काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:
वृद्धवृद्धाको हेरचाह छोराछोरीले नगरे सरकारले गर्नुपर्ने ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको भनाइ, संसदले पारित गर्यो ज्येष्ठ नागरिकको सम्पत्ति लिएर पालनपोषण गर्ने विधेयक।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सार्ने खतरा रहेको ओलीको आरोप, सरकार भ्रष्ट सावित भएको र अर्थतन्त्रलाई बर्वादीतर्फ धकेल्दै लगेको जिकिर।
गठबन्धनको गीत गाउँदा स्थानीय चुनावमा अपेक्षाकृत जित नभएको नेपालको ठहर, एमाले सांसद नरबहादुर धामीले प्रधानमन्त्री देउवालाई दिए थारो भैँसीको संज्ञा।
भारतमा छड निर्यात थालेसँगै श्री स्टिल्स बन्यो देशकै पहिलो स्टिल निर्यातकर्ता, भ्रमण गर्न विदेश जाँदा दुई सय अमेरिकी डलर मात्रै लैजान पाइने।
क्यानडेली क्रिकेट टिममा नियुक्त भएपछि मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा, यू–१७ राष्ट्रिय फुटबल टिम पनि खुला छनोटबाटै बनाउने एन्फाको निर्णय।
बाबुआमाको हेरचाह नगरे सम्पत्ति जफत
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन्।
बुधवार प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदैँ मन्त्री रेग्मीले परिवारबाट पालन पोषण नभएको र दुव्र्यवहार भएका जेष्ठ नागरिकको पूरा जिम्मेवारी स्थानीय सरकारले लिने र उनीहरुको सम्पती पनि स्थानीय सरकारले परिचालन गर्न पाउने व्यवस्था विधेयकमार्फत गरिएको बताएकी छन।
मन्त्री रेग्मीले विधेयकमा ज्येष्ठ नागरिक इजलास गठन गर्न सकिने व्यवस्था गरिएको पनि उल्लेख गरेका छन। ज्येष्ठ नागरिकलाई कसैले दुव्र्यवहार गर्न नपाउन् भन्ने किसिमको व्यवस्था गरिएको उनको भनाइ छ।
प्रतिनिधि सभाले ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै यो विधेयकका व्यवस्था कानुनका रुपमा लागू हुनेछन्।
निर्वाचन सर्ने खतरा : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको आशंका व्यक्त गरेका छन्।
बुधबार काठमाडौंको एक कार्यक्रममा ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने चुनाव सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको आशंका गरेका हुन्। उनले वर्तमान सरकारले संविधानमाथिको थिचोमिचो गरिरहेको भन्दै गत फागुनमा हुनुपर्ने निर्वाचन बैशाखमा गरिएको त्यो पनि एमालेको दवावले मात्रै सम्भव भएको समेत बताएका छन्।
ओलीले सरकार सञ्चालकहरु अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई आदर्श बनाएर कुदेको, देशको अर्थतन्त्रलाई बर्वादीतर्फ धकेल्दै लगेको र अन्तराष्ट्रिय सम्बन्धलाई अनुचित ढंगले खल्वल्याएको आरोप लगाए।
यस्तै नेकपा एमालेले आउँदो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण सुरु गरेको छ। काठमाडौंको प्रज्ञा भवनमा हुने बागमती प्रदेशस्तरीय प्रशिक्षणमा करिब १४ सय प्रतिनिधि सहभागी हुने बताइएको छ।
प्रदेश अध्यक्ष, उपाध्यक्ष, जिल्ला पदाधिकारी, जनवर्गीय संगठनका केन्द्रीय प्रतिनिधि, प्रदेश कमिटी अध्यक्ष, पालिका अध्यक्षलगायतलाई एमाले अध्यक्ष केपी ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र काशीनाथ अधिकारीले प्रशिक्षण दिनेछन्।
हाम्रो शक्ति बढ्छ : नेपाल
यता, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धको गीत बढी गाएका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा प्राप्त गर्न नसकेको बताएका छन्।
बुधवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनको भरोसा बढी गर्नाले र अरुको सहारामा बाच्ने बानीले पार्टीलाई नोक्सान पुर्याएको समेत उल्लेख गरे। उनले आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने बताए। उनले प्रत्यक्ष निर्वाचनमा आफ्नो पार्टीको सिट बढ्ने दाबीसमेत गरे।
नेता नेपालले नेपाल कम्युनिस् पार्टी (नेकपा) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फुटाएको आरोप लगाए। उनले नेकपा एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताए।
एमाले अध्यक्ष ओलीले नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकतावद्ध गर्न नसकेको उनको भनाइ छ।
निर्वाचन आयोगमा बामदेव
गत असार १४ मा नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी खोलेका वामदेव गौतम दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेका छन्।
पार्टीमा वामदेव गौतम संयोजक हुने गरी निर्वाचन आयोगमा दल दर्ताका लागि प्रक्रिया अघि बढाइएको हो। पार्टीको नाम नेकपा एकता राष्ट्रिय अभियान हुनेछ भने यसका संयोजक वामदेव गौतम रहने गरी दर्ता प्रक्रिया अघि बढेको छ।
निर्वाचन आयोगमा उक्त दलको निवेदनको दर्ता नम्बर ६४ रहेको पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताएका छन ।
उनका अनुसार ३ वटा चुनाव चिह्न आयोगमा प्रस्ताव गरिएको छ । ७५ जना केन्द्रीय सदस्य हुने गरी गत १४ असारमा गौतमले पार्टी घोषणा गरेका थिए। राष्ट्रिय सभाका सांसदसमेत रहेका गौतमले तत्कालीन नेकपा विभाजित भएपछि वाम एकताका लागि छुट्टै अभियान सञ्चालन गर्दै आएका थिए ।
देउवामाथि आरोप
नेकपा (एमाले) का सांसद नरबहादुर धामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमका जनताले ३१ वर्षदेखि थारो भैंसी पालेझैँ पाल्नुपरेको आरोप लगाएका छन्।
बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद धामीले सुदूपश्चिमका जनताले प्रधानमन्त्री देउवालाई ६ पटक चुनाव जिताएर पाँच पटक प्रधानमन्त्री बनाएपनि सुदूरपश्चिमका लागि केही नगरेको गुनासो पोखेका छन ।
सांसद धामीले कैलालीमा गेटा मेडिकल कलेजको स्थापना गर्न नसके दश पटक प्रधानमन्त्री भएपनि जनतालाई कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेझैँ हुने बताए ।
सुशासन वर्ष मनाउँदै ललितपुर
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ।
बुधवार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो। पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरीबाबु महर्जनले चालु आर्थिक वर्ष सुशासन वर्षको रुपमा मनाइने बताए।
ललितपुर महानगरपालिका भित्रका ७३ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक एकमुष्ठ रुपमा १० हजारका दरले दिनको लागि छुट्याएको छ। ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख तीन हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।
२ किलो युरेनियम बरामद
मोरङ प्रहरीले दुई किलो युरेनियम भनिएको धुलोसहित १५ जनालाइ विराटनगरको छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले पक्राउ परेकाहरु भरिया रहेको बताएका छन । उनका अनुसार साउन १ गत एक किलो ८७।३ ग्रामसहित विराटनगर– ९ ट्राफिक चानेकबाट ८ जना पक्राउ परेका थिए ।
साउन ३ गते विराटनगर महानगरपालिका– ३ को दूधफारम नजिकैबाट ९७८।६ ग्रामसहित सात जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । बरामत भएको वस्तु परीक्षणका लागि पठाइएको उनले बताए ।
छड निर्यात सुरु
श्री स्टिल्सले टिएमटी छड पनि भारत निर्यात गर्न थालेको छ। मंगलबारबाट यस स्टील कम्पनीले ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरेको हो।
बजेटमार्फत सिमेन्ट तथा स्टिल निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ। सिमेन्ट भारततर्फ निर्यात सुरु भइसकेको छ। श्री स्टिल्सले छड निर्यात गरेसँगै छडको पनि निर्यात सुरु भएको हो।
वर्षको १५ लाख मेट्रिक टन निर्यात गर्ने नेपाली उद्योगको क्षमता रहेको कम्पनीको दाबी छ ।
अबको विदेश यात्रा २ सय डलरमा सीमित
विदेश भ्रमणमा जाँदा २०० अमेरिकी डलरमात्रै लैजान पाइने भएको छ।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ संशोधन गरी विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर कम्पनी र अरू निकायहरूलाई यस्तो निर्देशन जारी गरेको हो।
विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त मनि चेन्जरहरूले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा प्रदान गर्न पाउनेछन्। यसअघि यस्तो सीमा ५०० डलर थियो।
विक्रमासिंघे राष्ट्रपति
श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन्। बुधबार संसदमा भएको चुनावमा विक्रमासिंघे दुई प्रतिष्पर्धीलाई हराउँदै राष्ट्रपति चुनिएका हुन्।
यसअघि उनी ५ पटक श्रीलंकाको प्रधानमन्त्री बनिसकेका छन्। गोटाबाया राजपक्षे श्रीलंकाबाट भागेपछि रनिल विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनाइएका थिए। श्रीलंकामा विरोध प्रदर्शन बढ्दै गएपछि गोटावाया राजपाक्षेले रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री बनाएका थिए। उनलाई राजापाक्षेको समर्थन थियो।
प्रदर्शनकारीहरुले विक्रमासिंघेले पनि राजीनामा दिनुपर्ने बताउँदै आएका छन्। विदेशी मुद्रा सञ्चिति रित्तिँदा श्रीलंका स्वतन्त्र राष्ट्र भए यता सन् १९४७० कै गम्भीर आर्थिक संकटबाट जुधिरहेको छ। जसका कारण बजारमा अभाव र मूल्यवृद्धि अकासिएको छ। विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयको सेवासमेत प्रभावित भएको छ।
मुलुकको यो अवस्था सिर्जना हुनुमा राष्ट्रपति गोटावाया राजपाक्षे र निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षे जिम्मेवार रहेको भन्दै जनता गत अप्रिलदेखि सडकमा उत्रिएका छन्।
दक्षिण कोरियामा बढ्यो कोरोना संक्रमण
दक्षिण कोरियामा बितेको २४ घण्टामा ७६ हजार ४ सय २ जनामा कोरोनाको नयाँ संक्रमित थपिएका छन्। यो सँगै त्यहा संक्रमितको संख्या एक करोड ८९ लाख ३७ हजार नौ सय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
यता, कोरोना सङ्क्रमण बढन थालेपछि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सबै देशबासीलाई मास्क लगाउन र स्वास्थय मापदण्ड पालना गर्न आग्रह गरेका छन् । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा ५० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित फेला परेका तथा ८० जनाको मृत्यु भएको छ।
क्यानडा लागे पुबुदु
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएका छन्। बुधबार पत्रकार सम्मेलन आयोजना गरी व्यक्तिगत कारण देखाउँदै मुख्य प्रशिक्षक पदबाट पुबुदुले राजीनामा दिएका थिए।
दोस्रो पटक नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त भएको ८ महिनामै पुबुदुले राजीनामा दिएका हुन्। गत मंसिरमा पुबुदुले क्यानसँग दुई वर्षे सम्झौता गरेका थिए।
यसअघि पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षक थिए। उनको पहिलो कार्यकाल सफल मानिएको थियो।
पुबुदु क्यानडाको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्। क्रिकेट क्यानडाले आधिकारिक फेसबुक पेजमा पुबुदु प्रमुख प्रशिक्षक नियुक्त भएकामा बधाइ दिएको छ।
यु-१७ पनि खुला छनौट
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ राष्ट्रिय फुटबल टिम पनि खुला छनोटबाटै बनाउने भएको छ। यसअघि एन्फाले यू–२० राष्ट्रिय टिम पनि खुला छनोटबाटै गराएको थियो।
एन्फाका अनुसार आउँदो साउन ९ बाट छनोट प्रकिया सुरु हुनेछ। इच्छुक खेलाडीले फर्म भरेर एन्फा कम्प्लेक्समा बुझाउन सक्ने एन्फाले जनाएको छ। यसका लागि साउन ९ सम्मको अवधि तोकिएको छ। खेलाडीले प्रशिक्षणमा सहभागी हुँदा जन्मदर्ताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र ल्याउनुपर्नेछ।
साफ यू–१७ च्याम्पियनसिप आगामी सेप्टेम्बर ५ देखि श्रीलंकामा हुँदै छ। त्यस्तै, एएफसी यू–१७ एसियन कप छनोट आगामी अक्टोबर १ देखि ९ सम्म भियतनाममा हुने कार्यतालिका छ।