पठाउन भने। मनमायाले मानिनन्। ‘चार्ज लाग्ने पैसा, त्यही उपहारबाट काटेर पठाए भइहाल्यो नि,’ उनले भनिन्। तर, अफिसको नियमले मिल्दैन भन्दै लरेन्स कन्भिन्स गरेरै छाडे।
यही समयमा उता दिल्लीबाट राना प्रताप भन्नेको फोन पनि आयो।स्ट्यान्टर्ड चाटर्ड बैंक अगाडी उभिएको फोटो पठाउँदै उसले भन्यो, ‘अरुको कुरा नमान्नु है, मैले भनेको मात्रै मान्नु, अनि चिठ्ठा सकुसल घरसम्मै आइपुग्छ।’
तर, लरेन्स धेरैअघि फेसबुकमा जोडिएको साथी थिए। त्यसैले मनमायाले उनैलाई बढी विश्वास गरिन्। ७० लाखसम्म कर लगायत अनेक चार्ज तिर्नुपर्नेसम्म कुरा आयो। उनी तर्सिन्थिन्। तर, लरेन्सले घर, गाडी र सानदार जीवनको सपना बाँड्दै सम्झाइहाल्थे।
सुरुमा उनले १ लाख रुपैयाँ रकम पठाइदिइन्। शर्मिला दाहाल नाम गरेकी युवतीको नामको ज्योती विकास बैंकको खातामा रकम जम्मा गरिदिइन्। तर, जितेको पुरस्कार आइपुगेन।

कहिले के कर पुगेन, कहिले पार्सलमा सिक्का भेटिएपछि प्रहरीले एयरपोर्टमा पक्राउ गर्यो, त कहिले के चार्ज पुगेन भन्दै अनेक बहानाहरुचाँही आइरह्यो। शर्मिलाको खातामा मात्रै उनले १० लाख रुपैयाँ जम्मा गरिन्। तैपनि पुगेन। कहिले २ लाख, कहिले ४ लाख, कहिले ६ लाख त कहिले १० लाख गर्दै गर्दै उनले २९ लाख ४० हजारसम्म रकम पठाइदिइन्।
एक लाख पठाइसकेपछि त पैसा नगुमोस् भन्ने लोभमा पनि उनले लरेन्सले भनेअनुसार पैसा पठाइरहिन्। बीचमा एकपटक मनमायाले लरेन्सलाई रिसाउँदै भनिन्, ‘मलाई तनाव भयो। बरु चिठ्ठाको रकम चाहिएन, मेरो लागेको पैसाचाँही रिटर्न गरिदिनु।’
लरेन्सले फेरि छोरीको कसम नै खाएर फकाउन थाले, ‘मैले तिम्रै लागि सोचेको हो, तिम्र्रै भविष्य राम्रो हुने हो। त्यसैले ऋण खोजेर भएपनि पठाउनु।’
कान्छी छोरीलाइ अष्ट्रेलिया पठाउने भनेर मुद्दतीमा राखेको पैसा थियो, त्यो पनि पठाइन्। आफ्नो गरगहना त छँदैछ, साथीभाइलाई आफूले चिठ्ठा जितेको कहानी सुनाउँदै उनीहरुको गरगहना धितो राखेर पैसा पठाइन्। तर, उपहार आएन। बरु पैसा पुगेन भन्दै फोन र म्यासेजचाँही आइरह्यो।३५ लाखसम्म त ऋण काढेर पनि पुर्याउने योजनामा थिइन् मनमाया। तर, जब २९ लाख ४० हजार पुग्यो, त्यसपछि थप रकम माग्नका लागि अष्ट्रेलियामा रहेकी कान्छी छोरीलाई फोन गरिन् । कुराकानीको क्रममा उनले चिठ्ठा परेको अलिकति संकेत गरिन्।
त्यो सुन्नेवित्तिकै छोरीले हप्काउँदै भनिन्, ‘मान्छेको कति पैसा डुबिराछ, तपाई पनि त्यस्तै गर्दै हिड्नु भा’छ कि क्या हो !’
सायद छोरीको कुरा सुनेपछि मनमायाको आँखा खुल्यो। उनले पैसा पठाउन बन्द गरिन्। भन्छिन्, ‘ कान्छी छोरीले नभनेको भए म त अझै ऋण खोज्थेँ होला। त्यो लरेन्सले मलाई यसरी कन्भिन्स गर्थ्यो कि म त उसले जे भनेपनि पत्याउने भइसकेकी थिएँ।’
त्यसपछि लरेन्ससँग आफ्नो सबै पैसा फिर्ता माग्ने अनेक म्यासेज गरिन् मनमाया। तर, अहँ एक पैसा आएन। उनले त माया मारिसकेकी थिइन्। ऋण र गरगहना सम्झेर डिप्रेसनमा पुगेकी थिइन्। न भोक, न निन्द्रा । ‘चिन्ताले पुरै दुब्लाइसकेको थिएँ,’ उनले भनिन्, ‘एकदिन नजिकैको एक जना दाइलाई आफ्नो यो तनाव सुनाए। उहाँले हामीलाई किन नभनेको भन्दै गाली गर्नुभयो। अनि अपराध महाशाखामा उजुरी गर्न भन्नुभयो। त्यसपछि मात्रै म उजुरी गर्न आएको हुँ। नत्र त माया मारिसकेको थिएँ।’
कार्तिकतिर उनले तत्कालिन महानगरिय प्रहरी अपराध महाशाखामा उजुरी दिएकी थिइन्। उजुरी दिएपछि एकपटक अर्कै एक व्यक्तिले इन्डियाबाट फोन गर्दै उजुरी फिर्ता लिन दबाब पनि दिए । ‘पैसा फिर्ता गर्दिन्छ, उजुरी फिर्ता लिनु,’ फोन गरेर यसै भनेका थिए।
मनमायाले प्रहरीकहाँ पुगेपछि थाहा पाइन्, यि सबैको कनेक्सन रहेछ, सबै मिलेर उनलाई ठग्ने योजना बनाएका रहेछन्।
आमा ठगिएको थाहा पाएपछि अष्ट्रेलियामा रहेका छोरी ज्वाइँ पनि दुःखी भए। यसले आमालाई झन् दुःखी बनायो। यही क्रममा ठगिएको करिब पाँच महिनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई १७ लाख रुपैयाँ फिर्ता गराउन सफल भयो। १५ दिनअघि मात्रै उनले उक्त रकम फिर्ता पाइन्।
‘उहाँको घटना प्रविधिको दुरुपयोग गरेर भइरहेको ठगीको एउटा प्रवृत्तीमात्रै हो। यहाँ दिनहुँ अनलाइनबाट ठगिएका यस्तो थुप्रै उजुरी आउने गर्छन्,’ एसपी कोइरालाले भने।
मनमायाको रकम कसरी फिर्ता गराउन सफल भइयो?
हाम्रो जिज्ञासामा एसपी कोइरालाले विस्तृत खुलाउँदै भने, ‘उहाँले आइएमई गरेर पठाएको रकम फिर्ता ल्याउन त गाह्रै हुन्छ। तर उहाँलाई कतिपय रकम ठगले नेपाली बैंक खातामा जम्मा गर्न लगाएको रहेछ। तिनै खातावाललाई सम्पर्क गर्दा एकजना महिलाले ‘मेरो श्रीमान् दुबईमा हुनुहुन्छ, उहाँले गान्धी पण्डित गौतमकोमा १० लाख तिर्नु थियो, त्यहीँ हाल्दिनुभएको हो,’ भनिन्। अर्की एक महिलाले पनि श्रीमानले विदेशबाट घर खर्च भन्दै साढे ६ लाख हाल्दिएको कुरा गरिन्।’
‘यसो बुझ्दा हुन्डी कारोबारीको पनि अनलाइन ठगहरुसँग कनेक्सन छ कि भन्ने देखियो,’ उनले थप प्रष्ट पारे, ‘त्यसैले ति महिलाहरुलाई हामीले विदेशमा रहेका आफ्ना श्रीमान्लाई तपाईले पैसा कसलाई दिनुभएका थियो त्यो सोध्नु भन्यौं। पक्कै कुनै हुन्डी कारोबारीलाई दिएका थिए। नत्र यस्तो हुन्थेन। तर, उनीहरुले टेरेनन्। अन्तिममा हामी मुद्दा प्रक्रिया जाने भएपछि उनीहरु पैसा फिर्ता गर्न तयार भए। यसरी मिलापत्र भएपछि आमाले साढे १७ लाख फिर्ता पाउनुभयो। त्यही खुशीयालीमा उहाँ हामीलाई प्रसाद लिएर आउनुभयो।’
