काठमाडौं- आइतबारका प्रमुख घटनाक्रमसहित नेपाल समय समाचारका मुख्य शीर्षकहरू
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी दिल्लीबाट स्वदेश फर्किए प्रचण्ड, बीजेपी र माओवादीबीचको सम्बन्ध थप बलियो बनाउने सहमति। मोदीसँग नभेटी फर्किए प्रचण्ड
भदौ १४ सम्म कार, कुरमुरे, मदिरा, चुरोट र महँगा स्मार्टफोनको आयात प्रतिबन्ध, गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बालुवाटारमा प्रदर्शन। गञ्जागोल अर्थतन्त्र
लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु नभएर हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष, भारतमा लगेर मृगौला बेचबिखनमा संलग्न भएको आरोपमा ५ जना पक्राउ। अपराधमाथि प्रहरी नजर
पछिल्लो एक महिना अवधिमै धादिङमा भेटिए ४९ जना डेंगुका बिरामी, उपचार गर्न ठूला सहर धाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने राष्ट्रपतिको धारणा। विस्तार भएन उपचार पहुँच
राजापाक्षे भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई नै श्रीलंकाको नयाँ राष्ट्रपति बनाउने तयारी, वर्तमान संसदले बहुसङ्ख्यक जनताको विचार प्रतिनिधित्व नगर्ने विपक्षीको तर्क। प्रधानमन्त्रीलाई नै राष्ट्रपति
फर्किए प्रचण्ड
भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्किएका छन्।
उनले मोदीसँग पनि भेट्ने बताइएको थियो। तर भाजपा अध्यक्ष जेपी नड्डा र भारतीय परराष्ट्रमन्त्री एस जयशंकरसँग भेट गरी प्रचण्ड स्वदेश फर्किएका हुन्। नड्डासँगको भेटमा अध्यक्ष दाहालले भारतीय जनता पार्टी र माओवादीबीच एक अर्काको आमन्त्रणमा दुवै देशमा संयुक्त कार्यक्रमहरु गर्दै जाने समझदारी गरेका छन्।
आफ्नो भारत भ्रमणमा फलदायी र उपलब्धिमूलक कुराकानी भएको प्रचण्डले बताएका छन्। नड्डासँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। भेटमा दुई पार्टी र दुई देशको सम्बन्ध बलियो बनाउने सहमति भएको प्रचण्डको भनाइ छ।
भारत भ्रमणमा रहँदा प्रचण्ड र प्रधानमन्त्री-पत्नी समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाबीच शनिबार बिहान भेट भएको थियो। उक्त भेटका विषयमा भएका नकारात्मक टिकाटिप्पणी भएको भन्दै प्रचण्डको सचिवालयले खण्डन गरेको छ। स्वभाविक भेटलाई गलत नियतका साथ प्रचार गरिएको भन्दै प्रचण्डको सचिवालयले आपत्ति जनाएको हो। आफूहरूबीच देश र जनताको हितबाहेक अरु कुनै स्वार्थ नरहेको विज्ञप्तिमा दाबी गरिएको छ।
पुष्पाले लिइन् शपथ
प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिएकी छन्। आइतबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख भुसाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरुपनि सहभागी थिए। भुसाल गत शुक्रबार उपसभामुखमा निर्वाचित भएकी हुन्।
सपथपछि उपसभामुख भुसालले पदभार ग्रहण पनि गरेकी छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै भुसालले सदनलाई प्रभावकारी ढंगले अघि बढाउन आफू कटिबद्ध भएर लाग्ने बताइन्।
१० वस्तुको आयात प्रतिबन्ध लम्बियो
सरकारले कार, विलासी मोटरसाइकल, महँगा मोबाइललगायत १० वस्तुको आयात प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि थप गरेको छ।
आइतबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै डेढ महिना म्याद थप गरेको हो। यसअघि सरकारले वैशाखदेखि साउन १ गतेसम्म आयात प्रतिबन्ध लगाएको थियो। वैदेशिक मुद्रा सञ्चितिमा दबाब रहेको भन्दै सरकारले डेढ महिना आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो।
कुरकुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, स्मार्टफोन, रंगीन टेलिभिजन, जीप, कार र भ्यान, १५० सीसीमाथिमा मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासमा पूर्ण प्रतिबन्ध लगाएको राजपत्रमा उल्लेख छ।
सवारी साधनको प्रतिबन्ध थपिएसँगै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको 'नाडा अटो शो–२०२२' अनिश्चित बनेको छ।
नाडाका अध्यक्ष ध्रुव थापाले अटो शो सार्ने वा स्थगित गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। सरकारले आयात बन्द गरिदिएपछि अटो शो गर्न नसकिने भएकाले व्यवसायीहरूसँग छलफल थालिएको उनको भनाइ छ।
यसैबीच गभर्नर महाप्रसाद अधिकारीविरुद्ध काठमाडौंको बालुवाटारमा प्रदर्शन गरिएको छ। अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ। प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन्। गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै उनीविरुद्ध प्रदर्शन भइरहेको छ।
कोरोना संक्रमण बढ्यो
पछिल्लो २४ घण्टामा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो। जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
सक्रिय संक्रमितको संख्या १ हजार ४३९ पुगेको छ। पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन्। आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ३३६ पुगेको छ।
धादिङ डेंगुको हटस्पट
धादिङ जिल्लामा डेंगुका बिरामी बढ्न थालेका छन्। पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेंगुका बिरामी पहिचान भएका हुन्।
बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक बस्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेंगुको संक्रमण पुष्टि भएको हो।
पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेंगुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ।
धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मधुकर दाहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेंगुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गरेका छन्।
विद्याले गरिन् स्वास्थ्यका कुरा
राष्ट्रपति विद्या भण्डारीले जनतालाई उपचार गर्न ठूला सहर, राजधानी र विदेश धाउनुपर्ने परिस्थितिको अन्त्य गर्नपर्ने बताएकी छन्।
आईतबार काठमाडौंमा आयोजित चिकित्सा शाष्त्र अध्ययन संस्थानको स्वर्ण जयन्ति समारोहमा बोल्दै उनले स्वदेशमा मेडिकल शिक्षाको प्रवद्र्धन गर्न अति आवश्यक रहेको समेत बताएकी हुन्। राष्ट्रपति भण्डारीले जनतालाई सहज हुने स्थानमा स्वास्थ्य सेवाको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्नेमा जोड दिइन्।
सोहि कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले भने कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गईरहँदो त्यसलाई नियन्त्रण गर्नसरकार सक्षम रहेको दावी गरेका थिए।
गायिका सुनारको हत्या भएको प्रारम्भिक अनुसन्धान
लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणबारे अनुसन्धान गरिरहेको प्रहरीले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। प्रारम्भिक अनुसन्धानमा सुनारले आत्महत्या गरेको देखिएको थियो तर विस्तृतमा अनुसन्धान गर्दै जाँदा हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ।
गएको असार ११ गते गायिका सुनारको शव फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको थियो। असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन्। अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारीमा प्रहरी जुटेको छ। प्रहरी वृत्त बालाजुले घटनाको अनुसन्धान गरिरहेको छ।
गायिका सुनार मृत भेटिएको सूचना पाएलगत्तै वृत्त बालाजु, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानमा जुटेको थियो। त्यस क्रममा गायिका सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ असार १२ गते पक्राउ परेका थिए।
मिर्गौला बेचबिखनको आरोपमा ५ जना पक्राउ
प्रहरीले मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जना गिरोहलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान व्यूरोले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मृगौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, बिमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरेको जनाएको छ।
भारतमा गएर मृगौला दान गरेवापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाईल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भईरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको व्यूराले बताएको छ।
पक्राउ परेका उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको पनि ब्युरोले जनाएको छ।
प्रदेशको चेतावनी संघीय सरकारलाई
लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले संघले अधिकार नदिए संघर्ष गर्ने चेतावनी दिएका छन्। संघीयता बलियो बनाउन आवश्यक परे संघर्ष गर्ने बताएका हुन्।
मन्त्री शर्माले प्रदेशमा वित्तीय, प्रहरी र कर्मचारी नहुँदा बजेट कार्यान्वयन गर्न नसकिएको भन्दै उनले भोलीदेखि हुने देशभरका आन्तरिक मामिला मन्त्रालय समालेका मन्त्रीहरूको भेलामा प्रदेशलाई अधिकार दिन संघ सरकारलाई दवाव दिने बताएका हुन्।
संघले आफू कमजोर हुने भएकाले प्रदेशलाई अधिकार दिन नखोजेको उनको आरोप छ। लुम्बिनी प्रदेश सरकारले असार १५ गते प्रहरी सेवासम्बन्धी ऐन बनाएको छ। उक्त ऐन कार्यान्वयन गर्ने समेत बताएका हुन्।
आयल निगमलाई पौने ६० करोड अनुदान र ७ अर्ब ऋण दिने
सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम अनुदानस्वरूप उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयमार्फत नेपाल आयल निगमलाई उपलब्ध गराउने निर्णय गरेको छ।
त्यसैगरी निगमलाई ७ अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णय पनि सरकारले गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ५९ करोड, ८६ लाख ८० हजार रुपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको जानकारी सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएका हुन्।
त्यसैगरी मेलम्ची खोनपानी आयोजनाको सुरुङ परीक्षण गर्ने क्रममा दुर्घटनामा ज्यान गुमाएका इन्जिनियर सतीशकुमार गोहित र सवारी चालक राधाकृष्ण थापा मगरको परिवारलाई क्षतिपूर्ति स्वरूप ५–५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको मन्त्री कार्कीले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा १७ बुँदे निर्णय गरेको थियो।
पुगेन राजस्वको लक्ष्य
आर्थिक वर्ष ०७८/०७९ का लागि सरकारले ११ खर्ब ८० अर्ब आयको लक्ष्य राखेकोमा १० खर्ब ६० अर्ब राजस्व संकलन गरेको छ। त्यसैगरी १६ खर्ब ३२ अर्बको बजेटमा १३ खर्ब १ अर्बमात्रै खर्च गर्न सकेको छ। यसको अर्थ विगतका वर्षहरूजस्तै ०७८/०७९ मा पनि सरकार बजेटका लक्ष्य भेट्टाउन असफल देखिएको छ।
सरकारले संकलन गरेको राजस्व अन्तर्गत कर ९ खर्ब ८३ अर्ब र गैरकर ७७ अर्ब छ। उठेको कुल राजस्वमध्ये १ खर्ब २८ अर्ब भने प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।
बजेट खर्च गर्ने मामलामा पनि सरकार कमजोर नै देखिएको छ। गत आर्थिक वर्षमा ५७.१८ प्रतिशत मात्रै खर्च भएको छ। विकासे मन्त्रालयहरूले खर्च गर्न नसकेका कारण अर्थ मन्त्रालयले जथाभावी रकमान्तर गरेको थियो।
प्रधानमन्त्री नै राष्ट्रपति
श्रीलंकाको सत्तारुढ दलले संसदले अर्को हप्ता नयाँ नेता चयन गर्दा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेलाई राष्ट्रपतिको लागि मनोनयन गर्ने पार्टीका एक अधिकारीले जानकारी दिएका छन्।
‘हामीले रनिल विक्रमासिंघेलाई हाम्रो राष्ट्रपतिको उम्मेद्वारको रूपमा समर्थन गर्ने निर्णय गरेका छौं’, श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी)का महासचिव सागरा करियावासमले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई भनेका छन्।
देशको सबैभन्दा खराब आर्थिक संकटका कारण उत्पन्न अशान्तिपछि श्रीलंकाबाट भागेका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेको परिवारको यो पार्टीको वर्चस्व छ। पेसाले वकिल विक्रमासिंघे पहिलो पटक सन् १९७७ मा संसदमा निर्वाचित भएका थिए।
उनी पहिलो पटक सन् १९९३ मा प्रधानमन्त्री बनेका थिए। तीब्र प्रदर्शनबीच महिन्दाका भाइ गोटाबाय राजापाक्षे बुधबार माल्दिभ्सको राजधानी माले हुँदै सिंगापुर भागेका थिए। सेनाको विमानमा माले पुगेका गोटाबाय त्यसको भोलिपल्ट सिंगापुर पुगेका थिए।
श्रीलङ्काका प्रमुख विपक्षी नेता तथा आगामी राष्ट्रपतिको निर्वाचनमा अग्रपङ्तिमा रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनावप्रति चिन्ता व्यक्त गरेका छन्। उनले वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्नेसमेत उल्लेख गरेका छन्।
अहिलेको संसद्मा पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षको बहुमत रहेकाले त्यसले तल्लो तहका बहुसङ्ख्यक जनताको विचारलाई प्रतिनिधित्व नगर्ने बताउँदै उनले चिन्ता व्यक्त गरेका हुन् ।
राष्ट्रपतिको निर्वाचन प्रक्रियाबारे टिप्पणी गर्दै प्रेमदासले गोटाबाया राजपाक्षको विधानसभामा बहुमत रहेको दुईसय २५ सांसदले करिब दुई करोड २० लाख श्रीलङ्कालीको भाग्यको फैसला गर्ने अहिलेको वास्तविकता सुनाए।