मंगलबार, असोज ११, २०७९

कसले रोक्ने बर्सेनि आइरहने 'मनसुनी वितण्डा'!

महेश्वर आचार्य  |  काठमाडौं, बुधबार, असार २, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

बुधबार, असार २, २०७८, काठमाडौं

नेपाल समय

काठमाडाैं- सामान्यतया जेठ ३० (जुन १३) मा नेपाल भित्रिने मनसुन यस वर्ष दुई दिनअघि अर्थात् जेठ २८ गते (जुन ११) भित्रिएको छ। अधिकांश ठाउँमा आकाशे पानीको भरमा खेती हुने कृषिप्रधान देशमा मनसुन आगमन ठूलो खुसीको कुरा हो। त्यो खुसीसँगै पहाड र तटवर्ती क्षेत्रका बासिन्दा बाढीपहिरोको त्रासले चैनसँग बस्न पाउँदैनन्। बाढीपहिराेबाट बर्सेनि ठूलो जनधनको क्षति भए पनि राज्यचाहिँ पूर्वतयारी, राहत र उद्धारमा संवेदनशील भएको देखिँदैन।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा अधिक वर्षा हुने आँकलन गरिसकेको छ र सबैलाई सतर्क हुन पनि अनुरोध गरेको छ। यस्तै असारको पहिलो दिनमै पहिरोका कारण सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु लगायत क्षेत्रमा ठूलो क्षति भएको छ। कर्णाली राजमार्ग अवरुद्ध भएको छ भने प्रशासनले नारायणी नदीको तटवर्ती क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिसकेको छ।  पहाडी क्षेत्रका विभिन्न सडक, हाइड्रोपावर र पुल भत्किएका छन्।

जल तथा मौसम विज्ञान विभागले वर्षाका कारण २२ जिल्लाका १७ लाख मानिस प्रभावित हुने जनाउँदै २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोको मारमा पर्न सक्ने चेतावनी दिएको छ। 

विभागले वर्षाका कारण २२ जिल्लाका १७ लाख मानिस प्रभावित हुने जनाउँदै २६ जिल्लाका १ लाख २० हजार बासिन्दा पहिरोको मारमा पर्न सक्ने चेतावनी दिएको छ। विज्ञहरु पनि गत वर्षकाे भन्दा क्षति बढी हुने अनुमान गर्छन्।

‘गत वर्ष मनसुन सक्रिय हुँदा त त्यत्रो क्षति भयो,’ भूगर्भशास्त्री प्रा. मेघराज धिताल भन्छन्, ‘यो वर्ष त झन् धेरै पानी पर्छ भन्ने आँकलन छ। त्यसैले क्षति पनि धेरै हुन सक्ने डर छ।’ गत वर्ष बागलुङ र सिन्धुपाल्चोकलाई जोखिम क्षेत्र घोषणा गरिएको थियो। ती जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने योजना पनि समयमै पूरा हुन सकेन। सरकारले गत वैशाखमा मात्र बस्ती स्थानान्तरणका लागि २० करोड बजेट निकासा गरेको थियो। ढिलो गरी आएको बजेट र कोरोना तथा निषेध आदेशका कारण समयमै काम हुन सकेन।

सिन्धुपाल्चोक लिदीका बासिन्दा आफ्नै बुलबुँतामा अस्थायी वासस्थान बनाउन व्यस्त छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँ पनि पहिरोले नराम्ररी थलिएको थियो।  लिदीका ४५ परिवारलाई बर्खाअघि नै बाँसखर्कमा अस्थायी आश्रयस्थल बनाएर राख्ने काम अघि बढाइएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘हामीले ताकेता गर्दागर्दै पनि बस्ती स्थानान्तरण बेलैमा हुन सकेन। हाम्रो तर्फबाट पीडितलाई टाउको अड्याउने ठाउँसम्म भए पनि व्यवस्था गर्न लागिपरेका छौं।’

वर्षा सुरु हुनुअघि नै अन्यत्रका जोखिमयुक्त स्थानमा अस्थायी आश्रय र सुरक्षाका लागि टेन्ट पुर्‍याउने काम भइरहेका उनको भनाइ छ। 
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ का वडा अध्यक्ष दीपेन्द्र थापाले पहिरोको जोखिममा रहेको शेरागाउँका १५ घर परिवारलाई तत्काल अस्थायी आश्रयस्थलमा सार्न लागिएको बताए।

यस वर्ष पनि विगतजस्तै आपत् आउने हो कि भन्ने डर स्थानीयमा छ। ‘राज्यले अभिभावकीय दायित्व पूरा गरिदिनुपर्‍यो,’ थापाले भने, ‘हामीले आपत् पर्दा ज्यान जोगाइदेऊ मात्र भनेका छौं, सरकारसँग केही मागेका छैनौं।’

गत वर्ष कहाँकहाँ भएको थियो क्षति? 

सिन्धुपाल्चोकको लिदीमा साउन ३० गते बिहान साढे ६ बजे आएको पहिरोले २९ घर बगाउँदा ३९ जनाको मृत्यु भएको थियो। यस्तै बाजुराको बूढीगंगा नगरपालिकाको वडा नम्बर १ मा पर्ने बूढीगंगाको बाढीले बस्तीमा प्रभावित पारेको थियो। एक सय घर स्थानान्तरण गर्नुपर्ने भए पनि सो काम हुन सकेको छैन।

गत वर्षको पहिरोमा बाजुरामा २ सय ३२ घर क्षतिग्रस्त भएका थिए र पहिरोले दुई महिना सडक अवरुद्ध भएको थियो। अछाममा गत वर्ष कैलाश खोलामा बाढी आउँदा मुजाबजारका १८ जनाको मृत्यु भएको थियो। स्थानीयवासीले थोरै समयमा त्यति धेरै पानी परेको त्यसअघि कहिल्यै अनुभव नगरेको बताएका थिए।

गत वर्ष सिन्धुपाल्चाेककाे लिदीमा गएकाे पहिराे। फाइल तस्बिर

कालीकोटमा जथाभाबी सडक निर्माणका कारण ५१ गाउँ पहिरोको उच्च जोखिममा परेको बताइएको छ। गत वर्ष कर्णाली करिडोरअन्तर्गतको खुलालु–लैफा सडक र कर्णाली राजमार्गमा मात्रै झन्डै सय ठाउँमा पहिरो गएको थियो। जिल्लाका सुरक्षित मानिएका स्थानमा पनि पहिरो गएको थियो।

रास्कोट नगरपालिका–१ को बडालतोलामा एकीकृत बस्ती विकास गर्ने योजना थियो। तर बडालतोलामा पहिरो गयो। एकाघरकै पाँच जनाको ज्यान गयो। १८ घर विस्थापित भए। गत वर्ष बाजुराको ताप्रिसेरामा पनि अछामको जस्तै धेरै पानी पर्‍यो र डाँडै बगायो। अछाम र बाजुराको पहिरोको प्रकृति सिन्धुपाल्चोक, कास्की, म्याग्दी, तनहुँको भन्दा भिन्न थियो।

गत वर्ष ठूलो वर्षापछि आएको पहिरोले गर्दा बझाङको केदास्युँ गाउँपालिकाको मल्लेसी र बंगुल, संखुवासभाको सिलिचोङ र तनहुँको श्याम्घा प्रभावित भएको थियो। तनहुँको श्याम्घामा पनि अहिलेसम्मकै ठूलो पानी परेको रेकर्ड गरिएको थियो।

प्रभावित क्षेत्रमा के छ तयारी?

बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लाका ताप्रिसेरा र अंकोटका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिसकिएको र सम्भावित जोखिम क्षेत्रमा अस्थायी आश्रयस्थल व्यवस्थापन गर्न समन्वय गरिएको बताए।

‘यसबाहेक मुख्य मार्गमा अवरोध भए हटाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो जान सक्ने बाटोका दुवै छेउमा एक्साभेटर राखिने भएको छ,’ अधिकारीले भने, ‘त्यस्तै खाद्य कम्पनीका कोल्टी र बाजुराका डिपोमा खाद्यान्न भण्डारण गरिएको छ। स्थानीय व्यापारीलाई पनि खाद्यान्न भण्डारणका लागि सूचना सम्प्रेषण गरिएको छ।’

यस्तै अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जेठ पहिलो साता नै ठूलो पानी परेपछि जोखिम क्षेत्रमा रहेका बासिन्दालाई सतर्क गराइएको र स्थानीय तहसँग समन्वय अघि बढाइसकिएको जानकारी दिए। ‘स्थानीय तहलाई जोखिम क्षेत्र पहिचान हुनासाथ सूचना जारी गर्न भनिएको छ,’ मल्लले भने, ‘त्यस्तै उद्धार दस्ताका लागि सेना, प्रहरी र स्थानीय संघसंस्थासँग समन्वय र सहकार्यका लागि तयारी गरिएको छ।’

गत भदाैमा अछामकाे रामाराेशन गाउँपालिका-१ मा बाढीले पुर्‍याएकाे क्षति। बाढीले बगाउँदा १८ जनाकाे मृत्यु भएकाे थियाे।

विज्ञ भने पहिरो र बाढीको समस्या न्यूनीकरण गर्न सही समयमा  कार्यक्रम कार्यान्वयन गर्ने निकाय नै नभएको बताउँछन्। जलाधार विज्ञ मधुकर उपाध्या समयमै पूर्वतयारी गरिएको भए गत वर्ष जाजरकोटमा धेरै क्षति नहुने बताउँछन्। जाजरकोटमा गराले थाम्नै नसक्ने गरी वर्षा भएपछि सानो ठाउँबाट भत्कन थालेको पहिरो बढ्दै–बढ्दै गएर तल्लो क्षेत्रमा रहेका घर भत्किएका थिए। 

गृह मन्त्रालयअन्तर्गत गठित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पीडितलाई राहत दिने कार्यक्रम त ल्याएको छ तर पहिरो न्यूनीकरण गर्ने कार्यक्रम भने सो संस्थासँग छैन। 

बदलिँदै वर्षाको रूप

अचेल विगतजस्तो पाँच–सात दिनसम्म झरी पर्ने स्थिति परिवर्तन भइरहेको छ। पानीको मात्र त घटेको छैन तर पानी पर्ने तरिका भने फेरिएको विज्ञ बताउँछन्। ‘लामो झरी पर्न छोडेको छ। थोरै समयमा धेरै पानी पर्ने गरेको छ,’ जलाधार विज्ञ मधुकर उपाध्या भन्छन्, ‘बाल्टिनबाट पानी खन्याएजस्तो पानी पर्न थालेको छ। जसलाई प्राविधिक भाषामा ‘क्लाउड ब्रस्ट’ भनिन्छ। गत वर्ष अछाममा यस्तै पानी परेका कारण क्षति हुन पुगेको हो।’

२०५० मा आएको भीषण बाढीका कारक पनि ‘क्लाउ ब्रस्ट’ भएको थियो। ताप्लेजुङमा पहिरो जानुको कारण पनि थियो। विज्ञका अनुसार कमजोर भूगोलमा ‘क्लाउड ब्रस्ट’ पछि बाढीपहिरो ‘डेब्री फ्लो’ आउँछ। यस्तो बाढीपहिरोले आफ्नो बाटोमा पर्ने ठुल्ठुला रूखमुनिको माटैसमेत बगाएर सोत्तर पार्छ। पवर्तको सुरुनचौर र दुर्लुङमा मनसुन प्रवेश गरेको २४ घण्टामै ‘क्लाउड ब्रस्ट’ हुँदा गत वर्ष बाढीपहिरो आएको थियो।

भूकम्पले हल्लाएको जमिनमा पानी परेपछि पहिरो जाने सम्भावना अधिक हुन्छ। ‘तर भुइँचालोले मात्रै पहिरो जाने होइन,’ भूगर्भविद् प्रा. मेघराज धिताल भन्छन्, ‘कमजोर भूखण्डमा पहिरोको सम्भावना हुन्छ। वर्षात्ले त्यो सभ्मावना बढाइदिन्छ।’

गत वर्ष आँकलन गरिएभन्दा बढ्ता मनसुन सक्रिय भएको र केही स्थानबाहेक अन्यत्र मनसुन वर्षा औसतभन्दा बढी भएको थियो। गत वर्ष हिउँदमा मंसिरदेखि फागुन, प्रि–मनसुन फागुनदेखि जेठ र मनसुन भएदेखि नै सरदरभन्दा धेरै वर्षा भएको थियो। अधिक वर्षाले माटो भिजेका कारण पनि जमिन बगेको थियो।

भूकम्पले हल्लाएको जमिनमा पानी परेपछि पहिरो जाने सम्भावना अधिक हुन्छ। ‘तर भुइँचालोले मात्रै पहिरो जाने होइन,’ भूगर्भविद् प्रा. मेघराज धिताल भन्छन्, ‘कमजोर भूखण्डमा पहिरोको सम्भावना हुन्छ। वर्षात्ले त्यो सभ्मावना बढाइदिन्छ।’

किन आउँछ पहिरो?

पहिरो पहाडी भूगोलको प्रकृति भएको बताउँछन्, जलाधार विज्ञ मधुकर उपाध्या। ‘धेरै वा थोरैको मात्रै कुरा होला पहिरो नआएको वर्ष छैन,’ उपाध्या भन्छन्। पहाडका अधिकांश वस्ती पुरानो पहिरोले थुपारेको माटोमा छन्। जतिसुकै पुरानो भए पनि पहिरोले थुपारेको गेग्रान आफैंमा कमजोर हुन्छ।

‘त्यही भएर गाउँमा ठूलो पानी आउँदा ती भूभाग बगेर जान सक्छ भने माथिबाट जुनसुकै बेला फेरि अर्को पहिरो आउन पनि सक्छ,’ उनी भन्छन्। उनका अनुसार जमिन एउटा जीवन्त प्रणाली हो। त्यसैले प्राकृतिक रुपमै जमिनमा र खास गरी पहाडी जमिनमा परिवर्तन भइरहन्छ। चट्टानहरु निरन्तर ढुटिन्छन्। जमिनमा पानी सोसिने र भित्रभित्रै बग्ने प्रक्रिया सधैं एकै हुँदैन।

रुखबिरुवाका जरा बढेअनुसार पानी सोसिने क्रम पनि फेरिन्छ। रुखबिरुवा निरन्तर बढ्छन्। भिरालो पाखामा भार थप्छन् र भार थाम्न नसकेपछि पाखा भत्किन्छन्।

‘रुखबिरुवाका जरा बढेअनुसार पानी सोसिने क्रम पनि फेरिन्छ। रुखबिरुवा निरन्तर बढ्छन्। भिरालो पाखामा भार थप्छन् र भार थाम्न नसकेपछि पाखा भत्किन्छन्,’ उपाध्या भन्छन्। गत वर्ष तनहुँको माझफाँट, सिन्धुपाल्चोकको फुल्पिङमा पहिरो आउनुको कारण यही भएको उनको तर्क छ।

विज्ञका अनुसार पानी पर्दैमा मात्र पहिरो जाँदैन। सानो क्षेत्रमा ठूलो पानी परिरह्यो भने पहिरो जाने सम्भावना बढ्छ। जमिन गह्रौं हुन्छ र स्थिर बस्ने ठाउँ छैन भने बग्छ।  ‘वर्षात्को पानी माटोले सोस्छ। बाहिरको पानी माटोमा जान्छ र माटोको चाप बढ्छ र सो माटो स्थिर हुन सकेन भने बग्छ,’ भूगर्भविद् डा. सुबोध ढकाल भन्छन्, ‘भेल बग्ने पानीलाई सुरक्षितसँग तर्काउनुपर्छ। त्यो पानी माटोभित्र छिर्यो भने पहिरो जाने सम्भावना हुन्छ।’

पहाडको कमजोर स्थानबाट सानो रुपमा सुरु हुने पहिरो बग्दैबग्दै गएर तल्लो तहमा ठूलो रुप लिँदा क्षति ठूलो हुने प्रा. धिताल बताउँछन्। गत वर्ष बाढीपहिरो (डेब्री फ्लो), माटो बग्नु (मड फ्लो), जमिन बग्नु (अर्थ स्लाइड) जस्ता पहिरो आएको उनले बताए। ‘पहिरो संकेत देखिएकै ठाउँमा र जोखिम भनिएको ठाउँमा पहिरो गएको थियो,’ प्रा. धितालले भने।

छैन पूर्व सूचना प्रणाली

जल तथा मौसम विज्ञान विभागले नदीमा पानीको बहाव र बाढीको अनुमान गरे पनि पहिरोबारेको राष्ट्रिय स्तरमा पूर्वसूचना दिने प्रणाली विकास गर्न सकेको छैन। २०७५ सालमा दोलखाको सुन्द्रावती थामी बस्तीमा पहिरोको पूर्वसूचना दिने यन्त्र तथा प्रविधिको नमुना परीक्षण गरिए पनि त्यसलाई विस्तार गर्न सकिएको छैन। 

‘एक त खोलाको पानीको मात्रा हेर्ने जस्तो पहिरोको पूर्वानुमान सहज छैन,’ डा. ढकाल भन्छन्, ‘फेरि सो प्रविधि कहाँ राख्ने भन्ने पनि कुरा आउँछ। राखेको ठाउँमा नआएर अन्त पहिरो आउन सक्छ। मुख्य कुरा मानवीय क्षति न्यून बनाउने प्रयत्न गर्नुपर्छ। त्यसका लागि समुदायलाई बलियो बनाउनुपर्छ।’ राज्यको मुख ताकेर बस्दा धेरै ढिलो हुन सक्ने भएकाले स्थानीय तह तथा समुदाय चनाखो र सतर्क हुनुपर्ने विज्ञ बताउँछन्।

‘आफू सुरक्षित हुन, समुदायलाई सुरक्षित राख्न युवा समुदायका सदस्यलाई सहभागी गराएर टास्कफोर्स बनाई पानी पर्ने पूर्वसूचनादेखि विपद् पर्न लाग्दा बस्न जाने सकिने सुरक्षित स्थानको पहिचान र मार्गको सुगमता सुनिश्चित गर्नुपर्छ,’ डा. ढकाल भन्छन्, ‘सेल्टर बस्ने ठाउँमा पानी, शौचालयलगायत अत्यावश्यक वस्तुको सुनिश्चितता गर्नुपर्छ।’ 

जथाभाबी पहाड कोतर्दा बढ्यो समस्या

विकास भनेको बाटो मात्र हो भनेझैं गरी जथाभाबी पहाड काट्दा पहिरोको समस्या धेरै बढेको विज्ञ बताउँछन्। ‘मान्छे भूकम्पले पहिरो बढ्यो भन्छन्,’ प्रा. धिताल भन्छन्, ‘भूकम्प त सबै क्षेत्रमा आएको थिएन। तर दुईतीन वर्षयता पहिरोका समस्या एकदम बढ्या छन्। यसको एउटा कारण विकासका नाममा जथाभाबी पहाड काट्नु हो।’

खाेटाङकाे तुवाचुङमा  सडक बनाउनका लागि एक्साभेटर प्रयाेग गरिँदै। तस्बिर : दमन राई

वर्षमा चार सय मानिस बाढीपहिरोमा परेर ज्यान जानु सामान्य घटना नभएको उनी बताउँछन्। ‘पहाडमा सडक खन्दा जथाभाबी थुपारिएको माटो र थुनिएको खहरेको त कुरा गरी साध्य छैन,’ उपाध्या भन्छन्, ‘जसले नभएको ठाउँमा पनि समस्या निम्त्याइरहेको छ।’
कामको योजना र निमयन नहुँदा अनावश्यक रुपमा विपद् बढाउने काम भइरहेको डा. ढकालको तर्क छ। ‘कागजी काम, योजना र नीति बनाउन अब्बल हामी कार्यान्वयनमा तहमा सबैभन्दा कमजोर साबित भइरहेका छौं,’ उनी भन्छन्, ‘सरकार, राजनीतिक दल, तथा सम्बन्धित मन्त्रालय र विभाग हाँक्ने प्रमुख व्यक्तिहरुले यो कटु सत्य आत्मसात् गर्नसके विपद्लाई टार्न सकिन्थ्यो।’

पहिरोको संकेत कसरी थाहा पाउने?

पहिरोको पूर्व–संकेत थाहा पाउँदा पनि सम्भावित क्षतिबाट बच्न सकिन्छ। ढकालका अनुसार पहिरोबाट जोगिन केही विधि अपनाउनुपर्छ। पहिलो, जमिन चिरा पर्नु भनेको पहिरोको पूर्वसंकेत हो। दोस्रो संकेत हो, पहाडको सिरानतिरको जमिन कुप्रो पर्नु। बस्तीको माथितिरको पहाड कुप्रो परेको छ भने पनि त्यो पहिरोको पूर्व संकेत हुन सक्छ। तेस्रो संकेत हो, बस्तीका सीधा रुख बांगिँदै जानु वा बिजुलीका पोल ढल्किँदै जानु। 

भूगर्भविद्का अनुसार ठूलो पहिरो एकै पटक आउँदैन। लक्षण पहिल्यै थाहा हुन्छ।।

चौथो संकेत हो, पानी परेका बेला पनि मूल एक्कासि सुक्नु वा मूल भरिनु तथा धमिलो पानी जम्मा हुनु। यी सँगै जमिनमा बग्दै आएको पानी कहीं पुगेर बिलाउँछ वा कतै अन्तबाट निस्कने गरेको छ भने पनि जमिनमा समस्या छ भन्ने बुझ्नुपर्छ। पाँचौं संकेत हो, कुनै स्थानमा धेरै खोल्सा समानान्तर रुपमा छन् र हिउँदको बेलासमेत उत्तिकै पानी बगिराख्छ भने पनि पहिरोको जोखिम हुन सक्छ। बस्ती भएको ठाउँमा विगतमा पहिरो गएको थियो भनी थाहा भए त्यस्ता स्थानमा फेरि पनि पहिरो जाने सम्भावना हुन्छ। भूगर्भविद्का अनुसार ठूलो पहिरो एकै पटक आउँदैन। लक्षण पहिल्यै थाहा हुन्छ।।

प्राधिकरण बन्यो तर जिम्मेवारीविहीन

सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको छ। तर विज्ञहरु प्राधिकरणलाई हातखुट्टा बिनाको निकाय भएको बताउँछन्। ‘भर्खरै गठन भएको प्राधिकरणका बारेमा धेरै टिप्पणी के गर्नु,’ प्रा. धिताल भन्छन्, ‘प्राधिकरणको नीति, नियम र प्रारुप हेर्दा यो उद्धार र राहतमै मात्र केन्द्रित देखिन्छ।’

विगतमा भूक्षय रोक्न वन मन्त्रालयअन्तर्गत भूसंरक्षण विभाग, सिँचाइ विभागअन्तर्गत जल उत्पन्न प्रकोप विभाग थियो। देश संघीय संरचनामा गएसँगै ती दुवै निकाय खारेजीमा परे। ‘भू–संरक्षण र जल उत्पन्न प्रकोपमै केन्द्रित भएर ती दुई संस्थाले जेजति काम गरेका थिए त्यो सबै नासियो,’ जलाधार विज्ञ उपाध्या भन्छन्, ‘अब बाढी नियन्त्रणमा केन्द्रित भएर काम गर्ने, पहिरो रोकथामको काम गर्ने निकाय नै भएनन्। यो विषय नै मुलुकको प्राथमिकतामा परेन।’

उपाध्याका अनुसार ती दुई निकायलाई नयाँ बनेको विपद् प्राधिकरण मातहत ल्याउनुपर्थ्याे र तिनका काम विस्तार गर्नुपर्थ्याे तर त्यसो हुन सकेन। ‘कुनै पनि संस्थामा केही न केही ‘इन्टिच्युसनल मेमोरी’ हुन्छ। रिसर्च फाइन्डिङ, पाइटल प्रोजेक्ट हुन्छन् त्यो सबै नासियो। अब प्राधिकरणले कहिले त्यो तहमा काम गर्ने?’ उपाध्याको प्रश्न छ।

स्थानीयलाई दक्ष बनाउनुको विकल्प छैन

पहिरो स्थानीय समस्या हो। स्थान विशेषअनुसार यसको क्षति न्यूनीकरणका लागि स्थानीयलाई दक्ष बनाउनु पहिरो न्यूनीकरणको उत्तम उपाय भएको विज्ञहरुको धारणा छ।  ‘विद्यमान नीतिले बाढीपहिरोको समस्यासँग जुध्ने स्थानीय समुदायको क्षमताको विकास गर्न नसकेको स्पष्ट छ,’ उपाध्या भन्छन्, ‘बाढीपहिरोको समस्या हरेक वर्ष आउँछ। तर नीति निर्मातासम्म तिनको पहुँच पुग्दैन। फलतः बाढीपहिरोविरुद्ध जुध्ने काम राज्यको प्राथमिकताको सूचीमा तल परेको छ।’

बाढीपहिरोका कुनै कारण कस्ता हुन्छन् भने जसलाई रोक्नै सकिन्न। यस्तो अवस्थामा सकेसम्म मानवीय, भौतिक, वातावरणीय क्षति कम हुने उपाय अपनाउनुपर्छ।

त्यसमाथि पनि प्रकृतिको बदलिँदो व्यवहार र स्थानविशेषको प्रकोपको इतिहास नबुझी आफ्नो स्वार्थका लागि जमिनमाथि गरिने जथाभाबी हस्तक्षेपका कारण पछिल्लो समय क्षति बढेको उनको तर्क छ। क्षति कम गर्न हिजोका प्रयासको समीक्षा गरीकन स्थानीय विशेषको विपद्को इतिहासको हेक्का राखेर त्यहाँको हावापानीमा आएको सूक्ष्म परिवर्तनका आधारमा कम क्षति हुने गरी भूउपयोग गर्नुपर्ने र समुदायको क्षमता बढाउँदै क्षति भएका जग्गाको पुनः स्थापना गर्नुपर्ने उपाध्याको धारणा छ।‘बाढीपहिरोको कारण र निदान स्थान विशेषमै गएर खोज्नुपर्छ,’ डा. ढकाल भन्छन्, ‘रोगझैं बाढीपहिरो सकेसम्म नआओस् भन्नेमा केन्द्रित हुनुपर्छ।’

बाढीपहिरोका कुनै कारण कस्ता हुन्छन् भने जसलाई रोक्नै सकिन्न। यस्तो अवस्थामा सकेसम्म मानवीय, भौतिक, वातावरणीय क्षति कम हुने उपाय अपनाउनुपर्छ। ‘त्यसका लागि पनि स्थाीनयलाई सबल बनाउनुपर्ने हुन्छ। विपद् प्राधिकरणले यस विषयमा गम्भीर हुनु आवश्यक छ,’ डा. ढकाल भन्छन्।

उनका अनुसार भू–क्षय, बाढी पहिरोसँग जोडिएका आधारभूत प्रश्नको उत्तर नखोजेसम्म समस्यासँग जुध्न तयारी गर्ने क्षमता विकास हुनै सक्दैन, न त जीविकोपार्जनमा सुधार ल्याउन सकिन्छ। ‘नीति निर्माताहरु स्थानीयको क्षमताबारे अनभिज्ञ रहेकाले जहिले पनि चेतना अभिवृद्धिको मात्र कुरा गर्छन् अरु कुरै गर्दैनन्,’ उपाध्या भन्छन्, ‘चेतना नै जगाउनुपर्ने गरी समुदाय मध्ययुगीन अवस्थामा छन् भन्ने ठान्नु भूल हुन सक्छ। बसोबास भएदेखि नै समुदायले भू–प्रकोपको समस्या बहोर्दै आएको हो।’

मारक बन्दै बाढीपहिरो

एक अध्ययनअनुसार बाढी तथा पहिरोका कारण नेपालमा गएको सय वर्षमा ७४ लाख मान्छेको मृत्यु भइसकेको छ। इतिहासकार कोमलराज अर्याल सन् १९०० देखि २००५ सम्मको १ सय ५ वर्षमा गोरखापत्रमा १३ हजार ५ सय २५ प्रकोपका घटना प्रकाशित भएको बताउँछन्। जसमा २ हजार ७ सय ४० अर्थात २० प्रतिशत घटना बाढीका थिए। सो घटनामा कुल ७४ लाख घाइते भएकोमा ३२ लाखको मृत्यु भएको थियो। तराई क्षेत्रमा मात्र बाढीका कारण मृत्यु हुनेको संख्या २८ लाख थियो।

गत वर्ष जल उत्पन्न प्रकोप अर्थात् पहिरोबाढीका कारणले झन्डै चार सय जनाले ज्यान गुमाएका थिए। गत वर्षको सो संख्या अघिल्लो वर्षको भन्दा चार गुणाले बढी हो।

मनसुनले गराउने महामारी

बाढीपछि कतिपय ठाउँमा सरुवा रोगको महामारी पनि देखिने गरेको छ। २०६३ सालमा बाँकेमा बाढीपछि स्थानीय पीडितमा औलो रोग फैलिन गई केहीको मृत्यु भएको थियो। २०७२ सालमा बाँके, बर्दिया, सुर्खेतमा बाढीपीडितमा झाडापखालाको समस्या देखिएको थियो।  
विश्व स्वास्थ्य संगठनले गरेको एक सर्भेक्षणमा बाढीको प्रकोपपछि पानी र खानाबाट सर्ने संक्रमणजन्य रोग फैलनसक्ने जोखिम उच्च हुन्छ। बाढी प्रभावित जिल्ला र क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, जन्डिसजस्ता खाना र पानीजन्य रोगका साथै प्रभावित तराईका जिल्लामा औलो, डंगी, चिकनगुनियालगायतका कीटजन्य रोगको जाखिम उच्च हुन्छ।

बाढीले प्रभावित भएर अस्तव्यस्त भएको स्थानमा निममित र दैनिक जीवन गर्न नै असहज हुने अवस्थामा महामारी फैलिएमा उपचार र हेरचाह गर्न कठिन हुन्छ।  ‘बाढीपहिरोपछिको अवस्थामा स्वास्थ्य सतर्कता पनि अर्को चुनौतीपूर्ण विषय छ,’ डा. ढकाल भन्छन्, ‘यसतर्फ पनि बेलैमा सचेत हुनुपर्छ।’

सेना र सशस्त्र तयारी अवस्थामा

आसन्न मनसुनले निम्त्याउने सक्ने बाढी तथा पहिरोमा उद्धार तथा राहतका लागि नेपाली सेना तथा सशस्त्र प्रहरीले आफ्ना टुकुडीलाई सतर्क अवस्थामा राखिसकेको छ। विपद्को समयमा उद्धारका काम गर्दै आएको सेनाले यस पटक पनि मनसुन अगावै उद्धारका लागि सबै तयारी गरिसकेको रहेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले बताए।

‘हामीले पूर्वतयारीका सबै काम गरिसकेका छौं भने विपद् व्यवस्थापन गणका तालिमप्राप्त प्राविधिक र विज्ञहरु सम्भावित जोखिम क्षेत्रमा खटिइसकेका छन्’, पौडेलले भने, ‘हवाई उद्धारका लागि पनि काठमाडौंमा एउटा तथा पूर्वी क्षेत्र तथा पश्चिम क्षेत्रका दुई स्थानका बेसमा हेलिकोप्टर परिचालन गरिनेछ।’

बाढीपीडितकाे उद्धारमा खटिएका नेपाली सेनिक। तस्बिर : नेपाली सेना

उद्धार टोलीको गण भएको सशस्त्र प्रहरीले पनि सम्भावित जोखिमका अवस्थामा उद्धारका लागि खटिन टोली तयार रहेको जनाएको छ। ‘यो वर्षको रिफ्रेसर तालिम सम्पन्न गरी आवश्यक सबै औजारसहितको टोलीलाई सम्भावित स्थानमा खटाइसकेको छौं,’ सशस्त्र प्रहरीका प्रवक्ता नायब महानिरीक्षक राजु अर्यालले भने, ‘बाहिनी र गणमा पनि विपद् उद्धार टोली तयारी अवस्थामा छन्।’

आपत् पर्दा ११४९ र ११५५ मा फोन गराैं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आसन्न मनसुनले ल्याउन सक्ने क्षतिलाई व्यवस्थापन गर्न आवश्यक सबै तयारी गरिसकेको जनाएको छ। प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीले तराईमा सेना तथा प्रहरीको टोली परिचालन गरिसकिएको बताए। यस्तै आवश्यक स्थानमा डोजर तथा मोटरबोट पठाइएको छ।

‘प्राधिकरणले सबै तयारी गरिसकेको छ,’ अधिकारीले भने, ‘यद्यपि कहींकतै समस्या परेमा चौबीसै घण्टा आवश्यक सहयोगका लागि जानकारी दिन अनुरोध गरिएको छ।’ देशभरको वर्षा र बाढीको जानकारीका लागि ११५५ मा र उद्धारका लागि सहयोग माग्न ११४९ मा फोन गर्न सकिने उनले बताए।


प्रकाशित: June 16, 2021 | 09:10:00 काठमाडौं, बुधबार, असार २, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

कस्तो रहला आजको मौसम?

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ
नेपाल समय
समाज

आज भारतीय शसस्त्र सीमा बलका प्रमुख नेपाल आउँदै

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलबार नेपाल आउँदै छन्। गृह मन्त्रालयका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन नेपाल आउन लागेका हुन्।
नेपाल समय
समाज

आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुुँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ।
नेपाल समय
समाज

यस्तो पनि कार्यालय : जहाँ न शौचालय छ, न त खानेपानीको प्रबन्ध

'बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयवासीको गाली र हप्काइ खानुपर्छ', अर्का सेवाग्राही सम्मरीमाइ–६ का बिहारी चौहानले भन्नुभयो, 'प्रतीक्षालय, शौचालय र एउटा ह्याण्डपाइपको व्यवस्था नभएको यस कार्यालयमा सेवाग्राही मात्र होइन, कर्मचारीलाई पनि सास्ती छ।'
नेपाल समय
समाज

अर्धचेत मुकेश : पिरोलिँदै बित्छन् कायस्थ परिवारको दसैँ

विगत १७ वर्षमाकस्ता चाडपर्व कति बिते शय्यामा सुतिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ का ‘ज्यूँदो शहीद’ मुकेश कायस्थलाई थाहा छैन।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना