मंगलबार, असोज ११, २०७९

गिरिजाबाबुलाई उनकै कुराको कसीमा नियाल्दा 

महेश्वर आचार्य  |  काठमाडौं, शुक्रबार, असार १८, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

शुक्रबार, असार १८, २०७८, काठमाडौं

नेपाल समय

वि.सं. २०४६ मा पञ्चायती व्यवस्थाको अवसान भएर बहुदलीय प्रजातन्त्र हुँदै वि.सं. २०६६ मा गणतन्त्र स्थापना भएसम्म चार पटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइराला मृत्युपर्यन्त नेपाली राजनीतिको केन्द्र भइरहे। नेपाली राजनीतिमा करिब सात दशक बिताएका गिरिजाबाबुले आफ्नोबारे बताएका कुराहरूलाई संकलन गरेर प्रकाशित 'आफ्नै कुरा'का धेरै कुरा सार्वजनिक संवादमा कमै आएको छ। कोइरालाले जति आफ्ना बारे बताएका थिए, ती महत्त्वपूर्ण छन्। कोइरालाले विगतका धेरै घटनाहरू सम्झेका छन्, 'आफ्नै कुरा'मा।

‘मेरो जन्म वि. सं. १९८१ असार १८ गतेको दिन दीपनगर टेढीमा भएको हो। विराटनगर काेसी किनारैकिनार २०–३० किलोमिटर टाढा पर्छ मेरो जन्मस्थल। भारत निर्वासनबाट फर्किएपछि म पुनः त्यहाँ गएको छैन। मेरो मनमा एउटा कल्पना छ– काेसी किनारको त्यो ठाउँ, फुसको झोपडीहरू, बीचमा आँपको बगैँचा। अब विकास भयो, बत्ती पुग्यो होला। त्यो मेरो कल्पना बिग्रन्छ कि भनेर म अहिलेसम्म जन्मस्थान टेढी गएको छैन।’ (पृ. १)

एउटा निर्णय लिएपछि त्यसलाई 'वार कि पार' गर्ने अडान लिन सक्ने ‘गरिजाबाबु’को 'आफ्नै कुरा' राजनीतिमा रुचि हुनेहरूका लागि जति महत्त्वपूर्ण छ, त्यतिकै महत्त्वपूर्ण नेपाल र नेपाली समाज जान्न चाहनेहरूको लागि पनि।

अन्तर्वार्ता शैलीमा गिरिजाबाबुले भनेका कुरा पुस्तकमा पढ्दा पाठकले विगतका धेरै जानकारी पाउँछन्। करिब ५०–६० वर्ष अघिको कुरा पढ्दा लोककथा पढेजस्तो पनि हुन्छ कतै–कतै। जुद्ध शमशेर शिकार गर्न विराटनगर पुग्दाको एउटा प्रसङ्ग अहिले ठट्यौली झैं लाग्छः

'जुद्धसमशेर हात्तीबाट ओर्लिए र हिँड्दै हामी नजिक आए। म अगाडि नै थिएँ। उनले सोधे- 'What is your name?’ मैले भनें, ‘My name is Girija Prasad Koirala।’ यसपछि जुद्धसमशेरले भने, ‘कृष्णप्रसाद! तिम्रो छोरा त विद्वान् पो रहेछ। एकै पटकमा यसरी फ्याट्ट जवाफ दियो।’ खास कुरा के रहेछ भने जुद्धशमशेरलाई पनि त्यति मात्रै अङ्ग्रेजी आउँदो रहेछ र मैले पनि त्यति मात्रै कण्ठ पारेको थिएँ। जुद्धशमशेर खुसी भएर विद्यार्थीहरूलाई मिठाइ खुवाइदिनु भनेर ५–७ सय रुपैयाँ दिए। अनि उनले भने, ‘ल आजदेखि यो हाइस्कुल भयो।’ राणाले बोलिदिएपछि पुगिहाल्थ्यो। आदर्श स्कुल हाइस्कुल भइहाल्यो।' (पृ. १५)

शासकले बोलिदिए पुग्ने ऊ बेलाको समाज र राष्ट्रको अवस्था बुझ्न यो पुस्तक राम्रो आधार हो। कोइरालाका ठूल्दाजु मातृकाले ‘काेसीको कथा’मा काेसीको इतिहास केलाएका छन्। उनको किताबमा अरु कुराका साथै मोरङ, विराटनगरका कुरा पनि छन्। इतिहास भएकोले त्यस पुस्तकमा पात्र बोल्दैनन्। कोइरालाका अर्का दाजु बीपीले काेसी किनारको सेटिङमा साहित्य रचेका छन्। आफ्नै कुरामा पनि त्यही काेसी किनारको सेटिङ दोहोरिन्छ। तर यहाँ स्वयं पात्रले आफ्नो विगत सुनाउँदा त्यो नोस्टाल्जिक सुनिन्छ। जसरी भीमबहादुर पाँडेको ‘त्यस बखतको नेपाल’ले ऊ बेलाको नेपाल र ‘नेपाल खाल्डो’ को विगतलाई कथानक पारामा भन्छ। र, जसरी बसन्त थापाका केही संस्मरणले उत्तर–हिप्पिकालीन काठमाडौंको कथा सुनाउँछ उसैगरी आफ्नै कुराले पनि मोरङको विगत  सुनाउँछ। त्यस हिसाबले यो पुस्तकको सामाजिक महत्त्व त हुने नै भयो झन् त्यसमाथि देशलाई तीन–तीन वटा प्रधामन्त्री दिएको कृष्णप्रसाद कोइराला परिवारको कुरा बेग्लै महत्त्वको छँदैछ।

000

'आफ्नै कुरा'मा कोइरालाले बीपीकै लागि राजनीति गरेको र आफ्नो कुनै राजनैतिक सपना नभएको बताएका छन्। प्रजातन्त्र नआउन्जेल नेपाली कांग्रेसको संगठन विस्तारमा व्यस्त गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र आएपछि २००८ सालमा विश्वबन्धु थापालाई विराटनगर कांग्रेसको संगठन जिम्मा लाएर भुटानमा प्रजातन्त्र ल्याउन आन्दोलन गर्न हिँडेको कुरा पनि पुस्तकमा समेटिएको छ। जुन उद्देश्यका लागि उनी भुटान गएका हुन्, त्यो पूरा नहुँदै उनी फर्किए। भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले उनलाई फर्किन बाध्य पारेका थिए। जुन घटनाले हाम्रो भूराजनीतिको सम्बन्ध बुझ्न मद्दत गर्दछ।

भूमिगत हुँदा पैसाको अभावले पार्टीको काममा खर्च जुटाउन तस्करी गर्नु परेको, नक्कली नोट छापेको जस्ता कुरा पनि कोइरालाले बताएका छन्। त्यस्तै क्रममा संगठन चलाउन आवश्यक पैसाको लागि पैसा ओसार्ने विमान अपहरण गर्नुपरेको कुरा बताउँदै विमान अपहरणको पृष्ठभूमि पनि उनले बताएका छन्। मातृका र बीपीको द्वन्द्वले नेपाली राजनीतिलाई घाटा पुर्‍याएको कुरा पनि गिरिजाबाबुको कुरा पढ्दा थाहा लाग्छ।

जुद्धसमशेरले भने, ‘कृष्णप्रसाद! तिम्रो छोरा त विद्वान् पो रहेछ। एकै पटकमा यसरी फ्याट्ट जवाफ दियो।’ खास कुरा के रहेछ भने जुद्धशमशेरलाई पनि त्यति मात्रै अङ्ग्रेजी आउँदो रहेछ र मैले पनि त्यति मात्रै कण्ठ पारेको थिएँ।

पञ्चायती व्यवस्था छँदा पार्टीको संगठन र देश विदेशमा सम्पर्क सम्बन्ध कायम गर्न तल्लीन कोइराला २०४६ को प्रजातन्त्र पुनर्बहालीपश्चात् केन्द्रीय राजनीतिको एउटा महत्त्वपूर्ण हिस्सा बने। प्रजातन्त्र पुनर्बहालीपछिको पहिलो निर्वाचित सरकारलाई प्रधानमन्त्रीका हैसियतले कोइरालाले स्थायी बनाउन नसकी मध्यावधि चुवावमा गएकोले नै विकृति विसंगतिले जरा गाडेर प्रजातन्त्र संकटमा परेको र देश गृहयुद्धमा होमिएको भन्ने आरोप पनि उनलाई लाग्ने गरेको छ। यद्यपि दरबारले पर्दापछाडिबाट सधैं खेल्ने गरेको भूमिका र नेपाली राजनीतिको संस्कारहीन संस्कृति र अवसरवादी चरित्र पनि त्यसको दोषी हुन्, जुन समय क्रममा पुष्टि भइसकेको छ।

बीपीको मृत्युपछि कांग्रेसको संगठनमा लाग्दा–लाग्दा उनी यति प्रभावशाली बन्दै गए कि कालान्तरमा त्यही संगठनको बलले उनले ‘लौहपुरुष’ गणेशमान सिंह र ‘सन्त नेता’ कृष्णप्रसाद भट्टराईलाई पनि विस्थापित गरिदिए। सिंह र भट्टराई किनारा लागेपछि गिरिजाप्रसाद नै नेपाली कांग्रेसका अभिभावक नेताको भूमिकामा देखा परे। तर कोइरालाको एउटा प्रमुख कमजोरी ‘डाडुपन्यूँ सधैं आफ्नै हातमा रहोस्’ भन्ने नीति रह्यो। ज–जसलाई उनले राजनीतिको मैदानमा अघि सारे पछि तिनिहरूसँगै उनको दूरी बढ्यो।

शेरबहादुर देउवालाई उनले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा गृहमन्त्री बनाए। पछि प्रधानमन्त्री बन्ने माहौल पनि बनाइदिए। तर देउवासँगै उनको पानी बाराबारको स्थिति आयो। अन्ततः कांग्रेस नै दुई चिरामा टुक्रियो। कोइराला कांग्रेस र देउवा कांग्रेस। खुमबहादुर खड्कासँग कोइरालाको त्यस्तै भयो। सेनाका नारायणसिंह पुनलाई गिरिजाबाबुले राजनीतिमा त ल्याए तर पुनसँग पनि उनको जोडी जमेन। पुनजी नेपाल समता पार्टी खोल्न पुगे।

प्रधानमन्त्री भएपछि सत्तामोहमा फसेका गिरिजाप्रसाद कोइराला आफूलाई जी/हजुरी गर्नेहरुकै भरमा अघि बढ्न खोजे र अत्यन्तै आलोचित पनि बने। उनकै प्रधानन्त्रीत्वकालमा नै माओवादी द्वन्द्वका कारण मृत्यु हुनेहरूको संख्या चुलिएको आरोप उनलाई छ। तर नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र राजा ज्ञानेन्द्र प्रदिपादित ‘साइबर युगको पञ्चायत’ खोसेर ‘पूर्ण प्रजातन्त्र’ ल्याउन पनि उनकै योगदान रह्यो। जसमा राजा ज्ञानेन्द्रले पार्टीहरूलाई निषेध गर्दाको अवस्थाले पनि उत्तोलकको काम गरेको छ। यसबाट गरिजाबाबुको छवि त उज्यालियो तर आम जनतामा भने गिरिजाबाबुको भ्रष्ट बिम्ब नै गाढा छ। 

वि.सं. २०५८ मा दरबार हत्या काण्ड हुँदा कोइराला नै प्रधानमन्त्री थिए। त्यस रातको घटनाबारे उनले पुस्तकमा बताएको कुराले पनि गहिरो अर्थ राख्छ।

तत्कालीन शाही नेपाल वायुसेना निगमको लाउडा विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनलाई 'अबदेखि यस्तो नगर्नू' भन्ने नसिहत दियो। उनले पटक–पटक नेपाली कांग्रेसमा बीपीले स्थापित गरेका प्रजातान्त्रिक मूल्यमान्यताको कुरा गरेका छन् तर त्यस्को अभ्यासमा भने उनी अग्रसर भएनन्। त्यसैले उनलाई ‘डिक्टेटरअल लिडरसिप’को एउटा नमूना मानिन्छ। 

आफ्ना निकटकालाई च्याप्ने र अरुको कुरै नसुन्ने प्रवृत्ति उनको रह्यो। कम्युनिस्ट विरोधीको छवि बनाएका कोइरालासँग २०४६ सालपछिको खुला दलगत राजनीतिको अभ्यासका सुरुवाती दिनमा त कम्युनिस्टहरूसँग उस्तो तालमेल भएन। तर बिस्तारै उनीहरूसँग पनि कार्यगत एकता सम्भव हुँदै गयो, जब सत्ता प्राप्तीको राजनीति हाबी हुन थाल्यो।

वि.सं. २०५८ मा दरबार हत्या काण्ड हुँदा कोइराला नै प्रधानमन्त्री थिए। त्यस रातको घटनाबारे उनले पुस्तकमा बताएको कुराले पनि गहिरो अर्थ राख्छ। उनले राति ११ बजे राजाको हत्या भएको जानकारी पाएको र सुरुमा राजदरबार गएर मात्र अस्पताल पुगेको कुरा बताएका छन्-

'राजदरबार पुग्दा त्यही रातीको ११:३० बजेको थियो होला। दरबारमा पुगेपछि देख्छु त्यहाँ त पूरै सुनसान छ। खाली एक जना आर्मी मात्र देख्छु। अरु कोही छैन। पूरै सन्नाटा छाएको छ। सुनसान एकदमै सुनसान। महर्जनले (राजदरवाका सचिव पशुपतिभक्त महर्जन) त्यहाँ के–के भयो ? कसरी भयो ? भनेर सामान्य ‘बिफ्र’ गरे। राजारानी, युवराजलगायत सबै घाइतेलाई अस्पताल लगिएको बताए। म घटनास्थल पुग्दा त रगतका टाटा केही थिएनन्। घटनास्थल पानीले पखालेर सफा पारिएको थियो। के भएको रहेछ? भनेर हेर्छु भनेका त केही थिएन।' ( पृ. १५६)

000

पुस्तकमा उनको बाल्यकाल, राजनीतिका सुरुवाती दिन तथा राणासँग लड्दाको कुरा अहिले हामीलाई रमाइला कथासरह लाग्छन्। साथै बीपीलाई छुटाउन राजा महेन्द्रसँग उनले गरेको संवाद प्रयासहरू पनि रोचक छन्। भुटानमा प्रजातान्त्रिक आन्दोलन चर्काउन गिरिजाबाबु त्यहाँ गएर संगठनको काम गरेको घटनाहरू पनि 'ऐतिहासिक रोमान्स' हुन्। 

प्राध्यापक कृष्ण खनालको टिप्पणी छ, 'गिरिजाप्रसाद कोइरालाको यो स्मरण पूर्ण छैन। कतिपय महत्त्वपूर्ण प्रसङ्गहरूबारे उहाँले ‘पछि भन्छु’ भन्दाभन्दै छुटेका छन्, ती अब सदाका लागि छुटे। तथापि यसमा समेटिएका प्रतिनिधि संस्मरणहरूले राणाशासनका अन्तिम दिनदेखि माओवादीसँगको शान्तिवार्ता र संविधानसभा चुवानपूर्वको संक्रमणसम्मका राजनीतिक घटनाक्रम र आयामहरू बुझ्न आधार दिन्छन्। इतिहासका ती महत्त्वपूर्ण क्षण स्वयं नायक पात्रको मुखबाट अभिव्यक्त भएका हुँदा तिनले आधिकारिकता र विषेश महत्त्व राख्छन्।' (पृ. ख)

एउटा निर्णय लिएपछि त्यसलाई 'वार कि पार' गर्ने अडान लिन सक्ने ‘गरिजाबाबु’को 'आफ्नै कुरा' राजनीतिमा रुचि हुनेहरूका लागि जति महत्त्वपूर्ण छ, त्यतिकै महत्त्वपूर्ण नेपाल र नेपाली समाज जान्न चाहनेहरूको लागि पनि।

(जगत नेपाल लिखित ‘आफ्नै कुरा’' २०६७ सालमा जगदम्बा प्रकाशनबाट प्रकाशित भएको हो।)


प्रकाशित: July 2, 2021 | 12:05:00 काठमाडौं, शुक्रबार, असार १८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

आयोगले प्रदेशतर्फ समानुपातिकको मतपत्र छपाइ सक्यो

निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ। दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको आयोगले जनाएको छ।
नेपाल समय
समाज

रैथाने धानको अनुसन्धान गरिँदै

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ।
नेपाल समय
समाज

नाका नखुल्दा तिब्बतको च्याङ्‍ग्रा भित्रिन सकेन

व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैंमा च्याङ्‍ग्रा भित्र्याउँछन्। दसैँमा च्याङ्‍ग्राको माग उच्च हुन्छ।
नेपाल समय
समाज

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन्।
नेपाल समय
समाज

सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना