मंगलबार, असोज ११, २०७९

दरबारमा कपाल काट्ने तेस्रो पुस्ता महेन्द्र ठाकुर, जसले राजपरिवारसँग खिचेका तस्बिर बागमतीमा बगाए

राज सरगम  |  काठमाडौं, शनिबार, फागुन १४, २०७८

राज सरगम

राज सरगम

शनिबार, फागुन १४, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– २०४५ साल भदौ पाँच गतेको बिहान। पूर्वी नेपालको उदयपुर जिल्लास्थित मुर्कुची भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो, जसको झड्का नेपालभर थियो। ६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करिब साढे सात सय मानिसले ज्यान गुमाएका थिए। साढे ६ हजारभन्दा बढी घर ध्वस्त भएका थिए। पूर्वी नेपालमा भूकम्पको तरंग रोकिन नपाउँदै राजदरबारमा अर्को भूकम्प जाने डर थियो। त्यो हो– निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध जनआन्दोलन।

विभिन्न राजनीतिक दलहरु बहुदलीय व्यवस्था पुनर्बहाली गर्न र पञ्चायती सरकारको विरुद्ध सडकमा उत्रिन जनआन्दोलनका लागि तयारी गर्दै थिए। राजसंस्था पनि यो जनआन्दोलनलाई दबाउन २०४५ बाटै गाउँगाउँमा भएका युवाहरु बटुलेर सेनामा भर्ती गर्ने अभियानमा थियो। यही सिलसिला सिरहा जिल्लाको धनगढी गाविसमा पनि चल्यो।

राजतन्त्र निकट रहेका नयनबहादुर मोक्तान सिरहा धनगढीका युवाहरु बटुलेर लहानबाट काठमाडौं ल्याउन बसमा चढाइरहेका थिए। ५० रुपैयाँको टिकट काटेर मोक्तानकै टोलीमा १५ वर्षीय महेन्द्र ठाकुर पनि मिसिए। घरमा कसैलाई थाहा नदिई राजतन्त्र निकट हुन हिँडेका महेन्द्रको काठमाडौं पुगेपछि बाटो बदलियो। मोक्तानको आँखा छलेर नयाँ बानेश्वर चोकनिरै रहेको ‘एभरेष्ट हेयर ड्रेसर’ भन्ने सैलुनमा पसे महेन्द्र। त्यहाँ कपाल काटिरहेका रामशिष ठाकुरलाई भेटे। सप्तरी राजबिराज स्थायी घर भएका रामशिषसँग आफू पनि ठाकुर भएको कुरा राखे। रामशिषले कपाल काट्ने काम दिएपछि महेन्द्रलाई ढुंगा खोज्दा देउता भेटेजस्तो भयो।

एभरेष्ट हेयर ड्रेसरको भित्री कोठामा रात काट्ने र दिनमा काम सिक्ने गर्न थाले महेन्द्रले। पुर्ख्यौली पेशा भएकाले केही केही महिनापछि कपाल काट्ने कलामा पारंगत भए उनी। एभरेष्ट हेयर ड्रेसरमा कपाल काट्न तत्कालिन जर्नेलहरु देवेन्द्रबहादुर बस्नेत र मीनशमशेर राणा पनि आउने गर्थे। उनीहरुको कपाल कटाइसँगै चिनजान पनि भयो। महेन्द्रले आफ्नो बुवा जामुन ठाकुरको नाम लिए। जामुनको नाम सुनेर देबेन्द्रबहादुर बस्नेतले महेन्द्रलाई सेनामा भर्ती हुन सल्लाह दिए।

एक वर्षपछि २०४६ सालमा पञ्चायती व्यवस्थाका विरुद्ध विभिन्न राजनीतिक दल र जनता सडकमा थिए। महेन्द्र भने देबेन्द्र बहादुर बस्नेतको पछिपछि नारायणहिटी दरबारतिर लागे।

नारायणहिटी दरबारमा पुगेपछि महेन्द्रलाई सपनाजस्तो भयो। मधेशबाट आएको किशोर, जसलाई नेपाली समेत शुद्ध बोल्न गाह्रो थियो। तर, महेन्द्र ठाकुर शाही सेनामा भर्ती हुन तयार भए।

राजतन्त्र निकट रहेका नयनबहादुर मोक्तान सिरहा धनगढीका युवाहरु बटुलेर लहानबाट काठमाडौं ल्याउन बसमा चढाइरहेका थिए। ५० रुपैयाँको टिकट काटेर मोक्तानकै टोलीमा १५ वर्षीय महेन्द्र ठाकुर पनि मिसिए।

‘पहिला त अन्योलमा परें। पछि पचास रुपैयाँको फारममा दुई रुपैयाँको टिकट टाँसेर भर्न लगाए, भरें। त्यसपछि म सेनाको मान्छे भएँ,’ महेन्द्रले सम्झिए। राजतन्त्र निकट व्यक्ति मोक्तानको आँखा छलेर भागेका महेन्द्र आखिरमा शाही सेनाका लागि दरबारमा कपाल काट्ने दरबन्दी पाए।

नौ महिना सेनाको तालिम लिए। नारायणहिटी दरबारको उत्तरी गेटको किनारमा क्वार्टर पाए। एकदिन जर्साब देबेन्द्रबहादुर बस्नेतले राजाको कपाल काट्ने कुरा सुनाए। महेन्द्र अक्क न बक्क भए। राजालाई फोटोमा मात्रै देख्दै आएका महेन्द्रका लागि सपना जस्तै भयो त्यो।
‘सक्छौ नि कपाल काट्न?’ जर्साबले सोधे।
‘सक्छु’ उनले ढुक्क भएर भने।

तालिम र दरबार परिसरभित्रको बसाइले उनको आत्मबल बढेको थियो। आफ्ना सबै सामान मिलाएर उनी जर्साबकै पछिपछि गए। शान्त र शालिन राजा वीरेन्द्र कुर्सीमा आएर बसे, महेन्द्रले कपाल काट्न थाले। ‘पहिलो भेटमा अलिकति डराएझैं भएको थिएँ। केही भन्नुहुन्छ कि भन्ने लाग्यो। तर मौसुफले केही भन्नुभएन,’ महेन्द्रले सम्झिए।

१५ वर्षको ठिटोलाई राजाको कपाल काटेर फर्किएको रात अबेरसम्म निद्रा लागेन। उनले राजकुमार दीपेन्द्र र निराजनको कपाल पनि काटे। निराजन र दीपेन्द्र भने कपाल काट्दा बोल्ने गरेको उनी सम्झिन्छन्, ‘निराजनले टुप्पी राख्न भन्नुभएको थियो तर दीपेन्द्र भने सिम्पल आर्मी कट नै काट्नुहुन्थ्यो।’