मंगलबार, असोज ११, २०७९

पाण्डा र नेपाललाई विश्वमा चिनाउने जीव वैज्ञानिक

महेश्वर आचार्य  |  काठमाडौं, शुक्रबार, जेठ ७, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

शुक्रबार, जेठ ७, २०७८, काठमाडौं

नेपाल समय

प्रलाद योञ्जन, यो नाम सुन्नेबित्तिकै संरक्षण क्षेत्रमा लागेका व्यक्तिहरु श्रद्धाले शिर निहुराउँछन्। स्नेहले द्रवीभूत हुन्छन्। यी संरक्षण अभियन्ताले पाण्डाका माध्यमबाट नेपाललाई संसारभर चिनाए। स्वदेशमा मात्रै होइन सिक्किम, भियतनाम र इन्डोनेसियामा जैविक विविधता संरक्षण अनुसन्धान गरे र संरक्षणलाई प्राज्ञिक अनुसन्धानकाे विषय बनाए। यसै कारण उनको योगदान चीरस्मरणीय रहने निश्चित छ।

डा. प्रलाद योञ्जन बाँचिरहेका भए ७० वर्ष पूरा हुने थिए। दस वर्षअघि २०६८ कात्तिक १४ गते सडक दुर्घटनामा उनको मृत्यु भयाे। प्रलादको निधन संरक्षण क्षेत्रका लागि अपूरणीय क्षति थियो। उनको निधनपछि संरक्षण क्षेत्रको ‘आलोचनाको आवाज’ हराएको स्मरण गर्छन् उनका सहकर्मीहरू। ‘प्रलाद जुनसुकै विषयमा प्रश्न गर्थे। किन यसो भयो भनेर सोध्ने उनको बानी थियो,’ डा. पीताम्बर शर्माले भने।

गैंडा वा बाघको संख्या थपघट हुँदा वा वन तथा वातावरणसँग सम्बन्धित कुनै नयाँ तथ्य आउँदा तिनलाई अक्षरशः मान्नुभन्दा पनि त्यसको कारण के हो भनेर घोत्लिने उनको स्वभाव थियो। उनका प्रश्नले कतिपय अवस्थामा अधिकारीहरु अप्ठेरोमा पर्थे। शर्मा भन्छन्, ‘नेपालको संरक्षण क्षेत्रमा उनी एक्ला बृहस्पतिझैं थिए।’

अनुभवबाट हासिल स्थानीय ज्ञानका आधारमा सैद्धान्तिक बुझाइलाई समन्वय गर्नुपर्छ भन्ने उनको धारणा थियो। गाउँलेले दिएका उपाय वर्षौंको अनुभवबाट खारिएको हुन्छ र संरक्षणमा तिनलाई महत्त्व दिनुपर्छ भन्नेमा  डा‍‍. याेञ्जन अडिग थिए। 

‘उहाँ जहिले पनि तथ्यका आधारमा बोल्न र लेख्न पर्छ भन्नुहुन्थ्यो,’ प्रलादद्वारा स्थापित संस्था रिसोर्सेस हिमालयमा संस्थापनकालदेखि नै आबद्ध डा. दिनेशराज भुजु भन्छन्। अनुभवबाट हासिल स्थानीय ज्ञानका आधारमा सैद्धान्तिक बुझाइलाई समन्वय गर्नुपर्छ भन्ने उनको धारणा थियो। गाउँलेले दिएका उपाय वर्षौंको अनुभवबाट खारिएको हुन्छ र संरक्षणमा तिनलाई महत्त्व दिनुपर्छ भन्नेमा उनी अडिग थिए।  सन् ९० को दशकदेखि उनीसँगै काम गरेका मानवशास्त्री डा. रामबहादुर क्षेत्री भन्छन्, ‘संरक्षण र वातावरणका समस्याका चौतर्फी आंकलन र विश्लेषण गर्ने खुबी थियो उनमा।’

संरक्षण क्षेत्रमा नयाँ पुस्तालाई आकर्षित गरेर तिनलाई नेतृत्व तहमा पुर्‍याउनुपर्ने सोच उनको थियो। ‘रिसोर्सेस हिमालयले सन् २००८ मा ‘इन्भाइरोमेन्टल ग्रयाजुएट्स इन हिमालय’ सुरु गर्नुको कारण पनि त्यही थियो’, रिसोर्सेज हिमालयमा दुई कार्यकाल अध्यक्ष भइसकेका शर्माले भने, ‘यस कार्यक्रममार्फत वातावरण अध्ययनका विद्यार्थीलाई प्रवर्धन गर्ने सोच राखिएको थियो। कार्यक्रम उत्साहजनक ढंगले अघि बढिरहेको छ।’

डा. पीताम्बर शर्मा

योञ्जनमा नेतृत्व गुण पनि थियो। शर्मा भन्छन्, ‘उसले नै सच्चा नेतृत्व दिन सक्छ जसले आफ्नो स्वार्थभन्दा माथि उठेर समग्र क्षेत्रको स्वार्थबारे सोच्न सक्छ। प्रलादमा त्यो गुण थियो। उनले कहिल्यै पनि आफ्ना लागि मात्र सोचेनन्। सधैं संस्था र देशको लागि सोचे।’ संस्था भनेको चलायमान हुनुपर्छ भन्ने धारणा उनको थियो। त्यही भएर संस्थाको अध्यक्ष दुई पटकभन्दा बढी हुन नपाउने प्रावधान राखिएको शर्मा स्मरण गर्छन्। ‘इन्भाइरोमेन्टल ग्रयाजुएट्स इन हिमालयमा संयोजकको जिम्मेवारी त झन् ६ महिनासम्म मात्र हुने प्रचलन थियो,’ शर्मा भन्छन्। 

निस्वार्थी गुरु

प्रलादको अर्को गुण ‘निस्वार्थ गुरुभाव’ हो। उनी नयाँ पुस्तालाई सिकाउन पाउँदा आनन्दित हुन्थे। उनीसँग पढ्ने–सिक्ने मौका पाएका संरक्षणकर्मी सागर दाहाल भन्छन्, ‘उहाँ प्रस्ट विचारका व्यक्ति हुनुहुन्थ्यो। जे भन्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो र जे गर्नुहुन्थ्यो त्यही भन्नुहुन्थ्यो।’ अहिले त विद्यार्थीलाई स्रोत अभाव छ भने दस वर्षअघि त्यो समस्या अझ बढी थियो। ‘त्यस्तो बेलामा विद्यार्थीलाई पढ्न–लेख्न मौका दिने रिसोर्सेस हिमालय र प्रलाद सर हामी सबैका छहारी हुनुहुन्थ्यो,’ दाहाल भन्छन्।

विद्यार्थीसँग प्रलाद याेजञ्जन (उभिएका मध्ये दायाँबाट पाँचाैं)  तस्बिर : रिसोर्सेस हिमालय

‘विद्यार्थीका लागि त उनी रोल मोडल नै थिए,’ डा. शर्मा भन्छन्, ‘उनका वरिपरि विद्यार्थी र उनको विषय वन्यजन्तु जीवशास्त्र र पर्यावरणका युवा अनुसन्धानकर्ता यसरी झुम्मिन्थे जसरी रानु मौरीका वरिपरि मौरी।’ शर्माका अनुसार आफ्नो विषयमा उनी गहिरो र समसामयिक ज्ञान राख्थे। नयाँ अध्ययन विधि र प्रविधिमा उनी पोख्त मात्र थिएनन्, आफूलाई निरन्तर अपडेट गरिरहन्थे। आफ्नो विषयका कतिपय अन्तर्राष्ट्रिय जर्नलका उनी विज्ञ समीक्षाक (पियर रिभ्युअर) थिए। संरक्षण क्षेत्रमा भइरहेको नवीनतम अनुसन्धानबारे विद्यार्थीलाई जानकारी दिने, अनुसन्धानका नयाँ र चाखलाग्दा विषयवस्तुप्रति विद्यार्थीको ध्यान आकर्षित गर्ने पथ–प्रदर्शक थिए।

रेड पाण्डाको वासस्थानमा अध्ययनका क्रममा, गितार बजाउँदै र चिम्पान्जीबारे अध्ययन गरेकी विश्वप्रसिद्ध संरक्षणकर्मी जेन गोडालसँग प्रलाद। तस्बिर : रिसोर्सेस हिमालय

‘नयाँ पुस्तालाई संरक्षणमा देखिएका चुनौती सम्बोधन गर्ने वैज्ञानिक विधिमा आधारित अनुसन्धानतिर कसरी उत्प्रेरित गर्ने, त्यसको आधारशिला कसरी निर्माण गर्ने र त्यसका निम्ति आवश्यक स्रोतसाधनको जोहो कसरी गर्ने भन्नेमै उनी सधैं चिन्तित हुन्थे,’ डा. शर्मा भन्छन्। 

अनुभवसिद्ध र नवीनतम ज्ञानका आधारमा मात्र संरक्षणका नीति र कार्यक्रम सफल हुन सक्छन् भन्ने उनको मान्यता थियो। उनको काम गर्न सक्ने जाँगर र धैर्य अदभूत थियो। विद्यार्थीका निम्ति समयको कन्जुसी उनले कहिल्यै गरेनन्। शर्मा भन्छन्, ‘विद्यार्थीको थेसिस अनद्योपान्त पढेर विस्तृत टिप्पणी, सल्लाह दिन्थे। कक्षामा बासी ज्ञान लिएर कहिल्यै जाँदैनथे। विद्यार्थीलाई बाँड्नका लागि सधैं नयाँ कुरा, नयाँ तथ्यको खोजी गरिरहन्थे।’

पढाइ सक्नेबित्तिकै चितवन

२००८ साल जेठ ७ गते जन्मिएका प्रलाद योञ्जन पूर्वप्रहरी महानिरीक्षक पहलमानसिंह लामाका ६ भाइ छोरामध्येका माइला हुन्। प्राथमिक शिक्षा विराटनगरमा पाएका योञ्जनले मावि तहको पढाइ पद्मोदय स्कुलबाट गरी त्यहींबाट २०२५ सालमा एसएलसी र अस्कल क्याम्पसबाट बीएस्सी गरेका थिए। 

‘परियोजनाको नियुक्ति–पत्र  हुलाकमार्फत घरमै पुगेको रहेछ। पत्र देखेपछि उनका बुबाले ‘हेर् छोरा पढाइ सकिनासाथ पढाइअनुसारको काम आएको छ गर्नुपर्छ। जतिसक्दो छिटो काममा पुग्’ भनेपछि उनी चितवन लागेछन्।’

उनले त्रिवि केन्द्रीय प्राणीशास्त्र विभागबाट २०३१ मा स्वर्ण पदकसहित स्नातकोत्तर गरे। पढाइ सकिनेबित्तिकै चितवन राष्ट्रिय निकुञ्जमा नेपाल सरकार र प्रसिद्ध अमेरिकी संस्था स्मिथसोनियन इन्स्टिच्युटले संयुक्त रूपमा गर्न लागेको बाघ अनुसन्धान परियोजनामा फिल्ड रिसर्चरको काम पाए।  ‘परियोजनाको नियुक्ति–पत्र  हुलाकमार्फत घरमै पुगेको रहेछ,’ सहकर्मी प्रा. डा. क्षेत्रीको स्मरण छ, ‘पत्र देखेपछि उनका बुबाले ‘हेर् छोरा पढाइ सकिनासाथ पढाइअनुसारको काम आएको छ गर्नुपर्छ। जतिसक्दो छिटो काममा पुग’ भनेपछि उनी चितवन लागेछन्।’

त्यसबेलादेखि अनुसन्धान र संरक्षणमा लागेका प्रलादको काम २०६८ कात्तिकमा निधन हुनुअघिसम्म अनवरत चलिह्यो। साइकलप्रेमी प्रलादकाे अन्ततः साइकल चलाउँदै गर्दा दुर्घटनामा निधन भयाे। औपचारिक पढाइलाई निरन्तरता दिने क्रममा उनले कोलोराडो विश्वविद्यालयबाट एमस गरे भने युनिभर्सिटी अफ मेनबाट हिमालय रेड पाण्डामा पीएचडी सकेका थिए। उनले केही समय त्रिचन्द्र कलेजमा पढाए। त्रिविविअन्तर्गतकै प्राकृतिक विज्ञान संग्रहालयमा पनि केही समय आबद्ध भए।

प्रलाद योञ्जनको योगदान

प्रलाद हुँदै रिसोर्सेस हिमालयले सयौं साना–ठूला अनुसन्धानात्मक परियोजना सम्पन्न गरिसकेको डा. शर्मा बताउँछन्। ‘सन् १९९४ को पहिलो गैंडा गन्ती, लेकाली क्षेत्रको वन, जैविक विविधता र नेपालका संरक्षित क्षेत्रको जीआईएस आधारित डेटाबेस, हिमालय रेड पाण्डाको स्थितिसम्बन्धी अध्ययन, अन्नपूर्ण क्षेत्रको व्यवस्थापकीय योजना, हिमचितुवा संरक्षणको कार्ययोजना, हात्ती संरक्षण कार्ययोजना, पश्चिमी तराई र चुरिया क्षेत्रको १० ठेलीको विस्तृत अध्ययन र संरक्षण योजना, नेपाल जैविक विविधता कार्ययोजनाको मस्यौदा उनका मुख्य काम हुन्,’ शर्माले भने।

प्रलाद याेञ्जनले खिचेकाे रेड पाण्डाकाे तस्बिर। तस्बिर : रिसोर्सेस हिमालय

प्रलादले नेपालमा मात्र होइन भुटानका नौवटै संरक्षित क्षेत्रको जैविक विविधता सर्वेक्षणको प्रारूप तयार गरे। साथै सिक्किम, भियतनाम र इन्डोनेसियामा जैविक विविधता संरक्षण अनुसन्धानमा महत्वपूर्ण योगदान गरेको शर्माले बताए। उनले सन् १९८६ मा स्वतन्त्र अनुसन्धान संस्था ‘रिसोर्सेस हिमालय’ दर्ता गरे। ‘०४६ सालपछिको स्वतन्त्र वातावरण हुँदै गणतन्त्रसम्म आइसक्दा संस्था खोल्नुलाई सामान्य लाग्न सक्छ’ डा. भुजु भन्छन्, ‘अखबार त सेन्सर गरेर छाप्नुपर्ने त्यो बेलामा स्वतन्त्र अनुसन्धान संस्था खोल्नुलाई मैले उहाँको ठूलो आँटको रुपमा लिएको छु।’

डा. दिनेशराज भुजु

प्रलादको मुख्य तीन योगदानका कारण उनलाई सम्झनुपर्ने भुजुको तर्क छ। ‘पहिलो, उनले विश्वमै पहिलोपटक उच्चहिमाली क्षेत्रमा गएर पाण्डाको अध्ययन गरेर पाण्डा र नेपाललाई नै विश्वमा चिनाए,’ भुजु भन्छन्, ‘दोस्रो, बाघ उच्च हिमाली क्षेत्रमा पनि पाइन्छन् भन्ने प्रमाणित गरे, तेस्रो तथा महत्त्वपूर्ण योगदान भनेको आफ्नो संस्थाले पाएको म्याकआर्थर अवार्डको साढे तीन करोड रुपैयाँले रिसोर्सेल हिमालयको घरजग्गा बनाएर संरक्षणमा नयाँ पुस्तालाई संलग्न गराए।’

१४ वर्षअघिको साढे तीन करोड रुपैयाँ संस्थाका लागि अर्पण गर्नु पनि प्रलादको ठूलो योगदान हो। ‘रिसोर्सेस हिमालय संरक्षणमा स्वतन्त्र रूपमा लाग्ने सुरुवाती संस्था हो,’ भुजु भन्छन्, ‘यसमा आबद्ध संरक्षणकर्मीको लेख ‘पिर रिभ्यु’ हुने जर्नलमा छापिन थालेका छन् भने धेरैले साइट पनि गर्ने गरेका छन्।’ यो संस्थाले विश्वस्तरीय काम गर्ने संस्थाको परिचय पाएको छ। डा. शर्मा भन्छन्, ‘हामीसँग आबद्ध भएका संरक्षणकर्मी तथा विद्यार्थीले ‘नेचर’ र ‘साइन्स’ जस्ता प्रसिद्ध जर्नलमा ठाउँ पाउन थालेका छन्। त्यो अर्को उपलब्धि हो।’

कट्टर जीव वैज्ञानिक

प्रलादका भाइ प्रसन्न योञ्जन पनि संरक्षणकर्मी हुन्। उनी आफ्ना दाजुलाई एक ‘कट्टर जीव वैज्ञानिक’ मान्छन्। अलगअलग संस्थामार्फत काम गरे पनि संरक्षणको अधिकांश विषयमा दाइले आफूलाई मार्गनिर्देश गर्ने गरेको उनी बताउँछन्। ‘हामी छ भाइमध्ये म र प्रलाद दाई अनुसन्धानमा लागेका हौं,’ योञ्जन भन्छन्, ‘घरमा हामीबीच घरायसी कुरा हुँदैनथ्यो। फलानो बिरुवा कत्रो भयो, के अवस्था छ? बारीमा के के वनस्पति उम्रेको छ यस्तै कुरा हुन्थ्यो।’ आफ्ना दाइ प्रलादलाई स्पष्टवक्ता र सरल व्यवहार गर्ने व्यक्तिका रुपमा बुझेको प्रसन्न बताउँछन्।

रिर्सोसेज हिमालयको सुरुवातकालीन कार्यालयमा प्रलाद याेञ्जन। तस्बिर : रिसोर्सेस हिमालय

आज प्रलाद भएको भए ...

प्रलादबिनाको नेपालको संरक्षण अवस्थालाई सहकर्मीहरुले कसरी लिएका छन् त? सहकर्मी डा. भुजु भन्छन्, ‘उहाँको जुन भिजन थियो त्यो आंशिक पूरा भएको छ। हामी सकारात्मक बाटोमै छौं। संरक्षण हाँक्ने सक्ने नयाँ पुस्ता तयार भएको छ। आउँदै गरेको पुस्ताले संरक्षणलाई गम्भीर रुपमा लिन थालेको छ।’

‘धेरैभन्दा धेरै विद्यार्थीलाई इन्भाइरोमेन्टल ग्रयाजुएट्स इन हिमालयमार्फत आबद्ध गर्न सकिएको छ,’ डा. शर्मा भन्छन्, ‘उनको अभावलाई अरुले पूरा गर्नसक्ने कुरा त भएन। यद्यपि हामी सबैले आफ्नो ठाउँबाट सक्ने जति काम गरेका छौं।’ प्रलादका दुई सपना भने पूरा भएका छैनन्। पहिलो, नेपालमा जैविक आनुवंशिक अनुसन्धानको प्रयोगशाला स्थापना गर्ने, दोस्रो संरक्षणकर्मीहरुको ‘थिंक ट्यांक’ संस्था बनाउने।


प्रकाशित: May 21, 2021 | 15:58:00 काठमाडौं, शुक्रबार, जेठ ७, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।
नेपाल समय
समाज

कस्तो रहला आजको मौसम?

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ
नेपाल समय
समाज

आज भारतीय शसस्त्र सीमा बलका प्रमुख नेपाल आउँदै

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलबार नेपाल आउँदै छन्। गृह मन्त्रालयका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन नेपाल आउन लागेका हुन्।
नेपाल समय
समाज

आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुुँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ।
नेपाल समय
समाज

यस्तो पनि कार्यालय : जहाँ न शौचालय छ, न त खानेपानीको प्रबन्ध

'बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयवासीको गाली र हप्काइ खानुपर्छ', अर्का सेवाग्राही सम्मरीमाइ–६ का बिहारी चौहानले भन्नुभयो, 'प्रतीक्षालय, शौचालय र एउटा ह्याण्डपाइपको व्यवस्था नभएको यस कार्यालयमा सेवाग्राही मात्र होइन, कर्मचारीलाई पनि सास्ती छ।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना