सोमबार, असोज ४, २०७८
  • गृहपृष्ठ
  • समाज
  • बीपीको डेढवर्षे कार्यकाल : इजरायललाई मान्यतादेखि सगरमाथा विवाद अन्त्यसम्म

सन्दर्भ : बीपी जयन्ती

बीपीको डेढवर्षे कार्यकाल : इजरायललाई मान्यतादेखि सगरमाथा विवाद अन्त्यसम्म

होमनाथ दाहाल  |  काठमाडौं, बिहीबार, भदौ २४, २०७८

होमनाथ दाहाल

होमनाथ दाहाल

बिहीबार, भदौ २४, २०७८, काठमाडौं

नेपाल समय

बीपीसँग लामो समय संगत गर्ने अवसर पाएँ। उहाँसंँग देशमा विभिन्न भागको भ्रमणमा जान पाएँ। राष्ट्र पुकार साप्ताहिकको सम्पादकका रुपमा काम गर्दा बीपीले इतिहासका कैयौं महत्त्वपूर्ण घटनाक्रमबारे सुनाउनुभयो। बीपीले मलाई विभिन्न प्रसंगमा नेपालको विदेश नीतिसँग सम्बन्धित घटनाक्रम सुनाउनुभएको थियो।

भारतसँग समानता सन्धि

प्रधानमन्त्री भएपछि बीपीले भारतसँग समानताको आधारमा व्यापार सन्धि गराउनुभयो। त्यो बेलाको भारतीय व्यापार तथा वाणिज्य सचिव स्कुल पढ्दाका उहाँका साथी रहेछन्। त्यस कारण पनि विभिन्न चरणको छलफलपछि भारतीय उद्योगले स्थापना भएपछि जसरी नेपाली बजारमा सहज प्रवेश पाउँछन्, त्यसै गरी नेपालमा स्थापना भएका उद्योगले पनि भारतीय बजारमा सुविधा पाउने गरी सन्धिको मस्यौदा तयार भयो तर त्यसमा हस्ताक्षर गर्न ढिलाइ भइरहेको थियो।

त्यही बेला बीपी संयुक्त राष्ट्रसंघको महासभाबाट भाग लिएर अमेरिकाबाट स्वदेश फर्किंदै हुनुहुन्थ्यो। सीधै नेपालसम्मको उडान सुविधा नभएकाले दिल्ली भएर आउनुभयो। सन्धि हस्ताक्षरमा ढिलाइ भएकोमा असन्तुष्टि जनाउँदै उहाँ भारत सरकारलाई खबर नै नगरी जहाजको समयभन्दा डेढ घण्टा पहिले नै विमानस्थल पुग्नुभयो। त्यो कुरा भारतीयहरुलाई थाहा नहुने कुरै भएन। प्रधानमन्त्री जवाहलाल नेहरुसम्म सूचना पुग्यो, नेहरु आफैं बीपीलाई भेट्न विमानस्थलमा पुगे।


सन् १९६० मा नयाँदिल्लीमा जवाहरलाल नेहरूसँग बीपी कोइराला। तस्बिर : गुगल

बीपीले भन्नुभएछ, ‘मैले नेपालको विकासका लागि त्यति प्रस्ताव गरेको त्यो पनि तपाईंले गरिदिनु भएन।’ नेहरुले सचिवलाई विमानस्थलमै बोलाएर भने, ‘त्यो सम्झौतामा के छ? नेपालले के मागेको छ।’ सचिवले भनेछन्, ‘हजुर त्यो सम्झौता गर्ने हो भने आर्थिक रुपमा भारतलाई ठूलो नोक्सान हुन सक्छ र नेपालका तर्फबाट त्यसको दुरुपयोग पनि हुन सक्छ।’

नेहरुले सोधे, ‘कति नोक्सान हुन्छ?’

सचिव, ‘त्यही दस अर्ब जति।’

अनि नेहरुले भने, ‘ठीक छ। त्यति नेपाललाई सहयोग भयो भन्ठान। सही गरिदेऊ।’

यसरी बीपीले भारतलाई सहमत गराउनुभयो।

उहाँ फर्किएपछि मन्त्री रामनारायण मिश्र दिल्ली जानुभयो र पहिलोपटक नेपाल–भारतबीच समानताका आधारमा व्यापार वाणिज्य सन्धि भयो। तर सहमति कार्यान्वयन नहुँदै राजाले संसदीय व्यवस्थामा कू गरे। त्यो सन्धिको व्यापक दुरुपयोग भयो। नेपालका सीमावर्ती क्षेत्रमा नक्कली कम्पनी खडा गरी ‘मेड इन नेपाल’ छाप लगाएर भारतमा सामान पठाउने काम भयो। यसरी सन्धि लामो समय जान सक्ने वातावरण भएन। त्यसयता कति पटक भारतले नेपाललाई आर्थिक नाकाबन्दी लगायो तर समानताको आधारमा सन्धि हुन सकेको छैन।

राष्ट्रसंघमा बीपी

बीपी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुग्नुभएको थियो। त्यो बेला सिंगो विश्व प्रजातन्त्रवादी र कम्युनिस्ट दुई ध्रुवमा विभाजित थियो भने अविकसित साना मुलुकका समस्या विकराल थिए।

त्यो सम्मेलनमा रुसका प्रधानमन्त्री निकिता ख्रुस्चेबले राष्ट्रसंघमा तीन वटा महासचिव राख्नुपर्ने प्रस्ताव गरे। पश्चिम, कम्युनिस्ट र तेस्रो मुलुकका लागि छुट्टा–छुट्टै महासचिव हुनुपर्ने उनको भनाइ थियो। रुसको यस्तो प्रस्तावले राष्ट्रसंघको हालत ‘लिग अफ नेसन्स’को जस्तै हुनसक्ने भन्दै धेरै नेताहरुले चिन्ता व्यक्त गरिरहेका थिए। आफ्नो भनाइमा ध्यान नदिएको भनेर ख्रुस्चेवले टेबलमा जुत्ता ठटाइदिए।

महाशक्ति राष्ट्रका नेताको त्यस्तो व्यवहारपछि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विश्वबन्धु थापाले बीपीको अनुमति लिएर उनको त्यो व्यवहारको विरोध गरे। त्यसपछि ख्रुस्चेबले के बताए भने विश्व नक्सामा नेपाल कहाँ रहेछ म आफ्ना निजी सचिव लगाएर खोज्न लगाउँछु। नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाइएपछि बीपी आफैंले प्रतिवाद गर्नुभयो।

बीपीले भन्नुभएको थियो– नेपाल एक संसदीय प्रजातन्त्र भएको मुलुक हो। जहाँ कम्युनिस्ट पार्टीबाट विजयी चार सदस्य छन्। तीमध्ये एक जना त यति बेला नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुसमा छन्।

त्यहाँ बीपीले भन्नुभएको थियो– नेपाल एक संसदीय प्रजातन्त्र भएको मुलुक हो। जहाँ कम्युनिस्ट पार्टीबाट विजयी चार सदस्य छन्। तीमध्ये एक जना त यति बेला नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै रुसमा छन्।

महाशक्ति राष्ट्रहरुबीच ध्रुवीकरण चलिरहेका बेला राष्ट्रसंघ साना राष्ट्रहरुको हितका पक्षमा उभिनुपर्ने विचार बीपीले राख्नुभयो।

विली ब्रान्टदेखि बीपीका सोसलिस्ट साथीहरुले उहाँको प्रस्तावको समर्थन गरे। बीपीको प्रशंसा भयो। 

अनि ख्रुस्चेब र बीपीबीच वार्ता पनि भयो। त्यो बेला ख्रुस्चेबले भनेका थिए, ‘अघिको कुरा बिर्सिएर हामी अघि बढ्नुपर्छ। भन्नुस् तपाईंहरुलाई हामीबाट कस्तो सहयोग चाहिन्छ?’ अनि बीपीले भन्नुभयो, ‘नेपालको विकासका लागि मैले पञ्चवर्षीय योजना अघि सार्दैछु, मुख्यतया सडक निर्माण र ठूला उद्योग स्थापनामा हामीलाई तपाईंहरुको सहयोग चाहिन्छ।’

रुसले सहयोगको प्रतिबद्धतता जनायो तर बीपी फर्किएको केही समयपछि राजाले कू गरिहाले। पछि त्यही सहमतिका आधारमा रुसीहरुले पथलैयादेखि ढल्केबरसम्म पूर्वपश्चिम राजमार्ग बनाइदिए। साथै, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखानालगायत चारपाँच वटा ठूलो उद्योग स्थापनामा सहयोग गरे।

इजरायललाई मान्यता 

राष्ट्रसंघबाट फर्किंदा बीपीले इजरायलको भ्रमण गर्नुभयो। उहाँको साथमा भारतीय समाजवादी पार्टीका एक नेता पनि थिए। बीपीले त्यहाँको संसद्लाई सम्बोधन गर्नुभयो। त्यो बेला बीपीलाई बधाई दिँदै ती भारतीय समाजवादी नेताले भनेका थिए, ‘बीपीबाबु तपाईंले साँच्चै गज्जबको परिकल्पना गर्नुभएको रहेछ। वास्तवमा हामी प्रधानमन्त्री नेहरुबाट यस्तो अपेक्षा गर्थ्याैं।’

 ‘उनीहरुको सहयोग लिएर म नेपालमा कृषिलाई आधुनिकीकरण गर्ने योजना सञ्चालन गर्न चाहन्थें। जस्तो पूर्वमा मोरङमा मध्यमा चितवनमा, पहाडमा पोखरामा र सुदूरपश्चिममा धनगढी, यो जस्ता ठाउँमा त्यस्ता केन्द्र खोलेर भूतपूर्व सैनिकहरुको सहभागितामा कृषिलाई व्यवसायीकरण गर्ने मेरो सोचाइ थियो।’

त्यही बेला बीपीले इजरायललाई राजनीतिक मान्यता दिनुभयो। दक्षिण एसियाबाट इजरायललाई मान्यता दिने नेपाल पहिलो राष्ट्र हो।  बीपीले मसँग भन्नुभएको थियो, ‘उनीहरुको सहयोग लिएर म नेपालमा कृषिलाई आधुनिकीकरण गर्ने योजना सञ्चालन गर्न चाहन्थें। जस्तो पूर्वमा मोरङमा मध्यमा चितवनमा, पहाडमा पोखरामा र सुदूरपश्चिममा धनगढी, यो जस्ता ठाउँमा त्यस्ता केन्द्र खोलेर भूतपूर्व सैनिकहरुको सहभागितामा कृषिलाई व्यवसायीकरण गर्ने मेरो सोचाइ थियो।’

एक पटक मैले सोधेको थिएँ, ‘सैनिकहरु नै किन?’

उहाँले भन्नुभयो, ‘सैनिक भनेको १५/२० वर्ष एउटा अनुशासनमा बसेको हुन्छ, उनीहरुलाई अनुशासन थाहा हुन्छ, कति बेला खाने, कति बेला सुत्ने, कति बेला के गर्ने? अर्को कुरा उनीहरुलाई कुरा सम्झाउन पनि सजिलो हुन्छ। सैनिकले काम सिकेपछि उनीहरुमार्फत किसानलाई तालिम दिएर अघि बढ्नुपर्छ भन्ने मेरो सोचाइ थियो तर राजाले कू गरिहाले। मैले त्यो योजना अघि बढाउन पाइन।’

सैनिकको पेन्सन व्यवस्थापन

त्यसैगरी भारतीय र ब्रिटिस सेनाबाट निवृत्त गोर्खा सैनिकहरुको पेन्सन देश विकासमा लगाउने आफ्नो योजनाबारे बीपीले एक पटक मलाई सुनाउनुभएको थियो। उहाँले यस विषयमा भारत र बेलायतसँग कुरा गरिसक्नुभएको थियो। बीपीले भन्नुभएको थियो- ‘भूपू सैनिकहरुको १० वर्षको पेन्सन मलाई एकमुस्ट दिने व्यवस्था गरिदिनुस्। म त्यसलाई बैंकमा राखेर नेपालको विकासमा लगाउँछु र भूपू सैनिकलाई समयमै उनीहरुको पेन्सन दिने कुराको ग्यारेन्टी नेपाल सरकारले गर्छ। उनीहरुको पेन्सनमा कुनै गडबड हुँदैन।’

त्यही आधारमा औद्योगिक विकास बंैक (एनआईडीसी) स्थापना गर्नुभयो, औद्योगीकरणमा सहयोग पुग्छ भनेर। २०३६ सालको जनमतसंग्रहताकाको कुरा हो। बीपीका साथ म पनि नेपालगन्जको कार्यक्रममा गएको थिएँ।

नेपालगन्ज विमानस्थलबाट पहाडतिर उड्दा तल झुपडी मात्र देखिए। जंगल फँडानी भएको छ। मानिसको जीवन स्तर त्यस्तो देखेर बीपीको आँखाबाट आँसु झर्‍यो। अनि मैले सोध्नैपर्‍यो, के भयो सान्दाइ ? किन आँसु झार्नुभयो?

उहाँले माथिको प्रसंग सुनाउँदै भन्नुभयो। मैले देश बनाउन त्यस्तो परिकल्पना गरेको थिएँ। राजाले काम गर्न दिएनन्। आज जनताको यो हाल देख्दा लाग्छ मेरो सपना चकनाचुर भयो। अनि भन्नुभयो ‘हेर त तल जंगल फाँडेर झुपडी मात्रै पो बनाएका छन् त?’

सगरमाथा विवाद अन्त्य

बीपी चीन भ्रमणमा जाँदा दलाई लामा भागेर भारत पुगेका थिए। ल्हासामा चीनले सैनिक हस्तक्षेप गरिसकेको थियो। त्यही बेलामा चीनले सगरमाथाको प्रश्न उठायो। सगरमाथा, तिब्बतमा पर्छ अर्थात् चीनमा पर्छ भनेर।

उहाँलाई चीन जानुअघि नै यस्तो प्रश्न उठ्न सक्छ भन्ने लागेको थियो। त्यसैले पूरा तयारीका साथ जानुभएको थियो। चीन हिँड्नुअघि उहाँले दुई पटक इतिहास शिरोमणि बाबुराम आचार्यसँग कुराकानी गर्नुभयो। आचार्यले सगरमाथा क्षेत्रको अध्ययन गर्नु गरी त्यहाँका जनतासँग तिमीहरु यसलाई के नामले पुकार्छौं? भन्दै सोधी–खोजी गरी २०१३ सालमा एउटा अखबारमा लेख लेख्नुभएको थियो। जसमा पहिलो पटक माउन्ट एभरेस्टलाई सगरमाथा भनिएको थियो।

त्योभन्दा पहिला त्यो चुचुरोको नाम भारतीय र बेलायतीहरुले माउन्ट एभरेस्ट राखेका थिए। तिब्बतियनहरु चोमुलुङ्गा भन्थे। बाबुरामसँग कुराकानी गरी सगरमाथाको नक्सासहित बीपी चीन भ्रमणमा निस्कनु भएकाले त्यहाँ प्रस्तुत हुन सहज भयो।

चीनले सगरमाथा आफ्नो क्षेत्रमा पर्ने भन्दै दाबी प्रस्तुत गर्‍यो। बीपीले सम्झाउन धेरै प्रयास गर्नुभयो। प्रधानमन्त्री चाउ एन लाईसँग कुरा मिलेन। अनि बाबुराम आचार्यले दिएको नक्सा देखाएर सगरमाथाभन्दा ४–५ किलोमिटर उत्तरसम्मको भूमि नेपालभित्र पर्ने दाबी प्रस्तुत गर्नुभयो।


तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एनलाई र प्रधानमन्त्री बीपी कोइराला सन् १९६० मा नेपाल–चीन शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गर्दै।  तस्बिर : गुगल

एक दिनको कुरा हो। अचानक मध्यरातमा कसैले बीपी बसेको होटलको ढोका ढकढकाएको आवाज सुनियो। बीपी सुत्ने तरखरमा हुनुहुन्थ्यो।

खोलेर हेर्दा एक जना चिनियाँले भनेछन्– अध्यक्ष माओ तपाईंलाई अहिले भेट्न चाहनुहुन्छ। यही होटलको अर्को भागमा प्रतीक्षारत हुनुहुन्छ।

राति नै माओसँग उहाँको भेट भयो। माओले सगरमाथालाई दुवै देशको मितेरी चुचुरोका रुपमा राख्न प्रस्ताव गरे। बीपीले भन्नुभयो, ‘सगरमाथासँग नेपालीको भावनात्मक सम्बन्ध छ। हामी आफ्नो भू–भागलाई साझा चुचुरो बनाउन सक्दैनौं।’

त्यो भ्रमणमा बीपीसँग यातायात मन्त्री गणेशमान सिंह र गृहमन्त्री सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो। परराष्ट्रमन्त्रीले गर्ने काममा यी दुईजना मन्त्री किन लगिए? यो बडो संवेदनशील कुरा छ।

अध्यक्ष माओले अन्तिममा भनेका थिए, ‘ठिक छ अरु विषयमा प्रधानमन्त्री चाउ एन लाईसित कुरा गर्नुहोला।’

बीपी फर्किनुभयो। त्यसको केही समयपछि चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण भयो। अन्तिम दिन पत्रकार सम्मेलनमा भारतीय पत्रकारहरुले नेपालको भूमिमा चीनले दाबी गरेको हो भनेर प्रश्न उठाए। 

पीटीआईका संवाददाताले सोधे, ‘होइन, सगरमाथामा चीनले दाबी गरेको कुरा के हो? के चीन नेपालको भूमिमा दाबी गर्न चाहन्छ?’

प्रधानमन्त्री चाउ एन लाईले भनिदिए, ‘पहिलो कुरा त हाम्राबीच कुनै विवाद छैन। भए पनि हामी आपसमा मिलेर समाधान गर्छौं।’

फेरि पनि ती पत्रकारले दोहो¥याएर प्रश्न सोधेपछि अलिकति दिक्क भएर चाउ एन लाईले भनिदिए, ‘यो विषयमा इन्डियनलाई किन चित्त दुखाइ? नेपालको प्रधानमन्त्रीले जे भन्नुभएको छ। त्यसलाई चीन स्वीकार गर्छ। हामी कसैको भूमि लिन चाहँदैनौं। ९२ लाख किलोमिटर त चाइनाको आफ्नै भू–भाग छ, त्यसमा हामीलाई अरुको किन चाहियो?ण् यो हाम्रो र नेपालको मामिला हो।’ यसरी सगरमाथा विवादको अन्त्य भयो। 

तर एउटा बिडम्बना २०१७ साल पुस १ को घटनापछि २०१८ मा राजा महेन्द्र चीनको भ्रमणमा गए। फर्किएपछि अहिले रत्नपार्क रहेको स्थानमा राजाको ठूलो नागरिक अभिनन्दन भयो।

त्यसबेला एउटा सानो विद्यार्थीको हैसियतले म त्यहाँ पुगेको थिएँ। राजाले त्यो दिन भनेको अझै याद छ, ‘नेपाली जनतालाई यो भन्न पाउँदा मलाई बडो खुसी लागेको छ। सगरमाथा हिजो जहाँ थियो, आज पनि त्यहीं छ र भोलि पनि त्यहीं रहनेछ।’ जनताले राजाको कुरा के बुझे कुन्नि तर ताली भने पिटे।

अन्त्यमा

बीपीले दुई ठूला छिमेकी भारत र चीन चीनसँग समानताको आधारमा नेपालको प्रतिष्ठा, इज्जतलाई सम्मान हुने गरी सम्झौता गराउनुभयो। त्यसैगरी संयुक्त राष्ट्रसंघ विश्व शक्ति राष्ट्रहरुलाई समेत प्रभावमा पार्न सक्नु बीपीको कूटनीतिक सफलता हो। त्यसैगरी इजरायललाई मान्यता दिनु पनि कम क्रान्तिकारी निर्णय थिएन।

नेपालका लागि बीपीको त्यो डेढ वर्षे कार्यकालमा जति उपलब्धि हासिल भएको थियो, त्यसपछिका कुनै सरकारले त्यो तहमा काम गर्न सकेनन्। पञ्चायतको कुरै छोडौं, लामो समय कांग्रेसले नै सरकार चलायो। आफूलाई बडो क्रान्तिकारी भन्ने कम्युनिस्ट पार्टीहरु पनि पटक–पटक सरकारमा गए, कसैले पनि यो स्तरमा नेपालको इज्जत, प्रतिष्ठा बचाउने गरी सम्झौता गर्न सकेनन्। (दाहालसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीमा आधारित।)




प्रकाशित: September 9, 2021 | 13:35:09 काठमाडौं, बिहीबार, भदौ २४, २०७८
होमनाथ दाहाल

होमनाथ दाहाल

पत्रकार होमनाथ दाहाल नेपाली कांग्रेसका नेता र पूर्वमन्त्री हुन्।
काठमाडौं, बिहीबार, भदौ २४, २०७८

थप समाचार

सङ्खुवासभा हत्या घटना : लोकबहादुरका भाइसहित ४ जना अनुसन्धानमा तानिए

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ।

ओली सरकारविरुद्ध 'काम गरेका' न्यायाधीशले मेडल फिर्ता गर्नुपर्छ : नेम्वाङ

उनले दिल्ली बसेर ओली सरकार गिराउन काम गर्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाललाई समेत पदक दिइएको भन्दै पदको गरिमा गुमेको टिप्पणी गरे।

७३४ संक्रमित थपिए, २१ हजार ३६० जनाले कोभिडको खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मल नल्याएर कालोसूचीमा परेका ठेकेदार र महामारीमा हात उठाउने अस्पताल निर्देशकलाई पनि पदक

रासायनिक मल समयमा आयात नगरेको आरोप लागेका ठेकेदार र कोरोना महामारीको समयमा बिरामीको उपचार गर्न नसक्ने भन्दै सार्वजनिक सूचना जारी गरेका अस्पताल निर्देशकले पनि सरकारबाट पदक पाएका छन्।

नयाँ पत्रिकाका कृष्णज्वाला र वीरका अशेषले पनि अस्वीकार गरे पदक

नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा र वीर अस्पतालका छातिरोग विशेषज्ञ डा. अशेष ढुंगानाले पनि सरकारले दिएको पदक अस्वीकार गरेका छन्।

पत्रकार नारायण अमृत, हरिबहादुर थापा र कार्टुनिस्ट रविन साय‍्मिले गरे पदक अस्वीकार

नेपाल समयका प्रधान सम्पादक नारायण अमृत, इकाजका प्रधान सम्पादक हरिबहादुर थापा र नागरिक दैनिकका कार्टुनिस्ट रविन साय‍्मिले संविधान दिवसका अवसरमा सरकारले प्रदान गरेको पदक अस्वीकार गरेका छन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

भीम रावलले लिएको त्यो यु–टर्न, जसले उनलाई यता न उताको बनायो

पार्टीभित्र अन्तरसंघर्ष चर्काएर पार्टी फुटाउन उद्यत उनै रावल ओलीको दौराको फेर समाएर एमालेमै बसेका छन्। माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोल्दा रावल पछि हटे।
नेपाल समय
श्रृंखला

कंगोमा कुटाइ खाएका नमराजको बयानः सेनाका क्याप्टेनहरूले मलाई फुटबल बनाएर हाने

फेरि पनि मलाई हान्न आउँदा मैले हात खडा गरी 'सर! मेरो गल्ती भए सजाय दिनुस्, यसरी नकुट्नुस्' भन्दा पनि 'तँ बढी बोलिस्' भनेर मलाई सहसेनानी (क्याप्टेन) इन्द्रबहादुर थापा र सहसेनानी सुबास हुमागाई (क्याप्टेन)ले फुटबल खेलेजस्तो गरी हान्नुभयो।
नेपाल समय
शिक्षा

तलबभत्ता निकासा नभएपछि देशभरका ईसीडी शिक्षक र विद्यालयका कर्मचारी आन्दोलित

स्थानीय तहले सरकारले तोकेबमोजिम ईसीडी शिक्षक (बाल विकास सहजकर्ता) र विद्यालय कर्मचारीको वृद्धि भएको तलब निकासा नगरेको भन्दै आन्दोलनमा उत्रिएका छन्।
नेपाल समय
संवाद

राष्ट्र बैंकको पैसा वाणिज्य बैंकमा सार्नेबित्तिकै तरलताको समस्या हट्छ : भुवनकुमार दाहाल [अन्तर्वार्ता]

बैंकहरुको आइडल फन्ड राष्ट्र बैंकमा छैन। उनीहरुले विभिन्न ऋणपत्रमा लगानी गरिरहेका छन्। आफूसँग आइडल रकम नभएपछि बैंकहरुले ऋणपत्र धितो राखेर ५ प्रतिशतमा राष्ट्र बैंकबाट ऋण लिनुपर्‍यो। बैंकहरुमा अहिले तरलताको अभाव नभएर आइडल फन्डको दबाब मात्र हो।
नेपाल समय
श्रृंखला

अनियमितताबारे हुनुपर्ने सेनाको अनुसन्धान किन मोडियो सूचनाको स्रोततिर?

जसको जागिर गुम्यो, उनीहरुलाई ‘कोर्ट अफ इन्क्वायरी’को टोलीले बयान नलिनुले नै छानबिन कतिसम्म फितलो र पूर्वाग्रही थियो भन्ने प्रष्ट देखाउँछ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C