काठमाडौं- ३३ किलो सुन तस्करी प्रकरणमा चुणामणि उप्रेती समूहका कृष्णगोपाल अग्रवाल पक्राउ परेका छन्। इन्टरपोलबाट रेड नोटिस जारी गरिएका झापा जिल्ला शिवगंज गाविस-१ का ५० वर्षीय अग्रवाललाई आइतबार प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
सन्जीव शाक्यको जाहेरीले गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोप उनीमाथि लागेको छ।
अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने इन्टरपोलको सूचनाको आधारमा नेपाल प्रहरीको ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले अग्रवाललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।
अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने/गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको इन्टरपोल शाखाले जानकारी दिएको छ।