बुधबार, असोज १९, २०७९

बालबालिका भन्छन्– घरभित्रै कति खेल्नु?

राज सरगम  |  काठमाडौं, शनिबार, जेठ १, २०७८

राज सरगम

राज सरगम

शनिबार, जेठ १, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं - कोरोना महामारीको सन्त्रासका कारण स्कुल बन्द हुँदा बालबालिकाले भर्चुअल पढिरहेका छन्। पढाइबाट बाँकी समय भकुण्डो, गुच्चा, लुकामारी खेलेर रमाउँदै आएका बालबालिका यति बेला खेल्न नपाएर दिक्क छन्। मनोविद्हरू यस्तो अवस्थामा उनीहरूमा मानसिक समस्या पनि देखा पर्न सक्ने भएकाले सजग हुनुपर्ने बताउँछन्। 

कपनका प्रिन्स श्रेष्ठ (९) कक्षा पाँच पढ्छन्। बुधबार साँझ हातमा बल लिएर गल्लीमा निस्किन लाग्दा उनकी आमाले भनिन्, ‘भित्रै खेल, बाहिर होइन।’

प्रिन्सलाई एक्लै बल खेल्न मन लाग्दैन। रिसाउँछन् र बल पर्खालबाहिर फ्याँकिदिन्छन्। यो दृश्य अघिल्लो घरको बार्दलीबाट हेरिरहेका अभिक खड्का (१०) ले देख्छन्। उनी बल समाउन कुदेर तल झर्छन्। तर गेटमा नपुग्दै उनकी आमाले पनि बाहिर जान रोक्छिन्, ‘अभिक, बाहिर खेल्ने होइन, कोरोनाको डर छैन भन्या तँलाई?’ 

‘भित्र मात्रै कति खेल्ने ममी?’ अभिक निराश हुँदै गेट खोल्छन्। बल खुट्टाले गुडाउन थाल्छन्। तर आमाले भित्रबाट लगातार बोलाइरहन्छिन्। अभिकले बल प्रिन्सको घरतिर फ्याँक्छन् र घरभित्र जान्छन्। प्रिन्स र अभिक त उदाहरण मात्रै हुन्। विश्वभरिका बालबालिका यति बेला घरकै परिधिमा सीमित छन्। 

काठमाडौंमा त वैशाख १६ गतेदेखि लागेको निषेध आदेशपछि एकै उमेर समूहका बालबालिका खुलेर खेल्न पाइरहेका छैनन् किन त? मनोविद् गोपाल ढकाल भन्छन्, ‘अभिभावकका लागि अहिलेको चुनौती भनेको बालबालिकालाई घरभित्र राखिराख्नु हो। कोरोनाबाट बच्न वा बचाउनुपर्छ भन्ने ध्यान मात्रै अभिभावकमा छ र कोरोनाको त्रास पनि बढ्दो छ।’

अभिक स्कुलका दिनमा फुटबल खेल्थे। कि ब्याटमिन्टन खेल्थे। निषेध आदेशपछि उनले ज्यान थाक्ने गरी खेल्न पाएका छैनन्।

कोरोना संक्रमणका बेला बालबालिकालाई बाहिर जान नदिनु, खेल्न नपठाउनु सुरक्षाका हिसाबले ठिकै हो। नत्र त निषेध आदेशको अर्थै भएन। अधिकांश अभिभावकलाई कोरोना कहरका बेला बालबालिकाको सिकाइमा भन्दा सुरक्षाका लागि नियन्त्रणमा ध्यान गएको छ। बालबालिकाले बन्दाबन्दीलाई आत्मसात् गर्न सकेका छन् त? ढकाल भन्छन्, ‘बालबालिकाका लागि यो समय सकसपूर्ण छ। अभिभावकले उनीहरूको मनोविज्ञान बुझेर व्यवहार गर्नुपर्छ।’

अभिक स्कुलका दिनमा फुटबल खेल्थे। कि ब्याटमिन्टन खेल्थे। निषेध आदेशपछि उनले ज्यान थाक्ने गरी खेल्न पाएका छैनन्। उनलाई बाहिर खेल्न मन छ। साथीहरूसँग खेल्न के हुन्छ भनेर घरीघरी आमासँग सोध्छन्। साथीको घरमा जान मन गरेका हुन्छन्। यस्ता प्रश्न अभिक र प्रिन्सले मात्रै गरिरहेका छैनन्। 

कतिकतिखेर उनी दिदीहरूले बनाएको टिकटकमा सहभागी हुन खोज्छन्। दैनिक अनलाइन कक्षा लिएर बचेको समय टीभीमा कार्टुन हेर्छन्। तर उनी खुसी छैनन्। तर उनलाई बाहिर खेल्न जान मन लागिरहन्छ।  ‘घरमा थुनिएको जस्तो भाछु’, उनी भन्छन्। 

अछाम घर भएकी पशुपति कुँवर र उनका सात वर्षीय छोरा दीपसन बोहोरा ललितपुर बस्दै आएका छन्। दीपसन जिज्ञासु छन्। उनी प्रश्न गरिरहन्छन्। तर सबै प्रश्नको उत्तर दिन सक्दिनन् कुँवर। भन्छिन्, ‘ऊ केही न केही सोधिरहन्छ। बढी प्रश्न कोरोनाले मान्छे कसरी मर्छन् भनेर सोध्छ।’

अभिभावक भन्छन्, ‘बच्चालाई थुनेर राखेको जस्तो भा’छ’

कोरोना संकट थप जटिल बन्दै गएको छ। दिनप्रतिदिन संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो छ। बिरामी र उनका आफन्तले अस्पताल, भेन्टिलेटर र अक्सिजनका लागि भौंतारिनुपरेको समाचार आइरहेका बेला बालबालिकालाई केही नहोस् भन्ने चाहन्छन् हरेक अभिभावक। तर बालबालिका घरभित्र खुसी छन्? बाहिर खेल्न जान नपाएर प्रिन्स बेलाबेला चिडचिडाउने गरेको उनकी आमाको भनाइ छ। उनी भन्छिन्, ‘दोस्रो लहरको कोरोना बच्चामा पनि छिटो सर्छ भनेर डाक्टरले भनेका छन्। यस्तो थाहा पाउँदापाउँदै कसरी बाहिर खेल्न पठाउने?’ 

बल तथा लुकामारी खेल्दा दूरी कायम गर्न सकिने भए पनि बालबालिकालाई दूरी बनाइराख्न लगाउनु असम्भव हुन्छ। खेलिरहेका बेला उनीहरू नजिक हुन पुगिहाल्छन्। सामूहिक खेल्ने हरेक बालबालिका फरक घरका हुने भएकाले कहींकतै भाइरस सर्न सक्छ कि भन्ने शंका अभिभावकमा हुनु स्वाभाविक लाग्छ। ‘बच्चालाई थुनेर राखेको जस्तो भाछ। कति बोरिङ हुन्छ अभिक। तर विवश छौं’, अभिककी आमा सम्झना खड्काले भनिन्। 

सुकेधारामा फल्याट भाडामा लिएर बस्दै आएकी सृजना बस्नेतकी पाँच वर्षीया छोरी सेजल बस्नेत घरीघरी बाहिर निस्कन खोज्छिन्। उनी गल्लीमा साइकल चलाउँदै छिमेकी केटाकेटीलाई बोलाउँछिन्। साथै सेजललाई रुचाउनेहरू नजिक आएर कुरा गर्न खोज्दा सृजना आत्तिन्छिन्। 

‘भित्र साइकल चलाउने ठाउँ छैन। छोरी अघिपछि झैं बाहिर खेल्न जान खोज्छे रोक्दा रोक्दा हैरान भइसकें’, सृजना भन्छिन्। 

यति बेला आफ्नो सुरक्षा आफैंले गर्नुपर्नेछ। अभिभावकलाई बालबालिकाको पनि सुरक्षा गर्नुछ। तर बालबालिका बुझ्दैनन्। उनीहरू आफूले खेल्न चाहेको साथी खोजेर झगडा गर्छ्न्। 

सामूहिक खेल्ने हरेक बालबालिका फरक घरका हुने भएकाले कहींकतै भाइरस सर्न सक्छ कि भन्ने शंका अभिभावकमा हुनु स्वाभाविक लाग्छ।

पशुपति कुँवर छोरा दिपसनले गरेको प्रश्नको उत्तर दिँदादिँदा हैरान छिन्। उनलाई कोरोनाले लागेर मान्छे मर्छ भन्ने थाहा छ। त्यसैले घरमा काम गर्ने आन्टीको छोरी जसमितासँग खेल्छन्। उनीहरू प्लास्टिकका भाँडाकुँडाको घर बनाउँछन्। कोठाभित्रै बेबी साइकल चलाएर रमाउँछन्। कुँवर भन्छिन्, ‘जसमिता थिइनन् भने मलाई हैरान गथ्र्यो। मैले नै खेल्नुपथ्र्यो ऊसित।’ 

बालबालिका घरमा मात्रै बसिरहनु पर्दा मनोवैज्ञानिक रूपमा कुण्ठित भएका छन्। उनीहरू खेल्दै आफ्ना कुरा साथीलाई सुनाउँछन्। 

धेरै अभिभावक कोरोना संक्रमित आफन्तका कारण चिन्तित छन्। उनीहरू दैनिक फोनमा निराशाका संवाद गर्छन्। धेरैलाई उपचार नपाएर ज्यान जाने हो कि भन्ने चिन्ता छ। यस्तो परिस्थितिमा बालबालिकालाई घरमै खेल्न कसरी प्रेरित गर्ने?

बालबालिकासामु निराश कुरा गर्नु हुँदैन : गोपाल ढकाल, मनोविद्

विपत्तिका बेला बढी प्रभाबित हुने भनेका बालबालिका पनि हुन्। अहिले स्कुल बन्द छन्। हाम्रा बालबालिका घरभित्र थुनिएर बस्न बाध्य छन्। बालबालिका स्वभावैले चञ्चल हुन्छन्। एकै ठाउँमा लामो समयसम्म बस्न सक्दैनन्। त्यसैले बालबालिकालाई घरैभित्र सीमित राख्न अभिभावकलाई पनि सकस भएको छ।  

बालबालिका स्वभावतः खेल्न चाहन्छन्। उनीहरू चन्चले हुन्छन्। एकै ठाउँमा बस्न सक्दैनन्। बालबालिका बाहिर जान लागे भने हामी कोरोनाको त्रास देखाउँछौं। यस्तो अस्त्र देखाउनु राम्रो होइन। उनीहरूको मनोविज्ञानमा प्रतिकूल असर पर्छ। बरु उनीहरूको उमेर र रुचिअनुसार घरभित्र नै विभिन्न क्रियाकलापमा सहभागी गराउनुपर्छ। चित्र बनाउने, गाउँखाने कथा भन्ने–सुन्ने, घरको सरसफाइ, भान्छामा भएका सबै भाँडाकुँडाका नाम बताएर याद गर्न लगाउनुपर्छ। यस्तै उनीहरूलाई चामलमा पानी अड्कल्न सिकाउनुस्। चिया या कफीमा चिनी र दूधको मात्रा अड्कल्न सिकाउनुस्। उनीहरूले बनाएका चियाकफी खाएर प्रशंसा गरिदिनुस्। उनीहरूलाई मन पर्ने खाना बनाउन सिकाउनुस्। 

यस्तै कपडा मिलाउन, धुन र ह्यांगरमा राख्न सिकाउनुस्। सँगै बसेर जनचेतनामूलक बाल चलचित्र देखाउनुस्। निरन्तर हेर्दै आएका सिरियल रोकेर उनीहरूले के हेर्न चाहन्छन् त्यो देखाउनुस्। चित्रहरू कोर्न सिकाउनुस्। कोर्न दिनुस्। 

परम्परागत संस्कार र सभ्यताका बारेमा कथाहरू भन्नुस्। केही बाल कथा सुनाउनुस्। आफ्नो घरमा स्पेस भए साइकल चलाउन सिकाउनुस्। उनीहरूलाई आफ्ना आफन्तसँग फोन संवाद गराउनुस्। साथीहरूसँग फोनमा कुराकानी गराइदिनुस्। दैनिक समय तालिका बनाएर विभिन्न सृजनात्मक कार्यमा संलग्न गराउनुस्। 

बालबालिकाले अहिलेको अवस्थालाई कसरी बुझेका छन्? उनीहरूसँग कुराकानी गरेर बुझ्ने प्रयास गर्नुहोस्। कोभिड–१९ का बारेमा उनीहरूको बुझाइ गलत पनि हुन सक्छ। किनकि बालबालिकाको बुझ्ने, तर्क गर्ने, निर्णय गर्ने क्षमता कम हुन्छ। उनीहरू अहिलेको अवस्थाबाट भयभीत भएका पनि हुन सक्छन्। उनीहरूको बुझाइ गलत र भ्रमपूर्ण भएमा यसलाई हामीले सच्याइदिनुपर्छ। 

बालबालिकालाई आफ्ना भावना व्यक्त गर्न हौसला र प्रेरणा प्रदान गर्नुपर्छ। उनीहरूले आफूलाई असुरक्षित पनि महसुस गरिरहेका हुुन सक्छन्। उनीहरूका कुरा ध्यान दिएर सुन्नुपर्छ।

बालबालिकाका अगाडि दुःखद समचारको चर्चा गर्नु हुँदैन। यस्ता  समाचार र दृश्यबाट उनीहरूलाई परै राख्नुपर्छ। यस्ता समाचार हेर्दा र सुन्दा पनि बालबालिकामा मानसिक आघात पर्न सक्छ। यस्तो मानसिक आघातले पछिसम्म सताउन सक्छ। 

बालबालिकाले ठूलाले देखाएको व्यवहार, व्यक्त गरेको भावना, अनुभूतिलाई ध्यान दिइरहेका हुन्छन्। अहिले हामी आफैं भयभीत भयौं भने बालबालिका पनि त्रसित हुन सक्छन्। हामीले सकेसम्म बालबालिकाका अगाडि त्रास, चिन्ता, निराशा व्यक्त गर्नु हुँदैन। 

बालबालिका जिद्दी गर्छन्। रिसाउँछन्। निराश र चिन्तित देखिन्छन्। खाना खाँदैनन् वा बढी खान्छन् र बाआमालाई एकछिन पनि छोड्न मान्दैनन् भने उनीहरूमा मानसिक समस्या भएको हुन सक्छ। पेट वा टाउको दुख्यो भन्ने, बेहोस हुने, नराम्रो सपना देख्ने, ओछ्यानमा पिसाब फेर्ने, खेल्न नरुचाउने, शान्तसँग नबस्ने, कामकुराबाट पन्छिन खोज्ने जस्ता लक्षण देखाएमा पनि उनीहरूलाई अहिलेको परिस्थितिले असर पुर्‍याएको हुन सक्छ। 

बालबालिकालाई आफ्ना भावना व्यक्त गर्न हौसला र प्रेरणा प्रदान गर्नुपर्छ। उनीहरूले आफूलाई असुरक्षित पनि महसुस गरिरहेका हुुन सक्छन्। उनीहरूका कुरा ध्यान दिएर सुन्नुपर्छ। उनीहरूलाई आफूसँगै विभिन्न कार्यमा संलग्न गराउनुपर्छ। एक्लै छाड्नु हुँदैन वा आफूभन्दा टादा राख्नु हुँदैन भने निद्रा, आराम र मनोरञ्जनमा ध्यान पु¥याउनुपर्छ। उनीहरूलाई आफू सुरक्षित भएको महसुस गराउनु  जरुरी हुन्छ। 

बालबालिकाले आफ्नो हेरचाह आफैं गर्न सक्दैनन्। अभिभावकले नै ख्याल पु¥याउनुपर्छ। विपत्तिका समयमा बालबालिकामा विभिन्न खालका मनोसामाजिक समस्या देखापर्न सक्ने जोखिम बढी भएकाले उनीहरूमा कुनै पनि व्यवहारजन्य, पढाइजन्य र भावनात्मक समस्या देखापरेमा मनोविज्ञलाई देखाउनुपर्छ।


प्रकाशित: May 15, 2021 | 00:42:00 काठमाडौं, शनिबार, जेठ १, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना