सोमबार, माघ ३, २०७८
  • गृहपृष्ठ
  • समाज
  • एसएसपी यादवको मृत्युपछि उब्जिएको प्रश्न : किन आफैंलाई सिध्याइरहेका छन् प्रहरी?

एसएसपी यादवको मृत्युपछि उब्जिएको प्रश्न : किन आफैंलाई सिध्याइरहेका छन् प्रहरी?

अनिल यादव  |  काठमाडौं, शुक्रबार, पुष ९, २०७८

अनिल यादव

अनिल यादव

शुक्रबार, पुष ९, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहानै आफ्नै क्वार्टरमा मृत फेला परेका छन्। बिहान जिम गरेर कोठाभित्र छिरेका उनी खाना खाने बेला भइसक्दा पनि बाहिर ननिस्किएपछि उनकै कार्यालयमा कार्यरत एक इन्सपेक्टर ढोका ढकढकाउन कोठामै पुगेका थिए। तैपनि ढोका नखुलेपछि झ्यालबाट चियाएर हेर्दा उनी भित्र झुन्डिएको अवस्थामा भेटिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तराज कुँवरले बताएका छन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनास्थलको अवस्था हेर्दा यादवले आत्महत्या गरेको देखिएको छ। यतिखेर उनको मृत्युबारे प्रहरीले अनुुसन्धानकै क्रममा छ। एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘नेपाल प्रहरीभित्र यसरी बहालवाला उच्च प्रहरी अधिकारीले आत्महत्या गरेको सम्भवतः यो नै पहिलो हो।’

आत्महत्या नै भए पनि उनी के कारण यो निर्णयमा पुगे, प्रहरीवृत्तभित्र यो अहिले अनुसन्धानको विषय बनेको छ। २०४९ सालमा प्रहरी निरीक्षक पदबाट जागिरमा प्रवेश गरेका यादव हालका एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याचमेट हुन्। आफ्ना ब्याचका दुई सहकर्मी एआईजी भइसक्दा उनी डीआईजी पनि हुन सकेका थिएनन्। ५५ वर्षे उमेर हदका कारण यही १५ माघमै उनी अवकाश पाउँदै थिए।

‘संगठनभित्र सफा छविका उनी बढुवामा पछाडि पर्दा साह्रै निराश थिए। तर त्यसरी सार्वजनिक रुपमा व्यक्त गर्नुहुन्थेन तर उहाँको साह्रै दुःखी सुनिनुहुन्थ्यो,’ एक उच्च प्रहरी अधिकारीले भने। 

एसएसपी यादव प्रहरी कार्यालयभित्र क्वार्टरमा एक्लै बस्दै आएका थिए। शुक्रबार बिहान अर्थात् ७ घण्टाअघि उनकी श्रीमती रुपमकुमारी यादवले फेसबुकमा एउटा स्टाटस लेखेकी थिइन्, ‘भलै यो युग कलियुग हो तर आज पनि सत्यकै जित हुन्छ।’

रुपमले यो स्टाटसको केही बेरमै यादव मृत फेला परेको बुझिएको छ। ‘एसएसपी यादव पछिल्लो समय डिप्रेसनको औषधी लिइरहेको पनि बुझिएको छ। केही समस्यामा पो थिए कि या केही कारण निराश थिए, प्रहरी यसको अनुसन्धान गर्ने क्रममा छ,’ प्रहरी प्रधान कार्यलय स्रोतले भन्यो। 

नवलपरासी रामग्राम २ निवासी यादव पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका भान्जा हुन्। यादवकी आमा प्रधानकी दिदी हुन् भने सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल यादवकी सानिमा हुन्।

०००

प्रहरी संगठनभित्र आत्महत्याको यो पहिलो घटना होइन। यसअघि पनि थुप्रै तल्लो तहका प्रहरी कर्मचारीहरुले आत्महत्या गरेका घटना सार्वजनिक भएकै हुन्। तर, एसएसपी यादवको मृत्यूले फेरि एकैपल्ट प्रहरी वृत्तभित्र प्रश्न तेर्साएको छ, ‘आखिर आफैंलाई किन मारिरहेका छन् प्रहरी?’ त्यसको कारण खोतल्नुअघि केही पुराना घटनालाई फर्केर हेरौं।

०७७ असार १६ गते जिल्ला अदालत कार्यालय सुनसरीको छतबाट आफ्नो पेस्तोलले आफैंलाई हानेर मरेका थिए, प्रहरी हवल्दार ओमप्रकाश खतिवडा। तत्कालीन जिल्ला प्रहरी कार्यलयका एसपी कमल थापाका अनुसार त्यतिबेला जिल्ला न्यायाधीश शंकर राईका अंगरक्षक रहेका खतिवडाको आत्महत्याको कारण श्रीमतीको विवाह इतर सम्बन्ध देखिएको थियो। 

छतमा आफूलाई पेस्तोलले हान्नुअघि उनले फोनमा श्रीमतीका प्रेमी विशाल तामाङलाई शुभेच्छामिश्रित गुनासो पोखेको तथ्य प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो। आत्महत्या गर्नुअघिको अन्तिम कल पनि उनकै प्रेमीसँग रहेको पाइएपछि उनीहरुवीचको कुराकानीबारे प्रहरीले प्रेमीलाई सोधेको थियो। त्यतिबेला ‘तैंले मेरो जिन्दगी बर्बाद पारिस्, अब मेरी श्रीमतीलाई लगेर राम्रोसँग पाल्नू’ भन्दै खतिवडाले आफूसँगको अन्तिम कलमा भनेको कुरा तामाङले प्रहरीसँग ओकलेका थिए। 

हबल्दार खतिवडाका दाइ तारानिधिले दिएको उजुरीका आधारमा त्यतिबेला प्रहरीले तामाङलाई तत्काल पक्राउ गरेको थियो भने उनकी श्रीमतीलाई १३ दिनको काजकिरियापछि। प्रहरी अनुसन्धानका क्रममा त्यतिबेला खतिवडाकी श्रीमती र तामाङबीच दुई वर्षदेखि ‘अफयर’ मात्रै पुष्टि भएन, सोही कारण खतिवडाले आत्महत्या गरेको समेत देखिएको थियो।  त्यसैले दुवैमाथि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको थियो।

०००

०७७ जेठ ०९ गते साँझ महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत असई विष्णुप्रसाद कार्की ड्युटी सकेर कोठामा पुगेका थिए। तर, उनको अनुहार पहिलेजस्तो उज्यालो थिएन। वृत्तमा कार्यरत भइन्जेल सधैं कोठा आइरहने उनको भोलिपल्टदेखि नजिकैको हलचोक बिटमा डिउटी सरेको थियो। भनिरहेका थिए, ‘भोलिदेखि लकडाउनभर बिटमा बस्नुपर्ने भयो, घर आउन पाइँदैन।’ 

त्यसैले उनकी श्रीमती सबितालाई लागेको थियो, सायद त्यही कारण आज श्रीमान्को ‘मुड अफ’ छ। शनिबार साँझ जतिबेला उनी ओढ्ने ओछ्याउने लिएर सरुवा भएको बिटतिर लागे, त्यतिबेला उनले श्रीमतीलाई भनेका थिए, ‘लकडाउन छ, महामारीको डर छ, बच्चाहरुलाई तल झर्न नदिनू, राम्रोसँग बस्नू है।’

प्रेमपूर्वक बच्चाहरुको चिन्ता प्रकट गरेर गएका उनी भोलिपल्ट आफैंले आफैंलाई मारेको अवस्थामा फेला पर्लान् भन्ने कसले सोचेको थियो र! तर, आइतबार बिहानै ८ बजे प्रहरीको भ्यानमा तीनजना महिला उनको कोठा आइपुग्दा उनी चकित भइन्। ‘सरले बोलाउनुभएको छ, अफिसमा जाऊँ’ भन्दा एकछिन त उनले पत्याउनै सकिनन्। कारण, कहिल्यै कोही प्रहरीलाई उनका श्रीमान्ले कोठामाथि ल्याएका थिएनन्, न पठाएका नै थिए। त्यसैले उनले जवाफ फर्काएकी थिइन्, ‘होइन होला, तपाईंहरू झुक्किनुभयो।’

‘आँखाले केही देखिएन। पुलिसको घरभित्र घटेको घटना हो यो। उहाँहरु (प्रहरी)ले जे निष्कर्ष निकाल्नुभयो, त्यही पत्याइयो,’ विष्णुकी श्रीमती गीता बताउँछिन्।

तर, ‘हो’ नै भन्ने अडान आएपछि उनी प्रहरी भ्यान चढेर वृत्त पुगिन्। वृत्त पुगेपछि थाहा भयो, श्रीमान्ले आफ्नै बन्दुकबाट दाहिने कन्चटमा गोली हानेर आफैंलाई मारेछन्। ०५५ सालमा प्रहरीमा भर्ती भएका उनले सेवा गरेको २२ वर्ष भइसकेको थियो। 

तत्कालीन डीएसपी लालध्वज सुवेदीका अनुसार राति १२ बजे ड्युटी सकेर कोठामा सुत्न गएका उनले बिहान अबेरसम्म पनि ढोका नखोलेपछि ढोका फोरेर हेर्दा आफैंलाई गोली हानी मारेको अवस्थामा मृत भेटिएका थिए।

‘आँखाले केही देखिएन। पुलिसको घरभित्र घटेको घटना हो यो। उहाँहरु (प्रहरी)ले जे निष्कर्ष निकाल्नुभयो, त्यही पत्याइयो,’ विष्णुकी श्रीमती गीता बताउँछिन्।

गीताका अनुसार परिवारमा त्यस्तो आर्थिक असन्तुष्टि केही थिएन, न कसैको ऋण दिनुपर्ने थियो, न लिनुपर्ने। ‘अघिल्लो दिन घर आउन नपाइने भइयो भनेर मुख अँध्यारो बनाउनुभएको जस्तो लागेको थियो। भोलिपल्ट त्यस्तो घटना भयो,’ गीता भन्छिन्, ‘उहाँले त हामीलाई छाडेर जानुभयो। तर, ‘सुसाइड’ किन गर्नुभयो भन्ने प्रश्नले हामीलाई कहिल्यै नछाड्ने भयो। मनमा सधैं यही प्रश्न खेलिरहन्छ।’

सुवेदी भन्छन्, ‘विष्णु अन्तरमुखी स्वभावका थिए। कसैलाई केही सेयर गर्दैन थिए। आफ्नो ड्युटी गर्थे, घर जान्थे। केही कुरामा पीडा भए पनि मनभित्रै गुम्साएर राख्थे। त्यसैले किन आत्महत्या गरे, थाहा पाउन सकिएन।’

०००

प्रहरी मुख्यालयको तथ्यांकअनुसार गत पाँच वर्षमा २४ भन्दा बढी प्रहरीले आत्महत्या गरिसके। तीमध्ये अधिकांश तल्लो दर्जाकै छन्, हालको एसएसपी प्रकरणबाहेक। १२ जना प्रहरी जवान छन् भने तीनजना प्रहरी हवल्दार, एक जना प्रहरी सहायक निरीक्षक।

यसरी संगठनभित्रै आत्महत्याको घटना बढेपछि प्रहरीवृृत्तभित्र उठेको छ– आफैं कानुन कार्यान्वयन गराउने निकायमा रहेका सुरक्षाकर्मी किन आफैंलाई मारिरहेका छन् अथवा सिध्याइरहेका छन्?’

‘जागिर सुरु भएपछि सोचेजस्तो हुन सक्दैन। त्यसपछि ऊ निराशाको अवस्थाबाट गुज्रिन्छ। प्रहरी आत्महत्याको सबैभन्दा ठूलो कारण यही हो जस्तो लाग्छ।’

प्रहरी संगठनले यस विषयमा कुनै अध्ययन या विश्लेषण गरेको पाइँदैन। तर, पूर्वडीआईजी हेमन्त मल्ल पछिल्लो समय बढिरहेको प्रहरी आत्महत्याका पछाडि पारिवारिक र सांगठनिक दुवै कारण जिम्मेवार रहेको बताउँछन्। ‘पुलिसमा भर्ती भएपछि जोकोहीलाई पनि बाआमाको दुःख, आर्थिक स्थिति सबै सुधार गर्छु भन्ने लागेको हुन्छ, परिवारको आकांक्षा पनि त्यही नै हुन्छ,’ उनी भन्छन्, ‘जागिर सुरु भएपछि सोचेजस्तो हुन सक्दैन। त्यसपछि ऊ निराशाको अवस्थाबाट गुज्रिन्छ। प्रहरी आत्महत्याको सबैभन्दा ठूलो कारण यही हो जस्तो लाग्छ।’

समाजशास्त्री डा.मीना उप्रेती समाजमा देखिएको अस्थिरता, विचलन, समस्या र निराशाको प्रभाव देश र जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा समेत परिरहेको बताउँछिन्। ‘परिवारबाट टाढा हुनु, जागिरमा पदोन्नति नहुनु, राम्रो काम गरे पनि त्यसबाट ‘अवार्ड’ नपाउनु, समाजलाई प्रहरीले राम्रो नजरले हेर्न नसक्नुजस्ता कारणले प्रहरीमा निराशा पैदा गरिरहेको हुन्छ। त्यही कारण ऊ आत्महत्याको बाटो रोज्न विवश भइरहेको छ,’ उनी भन्छिन्। 

प्रहरी अधिकृतहरु भन्छन्, ‘धेरैजसो प्रहरीहरु युवतीको चक्करमा लागेर पनि आत्महत्या गरिरहेका छन्।’ पछिल्ला केही घटना केलाउँदा विवाह इतर सम्बन्ध पनि आत्महत्याको एउटा कारण देखिन्छ। ०७७ सालमा डीएसपी लालध्वज सुवेदी महानगरीय प्रहरी परिसर स्वयम्भू वृत्तको इन्चार्ज रहँदा असई कार्कीसँगै अर्का एक जवानले पनि उनकै कार्यकालमा आत्महत्या गरेका थिए। ती थिए, प्रहरी जवान शंकर ठगुन्ना। उनी स्वयम्भूस्थित उनकै प्रेमिकाको कोठामा सलको पासो लगाएर झ्यालको रडमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

अनुसन्धानका क्रममा उनी प्रेमिकासँगको विवादपछि झुन्डिएर मरेको खुलेको थियो। हाल जिल्ला प्रहरी कार्यालय संखुवासभामा रहेका डीएसपी सुवेदीका अनुसार दार्चुलाका विवाहित ठगुन्ना ठूलो भर्‍याङ नजिकै बस्ने ती युवतीसँग ‘लिभिङ टुगेदर’ रहँदै आएका थिए। ‘युवतीले दिएको बयानअनुसार राति ११ बजेतिर खुट्टै टेक्न नसक्ने अवस्थामा मादक पदार्थ सेवन गरेर उनी कोठा पुगेका रहेछन्,’ सुवेदीले महिलाको बयान उधृत गर्दै भने, ‘त्यसपछि किन जाँड खाएर आएको भनेर गाली गर्दा उनीहरुबीच विवाद भयो। केही समयको विवादपछि युवती सुतिन्। सुतेकै बेला ठगुन्नाले आत्महत्या गरेछन्। ’

प्रहरी जवानको परिवारले दिएको उजुरीका आधारमा त्यतिबेला ती युवतीलाई आत्महत्या दुरुत्साहनमा मुद्दासमेत चलाइएको थियो। 

०००

सतहमा हेर्दा प्रहरी, सेना र सशस्त्रभित्र आत्महत्या दर बढ्नुमा बढिरहेको विवाह इतर सम्बन्ध कारण देखिए यसको अन्तर्य खोज्न गम्भीर अध्ययन र अनुसन्धानको आवश्यकता देख्छन्, पूर्व डीआईजी मल्ल। ‘बढीजसो आत्महत्या गर्नेहरु तल्लो दर्जाका प्रहरी छन्,’ मल्ल भन्छन्, ‘प्रहरीमा माथिल्ला तह अर्थात् अधिकृत तहकाहरु आफू सरुवा भएर जहाँजहाँ पुग्छन्, त्यहाँ–त्यहाँ परिवार लगिरहेका हुन्छन्, परिवारसँगै बसिरहेका हुन्छन्। तर, तल्लो दर्जाका प्रहरी आफ्नो कम तलबका कारण परिवारलाई आफूसँगै लैजान सक्दैनन्। त्यसपछि विवाह इतर सम्बन्ध जोडिने हो।’

मल्लका अनुसार प्रहरीमा एकभन्दा बढी विवाह गरेका घटना, दुइटा बिहे गरेपछि तलब आधाआधा गर्नुपर्ने बाध्यता अर्थात् विवाह इतर सम्बन्ध जस्ता समस्या परिवारदेखि टाढा हुनुपर्दा सिर्जना भएका हुन्। ‘त्यसैले विवाह इतर सम्बन्धको जरो नखोज्ने हो भने आत्महत्याको क्रम रोकिनेवाला छैन’, उनले भने।

उसका शारीरिक आवश्यकता पूर्ति गर्न जहाँ पुग्छ, त्यतै साथी बनाउन थाल्छ। अनि, दुइटा सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा आत्महत्याको अवस्थासम्म पुग्छ।’

‘हामीकहाँ अध्ययन गर्ने चलन छैन। बहुत कम अध्ययन भएका छन्,’ मल्ल भन्छन्, ‘जति भएका छन्, त्यो पनि विभागीय प्रचलनका लागि मात्रै छन्। त्यस्ता अध्ययन सार्वजनिक पनि हुँदैनन्। आत्महत्याका कारणमाथि जबसम्म अध्ययन हुँदैनन्, तबसम्म यो समस्या समाधान हुनसक्दैन। तर, यस्ता खाले अध्ययनमा संगठनमात्रै अघि सरेर हुन्न, राज्य नै अघि सर्नुपर्ने अवस्था हुन्छ।’

समाजशास्त्री डा.मीना उप्रेतीको मत पनि मल्लको जस्तै छ। ‘कुनै पनि मान्छे के कारण विवाह इतर सम्बन्धको अवस्थामा पुग्छ, त्यो केलाउन आवश्यक छ,’ उनी भन्छिन्, ‘जब कोही प्रहरी बिहे गरेको एक–दुई महिनामै श्रीमतीलाई घरमा छाडेर ड्युटीमा जान्छ, अनि वर्षौंसम्म घरमा आउन चाहँदाचाहँदै बिदा पाउँदैन। त्यसपछि उसले आफ्ना मनमा भएका कुरा सेयर गर्न अर्थात् उसका शारीरिक आवश्यकता पूर्ति गर्न जहाँ पुग्छ, त्यतै साथी बनाउन थाल्छ। अनि, दुइटा सम्बन्धलाई व्यवस्थापन गर्न नसक्दा आत्महत्याको अवस्थासम्म पुग्छ।’

समाजशास्त्री डा.उप्रेतीको विश्लेषणमा विवाह इतर सम्बन्धमा रहेको प्रहरीको यदि बालबच्चा छैन या अर्को सम्बन्धलाई कानुनी रुपमा व्यवस्थापन गर्न कुनै समस्या छैन र सहजै व्यवस्थापन हुनसक्छ भने उसले आत्महत्याको बाटो रोज्दैन, विकल्पविहीन भएको अवस्थामा मात्रै  आत्महत्याको बाटो रोज्ने हो। उनी भन्छिन्, ‘जतिबेला उसले अब म यो समाजसँग हारें भन्ने महसुस गर्छ, त्यसपछि आत्महत्या गर्ने हो।’ 

त्यसो त विवाहपछिको प्रेम सम्बन्धका कारण तल्लो दर्जाका प्रहरीमात्रै आत्महत्याको स्थितिमा पुगेका छैनन्, केही वर्षअघि दुई डीएसपीको आत्महत्या पनि यस्तै कारणसँग जोडिएको थियो। ०६७ सालमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीएसपी कञ्चन थापाले बसुन्धरास्थित आफ्नै फ्ल्याटमा आफ्नै पेस्तोलले कन्चटमा गोली हानेर आत्महत्या गरेका थिए। त्यतिबेला उनले प्रेमिकाकै कारण आत्महत्या गरेको प्रहरी अधिकारीहरु अहिले पनि सम्झिन्छन्।

‘प्रहरीको जीवनमा परिवार, मनोरञ्जन भन्ने कुरा जब टाढा हुँदै जान्छ, त्यसपछि ऊ डिप्रेसनको सिकार हुँदै आफैंलाई गोली हान्ने बाटोतिर लम्कने बाहेक अर्को विकल्प देख्दैन।’

त्यस्तै यो घटनाको ठीक २ वर्षपछि अर्का डीएसपी वसन्त थापाले गोकर्णको जंगलमा झुन्डिएर आत्महत्या गरेको घटना पनि प्रहरी वृत्तमा सेलाएको छैन। वसन्तले आत्महत्या गरेको भोलिपल्ट काठमाडौंमै प्रहरी जवान पवित्रा भट्टराईले धोबीघाटस्थित आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन्। त्यतिबेला भट्टराईको कोठामा भेटिएका वसन्तसँगका तस्बिर र वसन्तले आत्महत्या गर्नुअघि अन्तिमपटक भट्टराईसँग गरेको फोन सम्पर्कले उनीहरुबीचको प्रेम सम्बन्ध पुष्टि भएको थियो।

छिमेकी मुलुकको यो समस्या नेपालमा समेत रहेको बताउँछन्, पूर्व डीआईजी मल्ल। ‘नेपालमा अहिले ७२ हजार प्रहरीको दरबन्दी छ। तर, दरबन्दीअनुसारको संख्या कहिल्यै हुँदैन’, उनी भन्छन्, ‘जहिल्यै दरबन्दी खाली हुन्छ। खाली दरबन्दी पूर्ति गर्न भर्नाको प्रक्रिया लामो हुन्छ। भर्ना भएको प्रहरी फिल्डमा पुग्न करिब एक–डेढ वर्ष लाग्छ। त्यसैले मलाई लाग्छ, अहिले पनि फिल्डमा २० देखि २५ प्रतिशत प्रहरी कम भएको हुनुपर्छ।’

यसरी दरबन्दी खाली हुँदा अन्य प्रहरीमा ड्युटीको प्रेसर बढ्ने बताउँछन् उनी। ‘अहिले पनि २० देखि ४० प्रतिशत प्रहरी १२ घन्टाभन्दा बढी ड्युटी गरिरहेका हुन सक्छन्,’ उनी भन्छन्, ‘यसले पनि प्रहरीलाई निराशातिर धकेलिरहेको हुनुपर्छ। परिवारसँग विग्रह ल्याउनमा समेत यसले भूमिका खेलिरहेको हुन्छ। राज्य तथा प्रहरी संगठन यसमा सचेत हुनुपर्छ।’

समाजशास्त्री उप्रेती पनि ड्युटी प्रेसरले प्रहरीको जीवन मेसिनजस्तै भइरहेको बताउँछिन्। ‘प्रहरीको जीवनमा परिवार, मनोरञ्जन भन्ने कुरा जब टाढा हुँदै जान्छ, त्यसपछि ऊ डिप्रेसनको सिकार हुँदै आफैंलाई गोली हान्ने बाटोतिर लम्कने बाहेक अर्को विकल्प देख्दैन’, उनले भनिन्।

यो पनि


प्रकाशित: December 24, 2021 | 18:30:00 काठमाडौं, शुक्रबार, पुष ९, २०७८
अनिल यादव

अनिल यादव

काठमाडौं, शुक्रबार, पुष ९, २०७८

थप समाचार

नारायणहिटीको श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ। अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो।

ओमिक्रोन नियन्त्रणसम्बन्धी आदेश : के गर्न हुन्छ, के नहुन्‍न?

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको बताए।

स्पा व्यवसायलाई मर्यादित रुपमा सञ्‍चालन गर्नुपर्ने

वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। स्पा संघ नेपालको आइतबार आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उनले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो।

प्राकृतिक विपत्तिबारे पूर्वसूचना संयन्त्र प्रभावकारी बनाउँछौं : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११ औं नम्बरमा रहेको जानकारी गराउँदै सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्‍नुपर्ने बताए।

अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको प्रमुख कारण : प्रधानमन्त्री देउवा

चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C