सोमबार, असोज १०, २०७९

केन्द्रीय सदस्यलाई कुराएर कांग्रेस शीर्ष नेताको साढे पाँच घण्टा लामो कचहरी

तीर्थराज बस्नेत  |  काठमाडौं, शुक्रबार, चैत २०, २०७७

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, चैत २०, २०७७, काठमाडौं

नेपाल समय

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ औं महाधिवेशन र समसामयिक राजनीतिका बारेमा छलफल गर्न शुक्रबार केन्द्रीय समितिको बैठक बोलायो।

दिँउसो २ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको बैठक साँझ साढे सात बजे सुरू भयो। बैठक सुरु हुनु अगावै अधिकांश केन्द्रीय सदस्य सानेपा पुगिसकेका थिए। केही नेता भने सदाझैं बैठक ढिलो सुरु हुने अनुमानसहित साढे तीन बजेसम्म सानेपा पुगिरहेका थिए।  

शुक्रबारको बैठकमा क्रियाशील सदस्यता बुझाउने म्याद थप गर्ने मुख्य एजेन्डा थियो। भदौ ७ देखि १४ औं महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिकाअनुसार चैत १० गतेसम्म क्रियाशील बुझाउने पर्ने समयसीमा घर्किसकेको थियो। त्यसैले बैठक क्रियाशील सदस्यता बुझाउने म्याद थप गर्ने निर्णय गर्ने तयारी गरेको थियो। यस्तै समसामयिक राजनीतिका बारेमा छलफल हुने अनुमान गरिएको थियो।  

कांग्रेसको पुरानै शैली हो, निर्धारित समयमा बैठक सुरु नगर्ने। बैठक अघि गुट भेला गर्ने, धारणा बनाउने। गुट भेलामा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्ने र सबै गुटको संयुक्त भेला गर्ने। संयुक्त भेलामा बैठकका एजेन्डामा सहमति जुटाउने र केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने। 

कांग्रेसको यो परिपाटीसँग परिचित भएका नेता हुन् वा रिपोर्टिङमा जाने पत्रकार। उनीहरुको सहजै अनुमान हुन्छ– निर्धारित समयमा बैठक सुरु हुँदैन। शुक्रबार पनि अधिकांशको अनुमान यही थियो।  

तर, सदाझैं एकाध घण्टा ढिला गरी सुरु हुने अनुमान गरिएको कांग्रेस बैठक शुक्रबार भने साढे ५ घण्टा पछिमात्रै सुरु भयो। त्यो साढे ५ घण्टा रिपोर्टिङका लागि पुगेका पत्रकारका लागिमात्रै होइन, स्वयं नेताहरुका लागि नै पट्यारलाग्दो बनेको थियो। 

गुट भेलामा पौडेलको त्यो ब्रिफिङ

बैठक सुरु गर्ने निर्धारित समयअघि नै गुटका नेताहरु सानेपा पुगिसकेका थिए। बैठकअघि भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेला भयो। भेलामा पौडेलले ओलीको विकल्प खोज्ने र त्यसका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने प्रस्ताव बैठकमा राख्ने ब्रिफिङ गरेका थिए। 

‘ओलीले संविधान मिचे। अदालतले सच्चाइदियो। तर, अहिलेसम्म उनको विकल्पको खोजी भएको छैन। अब कांग्रेसले अग्रसरता लिनुपर्छ,’ पौडेलले भनेका थिए, ‘यदि शेरबहादुरजी प्रधानमन्त्रीको उम्मेदवार होइन भने अर्को व्यक्तिलाई अघि सारेर भए पनि अघि बढ्नुपर्छ। म यो प्रस्ताव अघि सार्दैछु।’ 

पौडेलको ब्रिफिङपछि नै बैठक तात्ने अनुमान गरिएको थियो। पौडेल समूह ओलीको विकल्प खोज्नुपर्ने र त्यसको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्नुपर्ने अडानमा पहिलेदेखि नै थियो। तर, देउवा भने जनता समाजवादी पार्टीले निर्णय गरिनसकेको र माओवादी केन्द्रले समेत सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अघि बढ्न नसकिने बताउँदै आएका थिए। 

पौडेलको ब्रिफिङपछि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको बैठक बस्यो। समितिका संयोजक रमेश लेखकले प्रतिवेदन पेश गर्ने तय भयो। अन्य पार्टीबाट प्रवेश गरेकाहरुको समायोजन गर्ने जिम्मेवारी पाएका विमलेन्द्र निधी नेतृत्वको समितिले समेत प्रतिवेदन पेश गर्ने तय भयो। 

अनि सुरु भयो चर्काचर्की....

त्यसलगत्तै सुरु भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफल करिब पाँच घण्टासम्म चलेको थियो। उक्त छलफलमा सरकार गठनको विषयमै चर्काचर्की परेको नेता अर्जुनरसिंह केसीले सुनाए।  

‘हामीले संविधान मिच्ने, सर्वसत्तावादतर्फ उन्मुख भएका ओलीलाई हटाउनुपर्छ। त्यसका लागि आजको बैठकले निर्णय गर्नुपर्छ भन्यौं। तर, उहाँ (देउवा)ले मान्नुभएन,’ शीर्ष नेताबीच चर्काचर्की चलिरहेका बेला केसीले सञ्चारकर्मीहरुसँग भनेका थिए।  

पौडेलले संयुक्त छलफलमा भनेका थिए– आज हामीले ओलीको विकल्प खोज्न अग्रसरता लिने निर्णय गरेको खण्डमा भोलि (शनिबार) माओवादीले समर्थन फिर्ता लिन्छ। छलफल गरौं। रातको १२ बजे भए पनि यो निर्णयमा हामी पुग्नैपर्छ। 

तर, देउवाले पौडेलको प्रस्ताव ठाडै अस्वीकार गरिदिए। पौडेलको प्रस्तावमा जवाफ फर्काउँदै देउवाले भनेका थिए– आजको बैठकमा यो विषय एजेन्डा नै होइन, निर्णय त परको कुरा। 

देउवाले ओलीको विकल्प खोज्ने एजेन्डा बैठकमा नलैजाने बताएपछि दुवै पक्षका नेताहरुबीच चर्काचर्की परेको एक नेताले जानकारी दिए। ‘पाँच घण्टा बित्न लाग्यो। तर, सरकारकै विषयमा चर्काचर्की परिरहेको छ। अहिले राजीनामा माग्ने कुरा भइरहेको छ। कति समय लम्बिन्छ, बैठक बस्छ वा बस्दैन, टुंगो छैन,’ ती नेताले सुनाए।  

बलबहादुरको ठट्टा– पाँच मिनेट कुरौं, भरोसा नगरौं 

शीर्ष नेता पदाधिकारी कक्षमा रहेको बैठक हलमा गर्मागर्मी बहस गरिरहेका थिए। बैठक हलमा शीर्ष नेता कुरिरहेका केन्द्रीय सदस्यहरु झिँझो मानिरहेका थिए, कोही आक्रोशित समेत देखिन्थे। बैठकको निर्णय कुर्नेहरु पट्यार मानिरहेका थिए। केन्द्रीय सदस्यहरु कहिले क्यान्टिनमा चिया पिउन ओर्लन्थे, कहिले बैठक कहिले सुरु होला भनेर जिज्ञासा राख्न पदाधिकारी कक्षतर्फ धाउथेँ। तर, फर्कंदा प्रष्ट जवाफ हुन्थेन।

साँझ ६ बजेसम्म केन्द्रीय सदस्यहरु कहिले बैठक कक्ष, कहिले क्यान्टिन त कहिले पत्रकारहरुसँग भलाकुसारी गरेर समय कटाइरहेका थिए। तर, ६ बजेपछि भने उनीहरुमा आक्रोश देखिन्थ्यो। अर्कोतर्फ बैठक बस्छ वा स्थगित हुन्छ भन्नेमा पनि अन्योलमा उनीहरु थिए। करिब साढे ६ बजे एक हुल नेता पदाधिकारी कक्षबाट बैठक कक्षतर्फ अघि बढे। सञ्चारकर्मीले उनीहरुलाई प्रश्न गरिहाले– बैठक कतिबेला सुरु हुन्छ ?

त्यही समूहमा रहेका नेता बलबहादुर केसीले ठट्टा गर्दै भने– शेरबहादुरजीले पाँच मिनेट भन्नुभएको छ, पर्खौँ न। हुन त यो भरोसा गर्न योग्य पाँच मिनेट त हैन क्यारे। लगत्तै उनले नेता एनपी सावदसँग पनि ठट्टा गर्न भ्याए– मैले भनेको पत्याउँदैनन्। तिमी भन त एनपी हो कि होइन ? सावदले जवाफ दिए– हो, हो। केसीले ठट्टा गरिरहँदा हासो गुञ्जिएको थियो। 

केही केन्द्रीय सदस्यहरुको आक्रोश थियो– हामी भेडा बाख्रा हौं र ? शीर्ष नेताहरुबीच गर्मागर्मी बहस चलिरहँदा बैठक कक्षमा प्रतीक्षारत केन्द्रीय सदस्यहरु आक्रोशित देखिन्थे। पट्यारलाग्दो पर्खाइका कारण बेलाबेला वीपी स्मृति भवनको प्रांगणमा टहलिन निस्कन्थे। एकआपसमा कुराकानी गर्थे। कोही भने बैठक ढिला सुरु हुने भएकाले म्याइन्युटमा पहिले नै हस्ताक्षर गर्न भनिएको भन्दै पहिलो तलातर्फ उक्लिरहेका थिए।

‘बैठक सुरु भएलगत्तै अनुमोदन गर्ने र सकिने त हो। बैठक छिटो सक्न हस्ताक्षर गर्न भनिएको छ,’ एक केन्द्रीय सदस्यले भने। यत्तिकैमा केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले भने– यो केको लन्ठ्याङमन्ठ्याङ हो कुन्नि ! कति पर्खने ? यो ठिक होइन। उनी नजिकै भएका अर्का केन्द्रीय सदस्यले थपे– पाँच घण्टादेखि बैठक कक्षमा थुनेका छन्, हामी भेडाबाख्रा हौं र ? लामो समयदेखि पर्खंदा पनि बैठक सुरु नभएपछि नेताहरु सानेपाबाट बाहिरिने क्रम सुरु भयो। बैठक स्थगित हुने चर्चा चल्न थाल्यो। नेता अर्जुननरसिंह केसी लगायतका नेता बैठक स्थलबाट बाहिरिन थाले।

बाहिरिने क्रममा नेता केसीले सञ्चारकर्मीहरुसँग भने, ‘ओलीलाई हटाउनुपर्छ भन्ने हाम्रो प्रष्ट कुरा छ। धेरै ढिला भइसक्यो, अब निर्णय नगर्दा झन् ढिला हुन्छ। यही विषयमा कुरा मिलेको छैन। अब कति पर्खने, म निस्किएँ ।’ करिब पाँच घण्टा लामो गलफत्तीमा पौडेलले अविश्वासको प्रस्ताव मार्फत ओलीलाई हटाउनुपर्ने माग राखेका थिए। तर, देउवाले अविश्वासको प्रस्ताव पास भएन भने के गर्ने, कच्चा खेल खेल्न हुन्न भन्ने अडान छोडेनन्।

र, अन्ततः ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा शीर्ष नेताबीच सहमति भयो। ‘हाम्रो निरन्तरको दबाबपछि शेरबहादुर दाइ ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन तयार हुनुभयो,’ पौडेल पक्षका एक नेताले भने। शीर्ष नेताले सहमति जुटाएपछि करिब साढे सात बजे केन्द्रीय समितिको बैठक सुरु भयो। शीर्ष नेताको तहमा जुटेको सहमतिलाई बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले एजेन्डाको रुपमा प्रस्तुत गरे। र, बैठकले निर्णय गर्‍यो– प्रधानमन्त्री ओलीको राजीनामा माग्ने।

बैठकमा सरकारका विषयमा पौडेल र नेता गगन थापाले बोलेका थिए। पौडेलले ओलीको बहिर्गमन अहिलेको प्रमुख आवश्यकता भएको बताएका थिए। ‘ओलीलाई जसरी पनि हटाउनुपर्छ। उनले जुन गतिविधि गर्दै आएका छन्, यत्तिकै छोड्ने हो भने यो व्यवस्थामाथि नै घात हुन सक्छ। त्यसैले ओलीको विदाइ गरौं,’ पौडेलले भनेका थिए। नेता थापाले भने ओलीको राजीनामा माग्ने निर्णय गरेर मात्रै नपुग्ने बताएका थिए। ‘राजीनामा माग्ने निर्णय गरेर मात्रै हुँदैन। राजीनामा दिएनन् भने के गर्ने ? त्यसैले कसरी हुन्छ, माओवादी र जसपासँग मिलेर निर्णय कार्यान्वयन गर्नुपर्छ,’ उनले भनेका थिए।

बैठक चलिरहँदा प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस ब्रिफिङमा भने, ‘कांग्रेसले अघि नै ओलीलाई सरकार चलाउने नैतिक धरातल नभएको टिप्पणी गरेको थियो। संसद्मा कांग्रेसको अंकगणित कमजोर भएकाले सरकारलाई बिदा गर्न नसकिएको हो। तर पछिल्लो समय पनि विभिन्न संविधान विरोधी गतिविधि जारी छन्। यत्रा गतिविधि भइसक्दा पनि प्रधानमन्त्रीले राजनीतिक अभिभारा बुझ्नु भएन। तसर्थ उहाँको राजीनामा माग गर्ने निर्णय भएको छ।’


प्रकाशित: April 2, 2021 | 17:35:00 काठमाडौं, शुक्रबार, चैत २०, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

सन्दीपविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको जानकारी दिए।
नेपाल समय
समाज

६ वटा पूर्ण र २२ सडक आंशिक अवरुद्ध : सडक विभाग

निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध सडक एकतर्फी खुलाएर आंशिक सवारीसाधन सञ्चालनमा ल्याउन तयारीमा विभाग, दसैंमा घर फर्किनेहरूलाई सास्ती।
नेपाल समय
समाज

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ : सभामुख सापकोटा

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका उनले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको उल्लेख गरे।
नेपाल समय
समाज

मनास्लुमा हिमपहिरो, मौसम खराबीले उद्धारमा कठिनाइ

मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा मौसम बाधक बनेको छ।
नेपाल समय
समाज

देशभरका अदालतमा सोमबारदेखि बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने

घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएकाले अन्य रिटमा सुनुवाइ नहुने अदालत प्रशासनले बताएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना