मंगलबार, असोज ११, २०७९

ओंतको खोजी

महेश्वर आचार्य  |  काठमाडौं, शनिबार, माघ ३, २०७७

महेश्वर आचार्य

महेश्वर आचार्य

शनिबार, माघ ३, २०७७, काठमाडौं

नेपाल समय

तीस–पैंतीस वर्षअघि पानी र सिमसार वरपर देखिने ओंत हराएको धेरै भइसकेको छ। पानीमा पर्यावरण सन्तुलन राख्न ठूलो सहयोग गर्ने यो स्तनधारी प्राणी नेपालबाट लोप भइसकेको हो त ?

सन् १८७७ सालदेखि १८९७ सालसम्म नेपालमा रहेका ब्रायन हड्सनले यहाँ धेरै प्रजातिका प्राणीको अभिलेखीकरण गरेका थिए। तीमध्ये एक हो, ओंत।

हड्सनले नेपालमा सात प्रकारका ओंत पाइएको लेखेका छन्। त्यसपछिका विज्ञ भने नेपालमा कालो र खैरो गरी दुई थरी ओंत मात्र पाइएको बताउँछन्। 
‘सानो ओंत त हड्सनबाहेक अरूले देखेको बताएका छैनन्,’ अनुसन्धानकर्मी सागर दाहाल भन्छन्।

यो जीवको अस्तित्व कसरी हराउँदै गयो भन्नेमा अनुसन्धानकर्मी पनि अस्पष्ट छन्। कारण यसबारे गहन अध्ययन हुन सकेको छैन। केही संरक्षणकर्मी बल्ल अध्ययनमा सक्रिय छन्।

‘लोप भइसकेको नभनौं तर, दुर्लभ भएको पक्कै हो,’ साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउन्डेसनका दाहाल भन्छन्। 

ओंतका अर्का अध्येता त्रिवि प्राणीशास्त्रका प्राध्यापक पारसमणि आचार्य पनि ओंत देखिन छाडेको बताउँछन्। उनले २०४६ सालमा कास्कीको बेगनास र रुपा ताल वरपर ओंतको अध्ययन गरेका थिए।

ओंत पानीमा बस्ने हिंस्रक प्राणी हो। यो समूहमा बस्न रुचाउँछ। माछा, भ्यागुता, पानी मुसा, किरा फट्यांग्रा, गंगटाजस्ता ससाना जीव यसका आहारा हुन्। 
ओंंतले बच्चा हुर्काउन र आराम गर्नका लागि किनारमा ओढार बनाउँछ। 

माछालाई यसले लखेट्दै सिकार गर्छ। खानाको खोजीमा सात देखि १४ किलोमिटरसम्मको यात्रा गर्ने ओंतले दिनमा एक केजी बराबरको आहारा खान्छ। समूहमा सिकार गर्ने ओंतको तौल सातदेखि १२ किलो र लम्बाइ एक मिटरजति हुन्छ। दुई वर्षमा वयस्क हुने ओंतको आयु सरदर १० वर्ष हुन्छ।

‘अन्य प्राणीको जस्तै ओंतको पनि पर्यावरणीय महत्त्व छ,’ आचार्य भन्छन्, ‘नेपालमा यसबारे धेरै अध्ययन हुन सकेको छैन।’

तराई र पहाडी क्षेत्रमा समेत पाइने ओंत बढ्दो प्रदूषण, बासस्थानमा मानवीय हस्तक्षेप र वातावरणीय परिवर्तन जस्ता कारणले हराउँदै गएको हो। 

‘कुनै स्थानमा ओंत देखिनु भनेको उक्त क्षेत्रको पानी तथा पोखरी स्वच्छ र जीवन्त छ भन्ने चिह्न हो,’ दाहाल भन्छन्। खैरो ओंत नारायणी, कर्णाली, बबई नदी, शुक्लाफाँटा सिमसार क्षेत्र तथा कैलालीका नदी क्षेत्रमा भेटिएको छ।

‘विगतमा नलगाढ नदीको तीरमा पाइन्थ्यो भन्थे। अहिले खोलाको दुवै किनारमा एक्जाभेटर लगाएर बाटो बनाउँदा यो प्राणीको वासस्थान विनाश भयो,’ संरक्षणकर्मी सञ्जन थापा भन्छन्, ‘मकालु–वरुण क्षेत्रमै पाँचवटा जलविद्युत् आयोजना बनिरहेका छन्। नदी किनारैकिनारै बाटो बन्न थालेपछि साना प्राणीको बासस्थान विनाश भएको छ।’

भेटिएला त ओंत !

‘अरुण उपत्यकामा माछा मार्दा कहिलेकाहींं जालमा ओंत पनि पर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन्। नेपालको पूर्वी क्षेत्रमा पनि ओंत हुन सक्ने सम्भावना छ,’ दाहाल भन्छन्।

भोजपुरको भुल्केमा ओंतको मासु खाएकोे स्मरण गर्छन्, हाल इटहरी निवासी चूडामणि भट्टराई। ‘उस्तो छ्यासछ्यास्ती पाइने त होइन तर, साह्रै दुर्लभ पनि थिएन,’ भट्टराई भन्छन्, ‘करिब ४० वर्षअघिसम्म ओंत मारेर खान्थे।’ 

२०४० सालपछि इटहरी बसाइँ सरेका भट्टराईले तराई क्षेत्रमा आफूले ओंत नदेखेको बताए। 

नारायणी नदी क्षेत्रमा सन् २००८ मा ओंत भएको संकेत भेटिएका थिए तर सन् २०१२ मा अध्ययन गर्दा ओंतको कुनै संकेत देखिएन।

गोरखाको बूढीगण्डकी क्षेत्रमा ओंतको सम्भाव्यता अध्ययन गर्दा त्यहाँ ओंतको कुनै संकेत नभेटिएको अनुसन्धानकर्ता आरती बस्नेत बताउँछिन्। 

‘पहिला तिब्बतदेखि पनि ओंत लिन आउँथे भन्ने कुरा गाउँलेले सुनाए,’ बस्नेत भन्छिन्, ‘गाउँलेका कुरा अनुसार पन्ध्र वर्षअघिसम्म ओंत उस्तो दुर्लभ थिएन।’

कोसी नदीको पूर्वी र पश्चिमी क्षेत्रमा पनि अहिले ओंत नभेटिएको अर्की अनुसन्धानकर्ता सुजिता ढकाल बताउँछिन्। ‘स्थानीय बासिन्दाले पहिले ओंत पाइने गरेको बताए तर हामीले अनुसन्धान गर्दा भेटिएन’, ढकाल भन्छिन्, ‘बाह्र पन्ध्र वर्षयता मान्छेले ओंत देखेका छैनन्।’

अब नयाँ क्षेत्रमा खोज्नुपर्ने धारणा संरक्षणकर्मी थापाको छ। ‘पहिला भेटिएको ठाउँमा पर्यावरणीय परिवर्तनका कारण लोप भइसकेका हुन सक्छन्। त्यसैले अब सम्भावित नयाँ बासस्थान पत्ता लगाउनुपर्छ,’ थापा भन्छन्।

ओंतबारे धेरैलाई थाहा छैन

नेपालका सबै संरक्षित क्षेत्रमा कार्यरत व्यक्तिसँग सर्वेक्षण गर्दा ७० प्रतिशतले ओंतबारे थाहा नभएको बताएको जानकारी दाहालले दिए। उनी भन्छन्, ‘अधिकांश संरक्षणकर्मी र विज्ञलाई नै ओंतबारे थाहै छैन।’

पहिलो चरणमा प्रजाति र संरक्षण शिक्षा जरुरी देखिएको उनी बताउँछन्। फाउन्डेसनले ओंतबारे तीन हजार थान जानकारी पुस्तिका सबै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र सम्बन्धित अन्य निकायलाई वितरण गरिरहेको छ।

‘हामीले पुस्तिकामा ओंतको चित्रसहितको सूचना र ओंत देखिएमा जानकारी पे्रषित गर्ने संयन्त्र बनाएका छौं। केही न केही जानकारी पक्कै आउला,’ दाहाल भन्छन्।

संरक्षण चुनौती

बालुवा तथा ढुंगा उत्खनन्, सिमसार दोहन, माछा मार्न ठूला जाल तथा बल्छीको प्रयोग, बासस्थानको विनाश नै ओंत संरक्षणका चुनौती हुन्। 

खोला किनारमा सडक निर्माण तथा ठूला जलविद्युत् आयोजनाका संरचना निर्माणले पनि ओंत हराउँदै गएको संरक्षणकर्मी बताउँछन्।आईयूसीएनको रेड लिस्टमा ओंतलाई संवेदनशील सूचीमा राखिएको छ। 

संकटापन्न जंगली वासस्थान तथा जीवजन्तुका प्रजातिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) अनुसूचीमा यसलाई संकटापन्न वन्यजन्तुको पहिलो अनुसूचीमा राखिएको छ।

दुई वर्षअघिको तथ्यांकअनुसार २० वर्ष अवधिमा बरामद भएका जनावरको छालामा केही कालो ओंतका थिए। सन् १९८९ देखि २०१७ सम्ममा ७५५ वटा ओंतका छाला व्यापारीबाट जफत भएका थिए।

प्राचीन चिनियाँ औषधिमा अन्य प्राणीको जस्तै ओंतका अंगहरुको पनि प्रयोग हुने अनुमान छ। 

‘अधिकांश वन्यजन्तुको चोरीपैठारी चीनमा हुने गरेको पाइन्छ,’ मानवशास्त्री नवीन गोदार भन्छन्, ‘एक त चिनियाँ प्रायः जीवजन्तुको मासु खान्छन् अर्को हजारौं वर्षदेखि अभ्यासमा रहेको भनिएको प्राचीन चिनियाँ उपचार पद्धतिमा दुर्लभ वन्यजन्तुको अंग प्रयोग गरिँदा वन्यजन्तु संकटमा परेका छन्। ओंत पनि अछुत रहेन।’

संरक्षण कार्ययोजना

हिमालयन ओटर नेटवर्क,  आईयूसीएन  ओटर स्पेसलिस्ट ग्रुपकाे पहलमा ओंत संरक्षण गर्न ‘नेपाल ओंत कार्ययोजना’ बनेको छ।

कार्ययोजना निर्माणमा संलग्न संरक्षणकर्मी थापा भन्छन्, ‘पहिला त ओंत कहाँकहाँ छन् र बासस्थानको अवस्था कस्तो छ थाहा पाउनुपर्‍यो। तसर्थ धेरैभन्दा धेरै सूचना संकलन गर्ने र त्यसका आधारमा संरक्षण योजना बनाउने लक्ष्य छ।’

उनी प्रजाति र बासस्थान जोगाउन सातै प्रदेशमा सात वटा सम्भावित स्थानमा अनुसन्धान गर्ने योजना रहेको बताउँछन्।’

किन भेटिएन ओंत ?

‘ओत नदेखिनुका दुई कारण छन्। एक त निगरानीका लागि क्यामरा ठिकसँग राखिएन अर्को नेपालमा ओंत नहुन सक्छ,’ दाहाल भन्छन्। दस बाह्र वर्षअघि गाउँठाउँमा देखिने गरेका ओंत लोप नै भइसकेको भन्नेमा विज्ञ विश्वस्त छैनन्।

‘सन् २०१८ मा दूधकोसीमा दुई ठाउँमा ओंतको दिसा भेटिएको थियो,’ संरक्षणकर्मी मोहनविक्रम श्रेष्ठले भने, ‘अबको अनुसन्धान डीएनएको तहको हुनुपर्छ। ताकि प्राप्त प्रमाणका आधारमा ओंतबारे धेरैभन्दा धेरै जानकारी पाउन सकियोस्।’

श्रेष्ठ चमेलिया, पश्चिम सेती, सानी भेरी, उत्तर गंगा क्षेत्रमा ओंंत भेटिने सम्भावना रहेको बताउँछन्। 

संरक्षणकर्मी हरि बस्नेत स्थानीय बासिन्दालाई ओंतबारे भ्रम भएको बताउँछन्। ‘रुकुमकोटमा पानी ओंत र पाखे ओंत देखियो भनेर जाँदा निर बिरालो रहेछ। त्यसैले धेरै मानिसलाई ओंतको बारेमा सही जानकारी छैन,’ बस्नेत भन्छन्।

अनुसन्धानकर्ता सुवर्णराज घिमिरेले दमौलीमाथिको क्षेत्रमा ओंत पाइन्छ भनेर अध्ययन गर्दा ओंत नभेटिएको बताए। ‘गाउँलेले सो क्षेत्रमा पाखे ओंत भएको बताए,’ घिमिरे भन्छन्, ‘उहाँहरुले ओंत दाबी गरे पनि त्यो नीरबिरालो रहेछ।’

आइयूसीएन ओंत विशेषज्ञ समूह हिमालय की संयोजक मेलिसा स्याभेज नेपाल तथा एसियाका अन्य स्थानमा बासस्थान विनाश हुँदा ओंत संकटमा परेको बताउँछिन्। 

‘नदी प्रदूषित हुँदा, सिमसार मासिँदा पनि ओंत हराउँदै गए,’ मेलिसा भन्छिन्, ‘भुस्याहा कुकुर तथा चोरी सिकार ओंत हराउउनुका अन्य कारण हुन्।’

जुन देशमा ओंतको संरक्षण गरिएको छ त्यहाँ ओंतको संख्या राम्रैसँग बढेको र राम्रो अवस्थामा रहको उनी बताउँछिन्। ‘नेपालमा पनि ओंतको संरक्षण गरियो भने ओंत देख्न पाइनेछ,’ स्याभेजको आशा छ ।

ओंतलाई किन जोगाउने ?

युरोप र अमेरिकामा ब्वाँसो प्रजाति लोप हुँदा वन्यजन्तुको खाद्यचक्रमा असन्तुलन भयो। ब्वाँसा नहुँदा ठूला हरिणले सबै साना बिरुवा खाएर सारा वन क्षेत्र सखाप भएको हिमालय की संयोजक स्याभेज बताउँछिन्।

उनले भनिन्, ‘जसरी बाघ प्रजातिले पर्यावरणीय चक्र सन्तुलन मिलाउन सहयोग गर्छ त्यस्तै ओंतले पानीमा पर्यावरण सन्तुलन राख्न ठूलो सहयोग गर्छ।’ ओंत कुनै पनि देशको वनजन्य सम्पदा भएकाले पनि यसको संरक्षण गर्नपर्ने उनको भनाइ छ।

यस्तै संरक्षणकर्मी दाहाल ओंतले नदी प्रणाली स्वच्छ राख्न मद्दत गर्ने बताउँछन्। उनी भन्छन्, ‘यसले नदीमा हुने विभिन्न साना जीवको संख्या नियन्त्रण गरी नदीजन्य जैविक प्रणालीलाई चुस्त बनाउँछ।’

मे महिनाको अन्तिम बुधबार ‘विश्व ओंत दिवस’ मनाइन्छ। आशा गरौं, पाँच महिनापछि ‘विश्व ओंत दिवस’ मनाउँदा नेपालमै देखिएका ओंत प्रजातिबारे देख्न, सुन्न पाइयोस्।


प्रकाशित: January 16, 2021 | 06:07:00 काठमाडौं, शनिबार, माघ ३, २०७७

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

आयोगले प्रदेशतर्फ समानुपातिकको मतपत्र छपाइ सक्यो

निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकेको छ। दुई करोड एक लाख मतपत्र छपाइको काम सकिएको आयोगले जनाएको छ।
नेपाल समय
समाज

रैथाने धानको अनुसन्धान गरिँदै

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ।
नेपाल समय
समाज

नाका नखुल्दा तिब्बतको च्याङ्‍ग्रा भित्रिन सकेन

व्यवसायीले मुस्ताङका च्याङ्‍ग्रा बजार भित्र्याएका छन्। बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्‍ग्रा आइपुगेका हुन्। व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दसैंमा च्याङ्‍ग्रा भित्र्याउँछन्। दसैँमा च्याङ्‍ग्राको माग उच्च हुन्छ।
नेपाल समय
समाज

शीत भण्डार सञ्चालनमा नआउँदा किसानलाई समस्या

किसानले उब्जनी गरेको फलफूल तथा तरकारी भण्डारण गर्ने स्थान नहुँदा जिल्लाका किसान तथा व्यवसायी समस्यामा परेका हुन्।
नेपाल समय
समाज

सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतनामूलक सन्देश छाप्नुपर्ने

नेपालमा सुर्तिजन्य पदार्थबाट बनेका चुरोट खैनी लगायतको बट्टा ९० प्रतिशत चेतनामूलक सन्देश र घातक रङ्गिन चित्र छाप्नुपर्ने अनिवार्य भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना