बिहीबार, जेठ १२, २०७९

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

राज सरगम  |  काठमाडौं, बुधबार, पुष २८, २०७८

राज सरगम

राज सरगम

बुधबार, पुष २८, २०७८, काठमाडौं

नेपाल समय
अनामनगरमा भत्काइएको मण्डला थिएटर र सोही मण्डलाको भर्‍याङमा बसेका दयाहाङ राई र राजन खतिवडा। तस्बिर : दयाहाङ राईको फेसबुक

पुस २३ गते दिउँसो रंगकर्मी अनुप न्यौपानेले सामाजिक सञ्जालमा अनामनगरस्थित मण्डला थिएटरको भग्नावशेष भिडियोसहित एक स्टाटस लेखे– 

यो मञ्च थियो 

हामी नाटक गर्थ्यौं

हो, यो संसारका हरेक कुरा नाशवान छ। 

जस्तै – हामी!

अब अनामनगरस्थित मण्डला थिएटर रहेन। त्यो थापागाउँको लाखेचौर मार्गतिर सरेको छ। अनामनगरमा रहेको मण्डला थिएटरको भौतिक संरचनाको अस्तित्व सकिएको छ। थिएटर त्यहाँबाट अन्यत्र सरे पनि अनामनगरमा हुँदा त्यसले स्थापना गरेको पहिचान भने अलग्गै छ। 

थिएटरमा रंगकर्मी र दर्शकको बाक्लै आउजाउ हुन्थ्यो। आसपासका चियापसल भरिभराउ हुन्थे। लेखक, कलाकार तथा रंगकर्मीको भेटघाटले सिंहदरबारको पूर्वीगेट गुलजार देखिन्थ्यो।  

६० को दशकतिर अनामनगर कलाकर्मीको जमघट हुने थलो बन्दै गएका बेला मण्डला नाटकघरले त्यसमा ‘चार चाँद’ लगाइदिएको थियो। अब त्यहाँ थिएटर खोज्दै जाने छैनन् दर्शक। तर रंगकर्मीको मनमा भने अनामनगरस्थित मण्डला थिएटर बाँचिरहनेछ। 

०००

सन् २००८ तिर रंगमञ्चमा लागेका उत्साही युवाद्वय दयाहाङ राई र राजन खतिवडाको समूह निरन्तर रंगमञ्चमा सक्रिय थिए। यस्तैमा गुरुकुल नाटकघर भत्कियो। कलाकारमा बेचैनी बढ्यो। तब मण्डलाको परिकल्पना गरे राजन र दयाहाङले। यो समूहले चार वर्षको निरन्तर प्रयासपछि सन् २०११ को डिसेम्बरमा जग हाल्यो मण्डला नाटकघर। ठिक एक वर्षपछि अर्थात् २०१२ नोभम्बरबाट विधिवत् सुरु भयो। २२ लाख रुपैयाँ खर्चिएर दुई सय दर्शक अटाउने मण्डला नाटकघर बनाइएको थियो। 

सत्यमोहन जोशीको ‘सुनकेशरी’ सँगै उद्घाटन भएको मण्डला थिएटरले बितेका दस वर्षमा दयाहाङलाई मात्रै ‘स्टार’ बनाएन अन्य कलाकारलाई पनि स्थापित गराएको छ। त्यति मात्रै होइन नाटकलाई थप व्यावसायिक बनाएको छ रंगकर्मी सोमनाथ खनाल भन्छन्, ‘व्यावसायिक थिएटरको सुरुवात मण्डलाबाटै भएको मान्नुपर्छ।’

दयाहाङ आफूलाई अहिलेको अवस्थामा पुर्‍याउन मण्डलाकै भूमिका रहेको स्वीकार्छन्। उनको ‘करिअर’को ‘टर्निङ पोइन्ट’ नै हो मण्डला थिएटर। अभिनेता राईलाई सोही थिएटरले उचाइमा पुर्‍यायो। संघर्षका दिनमा उनलाई मण्डला फाप्यो। उनी भन्छन्, ‘सबैको समन्वयले मण्डला बनेको थियो र अहिले पनि त्यस्तै हो।’

‘मण्डला हराएर जान भत्किएको होइन तर पुरानो घरको स्मृति सजिलै कहाँ बिर्सिन सकिन्छ र?’

आफूले बनाएको चिज भत्किँदा मन कटक्क खान्छ नै। राईलाई पनि यस्तै भएको छ। उनी भन्छन्, ‘मण्डला हराएर जान भत्किएको होइन तर पुरानो घरको स्मृति सजिलै कहाँ बिर्सिन सकिन्छ र?’ अभिनय यात्रालाई निरन्तरता दिन सघाएको थिएटरले फड्को मारे पनि उनको आधार त मण्डला नै हो। भन्छन्, ‘अझै फराकिलो योजनाका साथ काम गर्न खोजेकाले अनामनगरबाट सर्नुपरेको हो।’

अनामनगरको मण्डला थिएटर अगाडि रंगकर्मीहरु बुद्धि तामाङ, विपिन कार्की, दयाहाङ राई र विजय बराल। तस्बिर : दयाहाङ राईको फेसबुक।

दर्जनौं चलचित्रको मिटिङ उनले मण्डलामा राखेका थिए। ‘डिग्री माइला’, ‘मीतज्यू’, ‘झ्यालिन्चा’ देखि ‘महाभोज’ जस्ता नाटक उनले मण्डलामै मञ्चन गरे। चलचित्र र नाटकमा सँगसँगै काम गर्दै आएका दयाहाङ नयाँ थिएटर बनाउने भौतिक र आर्थिक दुवै व्यवस्थापन गर्न सक्ने आँट मण्डलाबाटै आएको बताउँछन्। उनी भन्छन्, ‘त्यही जगले यहाँसम्म आउन आँट आएको हो।’

सधैं गइरहेको ठाउँ छोडेर अर्को ठाउँ जान झट्ट बानी पर्दैन। बानी पर्न समय लाग्छ नै। रंगकर्मीलाई जस्तै दशर्कलाई पनि नयाँ ‘लोकेसन’मा पुग्न केही अप्ठ्यारो भइहाल्छ। 

राईका सहकर्मी रंगमञ्चका अभिनेता तथा निर्देशक राजन खतिवडाको मनमस्तिष्कबाट अनामनगरस्थित नाटकघर छुटेको छैन। शुक्रबार मण्डला जान घरबाट निस्किएका उनी एकसुरले अनामनगर पुगेर गाडी रोके। गाडी रोकेर अनामनगर झरेपछि थाहा पाए – गलत ठाउँ आइयो। मण्डला त अहिले थापागाउँ पो छ। राजन भन्छन्, ‘घरबाट मण्डला जान्छु भनेर हिँडेको अनामनगर मण्डला पुगेछु जहाँ संरचना छैन।’

मण्डला थिएटरसँग थुप्रै कुरा जोडिएको बताउँछन् राजन। सिर्जनात्मक थलो भत्किन पुग्दा थुप्रै सिर्जना भत्किन पुग्छन्। उनका लागि अनामनगरको मण्डला थिएटरको संरचना भत्किनु कुनै कालिगढले बनाएको मूर्ति भत्किएजस्तो हो। उनी भन्छन्, ‘तमाम कलाकारको इनर्जी खेर गएको छ।’

संरचना भत्किए पनि कतै सर्दैछ भन्ने विश्वासका कारण चित्त राख्ने ठाउँ पाएको बताउँछन् उनी। संघर्षका सुरुवाती दिन अनामनगरस्थित मण्डलासँग जोडिएका छन्। उनी भन्छन्, ‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’

धेरै कलाकारले खर्चिएको ऊर्जा सकिए पनि दिमाग र शरीरलाई समातिरहेको छ अनामनगरस्थित मण्डला थिएटरले। 

नाटकमार्फत सामाजिक कामको थालनी मण्डलाबाट गरेको बताउँछन् राजन। त्यसैले गुमेकोमा पीडाबोध हुन्छ उनलाई। मानिसका लागि ‘कनेक्सन’ भएको ठाउँ थियो। राजनले अनामनगरस्थित मण्डलाबाटै ‘ट्रक नाटक’, ‘मोबाइल नाटक’, ‘प्लेब्याक नाटक (चौतारी नाटक)’ नाटकको प्रयोग गरे। दर्शक बटुल्न सफल रह्यो। 

यत्रो थिएटर घर भत्किँदा पनि सरकार बेखबर भइदियो। यत्रो कला मन्दिर भत्किँदा कम्तीमा सरकार मातहतको नाट्य एकेडेमीले केही चासो नलिएको गुनासो गर्छन् राजन। भन्छन्, ‘कलाकारको मेहनतलाई सरकारले हौसला दिएन। चासो नदिएपछि कसको के लाग्छ?’

कवि विप्लव प्रतीक मण्डला गइरहन्थे। उनकै समन्वयमा धेरै अन्तर्राष्ट्रिय कलाकार त्यहाँ पुग्थे। उनले अनुवाद गरेका नाटक मञ्चन पनि भए। र धेरैपटक उनले कविता पनि वाचन गरे। 

संसारमा कुनै पनि चिज स्थायी हुँदैन। त्यसैले अन्त्य निश्चित छ। तर कवि प्रतीक बिरालोले बच्चा सारेझैं सार्नुपरेकोमा दुःख व्यक्त गर्छन्। उनी स्थायी हुन नसक्नुका कारण सरकार ठान्छन्। भन्छन्, ‘हाम्रो काम हिँडिरहने हो। आफ्नो कर्म गर्न छोडिन्न अब सरकारले थिएटर घर बनाउने संरक्षण गर्ने काम गर्नुपथ्र्यो तर कलाकारले गर्नुपरेको छ। यो दुःखद हो।’

सहरमा नाटक हेर्न मन भयो कि अनामनगरको मण्डला नाटकघर सम्झिने दिन थियो। अब त्यो सम्झनामा मात्रै रह्यो। मण्डला नाम लिएर नाटकघर थापागाउँ सरे पनि अनामनगर मण्डला थिएटर सम्झिनेको बाक्लो भीड छ। 

‘निकै दुःखले मण्डला थिएटरको संचरना बनेको थियो’, रंगकर्मी सोमनाथ खनालले भने। एक दिन मण्डला भत्किन्छ भन्ने मानसिक रुपमा तयार थिए केही रंगकर्मी। गुरुकुलको अवस्थालाई नजिकबाट देखेका खनालका लागि मण्डला भत्किनु खासै नौलो होइन। उनी भन्छन्, ‘गुरुकुल, थिएटर भिलेज, थिएटर मल र  मण्डला भत्कियो। चोला फेर्नुपर्दोरहेछ।’

मण्डला भत्काउँदै गर्दा उनी गएनन्। उनलाई जाने हिम्मतै आएन। दुःखले बनाएको मण्डला आफ्न खुट्टामा उभिन खोज्दाखोज्दै भत्कियो। आस्थाको मन्दिर भत्किएकोजस्तो लाग्यो खनाललाई। 

‘नचाहेरै भत्काउन लगाइयो, सधैं साँघुरोमा पनि बसिरहन सकिँदोरहेनछ। नाटक गर्ने र नाटक भाडामा दिने काम मात्रै भएको थियो’, उनी भन्छन्, ‘भत्किँदाचाहिँ इँटामा घनले हानेको जस्तो भयो।’

दयाहाङ र राजनसँगै सिर्जना सुब्बा, सिर्जना अधिकारी, उमेश तामाङ, सुलक्षण भारती, सोमनाथ खनाल, बुद्धि तामाङ, विजय बराल, निश्मा घिमिरे, सरिता गिरी, हीरा बिजुली नेपाली, किरण चाम्लिङ राई लगायतका कलाकार मण्डला सँगसँगै हिँडेका छन् र त, मण्डला थिएटर थप फराकिलो स्पेसमा आउँदैछ।

‘कोरोना महामारीको २ वर्षे त्रासदीबीच नेपाली रंगमञ्चलाई पुनः ऊर्जाशील बनाउन मदत पुर्‍याउनेछ’, मण्डला थिएटर आफ्नो साइटमा लेख्छ। 

‘कोरोना महामारीको २ वर्षे त्रासदीबीच नेपाली रंगमञ्चलाई पुनः ऊर्जाशील बनाउन मदत पुर्‍याउनेछ’, मण्डला थिएटर आफ्नो साइटमा लेख्छ। 

अनामनगरमा मण्डला नाटकघर स्थापना गरेर सफलतापूर्वक काम गरिरहेको दसौं वर्षमा मण्डला थिएटर नेपालले थप दस वर्षका लागि नयाँ ठाउँको परिकल्पना गरेको छ। अनामनगरबाट नजिकै थापागाउँ, बानेश्वरमा करिब दुई रोपनी जमिन लिजमा लिएर बृहत् नाट्यघर निर्माणाधीन छ। नाट्यघरमा दुई वटा प्रेक्षालयसहित चारवटा भवन छन्।

मुख्य भवन तीन तलाको छ। भुइँतलामा खुला पार्किङस्थल, शौचालय, बगैंचा र भेटघाटस्थल छन् भने पहिलो तलामा कफी स्टेसन, पुस्तक तथा अन्य सामग्री प्रदर्शन र बिक्री कक्ष, टिकटघर, प्रतीक्षालय र कलाकार आवास गृह छन्। मुख्य भवनको छतमा रेस्टुराँ तथा कलाकार क्याफे सञ्चालन गरिनेछ।