बुधबार, असोज १९, २०७९

शासकसँग अमिल्दा गोपीनाथको ४७६ महिने निजामती यात्रा 

महेश्वर आचार्य  |  काठमाडौं, सोमबार, असार १४, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

सोमबार, असार १४, २०७८, काठमाडौं

काठमाडाैं- राजधानी काठमाडौंदेखि पूर्वमा झण्डै ६०–७० किलोमिटरमा पर्ने काभ्रेपलाञ्चोकको तिमाल कानपुरका केदारनाथ मैनाली र रेवतीका आठ भाइ छोरा सबै निजामती क्षेत्रमा संलग्न भए। केदारनाथका छोरा युवराज सीडीओ भए भने श्याम, उमेश र गोपीनाथ सचिव भए। अरू छोरा नारायण उपसचिव र डा. राम कर अधिकृतका रुपमा कार्यरत छन्। केदारनाथका भाइ शशिकान्त मैनाली पनि सचिवसम्म भए।

मैनाली कुलका गोपीनाथ ३९ वर्ष ८ महिना सरकारी सेवा पूरा गरी ५८ वर्षे उमेर हदका कारण गत असार २ गते सेवा निवृत्त भएका छन्।

२०३८ सालमा गोश्वारा हुलाकमा खरदारका रूपमा सरकारी सेवा प्रवेश गरेका गोपीनाथ विभिन्न कार्यालय र ओहोदा हुँदै उपराष्ट्रपतिको कार्यालयको सचिवसम्म भए। 

गोपीनाथ झण्डै ४० वर्षसम्म १०–५ को दौडधुपबाट बल्ल शान्त भएका छन्। मिटिङ, ब्रिफ्रिङ, टिप्पणी, आदेश, निर्देश र तारन्तार बजिरहने फोनबाट उनलाई मुक्ति मिलेको छ। नीलो कोट र सेतो सर्ट–पाइन्टले पनि उनीसँग बिदा लिएको छ।

भेटौं भनेर गरिएको अनुरोध स्वीकार्दै उनले शंखमुलस्थित घरमा आउन आग्रह गरे। घरको मूलढोका खोल्न आउँदा उनको लवाइ बिदा मनाउन हिँडेको यायावरजस्तै थियो। ७० किलोको ज्यानमा घिउरङको खैरो हाफपाइन्ट र कुर्ता पाराको सेतो टिसर्ट। हातमा एउटा किताब थियो।

विश्वव्यापी कोरोना महामारीको दोस्रो लहर उठेसँगै जारी निषेध आदेशले छाएको सहरी चकमन्नताझैं उनको दैनिकी पनि शान्त थियो। सडकमा अलिअलि चलेका गाडीले जीवनको झल्को दिएझैं उनको सामसुङ ग्यालेक्सी एसएट मोबाइलमा यदाकदा बज्ने घण्टीले शान्ति बिथोलिरहेको महसुस हुन्थ्यो।

विश्वव्यापी कोरोना महामारीको दोस्रो लहर उठेसँगै जारी निषेध आदेशले छाएको सहरी चकमन्नताझैं उनको दैनिकी पनि शान्त थियो। सडकमा अलिअलि चलेका गाडीले जीवनको झल्को दिएझैं उनको सामसुङ ग्यालेक्सी एसएट मोबाइलमा यदाकदा बज्ने घण्टीले शान्ति बिथोलिरहेको महसुस हुन्थ्यो।

महामारीअघि चिया–पानी सोधेर गरिने औपचारिकतालाई स्यानिटाइजरको छिस्छिस्ले टपेको छ। स्यानिटाइज भएपछि साढे दुई तलाको घरको ‘क्रेजी मार्बल’ छापिएको बरन्डामा रहेको प्लास्टिकको कुर्सीमा आसन जम्यो। आसनमा झण्डै तीन घण्टा उनले काभ्रेपलाञ्चोकको कानपुरदेखि सचिव भएर अवकाश पाएसम्मको जीवनयात्रा सुनाए।

उम्दा प्रशासकको सम्झना 

कुराकानीको सुरु हातमा लिएको पुस्तकबाटै। पुस्तक डा. द्वारिकानाथ ढुंगेल लिखित पूर्वप्रशासकहरुको संस्मरण थियो। त्यस क्रममा कुलशेखर शर्मा, नरकान्त अधिकारी आदि उम्दा पूर्वप्रशासकका बारेमा चर्चा भयो। गोपीनाथले अवकाश पाएको सात दिनअघि जेठ २७ गते पूर्वप्रशासक नरकान्त अधिकारीको १ सय वर्षमा निधन भएको थियो। अधिकारी इमानदार र ‘सत्व’ भएका प्रशासक थिए। अर्थ–सचिव हुँदा उनीमाथि ‘गलैंचा काण्ड’ लाग्यो। पछि उनले सफाइ पनि पाए। तर पनि त्यो काण्डले उनको मानमर्दन गरिएको थियो। 

अर्का प्रशासक कुलशेखर शर्माका कुरा पनि भए। शर्मा तिनै प्रशासक हुन् जसले विदेश भ्रमण जाँदा पाएको भत्ता सबै खर्च नभएपछि बाँकी रकम कार्यालयमा फिर्ता बुझाएका थिए। अहिले नरकान्त अधिकारी, कुलशेखरजस्ता प्रशासक ‘नमिल्दा’ लाग्छन्।

पञ्चायतकालका ती प्रशासकजस्तै संघीय गणतान्त्रिक व्यवस्थामा पनि नमिल्दा भए गोपीनाथ मैनाली। भकुण्डोजस्तै यताबाट उता र उताबाट यता छेउकुना भइरहे उनी। पाँच वर्ष सचिव भएका उनी ९ पटक सरुवामा परे। विज्ञता वा कार्यालयको आवश्यकताका खातिर सरुवा संख्यालाई अस्वाभाविक नमान्दा पनि पदस्थापनाको ग्राफले सरुवाको नियतमाथि प्रश्न उठेको थियो। हुन त यो गोपीनाथको मात्र ‘केस’ होइन। प्रजातन्त्र, बहुलवाद र सुशासन संस्थागत नभएको ‘केस’ हो। यी केसलाई छोडेर गोपीनाथले आफ्नो ‘केस’ उधिन्न थाले।

कानपुरबाट काठमाडौं

कक्षा ७ सम्म तिमाल कानपुरकै स्कुलमा पढेका गोपीनाथ कक्षा ८ पढ्न काठमाडौं आउने भए। डिल्लीबजारस्थित डेरामा काका तथा दाजुहरु लोकसेवाको तयारीमा थिए। उनीहरुकै अभिभावकत्वमा गोपीनाथ पद्मोदय माविमा भर्ना गरिए। पुतलीसडक मोडको त्यो बेलाको चर्चित पद्मोदय माविमा आएपछि गोपीनाथको जीवनका क्षितिज फराकिला भए। उनी भन्छन्, ‘१६ वर्षको उमेरमा बहुदलीय प्रजातन्त्र र सुधारिएको पञ्चायतबीच भएको जनमत संग्रहले दिमागमा छिपछिपे राजनीतिक चेत हालिदियो।’ २०३६ सालमा उनले एसएलसी परीक्षा दिए।

‘१६ वर्षको उमेरमा बहुदलीय प्रजातन्त्र र सुधारिएको पञ्चायतबीच भएको जनमत संग्रहले दिमागमा छिपछिपे राजनीतिक चेत हालिदियो।’

एसएलसीपछि २०३७ सालमा पद्मोदयबाट दुई सय कदम पश्चिम इक्षुमती अर्थात् टुकुचापारिको आरआर कलेजमा भर्ना भए। हाल नारायणहिटी दरबार परिसरभित्र रहेको ‘महेन्द्र मञ्जिल’ मा एक्लो जीवन बिताइरहेकी राजा महेन्द्रकी रानी रत्नका नाममा २०१८ सालमा स्थापित रत्नराज्य गर्ल्स कलेज २०३१ सालदेखि सहशिक्षा भएर रत्न राज्यलक्ष्मी क्याम्पस भइसकेको थियो।

हरिवंशसँग लागेर हडताल

आरआरमा गोपीनाथले साहित्य, अर्थशास्त्र र संगीत पढ्ने भए। बहुदल र निर्दलबीचको चुनावले जिन्दावाद र मुर्दावाद भन्न सिकाएकै थियो। जनमतसंग्रहपछि पञ्चायत पनि उदार भएको थियो। साप्ताहिक पत्रिकाहरुले प्र. ने. का. (प्रतिबन्धित नेपाली कांग्रेस) र प्र. ने. क. पा. (नेपाल प्रतिबन्धित कम्युनिस्ट पार्टी) भन्दै पार्टी तथा नेताहरुको भनाइ छाप्न थालेका थिए।

गोपीनाथ सम्झन्छन्, ‘आईएको ऐच्छिक संगीतको कक्षा साँझमा थियो। संगीतको कक्षा दिउँसो हुनुपर्छ भनेर हडताल गरेका हौं। हडताल गर्न हौस्याउने अगुवा थिए, पछि हास्यकलाकार भएका दौंतरी हरिवंश आचार्य।’ संगीत पढाउने गुरु थिए, संगीतप्रवीण नरराज ढकाल, शास्त्रीय गायिका शकुन्तला प्रधान र तबलावादक महेन्द्र लाखे।

युवा अवस्थाका गाेपीनाथ मैनाली।

‘राग र सुर नरराज ढकाल र शकुन्तला प्रधानले पढाउनुहुन्थ्यो भने तालचाहिँ महेन्द्र लाखे सरले,’ गोपीनाथले चालीस वर्षअघिको कुरा सम्झिए, ‘थ्योरीलाई त समस्या भएन तर प्राक्टिकलले मार पार्‍यो।’ संगीतको प्रयोगात्मक परीक्षामा फेल भएपछि उनलाई जीवनमा पहिलो पटक नमिठो झट्का लाग्यो। त्यसअघि फेल हुनुको पीडा थाहा थिएन। एक वर्ष खेर गयो। त्यो ‘वर्ष लस’ को पीडाको अनुभव शिक्षा मन्त्रालयमा सचिव हुँदा काम लाग्यो। शैक्षिक वर्ष कुनै पनि हिसाबले ‘लस’ नहोस् भनेर नीति बनाउने निर्णय लिन सकिएकोमा उनलाई सन्तोष छ।

गोपीनाथ र हरिवंशको आउजाउ बाक्लै थियो। गोपीनाथका पढन्ते दाइका बारेमा हरिवंशलाई राम्रै थाहा थियो। आफूलाई फेल भइरहने बानी परेको कुरा हरिवंशले २०७० मा प्रकाशित ‘चिना हराएको मान्छे’ मा खुलस्त पारेकै छन्। तर आफ्नै गाउँठाउँको दौंतरी फेल भएको कुराले आचार्यलाई पनि पिर पार्‍यो।

गोपीनाथ र हरिवंशको आउजाउ बाक्लै थियो। गोपीनाथका पढन्ते दाइका बारेमा हरिवंशलाई राम्रै थाहा थियो। आफूलाई फेल भइरहने बानी परेको कुरा हरिवंशले २०७० मा प्रकाशित ‘चिना हराएको मान्छे’ मा खुलस्त पारेकै छन्। तर आफ्नै गाउँठाउँको दौंतरी फेल भएको कुराले आचार्यलाई पनि पिर पार्‍यो। हरिवंशले गोपीनाथलाई सुझाव दिए, ‘हेर् भाइ, तँ यो गीत–संगीतमा नलाग्।’ अनि उनले संगीत विषय छाडे। बीएमा अर्थशास्त्र र नेपाली साहित्य लिए।

संगीतको प्रयोगात्मक परीक्षामा फेल भएर वर्ष ‘लस’ भएपछि कुर्नुबाहेक अर्को विकल्प थिएन। साहित्यलेखनको अलि–अलि नसा थियो। त्यही बेला तत्कालीन ‘नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ ले संगीत–वृत्ति दिने विज्ञापन निकाल्यो। पूरै नमरिसकेको संगीतको तलतलले ग्रसित भएर प्रतिष्ठानमा आवेदन दिए।

दुई जना आवेदकको नाम निस्क्यो– गोपीनाथ मैनाली र सुनिता सुब्बा। सुनिता छानिइन्, गोपी बाहिरिए। अहिले हेर्दा आफ्नो नाम ननिस्केको ठिकै जस्तो उनलाई। थामेर किन छोड्यौ हातहरू..., रोजेर किन तोड्यौ साथहरू..., हातमा चुरा निधारमा टीका न पोते गलामा..., ‘हेर्दाहेर्दै थाके आँखा’ जस्ता गीत गाएकी सुनिता सुब्बाको हाराहारीमा आफू पुग्दिनँ कि भन्ने गोपीलाई लाग्छ। उनी भन्छन्, ‘संगीतमा लागको भए आफू एक असफल संगीतकर्मी पो हुने थिएँ कि! धन्न त्यो पाटो आईएसँगै छुट्यो।’

सिद्धिचरणसँगको साहित्यिक संगत

गीतसंगीत छुटे पनि गोपीनाथ साहित्य लेखनमा सक्रिय थिए। बैरागी काइँला, इन्द्रबहादुर राई, ईश्वर वल्लभहरूको वाहवाहीको समय थियो त्यो। २०२० सालमै ‘आज रमिता छ’ आख्यान कथेका राई र २०३० सालमा ‘आगोका फूलहरु हुन्, आगोका फूलहरु होइनन्’ काव्य रचेका वल्लभहरुको आयामेली लेखनको प्रभाव गोपीनाथलाई पनि रमरम पार्न थालेको थियो। वैरागी काइँलाको ‘माया मेरो मफलर भए बाँधी हिँड्थें गलामा, कहिलेकाहीं त मन नहुँदा टाँगिदिन्थें किलामा’ ले त वैराग होइन राग उराल्थ्यो। गोपीनाथका साहित्यिक खजना यी लगायतका कवि कथाकारका रचना हुन्थे।

त्यतिखेरका दौंतरी श्रीहरि फुँयाल, जिवेन्द्र सिम्खडाहरुको संगतले पनि लेखनीको गति बढ्यो। ठूलो आकारको दैनिक अखबार गोरखापत्र मात्रै तथा सीमित साहित्यिक प्रकाशन भएको बेलामा ‘आकार’, ‘मिर्मिरे’, ‘गरिमा’, ‘मधुपर्क’ जस्ता पत्रिकामा नाम छापिनु नै सानको कुरा थियो। त्यसमाथि लेखबापतको पैसा ठूलै प्रोत्साहन हुन्थ्यो। गोपीनाथ सम्झन्छन्, ‘लेखबापतको पैसाले झण्डै महिनाभरको पाकेट खर्च जोहो हुन्थ्यो।’

समालोचना लेखेर छपाउने र काजीदाइलाई ‘सरप्राइज’ दिने उनको सोच थियो। तर समालोचनाको पुस्तक तयार हुने बेलासम्म सिद्धिचरण भने बितिसकेका थिए। त्यो समालोचनाको पुस्तक सिद्धिचरण बितेको १९ वर्षपछि २०६८ सालमा मात्र प्रकाशित भयो।

सिद्धिचरण श्रेष्ठसँग त उनको दौंतरीजस्तै सम्बन्ध रह्यो। आँखा कमजोर भइसकेका सिद्धिचरण श्रेष्ठ मुखले भन्ने र मैनालीले लेख्ने गरेर सिर्जनाकर्म चलिरह्यो। ‘मेरो प्यारो ओखलढुंगा’का रचयिता सिद्धिचरण श्रेष्ठकहाँ नियमित आउनेमा पूर्णप्रकाश नेपाल ‘यात्री’, धिरेन्द्र मल्ल, मञ्जुललगायतका साहित्यकार थिए। मञ्जुलले त ‘सिद्धिचरणहरु’ शीर्षकमा कविता–संग्रह नै निकाले।

अलि–अलि कलम चल्न थालेको गोपीनाथलाई पनि काजीदाइका नामले प्रसिद्ध सिद्धिचरणको नाउँमा केही लेखूँलेखूँ लाग्यो। अनि, काजीदाइका सबै कविताकाव्य पढे र समालोचना लेख्न थाले। समालोचना लेखेर छपाउने र काजीदाइलाई ‘सरप्राइज’ दिने उनको सोच थियो। तर समालोचनाको पुस्तक तयार हुने बेलासम्म सिद्धिचरण भने बितिसकेका थिए। त्यो समालोचनाको पुस्तक सिद्धिचरण बितेको १९ वर्षपछि २०६८ सालमा मात्र प्रकाशित भयो।

सरकारी सेवामा प्रवेश

१८ वर्ष भएपछि गोपीनाथले लोकसेवा दिए। हुलाकको खरदारमा नाम निस्क्यो। काम गर्दै जाँदा हाकिमसँग ठाकठुक पर्‍यो। हाकिमले बेनिमयको काम गर्न दबाब दिने, गोपी नमान्ने। हाकिम रहेछन् दरबार निकटका, गोपी परे नीतिनियमका पक्षपाती। हाकिमले शक्तिको ‘दुरुपयोग’ गरेर गोपीको सरुवा इलाका हुलाक कार्यालय कास्कीमा गरिदिए।

गोपीले गुन्टा कसे। अनि उनको काठमाडौंसँगको दोस्ती टुट्यो। त्यसपछिको जीवन जागिरमै एकोहोरियो। गीत, संगीत, साहित्य सबै छुट्यो। आईए पास भएपछि गोपीनाथले सुब्बाको आवेदन दिए। एउटै पदका लागि काठमाडौं र पोखराको लोकसेवा कार्यालयबाट विज्ञापन निस्केको थियो। उनले दुवै ठाउँबाट परीक्षा दिए। दुवैतिर नाम निस्कियो। भैरहवा र काठमाडौंमध्ये उनले काठमाडौं रोजे अनि हाल नागरिक उड्डयन प्राधिकरण भएको हवाई विभागमा सुब्बा भए।

मन्त्रीको गालीपछि राजीनामा

हवाई विभागअन्तर्गत उनको पोस्टिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भयो। त्यतिखेर काठमाडौंमा आयोजना हुन लागेको तेस्रो दक्षिण एसियाली सार्क शिखर सम्मेलनको तयारी चलिरहेको थियो। उनी अतिथि सत्कार शाखामा कार्यरत थिए। कामको तयारी हेर्न राजा वीरेन्द्र पनि बेलाबेला विमानस्थल आउने गरेका थिए। सार्कका रणनीतिकारमध्येका एक हुन्, राजा वीरेन्द्र।

यसबीच राजा विमानस्थल आएका बेला एक दिन एक मन्त्रीले राजाको खप्की खाए। खरिदमा अनियमितता भएकोमा राजाले मन्त्रीलाई अंग्रेजीमा हपारेका थिए। एक कुनामा रहेका सुब्बा गोपीनाथले पनि सबै कुरा नबुझे पनि चुरो कुरा सुनिरहेका थिए। मन्त्रीजस्तो मान्छेले गाली खाएको देखेर सुब्बासा’पलाई पनि नरमाइलो लाग्यो।

गोपीनाथ पनि के कम, राजीनामा लेखेर तत्कालीन हाकिम ललितविक्रम शाहलाई बुझाइदिए। शाहले २५ वर्षे गोपीनाथलाई फकाए, जागिर नछोड भनेर अनेक सम्झाइबुझाइ गरे तर गोपीनाथ टसको मस भएनन्। सार्क सकिएपछि उनको राजीनामा स्वीकृत भयो।

पछि राजाको गाली खाँदाका प्रत्यक्षदर्शी गोपीनाथ भएको ठाउँमा ती मन्त्री आएर बेखेडा निकाले। उनले राजाको रिस आफूमाथि पोख्दैछन् भन्ने गोपीनाथले बुझेका थिए। गोपीनाथ भन्छन्, ‘मन्त्रीले यसो किन गरेको, उसो कि गरेको भनेर दपेटे।’ गोपीनाथले पनि फलानो–फलानोको आदेशअनुसार फलानो काम गरेको भनेर जस्तालाई तस्तै पारामा जवाफ फर्काए। मन्त्रीको रिस चुलियो। गोपीनाथलाई हकारे।

गोपीनाथ पनि के कम, राजीनामा लेखेर तत्कालीन हाकिम ललितविक्रम शाहलाई बुझाइदिए। शाहले २४ वर्षे गोपीनाथलाई फकाए, जागिर नछोड भनेर अनेक सम्झाइबुझाइ गरे तर गोपीनाथ टसको मस भएनन्। सार्क सकिएपछि उनको राजीनामा स्वीकृत भयो।

प्रशासनमा प्रवेश

हवाई विभागमा राजीनामा दिएपछि गोपीनाथले फेरि लोक सेवाको तयारी थाले। यस पटकको परीक्षामा उनको नाम तीन ठाउँमा निस्क्यो। प्रहरी, कूटनीति र सामान्य प्रशासनमा। उनले रोजे सामान्य प्रशासन। सुब्बा भएको दुई वर्षमा खुलाबाट अधिकृत भएपछि उनको नोकरीको देशावर सुरु भयो। उनी सिन्धुपाल्चोक, जनकपुरका स्थानीय विकास कार्यालय, धरान नगरपालिका, राजविराज नगरपालिका, धुलिखेल नगरपालिका हुँदै नुवाकोटमा कायममुकायम स्थानीय विकास अधिकृत (एलडीओ) हुँदा उप–सचिवमा बढुवा भए।

न्यायाधीशलाई निर्णय गर्ने अधिकार नदिइएजस्तै अंकुशे मुकाम हो जगेडामा हुनु, जहाँ हाजिरबाहेक अरु काम हुँदैन।जगेडामा पर्नुको कारण थियो चुनावको मुखैमा निर्वाचन आयोगका आयुक्तहरुले नयाँ गाडी किन्ने ‘लोभ’ गर्नु। गोपीनाथले खरिद प्रक्रिया आलटाल गरिदिएका थिए।

उपसचिव भएपछि उनको काम नीतिगत कार्यान्यवनमा केन्द्रित भयो भने मुकाम पनि केन्द्र वरपर नै रहिरह्यो। रक्षा मन्त्रालय, शिक्षा मन्त्रालय, राजस्व तालिम केन्द्र हुँदै लोकसेवा आयोगमा कार्यरत भएका बेला सहसचिवमा उक्लिए।

सहसचिव भएपछि योजना आयोगमा आठ वर्ष रहे। सचिव भएपछि पुनः काठमाडौंबाहिर खटिए। पहिलो पोस्टिङ क्षेत्रीय प्रशासकको कार्यालय पोखरा थियो। त्यसपछि निर्वाचनका सचिव भए। निर्वाचन आयोगबाट जगेडामा प्रधानमन्त्रीको कार्यालयमा तानिए। उनी भन्छन्, ‘न्यायाधीशलाई निर्णय गर्ने अधिकार नदिइएजस्तै अंकुशे मुकाम हो जगेडामा हुनु, जहाँ हाजिरबाहेक अरु काम हुँदैन।’ जगेडामा पर्नुको कारण थियो चुनावको मुखैमा निर्वाचन आयोगका आयुक्तहरुले नयाँ गाडी किन्ने ‘लोभ’ गर्नु। गोपीनाथले खरिद प्रक्रिया आलटाल गरिदिएका थिए।

तीन महिना जगेडामा रहेपछि गोपीनाथ सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भए। त्यहाँबाट कृषि तथा भूमि व्यवस्था मन्त्रालय र, त्यहाँबाट उनको पोस्टिङ भयो, महालेखा नियन्त्रकको कार्यालय।

बही खाताको प्रविधिमैत्री लेखा

मन्त्रालयबाट महालेखामा गरिएको सरुवा स्पष्टतः निरुत्साहित गर्ने खालको थियो। मन्त्रालयका सचिवलाई विभागको प्रमुख बनाउनु आफैंमा अपमान गर्नु हो। गोपीनाथ भन्छन्, ‘कि काम छोड्नुपर्‍यो कि काम गर्नुपर्‍यो, अर्को विकल्प थिएन। काम गरें।’ त्यति बेला आफूभन्दा जुनियर सचिवलाई कामको बिफ्रिङ गर्न मन्त्रालय जानुपर्दा निकै असहज हुन्थ्यो। 

अहिले सरकारी पैसालाई आवश्यकताका आधारमा सजिलै स्थानान्तरण गर्न सकिन्छ र देशभरका सरकारी कोष जहाँसुकै रहेर जोसुकैले हेर्न सक्छन्। महालेखामा छँदा त्यो काम हुन सकेकोमा मलाई सन्तोष छ।

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै उनले त्यो मुकाममा हुँदा पनि केही राम्रा काम गर्न पाएको सन्तोष लिएका छन्। ‘महालेखामा हुँदा सरकारी बही खातालाई आधुनिक, प्रविधिमैत्री, वैज्ञानिक बनाउन पाएँ,’ मैनालीले भने, ‘जसका कारण अहिले सरकारी पैसालाई आवश्यकताका आधारमा सजिलै स्थानान्तरण गर्न सकिन्छ र देशभरका सरकारी कोष जहाँसुकै रहेर जोसुकैले हेर्न सक्छन्। महालेखामा छँदा त्यो काम हुन सकेकोमा मलाई सन्तोष छ।’

महालेखा नियन्त्रक भएका बेला आर्थिक अनुशासनबारे प्रस्तुति दिँदै गाेपीनाथ मैनाली। 

गोपीनाथले उपसचिवका रुपमा लेखा प्रशासनमा मात्रै १३ वर्ष काम गरे। केन्द्रमा रहन थालेपछि उनले नीति निर्माणको तहमा काम गर्ने मौका पाए। लामो समय मोफसलमा जनसम्पर्कमा रहेका कारण स्थानीयको समस्या र मागबारे उनी राम्रै जानकार थिए। प्रशासनले किन प्रभावकारी काम गर्न नसकेको हो भन्ने उनले बुझ्न सके। जसरी मोफसलमा स्रोत तथा संसाधनको अभाव थियो, केन्द्रमा भने सोच तथा परिचालनको कमजोरी देखे।

जलवायु बजेट र पूर्वाधारका सूचक

२०६५ सालमा सहसचिव भएका उनी २०६५ देखि २०७३ सम्म योजना आयोगको पूर्वाधार महाशाखामा रहे। उनी भन्छन्, ‘त्यहाँ त विकास निर्माणका पूर्वाधार आफ्नो क्षेत्रमा पार्न मन्त्रीदेखि नेताकार्यकर्ताको निकै दबाब पर्थ्याे।’ त्यहाँ रहँदा गरेको दुईवटा कामलाई उनी महत्त्वपूर्ण बताउँछन्। जलवायु संवेदनशील बजेट र पूर्वाधार निर्माणका लागि सूचक निर्धारण।

जहाँ नेता र कार्यकर्ताको दबाब पुग्छ त्यहाँ मात्र विकास निर्माणका पूर्वाधार बनाउने होइन पूर्वाधारका लागि भूगोल, जनसंख्यालगायतका पाँच वटा सूचकका आधारमा कार्यक्रम निर्धारण गर्ने नीति तय भयो। ‘नीतिअनुसार मोरङले दुई करोडको कार्यक्रम पाउँछ भने हुम्लामा पनि ९० लाखको कार्यक्रम जाने भयो,’ मैनाली भन्छन्।

प्रशासनको दलीयकरण

पृथ्वीनारायण शाहका पालामा छथर भारदारको सभा प्रभावशाली थियो। नारायण अज्र्याल, गणेश पाँडे, गंगाराम राना, भगीरथ पन्त, सर्वेश्वर खनाल, केशव बोहोराले विशेष मद्दत गरेकाले उनीहरुलाई गोरखा भारदारीमा विशेष शक्ति र स्थान दिइएको थियो। रणबहादुर शाहको पालामा ‘चार काजी’ को सभाको प्रभाव बढ्न गयो। भीमसेन थापा शक्तिमा आएसँगै सम्पूर्ण शासन शक्तिको उपयोग मुख्तियारबाटै हुन थालेपछि भारदारी सभा केही क्षीण भएको थियो। त्यो अवस्था र अहिलेमा के कति फरक छ त?

‘राजनीतिबिना प्रशासन अचेत हुन्छ, प्रशासनबिना राजनीति गतिहीन। यी दुई निकाय एकअर्कासँग समान उद्देश्यका लागि परिचालित हुन्छन्। राजनीतिले उद्देश्य निर्धारण गर्छ, प्रशासन सो उद्देश्य पूर्ति गर्न क्रियाशील रहन्छ।’

‘तालिम, क्षमता तथा ज्ञानमा कर्मचारी संयन्त्र निकै अगाडि बढे पनि कार्य क्षमता प्रदर्शनमा भने चुस्तता देखिएको छैन,’ मैनालीको तितो अनुभव छ। उनी राजनीतिको मूल प्रवाह विकृत हुँदाको प्रभाव प्रशासनमा परेको बताउँछन्। ‘कर्मचारी स्थायी संयन्त्र हो र यसलाई दिशानिर्देश गर्ने काम राजनीतिको हो तर यो आफैंमा भने राजनीतिक मूल्यदेखि तटस्थ हुन्छ,’ उनी भन्छन्, ‘राजनीतिबिना प्रशासन अचेत हुन्छ, प्रशासनबिना राजनीति गतिहीन। यी दुई निकाय एकअर्कासँग समान उद्देश्यका लागि परिचालित हुन्छन्। राजनीतिले उद्देश्य निर्धारण गर्छ, प्रशासन सो उद्देश्य पूर्ति गर्न क्रियाशील रहन्छ।’

नेपालमा न दलले प्रशासन बुझेको छ न त प्रशासनले राजनीतिसँगको आफ्नो भूमिका नै निर्वाह गरेको छ। ‘प्रजातन्त्र प्राप्तिको ६६ वर्ष र निजामती प्रशासनको ६० वर्षको इतिहास उपलब्धिहीन हुनुमा यी दुई वर्गको नै कमीकमजोरी छ’, उनी भन्छन्। ‘राजनीति र प्रशासनको सम्बन्धको सार नेताहरुले राज गर्ने र प्रशासकहरुले प्रशासन गर्ने हो,’ मैनाली भन्छन्, ‘त्यसका लागि निजामती सेवालाई स्वायत्त, सबल र पेसागत बनाउन राजनीतिक दलहरुको साझा कार्यसूची बनाउनुपर्छ भने प्रशासनले अपेक्षाअनुसार प्रदर्शन गर्नुपर्छ।’

उनको अनुभवमा प्रशासन सक्षम छ तर यसले क्षमताको प्रदर्शन गर्ने सकेको छैन। त्यस्तै, राजनीतिमा संघर्षबाट खारिएका नेताहरुमा पनि राज्यकौशल देखिएन। ‘राज्यले थुप्रै लगानी गरेर अनुभवी र क्षमतावान् बनाएका प्रशासकहरु ज्ञानी बने पनि शिल्पी बन्न सकेका छैनन्,’ उनी भन्छन्। 

कर्मचारीको काम नेतृत्व तहलाई सूचना दिने, व्यावसायिक सल्लाह दिने, उत्तरदायी हुने, स्वामित्व लिने र सचेत गराउने हो। ‘तर कर्मचारीमा गलत काम हुन लाग्दा सचेत गराउने हिम्मत हराउँदै गएको छ,’ मैनाली भन्छन्। मन्त्रीहरु आफ्नो प्रमुख काम नीति भूमिकाबाट तल झरेर प्रशासनिक काममा बढी नै चाख राख्न थालेको अनुभव छ मैनालीको। त्यस्तै प्रशासनिक काममा अदृश्य प्रभाव र हस्तक्षेप पनि बढ्दै गएको छ। ‘प्रत्येक पटक सीमित इमानदार र कामलाई वृत्ति मान्नेहरु पराजित भएका छन्, आत्मसन्तुष्टि र अन्तस्करणको जवाफदेहीताका लागि मात्र काम गरिरहेका छन्’, उनी भन्छन्।

मन्त्रीहरुले संस्थागत रुपमा आफ्नो संयन्त्र परिचालित गर्नुको साटो सल्लाहकारहरु राख्ने गर्नाले पनि हस्तक्षेप बढ्दै गएको र नेपालको सार्वजनिक प्रशासन तटस्थताको आवरणले छोपिएर राजनीतिक रुपमा प्रतिबद्ध बन्दै गएको उनको अनुभव छ। ‘सरकार परिवर्तनको जानकारी कर्मचारी परिवर्तन गरेर दिने गरिएको छ। यसलाई कसरी लिने?’ उनले प्रश्न गरे।

प्रशासनको विगत

प्राचीनकालदेखि धर्मशास्त्र, रीतिथिति, शासकबाट जारी हुने सनद, सवाल, रुक्काजस्ता ‘ठाडो आदेश’ मा चल्दै आएको नेपालको प्रशासन व्यवस्थाले १९ औं र २० औं शताब्दीमा संगठनात्मक स्वरुप लिएको हो। राणा शासनमा व्यवस्था गरिएका बडाहाकिम, गढी, गौंडा र गोश्वारा स्थापनाले नेपालको प्रशासन अझ विस्तार भयो। शाहकालमा केन्द्र प्रशासनको जग बस्यो भने राणाकालमा जिल्ला प्रशासनको जग बस्यो।

विगतमा स्थानीय प्रशासन र आर्थिक प्रशासन एकै थियो किनभने राज्यको मूल उद्देश्य जनताबाट कर उठाउनु थियो। सरकारी कर्मचारीको मुख्य काम कर उठाउने मात्र हुन्थ्यो। स्थानीय प्रशासनिक अधिकारी वा स्थानीय कर संकलन प्रतिनिधिका शोषण र अत्याचारबाट जनता पीडित तथा सन्त्रस्त हुन्थे। जनताले राजस्वको भरपूर मात्र होइन, राजस्व असुल गर्न खटिएका अधिकारीहरुको भरणपोषणको भार पनि सहनुपर्थ्याे।

त्यो अवस्था र अहिलेमा पनि के नै फरक छ र? उनी भन्छन्, ‘नागरिकले सरकारी मान्छेलाई आफ्नो ठान्न सकेका छैनन्। न त सरकारी मान्छेले आफूलाई जनताको सेवक ठान्न सकेका छन्।’ विगतमा प्रशासन व्यवस्थामा वार्षिक पजनीप्रथा प्रचलित थियो, नियुक्ति वा बर्खास्तीको कुनै स्पष्ट आधार नभएको व्यक्तिगत, पुर्ख्याैली प्रभावका आधारमा पद हस्तान्तरण हुन्थ्यो। चाकडीप्रथा राणाकालमा उदायो भने शाहकालमा  मौलायो। कर्मचारीतन्त्रको गञ्जागोल हेर्दा गणतन्त्रमा चाहिँ चाकडीप्रथा संस्थागत भएको भन्न मिल्ने कि नमिल्ने?
‘यसको निर्क्याेल त समयले नै देला तर केही न केही गोलमाल पक्कै छ’, मैनाली भन्छन्।

विगतमा प्रशासनको प्रतिनिधिका रुपमा पहाडी क्षेत्रमा रहने गरेका जिम्मवाल, मुखिया, द्वारे, प्रधान तथा तराईमा प्रशासनको प्रतिनिधिका रुपमा रहेका फौजदार, चौधरी, जिमीदारी, मोकदम, पटवारीसँग जसरी स्थानीय डराउँथे। अहिले पनि त सरकारी कर्मचारीले जनतालाई रैती नै ठान्छन् नि!

‘दलवादी हावाका कारण, मेरो–तेरोको धारणाका आधारमा सुरुवा, बढुवा हुँदा जो जति इमानदर छन् ती आफैंमा सीमित भएका छन् भने कर्मचारी संगठनहरुको दबदबाका कारण कर्मचारीमा हामी जनतासँग होइन अन्तै पो जवाफदेही हुनुपर्ने रहेछ भन्ने परेको छ।’

‘कर्मचारीमा राष्ट्र सेवक, जनताको सेवकको भावना जागृत भएन। किनभने इमानदार ढंगले काम गर्दा उसले आफूलाई सुरक्षित पाएको छैन,’ मैनाली भन्छन्, ‘दलवादी हावाका कारण, मेरो–तेरोको धारणाका आधारमा सुरुवा, बढुवा हुँदा जो जति इमानदर छन् ती आफैंमा सीमित भएका छन् भने कर्मचारी संगठनहरुको दबदबाका कारण कर्मचारीमा हामी जनतासँग होइन अन्तै पो जवाफदेही हुनुपर्ने रहेछ भन्ने परेको छ।’

राजनीति बहुदलीय र प्रशासन निर्दलीय बनाउनुपर्ने अभ्यास संसारभर छ। त्यही भएर त कर्मचारीलाई अनिर्वाचित जनप्रतिनिधि भनिन्छ।

किन भएन त विकास?

झण्डै एक लाख दरबन्दी भएको कर्मचारी संयन्त्र जसलाई वास्तविक राज्य सञ्चालक भनिन्छ त्यसले देशलाई अघि लगाउन किन नसकेको?
‘विकास किन भएन भन्ने प्रश्नको एउटै सजिलो उत्तर नहोला। धेरै कारण केलाउनुपर्ने हुन्छ,’ उनी भन्छन्। मुलुकले आर्थिक विकासका लागि अहिलेसम्म ‘टेक अफ’ लिन नसक्नुमा राजनीति र प्रशासन प्रमुख दोषी रहेको उनको बुझाइ छ। गोपीनाथ भन्छन्, ‘अस्पष्ट र आग्रही राजनीति र अकर्मण्य प्रशासन नै प्रमुख जिम्मेवार हुन्। अझ भनौं स्वार्थी राजनीतिज्ञ र धूर्त कर्मचारीबीचको माखेसाङ्लो नै जिम्मेवार रहँदै आएका छन्।’

विकासले मानवकल्याण र व्यवस्थित जीवन प्रणालीको उद्देश्य राख्नुपर्नेमा नेपालमा यी कुरा सिद्धान्तमा मात्र सीमित भएको छ। ‘कुनै एक वर्ग र तप्कालाई मात्र सुरक्षित गर्नु र अर्को वर्गलाई पछिल्तिर धकेल्नु होइन।

विकासले मानवकल्याण र व्यवस्थित जीवन प्रणालीको उद्देश्य राख्नुपर्नेमा नेपालमा यी कुरा सिद्धान्तमा मात्र सीमित भएको छ। ‘कुनै एक वर्ग र तप्कालाई मात्र सुरक्षित गर्नु र अर्को वर्गलाई पछिल्तिर धकेल्नु होइन। बरु जसको आवाज छैन, उनीहरुलाई शक्ति दिने प्रक्रिया हो। सबैले आफूलाई मूल्यवान् महसुस गर्ने अवस्था नै विकास हो,’ गोपीनाथ भन्छन्।

विकासले गति नपाउनुको अर्को कारण हो नीतिहरुको असमञ्जस्यता। ‘क्षेत्रगत नीति पनि मूल नीतिसँग गाँसिएनन्, बरु प्रतिस्पर्धी बने’ उनी भन्छन्, ‘गरिबी घटाउने कार्यक्रमसँग औद्योगिक उदारीकरण, शिक्षा नीति र सुशासनको आबद्धता देखिएन।’

कर्मचारीतन्त्र काममा लजाउने, सुविधामा रमाउने अनुचरको भीड बन्ने खतरा छ। उनी भन्छन्, ‘कर्मचारीको सेवा मात्र गुणस्तरीय नभएको होइन, व्यक्तिगत आचरण र कर्तव्यबाट समेत विचलित छ। त्यसैले न उसको सेवा प्रवाह प्रभावकारी छ न जनविश्वास नै स्थापित छ। यसो हुनु भनेको निजामती सेवामा पेसागत व्यावसायिकता स्वात्तै गिर्नु हो।’

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा‌‌.गाेविन्द केसीकाे १९औं पटकका अनशन ताेडाउने क्रममा सहमति आदानप्रदान गर्दै तत्कालीन  शिक्षा सचिव गाेपीनाथ मैनाली।

उनका अनुसार अब्बल दर्जाको राजनेताले मात्र अब्बल दर्जाका कर्मचारीको चाहना राख्छन्, क्षमताको कदर गर्छन् र इतिहास निर्माणमा योगदान दिन्छन्। ‘दोस्रो दर्जा’ को नेताले ‘चौथौ स्तर’ को प्रशासन खोज्छ, जसले जहिले पनि ‘हस् हजुर’ भन्छ कहिल्यै पनि ‘हुन्न हजुर’ भन्न सक्दैन।

‘जसले हुन्न भन्छ। उसलाई रुचाइन्न। बाहेक गरिन्छ,’ मैनाली भन्छन्, ‘आफ्नो स्वार्थको कारण कर्मचारीलाई बाहेक गरिँदा विज्ञता तथा व्यावसायिकता पनि छेउ लाग्छ भन्ने कुरा नेतृत्व तहले बुझ्नुपर्छ।’

अबका दिन स्वाध्ययन

निवृत्त भएपछिका दिनमा के गर्ने भन्ने योजना उनीसित छैन। यद्यपि लेखपढलाई भने जारी राख्नेछन्। ‘साहित्यिक लेखनका केही पाण्डुलिपि तयार छन्। तिनलाई अन्तिम रुप दिन्छु,’ गोपीनाथले भने। उनको साहित्य र समसामयिक विधामा पाँचवटा पुस्तक प्रकाशित छन्, जसमा अवसाद अभिनयी (२०४०) निबन्ध संग्रह, आँखाभरी रमिता, मनभरी वेदना (२०६३) यात्रा संस्मरण, प्रत्यक्ष शासन र जनआन्दोलन (२०६४) सममामयिक लेख संग्रह, युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषण (२०६८) समालोचना तथा अपेक्षा र अनुभूति (२०७४) लेख संग्रह छन्।

गोपीनाथको साहित्यिक लेखन त सोख मात्र हो। सार्वजनिक प्रशासनको विज्ञता हासिल गरेका मैनालीका व्यावसायिक लेखनका रुपमा उनका व्यवस्थापन र प्रशासनका चार वटा पुस्तक प्रकाशित छन्- राज्य सञ्चालनका आधारहरु (२०६६), नेपालमा बजेट र योजना (२०६७), प्रशासन र सुशासन (२०६८), विकास, व्यवस्थापन र व्यावसायिकता (२०७४)। प्रशासन र व्यवस्थापनका एक दुई विषयमा पनि केही लेख्ने योजना रहेको उनले बताए।

के पाए, के गुमाए?

लामो जागिरको अनुभवपछिको निवृत्तिलाई कसरी लिएका छन् त गोपीनाथले? जीवनसँग केही गुनासो छ कि? ‘आजको मेरो जे चिनारी छ। जुन नाम बनेको छ। त्यो सबै मैले निजामती सेवामा गरेको कामको प्रतिफल हो,’ गोपीनाथ भन्छन्, ‘म कानपुर साधारण किसानमा सीमित हुन सक्थे हुँला। कर्मले मलाई देशको सेवक बनायो, देशदेशावर डुलायो। राष्ट्रिय परिचय बनेको छ। मेरो केही गुनासो छैन। जे छ ठिक छ।’


प्रकाशित: June 28, 2021 | 03:10:00 काठमाडौं, सोमबार, असार १४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना