मंगलबार, असोज ११, २०७९

विख्यात चराविद् काजी दाइसँग अढाइ घण्टामा अनेक किस्सा

महेश्वर आचार्य  |  काठमाडौं, शुक्रबार, जेठ १४, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

शुक्रबार, जेठ १४, २०७८, काठमाडौं

नेपाल समय

गत वर्ष साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनले थानकोटको लगलगेपाखादेखि फर्पिङको डोल्लु क्षेत्रसम्मका प्राणी तथा चरा अध्ययन गर्ने क्रममा चरा अवलोकनकर्ता टेक घर्ती मगरसँग चराका चरित्र र चालचलनबारे लामो कुराकानी भयो। सोही क्रममा टेकजीले नेपालका अग्रज चराविज्ञ हरिशरण नेपाली अर्थात् काजी दाइबारे चर्चा गर्नुभयो। काजी दाइको चरा अनुभव पुस्तकमा उतार्ने योजना रहेको तर कोरोना संक्रमणका कारण काम सुरु गर्न नसकिएको टेकजीको भनाइ थियो।

मलाई पनि उहाँसँग भेटौं भेटौं लाग्यो। कोरोना कम भएपछि छोरी देविकालाई काजी दाइसँग भेट्न चाहेको कुरा राख्यौं। काजी दाइ बिरामी भएर तंग्रिन खोज्दै हुनुहुन्थ्यो। महामारीका कारण ९० वर्षीय व्यक्तिलाई भेट्न पनि सहज थिएन। 

फोटो पत्रकार साथी दिनेश श्रेष्ठ र म घरमै गएर कुरा गर्ने र ‘व्यक्तित्व र कृतित्व’ झल्किने फोटो खिच्ने योजना बनायौं। देविकाजीले समय मिलाएर खबर गर्नुभयो। कोरोनाका कारण थाती रहेका कामको चापाचापले दिनेशजी छुट्नुभयो।

२०७७ फागनु ११ गते म छत्रपाटीबाट चाक्सीबारी जाने चोकनिर रहेको उहाँको घरमा निर्धारित समयमा पुगें। काजी दाइ तयार भएर बसिरहनुभएको रहेछ। मलाई मात्र देख्दा उहाँ अलिक खिन्न भएजस्तो लाग्यो। तर मैले उहाँलाई फोटोग्राफर साथीसहित फेरि आउने वाचा गरें। 

राणाका छोरीहरुलाई भारतीय रजौटासँग बिहे गराउन पियानोमा पोख्त बनाउन चाहन्थे मोहनशमशेर। रजौटाका छोरासँग बिहे हुन पियानो सिक्नै पर्थ्याे।

केहीबेरको औपचारिकतापछि कुराकानी सुरु भयो। हाम्रो कुराकानीलाई देविकाले सहजीकरण गरिरहनुभएको थियो। देविकाजी बाल्यावस्थादेखि नै बुवाको ‘बर्ड वाचिङ क्लब’ को सदस्य हुनुहुँदो रहेछ। 

काजी दाइको बाल्यकाल

काजी दाइको जन्म १९८८ सालमा बुबा रामशरण श्रेष्ठ तथा आमा जोगमाया श्रेष्ठका सुपुत्रका रूपमा काठमाडौं छत्रपाटीमा भएको हो। उहाँ गणेशमान सिंहका दौंतरी हुनुहुन्थ्यो। गणेशमानको संगतबाट प्रभावित काजी दाइ प्रजातन्त्रप्रति प्रतिबद्ध हुनुहन्थ्यो। उहाँले २००७ प्रजातन्त्र आएपछि श्रेष्ठको सट्टा आफ्नो थर नेपाली राख्नुभएको हो। 

उहाँका बुबा खम्बशमशेरको दरबारमा हुर्कनुभएको हो। उनले बुबालाई धर्मपुत्रजस्तो मान्थे। बुबा पियानो मास्टर हुनुहुन्थ्यो। ‘बुबाको गुरु हुनुहुन्थ्यो धर्मनन्द तुलाधर। गुरुसँग उहाँको राम्रो दोस्ती थियो। गुरु भए पनि दौंतरी,’ काजी दाइले सुनाउनुभयो।

गणेशमान सिंहसँग काजी दाइ। तस्बिर सौजन्य : प्रकाशमान सिंह

‘बुबा मोहनशमशेरका छोरीलाई पियानो सिकाउन दरबारमा जानुहुन्थ्यो,’ काजी दाइले पुराना कुरा सुनाउन थाल्नुभयो, ‘मोहनशमशेरका ६ वटी छोरी थिए।’ राणाका छोरीहरुलाई भारतीय रजौटासँग बिहे गराउन पियानोमा पोख्त बनाउन चाहन्थे मोहनशमशेर। रजौटाका छोरासँग बिहे हुन पियानो सिक्नै पर्थ्याे। चितवनमा पहिला–पहिला साइकल चलाउन नजान्ने छोरीको बिहा हुन्नन्थ्यो भनेजस्तै। ‘तपाईंले चाहिँ पियानो सिक्नुभएन?’ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘मैले पनि एक–डेढ वर्ष बुबासँग पियानो सिकें तर एउटा घटनामा मेरो औंलामा चोट लागेपछि पियानो छोड्नुपर्‍यो।’ 

‘मंगल गृहबाट घरमा ल्याइएको एउटा बट्टाको टिन च्यातिएको रहेछ। त्यसले मेरो औंला काटिदियो र मेरो औंला पियानोलाई नहुने भयो। औंलाको चोटका कारण पियानो छुट्यो।’

औंलामा चोट लाग्नुको कहानी यस्तो रहेछ– दोस्रो विश्वयुद्धमा सेनाका जवानलाई पठाउने गरेको रासनपानीलगायतका वस्तु युद्ध सकिएपछि बजारमा आए। सायद स्टक थियो होला। अहिलेको भाटभटेनी सुपरस्टोर भनेजस्तै त्यतिबेला विदेशी सामान नेपाल ल्याउने पसल थियो, मंगल गृह। अहिले सामान प्लास्टिकमा प्याक भएर आएजस्तै त्यतिबेला धेरैजसो सामान टिनमा प्याक गरिएको हुन्थ्यो। 
उहाँले भन्नुभयो, ‘मंगल गृहबाट घरमा ल्याइएको एउटा बट्टाको टिन च्यातिएको रहेछ। त्यसले मेरो औंला काटिदियो र मेरो औंला पियानोलाई नहुने भयो। औंलाको चोटका कारण पियानो छुट्यो।’ औंलामा चोट नलागेको भए उहाँ संगीतज्ञ पो बन्नुहुन्थ्यो कि!

काजी दाइलाई सानैदेखि पढाइभन्दा चराकै बारेमा जान्ने चाहना थियो। ‘म पढाइभन्दा चरा हेर्न खेतबारी र जंगल घुम्थेंं’, उहाँले सुनाउनुभयो, ‘परीक्षाका बेला सरहरुले हाजिर पुगेको छैन भनेर बस्न दिँदैनथे अनि घरका मान्छे गएर जाँच लिइदिन अनुरोध गर्नुपर्थ्याे। कहिल्यै स्कुल नगए पनि पास हुन्थें। पढाइमा त्यति लद्दुचाहिँ थिइनँ।’ कक्षा ९ पढेपछि उहाँले औपचारिक अध्ययन बिट मारिदिनुभयो। उहाँले गरेको चराको अध्ययनलाई औपचािरक अध्ययनको सीमामा अटाउन सकिँदैन। 

सिकार अनि चराप्रेम

उहाँ धोबीधाराका ठकुरीसँग काठमाडौं आसपासका  जंगलमा सिकार खेल्न जानुहुन्थ्यो। त्यसपिछ चरा संकलनमा उहाँको सक्रियता बढ्यो। ‘केटाकेटीमा सिकारमा जान पाउने भएपछि त सकिहालियो नि,’ उहाँले भन्नुभयो, ‘उनीहरु हरेक शनिबार सिकार गर्न जान्थें। सिकारमा नलैजालान् भनेर म एउटा मकलमा गोल लिएर जान्थें र ओड्ने ओडेर उनीहरुको दैलोअगाडि रातभर कुर्थें।’

मलाई त मेरो बुबाले मैले जे गरे पनि केही भन्नुहुन्थ्यो। पढ्नैपर्छ भनेर दबाब दिनुभएन। धन्न मलाई चराको सोख लाग्यो र चरामै मेरै जीवन बित्यो। मैले चराबाहेक केही जानेको छैन, अरु केही गरेको पनि छैन।’

सात सालअघि  सर्वसाधारणले बन्दुक राख्न पाउँदैनथे। राणाका परिवार र उच्च अधिकारीका घरमा मात्र बन्दुक हुन्थ्यो। त्यसैले सिकार खेल्न पनि सहज थिएन।  उहाँ २००८ सालदेखि गम्भीर भएर चरा संकलनमा लाग्नुभयो। ‘मलाई नै पनि छोराछोरीले लेखपढ गरुन् भन्ने लाग्थ्यो,’ काजी दाइले भन्नुभयो, ‘खोइ मलाई त मेरो बुबाले मैले जे गरे पनि केही भन्नुहुन्थ्यो। पढ्नैपर्छ भनेर दबाब दिनुभएन। धन्न मलाई चराको सोख लाग्यो र चरामै मेरै जीवन बित्यो। मैले चराबाहेक केही जानेको छैन, अरु केही गरेको पनि छैन।’ आफूलाई अरुले साइन्टिस्ट भनेको सन्दा उहाँलाई अनौठो लाग्दो रहेछ। ‘मलाई मान्छेहरु साइन्टिस्ट भन्छन्’, उहाँले भन्नुभयो, ‘हो भने म आफैं काम गर्दागर्दै बनेको हुँ, पढेर होइन।’

प्राकृतिक विज्ञान संग्रहालयमा कार्यरत रहँदा काजी दाइ। तस्बिर सौजन्य : देविका

चरासम्बन्धी औपचारिक अध्ययन नगरे पनि उहाँ कलेज, विश्वविद्यालयलाई पढाउने स्रोत सामग्रीसरह हुनुहुन्थ्यो। उहाँका खोजमूलक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उहाँले विश्वका चर्चित चरा वैज्ञानिकहरू डा. आर एल फ्लेमिङका बाउछोरा, सिडी मेसरलगायतका व्यक्तिसँग काम गर्नुभएको छ। उनीहरुलाई नेपालको चराको बासस्थान, आकारप्रकार र विशेषताबारे बुझ्न सघाउने काजी दाइ नै हुनुहन्थ्यो।

काजी दाइको कोठामा चराबारे लेखिएका पुस्तक थाकका थाक छन्। एउटै पुस्तकको पनि पहिलो संस्करणदेखि अद्यावधिक र पछिल्लो संस्करणसमेत। कोठाको भित्तामा सम्मानपत्र, प्रशंसापत्र र पुरस्कारको लहर।

कहाँका हज्सन, यहाँका हामी!

‘चराविज्ञान विधाको सुरुवात सन् १७९० देखि ब्रिटिस शासनका बेला सुरु भएको हो,’ उहाँले इतिहास बताउनुभयो, ‘इस्ट इन्डिया कम्पनीका अधिकारीहरु चरा अध्ययनमा लागेको देखिन्छ।’  कम्पनी सरकारको काठमाडौंमा रहेको रेजिडेन्सी अर्थात् दूतावासमा १८७७ सालमा असिस्टेन रेजिडेन्टका रूपमा नेपाल आएका ब्रायन हज्सन विभिन्न ओहोदा हुँदै रेजिडेन्टका रूपमा वि.सं. १९०० सम्म २३ वर्ष नेपालमा बसेका थिए।

उनले नेपालका झन्डै नौ हजारभन्दा धेरै प्राणी तथा वनस्पतिबारे अभिलेख राखेका थिए। तिनमा चराको रेकर्ड पनि थियो। सरकारको तत्कालीन नियमअनुसार उनी काठमाडौंबाहिर जान पाउँदैनथे। उनले काठमाडौंबाहिरका जेजति जीव तथा वनस्पतिको अभिलेख राखे त्यसका लागि अरूको सहयोग लिएका हुन्।

‘हज्सनले हजारौं प्राणीको नमुना लगेर बेलायतका संग्रहालयमा राख्यो। त्यसबाट नेपालबारे  चिनाउन मद्दत गर्‍यो। कहाँकहाँबाट आएका विदेशीले यहाँका हजारौं प्राणीको अध्ययन गरेका छन् भने म त यहींको मान्छे! उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने लाग्यो अनि म पनि चरा संकलनमा लागें,’ काजी दाइले भन्नुभयो।

‘हज्सनले हजारौं प्राणीको नमुना लगेर बेलायतका संग्रहालयमा राख्यो। त्यसले नेपालका बारेमा विदेशमा चिनाउन मद्दत गर्‍यो। कहाँकहाँबाट आएका विदेशीले यहाँका हजारौं प्राणीको अध्ययन गरेका छन् भने म त यहींको मान्छे! उसले गर्न सक्छ भने मैले किन नसक्ने भन्ने लाग्यो अनि म पनि चरा संकलनमा लागें,’ काजी दाइले भन्नुभयो।

चार्ल्स एलेन लिखित ब्रायन हज्सनको जीवनी।

यस्तो काममा लाग्ने कोही नेपाली नै थिएनन्। अनि उहाँलाई यो काम किन नगर्ने भन्ने लागेछ। काजी दाइले भन्नुभयो, ‘अनि जोस्सिएँ।’
विश्वमा प्राणीशास्त्रीका रूपमा ख्याति पाएका हज्सनको जीवनलाई चार्ल्स एलेनले ‘प्रिजनर अफ काठमाडौं’ मा उतारेका छन्। चार्ल्सको भनाइमा काठमाडौं पोस्टिङ हज्सनका लागि कारागारसरह थियो।

‘मलाई चित्त नबुझेको कुरा के भने हज्सन त काठमाडौं बाहिर जानै पाउँदैनथ्यो,’ काजी दाइले भन्नुभयो, ‘उसले अरूको सहयोगमा प्राणी र वनस्पति संकलन गरेको हो। तर चित्रकार राजमानबाहेक कुनै नेपालीको नाम लिएको छैन। त्योचाहिँ मलाई ठिक लागेन, त्यही इखले पनि मलाई केही गरौं–गरौं लागेको थियो।’

हिसाब गर्ने हो भने उमेरमा काजी दाइले घरपरिवारमा भन्दा बढी समय जंगलमा बिताउनुभएको रहेछ। सकेसम्म उहाँ जंगलमै जान चाहनुहुन्थ्यो। उहाँको साथमा ह्याट, पानीको बोतल, दूरविन र बन्दुक हुन्थ्यो। ‘काममा लाग्दा मैले निरन्तर ८/९ महिना जंगलमै बिताएको छु। मलाई वन्यजन्तुको डर लाग्दैनथ्यो,’ उहाँले सुनाउनुभयो। छोराछोरीलाई वर्षभरि पुग्ने रासनपानीको व्यवस्था गरेर मात्र चरा खोज्न निस्कनुहुन्थ्यो काजी दाइ।

‘अहिले बूढो भएर मात्र घरमा बस्नुपरेको हो,’ उहाँले भन्नुभयो, ‘खुट्टा चलुन्जेल त जंगलतिरै हुन्थें।’

क्यामरा थिएन, त्यसैले गोली हान्नुपर्थ्याे

वैज्ञानिक अध्ययनका लागि चरा समात्नैपर्थ्याे। अन्य उपाय थिएन। ‘हाम्रो पालामा क्यामरा पाइँदैनथ्यो। नत्र त किन मारिन्थ्यो र?’ काजी दाइले भन्नुभयो, ‘अहिले त फोटो खिचेर नै चराका बारेमा अध्ययन गर्न सकिन्छ। प्रविधिको विकास भएको छ। चराको रगतबाट डीएनएसम्मको अध्ययन गर्न सकिन्छ। उति बेला जुन चरा प्रजातिको अध्ययन गर्नुपर्ने हो त्यसलाई मारेर ल्याउनुपर्थ्याे।’

चरा पाएपछि त्यसको आन्द्राभुँडी निकालेर २४ घण्टाभित्रै प्रिजर्भ गर्नुपर्छ नत्र कुहिन्छ। खुट्टामा चराको डिटेल लेखेर रेकर्ड राख्नुपर्छ।  उहाँले देश डुलेर पत्ता लगाएको चरा प्रजाति अहिले नेपालका चराहरुको सूचीमा दर्ता भएका छन्।

विश्वमा हाल ९ हजारभन्दा बढी चरा प्रजाति छन्। काजी दाइले नेपालमा पाइने ८ सय ७४ प्रजातिमध्ये ७ सय ७० प्रजातिको संकलन गरेका छन्। ‘कहिलेकाहीं एकै दिनमा दुईतीन प्रजाति हात लाग्थ्यो। त्यो निकै खुसीको क्षण हुन्थ्यो,’ काजी दाइले भन्नुभयो, ‘नत्र एउटै प्रजाति खोज्न महिनौं–वर्षौं लाग्थ्यो।’

हज्सन संकलित प्राणीहरुको चित्र तथा अधिलेख संग्रह बेलायतको संग्रहालयमा।

चरा पाएपछि त्यसको आन्द्राभुँडी निकालेर २४ घण्टाभित्रै प्रिजर्भ गर्नुपर्छ नत्र कुहिन्छ। खुट्टामा चराको डिटेल लेखेर रेकर्ड राख्नुपर्छ। 
उहाँले देश डुलेर पत्ता लगाएको चरा प्रजाति अहिले नेपालका चराहरुको सूचीमा दर्ता भएका छन्। देशका लागि एउटा व्यक्तिले दिने योगदान योभन्दा अरु के नै हुन सक्छ र?

उहाँ चितवन पुग्दा एकपटक गैंडासँग जम्काभेट भएको थियो भने नुवाकोट पुग्दा चितुवासँग आमनेसामने। कहिले भोकभोकै जंगलमा बास बस्नुपरेको थियो भने कहिले जंगलमा एक्लै पर्दा एक निमेष पनि ननिदाई रात काट्नुपरेको थियो। जीवन नै चरालाई समर्पण गर्ने क्रममा कति पटक ज्यान पनि जोखिममा परेको थियो।

उहाँलाई १३ प्रजातिका चरा पत्ता लगाएको श्रेय छ। तिनमा हिमाली कोचल गाँडे (तिबेट आवलेट) एक हो। सो चरा उहाँले डोल्पो क्षेत्रमा फेला पार्नुभएको थियो। त्यस्तै, उहाँले पत्ता लगाउनुभएको अर्को चरा हो, तितुहरु (स्नो फिन्च) को तीन प्रजाति। अन्य दुई प्रजाति त लोप भइसकेको  अनुमान छ। ती हुन्– मल गुझा (ब्लाक टेल गोडविट) र मोतोखुत्ते फिस्टे।

‘सुरुमा सोखका रुपमा यो काम गरे पनि सन् १९५५ देखि व्यवस्थित रुपमा चराको रेकर्ड राख्न थालेको हुँ,’ काजी दाइले सुनाउनुभयो।

आफैंले सिकेर ट्याक्सीडर्मिस्ट

ट्याक्सीडर्मी भनेको मृत प्राणीको भित्री अंग निकालेर छाला जस्ताको तस्तै राखी बाहिरबाट हेर्दा जिउँदैजस्तै दुरुस्त पार्नु हो। नेपालमा चराको अग्रज ट्याक्सीडर्मिस्ट काजी दाइ नै हुनुहुन्थ्यो। ‘म चरा खोज्न जंगल–जंगल चहार्थें र आफूले ल्याएको चरालाई कसरी नकुहिने गरी राख्ने भन्ने विधि अपनाउँथें। त्यो विधि आफैंले पत्ता लगाएको हुँ। कहीं पढेको वा कसैसँग सिकेको होइन,’ काजी दाइले भन्नुभयो, ‘एक जना कम्पाउन्डरसँग घाउ नपाक्न के लगाउनुहुन्छ भनेर सोधें अनि उनले भनेको औषधि मात्रा मिलाएर लगाउँदै चरालाई सुरक्षित गर्न सिकें।’

राजा वीरेन्द्रले ‘नेपालमा प्राकृतिक विज्ञान संग्रहालय बनाउन तिम्रो संकलनको चरा देऊ’ भनेपछि उहाँले त्रिभुवन विश्वविद्यालयको प्रकृति विज्ञान संग्रहालयलाई आफ्नो संकलनको पाँच सय चरा दान दिनुभएको थियो।

उहाँले ‘ट्याक्सीडर्मी’ गरेका चराको संग्रह प्राकृतिक विज्ञान संग्रहालयमा सुरक्षित छ। राजा वीरेन्द्रले ‘नेपालमा प्राकृतिक विज्ञान संग्रहालय बनाउन तिम्रो संकलनको चरा देऊ’ भनेपछि उहाँले त्रिभुवन विश्वविद्यालयको प्रकृति विज्ञान संग्रहालयलाई आफ्नो संकलनको पाँच सय चरा दान दिनुभएको थियो।

उहाँले केही वर्ष संग्रहालयमा विज्ञका रूपमा काम गर्नुभयो। नेपाल प्रकृति संरक्षण कोष, मकालु वरुण संरक्षण आयोजना, आईयूसीएनलगायतका संस्थामा विज्ञको हैसियत उहाँको संलग्नता थियो। उहाँले चरामा मात्रै सीमित मान्न नसकिने प्रमाण छोडेर जानुभएको छ। उहाँले गोरखा दक्षिण बाहु, नेपाल विज्ञान प्रविधि सम्मान, राष्ट्रपतिबाट ‘संरक्षण सम्मान’ पाउनुभएको छ।

पन्छी संरक्षण संघको स्थापना

चरामा लाग्दै गर्दा १९८० तिर काजी दाइले ‘बर्ड वाचिङ क्लब’ खोल्नुभयो र नियमित रूपमा चरा अवलोकनको दैनिकी बनाउनुभयो।
यस्तो काममा नेपालीभन्दा विदेशी बढी उत्सुक देखिए। काठमाडाैंका अधिकांश विदेशीलाई ‘बर्ड वाचिङ क्लब’ बारे थाहा थियो। ‘बेला यस्तो पनि थियो बर्ड बाचिङ क्लबको सिफारिसपत्र छ भने सजिलै भिसा लाग्थ्यो,’ काजी दाइले भन्नुभयो, ‘हाम्रै संस्थाको सिफारिसमा विदेशमा चरा अध्ययन गर्न गएकाहरू पनि छन्।’ 

कास्कीको नौडाँडामा सन् १९७२ मा काजी दाइ। तस्बिर : डा.परासरनारायण सुवाल

काजी दाइलगायतका चराप्रेमी तथा विज्ञको पहलमा नेपाल पन्छी संरक्षण संघ स्थापना गरियो। उहाँ संघको संस्थापक अध्यक्ष बन्नुभयो। संघ नेपालमा चरा संरक्षणसम्बन्धी अग्रणी संस्थाका रूपमा कार्यरत छ। देशदेशावर डुलेका काजी दाइले भन्नुभयो, ‘मलाई सिंगापुरको बर्ड स्यान्चुरी गजबको लाग्यो। चराप्रेमीले एक पटक पुग्नै पर्ने ठाउँ रहेछ त्यो। त्यस्तो भए पो हुन्थ्यो। यहाँ त भएको जंगल पनि मास्ने कुरा गर्छन्, नयाँ बनाउने कुरै छैन।’

‘चरा नासिनु भनेको हामी आफैं नासिनु हो। यो नबुझेसम्म संरक्षण फस्टाउन सक्दैन। अलिकति हरियाली, अलिकति जंगल हुर्कने ठाउँ बनाउनुपर्‍यो।’

बढ्दो सहरीकरणले चराको बासस्थान विनाश भइरहेको छ त्यो दुःखद पक्ष हो। ‘हाम्रो बस्ने ठाउँ भएन भने हामी कहाँ जान्छौं भन्नुस् त?’ काजी दाइले प्रश्न गर्नुभयो। प्रकृति र पर्यावरणको महत्त्वपूर्ण अंग हो चरा। चरालाई पनि त उसको बस्ने ठाउँ दिनुपर्छ। ‘चरा नासिनु भनेको हामी आफैं नासिनु हो। यो नबुझेसम्म संरक्षण फस्टाउन सक्दैन। अलिकति हरियाली, अलिकति जंगल हुर्कने ठाउँ बनाउनुपर्‍यो’, उहाँले भन्नुभयो।

भालु खोज्न मकालु वरुण

काजी दाइले २०३६ पछि केही वर्ष मकालु वरुणमा काम गर्नुभएको थियो। त्यतिखेर संरक्षणको काम दरबारले नै हेर्थ्याे। त्यसमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको विशेष योगदान थियो। ३० वर्षको उमेरमा ज्ञानेन्द्रको अगुवाइमा स्थापित नेपाल प्रकृति संरक्षण कोष नेपालको अग्रणी संरक्षण संस्था हो।

‘नेपालमा भालुको खोजी भइरहेको थियो। भारत पनि यसको खोजीमा रहेछ। राजा वीरेन्द्रले हामीले पहिला पत्ता लगाउनुपर्छ है उत्साहित बनाएका थिए,’ काजी दाइले सम्झनुभयो। उहाँले मकालु वरुण क्षेत्रमा काम गर्दाका तस्बिर देखाउनुभयो। एउटा तस्बिरमा उहाँसँगै अर्का एक जना युवक थिए। ‘उहाँ को नि?’  ‘ल उहाँ तीर्थ अंकल नि,’ देविकाले भन्नुभयो। तीर्थ अंकल अर्थात् वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ।

‘तीर्थजी मैले गरेर चरामा रुचि जागेको भनिरहुनुहुन्थ्यो,’ काजी दाइले भन्नुभयो, ‘उहाँले नेपाली चरा प्रजातिबारे लेख प्रकाशित गर्नुभएको छ। त्यसमा मलाई नै चराको रुचि जगाइदिने मान्छेको श्रेय दिनुभएको छ।’

जिमी कार्टरसँगको दोस्ती

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर पहिलो संविधानसभाको चुनावमा पर्यवेक्षणका लागि आएका थिए। उनलाई चरा अवलोकनका लागि काजी दाइले नै शिवपुरी लानुभएको थियो। भ्रमणको फोटो देखाउँदै काजी दाइले भन्नुभयो, ‘चरा अवलोकनका लागि ३० मिनेट मात्र छुट्याइएको थियो तर झण्डै एक घण्टा अवलोकन गराएँ। त्यति समयमा राम्रोसँग अवलोकन हुन सक्ने कुरा भएन तैपनि १३ प्रजातिका चरा देखियो। नेपालमा मात्र पाइने काँडे भ्याकुर देखाउँला भन्ने सोचेको थिएँ तर त्यो दिन देखिएन।’

जिमी कार्टरले चरा अवलोकनका लागि हरिशरण काजी नै हुनुपर्ने बताएका रहेछन्। किनभने चरा अवलोकनकर्ता जिमी कार्टरसँग काजी दाइको चिनजान कार्टर राष्ट्रपति भएक बेलामै ह्वाइट हाउसमा भएको रहेछ। 

शिवपुरीको जंगलमा चरा अवलोकन गराइसकेपछि अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरसँग काजीदाइ। तस्बिर साैजन्य : देविका

चरा हेर्नकै लागि आउने विदेशीले काजी दाइलाई गाइड लैजान्थे। नेपालमा कस्ताकस्ता खालका चरा कहाँ पाइन्छ, कुनकुन मौसममा पाइन्छ भन्ने काजी दाइलाई कण्ठै थियो। २० वर्षको उमेरदेखि डुल्न थालेका काजी दाइले सबै जिल्ला घुम्नुभएको रहेछ। ‘म नेपालको ७५ वटै जिल्ला पुगेको छु,’ उहाँले भन्नुभयो।

फ्रेन्च काट्रिजको सेतो बाक्लो कागजमा सुनौलो रङका अक्षर खिपिएको ह्वाइट हाउसको पासमा ढल्के अक्षरले आगन्तुकको नाममा लेखिएको थियो– हरिशरण नेपाली। त्यही दोस्तीका आधारमा काजी दाइले आफूभन्दा सात वर्ष जेठा जिमीलाई चरा अवलोकन गराउन लानुभएको रहेछ।

‘अहिले त ७७ जिल्ला पुगेको छ नि,’ मैले भने। ‘नयाँ ठाउँ थपिया हो र? पुरानै ठाउँ त हो नि। नेपालका चरा पाइने सबै ठाउँ डुलेको छु,’ उहाँले भन्नुभयो। चराका विषयमा वैज्ञानिक अध्ययन–अनुसन्धान गर्ने तथा चराका सौखिन पहिला हरिशरण नेपालीको ठाउँ, ठेगाना र फुर्सद पक्कापक्की गरेर मात्र नेपाल आउँथे।

‘मेरो आम्दानीको आधार चरा अध्ययन गर्न आउने विदेशीलाई घुमाउने थियो,’ काजी दाइले सुनाउनुभयो, ‘त्यही क्रममा एक जना विदेशी आए, टम फ्रिसर। मैले उनलाई नेपालका विभिन्न चराको अवलोकन गराइदिएँ। ती त अमेरिकामा मुख्यालय भएको हायात होटेल इन्टरनेसलका प्रेसिडेन्ट रहेछन्। पछि उनले मलाई अमेरिका बोलाए। ठाउँठाउँमा भएका हायातका उनका होटेलमा मलाई निःशुल्क बस्न दिए अनि जिमी कार्टरसँग परिचय गराइदिए। जिमी पनि चराका सौखिन रहेछन्।’

‘जिमीले मलाई उनी राष्ट्रपति हुँदा ह्वाइट हाउसमा विशेष अतिथिका रुपमा स्वागत गरेका थिए,’ काजी दाइले जतनसाथ राखेको ४० वर्षअघि ह्वाइट हाउस छिर्दाको विशेष अतिथिको पास देखाउनुभयो। फ्रेन्च काट्रिजको सेतो बाक्लो कागजमा सुनौलो रङका अक्षर खिपिएको ह्वाइट हाउसको पासमा ढल्के अक्षरले आगन्तुकको नाममा लेखिएको थियो– हरिशरण नेपाली। त्यही दोस्तीका आधारमा काजी दाइले आफूभन्दा सात वर्ष जेठा जिमीलाई चरा अवलोकन गराउन लानुभएको रहेछ।

बुबाको निधन भएपछि सेनाको जागिर छोडेर पुस्तौनी बदाम बेपारलाई अघि बढाएका २९ औं अमेरिकी राष्ट्रपति जिमी कार्टर शीतयुद्ध चम्काउन योगदान गरेलगायतका आन्तरिक राजनीतिक कारणले प्रभावशाली राष्ट्रपति मानिँदैनन्। तर सन् १९८२ उनले स्थापना गरेको कार्टर सेन्टरले विभिन्न कल्याणकारी काम र राजनीतिक मध्यस्थता गर्दै आएको छ। सोही नाताले कार्टरलाई नेपालको ‘माओवादी युद्ध’ पछिको पहिलो संविधानसभा चुनावमा चासो थियो। २०६४ मा भएको चुनाव पर्यवेक्षण गर्न उनी नेपाल आएका थिए।

पहिला ठमेल क्षेत्र गाउँजस्तो थियो। घरघरै कति प्रजातिका चरा आउँथे। अब सहर त झिलिमिली भइसक्यो। उहाँको चिन्ता थियो, ‘भएको जंगल पनि नाश गर्ने कुरा आउँछ बा!’ 

उनलाई नेपालको चुनावमा मात्र होइन, चरामा पनि चासो रहेछ, त्यही भएर काजी दाइसँग शिवपुरीमा चरा हेर्न गएका थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार शिवपुरीमा कोइलीका १४ प्रजाति पाइन्छन् भने कुल ३ सय १८ चरा प्रजाति पाइन्छन्। यहाँको वनमा १ सय २४ प्रजातिका पुतली र १ सय २९ प्रजातिका च्याउ पाइन्छन्।

काजी दाइ। तस्बिर : विकास राैनियार

केही समयअघि शिवपुरीमा केबुलकार बनाउने र रात्रिकालीन सफारी चलाउनेजस्ता समाचार आएको थियो। अहिले के भइरहेको छ भनी काजी दाइले चासो व्यक्त गर्नुभयो। ‘यस्ता संरक्षणविरोधी खाका नै कसरी कोरिएको होलान्?’ उहाँले चिन्ता व्यक्त गर्नुभयो, ‘अहिले त विश्वमा कहाँ के भइरहेको छ सबै थाहा पाउन सकिन्छ नि। अन्तको राम्रो कुरा सिकेर संरक्षणको योजना बनाउनुपर्नेमा किन यस्ता हावादारी कुरा गरेका होलान्?’

पहिला ठमेल क्षेत्र गाउँजस्तो थियो। घरघरै कति प्रजातिका चरा आउँथे। अब सहर त झिलिमिली भइसक्यो। उहाँको चिन्ता थियो, ‘भएको जंगल पनि नाश गर्ने कुरा आउँछ बा!’ 

अकिहितोलाई चाख लागेको लुइँचे

काजी दाइले आफूले संकलन गरेको ५ सय चरा प्रजाति त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्रहालयलाई दान दिएनुभएको थियो।त्रिविले उहाँको विद्वत्तालाई कदर गर्दै लेक्चरर सरहको पदमा संग्रहालयमा कररमा केही वर्ष काममा राख्यो। संग्रहालयमा आबद्ध हुँदा पनि काजी दाइको चरा अनुसन्धान अघि बढिरह्यो।

‘सुरक्षाकर्मीले हामीलाई सकेसम्म परपर राख्ने खोज्थे,’ उहाँले स्मरण गर्नुभयो, ‘जापानिज प्रिन्सले संग्रहालयमा भएको लुइँचेको बारेमा सोध्नुभयो।  मैले अघि सरेर बताउनै पर्‍यो। अनि सुरक्षाकर्मी पनि हच्किए।’

संग्रहालयमा विभिन्न पाहुन आउँथे। एक पटक जापानका तत्कालीन युवराजधिराज अकी हितो नेपाल भ्रमणमा आउँदा प्राकृतिक विज्ञान संग्रहालय अवलोकनमा रुचि देखाएछन्।  काजी दाइ ड्युटीमा जान परिहाल्यो। ‘सुरक्षाकर्मीले हामीलाई सकेसम्म परपर राख्ने खोज्थे,’ उहाँले स्मरण गर्नुभयो, ‘जापानिज प्रिन्सले संग्रहालयमा भएको लुइँचेको बारेमा सोध्नुभयो।  मैले अघि सरेर बताउनै पर्‍यो। अनि सुरक्षाकर्मी पनि हच्किए।’

काजी दाइले लुइँचेबारे भन्नुभयो, ‘लुइँचे भनेको कुखुराको जंगली प्रजाति हो। सबै घर पालुवा प्रजातिलाई ‘डोमेस्टिकेसन’ गरेर घरपालुवा बनाइएको हो। वा, सभ्यताको विकास हुँदै गर्दा जंगली प्रजाति घरपालुवा बन्दै गए। लुइँचे नभएको भए कुखुरा पालन हुँदैनथ्यो।’ ‘जापानिज ब्यान्टम प्रजाति जापानको रैथाने कुखुरा प्रजाति हो,’ काजी दाइले भन्नुभयो, ‘संसारमा राम्रा मानिएका कुखुराका चार प्रजाति ओनागादोरी, फिनेक्स, सोहुकुकु र टोटन्को कुखुरा जापानबाटै विश्वमा फैलिएको हो। त्यसबाहेक सिल्के, पोलिस र सुल्तान कुखुरा प्रजाति सुन्दर कुखुरामा गनिन्छन्।’ त्यही भएर पनि जापानिज प्रिन्सलाई लुइँचेबारे चासो परेको हुन सक्छ। 

अन्त्यमा,

नेपालको पर्यटनको एउटा अंश चराको पनि छ। यसमा काजी दाइको ठूलो योगदान छ। उमेर ढल्कँदै गएपछि उहाँ घुम्न नसक्ने हुनुभयो। तर घरमा बसे पनि लेखपढ तथा खोजीको काम भने जारी थियो। ‘उहाँ त्यत्तिकै नबसी केही न केही गरी नै रहनुहुन्छ,’ छोरी देविकाले भन्नुभयो।

हामी पुग्दा पनि उहाँ इसिमोडको एक दशकअघिको प्रकाशनमा लेखिएको कुरा कलमले कोरेर पढ्दै हुनुहुन्थ्यो। उहाँले नेपालमा पाइने वनस्पतिले अल्जाइमरको औषधिका रुपमा उपयोग हुने सो लेख हामीलाई पनि देखाउनुभएको थियो। झण्डै अढाइ घण्टाको कुराकानीपछि छुट्टिने बेला आयो। मैले म पछि फेरि फोटोग्राफरसँग आउँछु भनें।

२०७८ जेठ ५ गते बिहान आठ बजे काजी दाइले यो संसार छोडेकाे खबर आयाे। काजी दाइ तल कोठामा सर्छु भन्नुहुन्थ्यो। आखिरमा यो धर्तीबाटै सर्नुभएछ। उहाँसँग बिताएका ती क्षण अब स्मरणमा मात्र रहनेछन्।

उहाँले भन्नुभयो, ‘म तलको कोठामा सर्दै छु। यो कोठामा छोरा बस्छ। म ट्याक्सीडर्मीका सामान मिलाउँछु। त्यो पनि हेर्नुहोला फाेटो पनि खिचौंला।’

उहाँकहाँ फोटो खिच्न जाने भन्दाभन्दै कोरोनाको दोस्रो लहर उठ्यो। निषेध आदेश भयो। यसैबीच २०७८ जेठ ५ गते बिहान आठ बजे काजी दाइले यो संसार छोडेकाे खबर आयाे। काजी दाइ तल कोठामा सर्छु भन्नुहुन्थ्यो। आखिरमा यो धर्तीबाटै सर्नुभएछ। उहाँसँग बिताएका ती क्षण अब स्मरणमा मात्र रहनेछन्।

काजी दाइसँग गरेको बाचा पूरा हुन पाएन, न त फेरि भेट हुन पायो। मनमा सधैं थकथकी लागिरहनेछ। अलबिदा काजी दाइ!
 


प्रकाशित: May 28, 2021 | 05:11:00 काठमाडौं, शुक्रबार, जेठ १४, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

आयोगले प्रदेशतर्फ समानुपातिकको मतपत्र छपाइ सक्यो

निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ। दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको आयोगले जनाएको छ।
नेपाल समय
समाज

रैथाने धानको अनुसन्धान गरिँदै

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ।
नेपाल समय
समाज

नाका नखुल्दा तिब्बतको च्याङ्‍ग्रा भित्रिन सकेन

व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैंमा च्याङ्‍ग्रा भित्र्याउँछन्। दसैँमा च्याङ्‍ग्राको माग उच्च हुन्छ।
नेपाल समय
समाज

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन्।
नेपाल समय
समाज

सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना