मंगलबार, असोज ११, २०७९

जाेखिममा सिमसार, जोगाउन चुनौती 

महेश्वर आचार्य  |  काठमाडौं, मंगलबार, माघ २०, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

मंगलबार, माघ २०, २०७७, काठमाडौं

नेपाल समय

फेब्रुअरी २ लाई विश्व सिमसार दिवसका रुपमा मनाउने गरिएको पच्चीस वर्ष भएको छ। यस वर्ष सिमसार दिवसका लागि ‘सिमसार र पानी’ नारा तोकिएको छ।

प्राकृतिक सम्पदा जोगाउनु चुनौतीपूर्ण रहेको सन्दर्भमा प्राकृतिक मिर्गौलाको रूपमा रहको सिमसारको संरक्षण अपरिहार्य छ।

के हो सिमसार?

सिमसार भन्नाले भूमिगत जलस्रोत वा वर्षाका कारण पानी जम्ने स्थल, धापिलो वा दलदले जमिन, नदीबाट प्रभावित जमिन, ताल, पोखरी, जलाशय बुझिन्छ।

जैविक विविधता र जीवनपयोगी स्रोत सम्पन्न प्रकृतिको देन सिमसार विभिन्न प्रजातिका वनस्पति, जीवजन्तु र फिरन्ते पक्षीका आश्रयस्थल हुन्।

सिमसार जोगाउन रामसार सन्धि

नेपालले सन् १९७८ मै रामसार महासन्धिमा हस्ताक्षर गर्‍यो। महासन्धिको पक्ष राष्ट्रको नाताले कम्तीमा एउटा सिमसार क्षेत्रलाई रामसार क्षेत्रका रुपमा सूचीकृत गर्नुपर्ने व्यवस्थाअनुसार सन् १९८७ मा पूर्वी तराईको कोसी टप्पु वन्यजन्तु आरक्षलाई नेपालको पहिलो रामसार क्षेत्र घोषणा गरियो।

सन् २००३ मा तराईका तीन महत्त्वपूर्ण सिमसार क्षेत्र कैलालीको घोडाघोडी, चितवनको बीसहजारी ताल र कपिलवस्तुको जगदीशपुर जलाशय क्षेत्र रामसार क्षेत्र घोषणा गरिए। 

सन् २००७ मा नेपालका चार उच्च हिमाली क्षेत्रका सिमसारहरु– गोसाईकुण्ड र आसपासका सिमसार, गोक्यो र आसपासका सिमसार, फोक्सुन्डो तथा रारा ताल रामसार क्षेत्र घोषणा भए।

पछिल्लो चरण पोखराका फेवा, रुपा, वेगनाससहित ९ वटा ताल क्षेत्रलाई सिमसार क्षेत्र घोषणा गरिएको छ।

तराईका सिमसारहरुको बारेमा अध्ययन भए पनि पहाडी र उच्च हिमाली क्षेत्रमा सिमसारबारे विस्तृत अध्ययन हुन सकेको छैन।
सिमसारमध्ये पनि अनुपम र संवेदनशील सिमसारलाई रामसार क्षेत्रका रुपमा मान्यता दिइन्छ।

सन् १९७१ मा सिमसारमा आश्रय लिने फिरन्ते जलपक्षी प्रजातिको बासस्थान सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको पहिलो बैठक इरानको रामसार सहरमा भएको थियो।

सुरुमा सो महासन्धिले फिरन्ते जलपक्षी प्रजातिको संरक्षणको वकालत गरे तापनि पछिल्लो चरणमा यसले सबै सिमसार क्षेत्रको संरक्षण र तिनको बुद्घिमत्तापूर्वक उपयोगलाई जोड दियो। सोही महासन्धि रामसार महासन्धिका नामले प्रसिद्ध छ।

सिमसारको महत्त्व

प्राणीको जीवन पानीमा आश्रित छ। पानीबिना जीवनको अस्तित्व रहँदैन। तसर्थ पानीको उपलब्धता हुने सिमसार सम्पूर्ण चराचर प्राणीलाई अत्यावश्यक छ।

सिमसार क्षेत्रले स्थानीय तापमान सन्तुलन राख्नमा सहयोग पुर्‍याइरहेको हुँदा यसलाई प्रकृतिको मिर्गौला पनि भनिन्छ।

वाष्पीकरण प्रक्रिया क्रमिक रुपले भइरहने हुँदा जलचक्रलाई सन्तुलन राख्ने तथा वर्षा गराउने कार्यमा समेत सिमसारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।

फोहर पदार्थको सरलीकरण र निर्मलीकरण गरी कार्बनडाइअक्साइडको निष्कासनमा कमी ल्याउन सिमसारले ठूलो मद्दत गर्छ।

सिमसारले मिथेन, नाइट्रोजनअक्साइड आदिलाई बिच्छेदन गरी पानी निर्मलीकरण गर्ने प्रक्रियामा सहयोग गरिरहेको हुन्छ।

सिमसारमा हुने घाँसको तत्त्वले स्पन्जको काम गर्दै वर्षात्को पानीलाई सोस्छ र बाढीलाई रोक्छ। सिमसारको पानी सोस्ने क्षमताले खडेरी हुन नदिई जमिनलाई ओसिलो बनाइरहन्छ।

पानीको सतही र भूमिगत स्रोतको संरक्षण गर्न, पहिरो रोकथाम गर्न र माटोको पोषक तत्त्वको चुहावट रोक्न सिमसार महत्त्वपूर्ण मानिन्छ।

खाद्यान्नका लागि खेती गरिने प्रजातिको वनेलु प्रजातिको अन्तिम आश्रय स्थल पनि सिमसार नै हो। सिमसारले भूक्षयलाई रोक्ने तथा भूमिगत पानीलाई पुनःभरणमा ठूलो योगदान दिन्छ।

प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्क रुपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको छ।

जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्त्व छ। तर, यस्ता महत्त्वपूर्ण र जीवनदायिनी सम्पदाको हैसियत दिनप्रतिदिन खस्कँदै गइरहेको छ।

सिमसार क्षेत्र वरपर बस्दै आएका समुदायलाई दैनिक जीवनका आवश्यकता पूर्ति गर्ने काम पनि सिमसारले गर्दै आएको छ। उनीहरुलाई घाँस, दाउरा, कन्दमूल, जडीबुटी, माछा आदि सिमसारले उपलब्ध गराउँछ।

मानव समुदायको कुल, परम्परा, धर्म तथा सांस्कृतिक सम्पदाका रुपमा पनि सिमसारको महत्त्व छ।

विश्वभर सिमसारले एक लाखभन्दा बढी जलप्रजातिलाई आश्रय दिइरहेको छ। सिमसार उभयचर र सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ।

बढ्दो जनसंख्यालाई खाद्य तथा वासस्थान उपलब्ध गराउनुपर्दा विश्वमै सिमसार संकटमा पर्दै गएको छ। सन् १९७० देखि २०१५ सम्मको ४५ वर्षमा विश्वभरका सिमसार ३५ प्रतिशतले विनास भएका छन्। त्यही अनुपातमा सिमसार आश्रित प्राणी प्रजाति पनि लोप भए।

नेपालको सिमसारको विशेषता

नेपालको कुल भूभागमा झन्डै ५ प्रतिशत भूमि सिमसारले ओगटेको छ। यी सिमसार सयौं प्रजातिका चराका साथै कयौं स्तनधारी प्राणी, जलचर प्राणी र सरीसृपको वासस्थान तथा वनस्पतिको उत्पत्ति स्थल हो।

नेपालको तराईका समथर मैदानदेखि चुरे, महाभारत पर्वत हुँदै उच्च हिमाली क्षेत्रमा फैलिएका र विविध परिस्थिकीय प्रणालीभित्र अनेकौं सिमसार छन्।

आईयूसीएनको एक अध्ययनअनुसार विश्वव्यापी रुपमा जोखिममा परेका ८९ र जोखिमको निकट रहेका ७४ प्रजातिका प्राणी नेपालमा पाइन्छन्।

२० प्रजातिको भर्टिब्रेटमध्ये १७ प्रजाति सिमसारमै आश्रित छन् भने १० प्रजाति तराइको सिमसार क्षेत्रमा आश्रित छन्।

नेपालका ६० जनजाति समुदायमा २१ समुदाय परम्परागत रुपमा सिमसारमै आश्रित छन्। यी समुदायको जनसंख्याले कुल जनसंख्याको १७ प्रतिशतलाई ओगट्छ र यसमा पनि ९० प्रतिशत त तराई क्षेत्रकै छन्।

नेपाल जैविक विविधताको हिसाबले विश्वमा २५ औं र एसियामा ११ औं स्थानमा पर्दछ।

नेपालमा पाइने विश्व खतराको सूचीमा परेका ९१ थरी वनस्पतिका प्रजातिमध्ये ११ प्रजाति सिमसार क्षेत्रमा मात्र पाइन्छन्। यीमध्ये तराईमा पाइने चार प्रजातिका धान सिमसार पारिस्थिकीय प्रणालीमा नै पाइन्छन्। 

यसै गरी सन्तान उत्पादन, आहारा र सुरक्षित बसोबासका निमित्त हजारौंको जनसंख्या विभिन्न प्रजातिका चराहरु नेपाली सिमसार क्षेत्रमा बर्सेनि आउने गर्दछन्।

नेपालको तराई क्षेत्रमा १६३ वटा सिमसार क्षेत्र छन् भने पहाडी र उच्च हिमाली क्षेत्रमा ७९ सिमसार क्षेत्र छन्।

नेपालका नौवटा सिमसार क्षेत्र रामसारमा सूचीकृत भएका छन्– सुनसरीको कोसी टप्पु क्षेत्र, चितवनको बीसहजारी ताल, कैलालीको घोडाघोडी ताल, सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाईकुण्ड, कपिलवस्तुको जगदीशपुर, इलामको माइपोखरी, डोल्पाको फोक्सुण्डो र मुगुको रारा। पोखरा क्षेत्रका नौ वटा ताल पनि यही सूचीमा सूचीकृत भइसकेका छन्।

नेपालमा पाइने कुल चरा प्रजातिमा १९३ प्रजाति सिमसारमा आश्रित छन्। विश्वव्यापी रुपमा संकटापन्न ९१ वनस्पतिमध्ये ११ प्रजाति नेपालकै सिमसार क्षेत्रमा पाइन्छन् भने संकटापन्न ८९ प्रजातिका प्राणीमध्ये ५९ नेपालकै सिमसार क्षेत्रमा आश्रित छन्।

सिमसारको अवसर र चुनौती

नेपालका सिमसार क्षेत्रहरु विविध वनस्पति तथा जीवजन्तु र खासगरी रैथाने तथा बसाइँ सरी आउने विभिन्न प्रजातिका चराको बासस्थान भएकाले पर्यापर्यटनको विकास गरी आन्तरिक तथा बाह्य पर्यटनको आधार बनाउन सकिन्छ।

यसैगरी सिमसार क्षेत्रको विवेकपूर्ण व्यवस्थापन गरी स्थानीय समुदायलाई दैनिक आवश्यक पर्ने वस्तुहरु सहज रुपमा उपलब्ध गराउँदै जैविक विविधतालाई कायम गर्नुपर्दछ।

सिमसार क्षेत्र अनुसन्धानको महत्त्वपूर्ण थलो भएकाले संरक्षण गर्नुपर्छ। सिमसार क्षेत्रहरुको संरक्षण र बुद्धिमतापूर्ण उपयोग नै वर्तमानको प्रमुख चुनौती हो।

विभिन्न प्राकृतिक (बाढी, पहिरो, भूकम्प, खडेरी आदि) तथा मानवीय (प्रदूषण, विकास निर्माण, अतिक्रमण, अधिक उपयोग आदि) कारणले गर्दा साना ठूला सिमसार क्षेत्रहरु लोप हँुदै गइरहेका छन्।

तसर्थ, तत्कालै संरक्षणका योजनालाई कार्यान्वयन गर्न स्थानीय तहलाई समन्वय गर्दै अघि बढ्नुको विकल्प छैन।

जोखिमका कारण 

कृषि भूमिमा अत्यधिक विषादीको प्रयोग, औद्योगिक रसायनयुक्त पदार्थ, सिमसार वरपर हुने नव निर्माण तथा ढलको राम्रो व्यवस्था नुहँदा सिमसार क्षयीकरण हुँदै गइरहेको छ।

जनसंख्याको बढ्दो चाप, आधुनिकीकरण, सहरीकरण तथा विकासका पूर्वाधार निर्माण जस्ता कार्यले ‘विकास नै प्रकृतिको विनाश’ भइरहेको सन्दर्भमा नेपालका सिमसार जोखिममा परेका छन्।

आईयूसीएनको एक अध्ययनअनुसार तराईको ९४ प्रतिशत सिमसार क्षेत्र माछा मार्न उपयोग हुँदै आएको छ भने ७० प्रतिशत वस्तु चरण, ६९ प्रतिशत सिँचाइ, ५९ प्रतिशत खेतीका लागि उपयोग गरिँदै आएको छ।

 आशा स्थानीय तहकाे 

सिमसारको प्रभावकारी संरक्षणका लागि अबका दिनमा स्थानीय तहलाई संलग्न गराउनुपर्ने देखिन्छ। 

सिमसारबाट उपलब्ध हुने स्रोतको फाइदाबारे स्थानीय समुदायलाई सचेत नगराएसम्म संरक्षण प्रभावकारी हुन सक्दैन।

जसरी गैंडा तथा बाघको कारणले फस्टाएको पर्यटनले गर्दा आर्थिक उपदान प्राप्त हुने कुरा चितवनबासीले बुझे त्यसैगरी सुरुमा आर्थिक उपार्जनको प्रभावकारी मार्ग स्थानीयस्तरमा उपलब्ध गराउँदै उनीहरुको सिमसारसँगको सम्बन्धलाई व्यवस्पापन गरेर अघि बढ्न सकियो भने संरक्षण प्रभावकारी हुन सक्छ।

तर, स्थानीय तहका पदाधिकारीहरु आफैंले धमाधम डोजर किन्दै बाटो र जग्गा प्लटिङ गर्दै, क्रसर चलाउँदै आर्थिक उपार्जन गरिरहेको सन्दर्भमा सिमसारको संरक्षणमा ठूलो चुनौती छ।

कुनै बेलाको सिमसार क्षेत्र काठमाडौं उपत्यका मानव बस्तीले ओगोटेर ‘कंक्रिटको जंगल’ बनेको विगतबाट पाठ सिक्दै विद्यमान सिमसारलाई संरक्षण गर्नु नै भावी पुस्तालाई प्रकृतिले दिएको सम्पदा हस्तान्तरण गर्न सकिन्छ।


प्रकाशित: February 2, 2021 | 07:56:00 काठमाडौं, मंगलबार, माघ २०, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

सात वर्षपछि मनकामना मन्दिर परिसरको सत्तल पुनर्निर्माण गरिँदै

वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।
नेपाल समय
समाज

कस्तो रहला आजको मौसम?

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ
नेपाल समय
समाज

आज भारतीय शसस्त्र सीमा बलका प्रमुख नेपाल आउँदै

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलबार नेपाल आउँदै छन्। गृह मन्त्रालयका अनुसार नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन नेपाल आउन लागेका हुन्।
नेपाल समय
समाज

आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा हुुँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ।
नेपाल समय
समाज

यस्तो पनि कार्यालय : जहाँ न शौचालय छ, न त खानेपानीको प्रबन्ध

'बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयवासीको गाली र हप्काइ खानुपर्छ', अर्का सेवाग्राही सम्मरीमाइ–६ का बिहारी चौहानले भन्नुभयो, 'प्रतीक्षालय, शौचालय र एउटा ह्याण्डपाइपको व्यवस्था नभएको यस कार्यालयमा सेवाग्राही मात्र होइन, कर्मचारीलाई पनि सास्ती छ।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना