काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:
- आफूमाथि लागेका आरोपबारे प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले दिए राजीनामा, शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन। शर्मामाथि छानबिन
- संघीयता कार्यान्वयन गर्न सरकार जिम्मेवार नबेनको संसदीय अध्ययन समितिको निष्कर्ष, २९ बुँदे रोडम्याप कार्यान्वयनमा मन्त्रीहरू उदासीन बनेको ठहर। संघीयतामा उदासीन
- जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सहमति जुटेको लोसपाका महतोको प्रष्टीकरण, प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न १० अर्ब लाग्ने अनुमान। नागरिकताको गाँठो/चुनावमा १० अर्ब खर्च
- उपभोक्ता ठगीमा संलग्न ३ हजार ३४ फर्मलाई १ करोड ७७ लाख जरीवाना, न्युजिल्यान्ड पठाइदिन्छु भनेर ६३ लाख ठगीको आरोपमा महिला पक्राउ। ३ हजार ३४ फर्म कारबाहीमा
- १६ टोली सहभागी महिला युरोकप फुटबल खेलको उद्घाटन बुधबार राती बेलायतमा हुँदै, दर्शक र समर्थकमाझ उत्साह बढ्दा ५ लाख टिकट बिक्री। महिला फुटबलको क्रेज
अब समाचार विस्तारमा
अर्थमन्त्रीको राजीनामा
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन्। आफूमाथि लागेका आरोपका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले राजीनामा घोषणा गरेका हुन्।
उनले आफूले ल्याएको बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रयोग गरिएको भन्ने भ्रमपूर्ण सूचना फैलाएर राजनीतिक प्रतिशोध साँधिएको आरोप समेत लगाए। संसद्ले गठन गरेको छानबिन समितिलाई सहज होस् भनेर राजीनामा दिएको उनले बताएका छन्।
शर्मामाथि छानबिन गर्न आजै ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभा बैठकमा समिति गठनको प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको हो।
समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव सदस्य छन्।
शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ। अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप छ।
शर्मामाथि विदेशबाट अवैध ढंगले आएको रकम खुला गरिदिन अनधिकृत निर्देशन दिएको र उक्त निर्देशन अस्वीकार गर्दा गभर्नर महाप्रसाद अधिकारीमाथि प्रतिशोधपूर्ण कारबाही गरेको आरोप पनि छ।
राजीनामा घोषणा गर्नुअघि मन्त्री शर्माले आफूलाई सीसीसीटिभीको फुटेज डिलिट गर्न नआउने दाबी गर्दै फुटेज डिलिट नगरेको दाबी गरेका थिए।
शर्माले आफूमाथि अध्ययन गर्न बनाइएको छानबिन समितिलाई सहयोग गर्ने पनि बताएका छन्। बजेट बनाँउदा आफूले गल्ती नगरेको तर छानबिन गरेर गल्ती पत्ता लगाउन उनले चुनौती दिएका छन्।
शर्माको सम्बोधन अघि एमाले नेता योगेश भट्टराईले भने अर्थमन्त्रीको राजीनामा आफूहरुको बटमलाइन भएको बताएका थिए। यसपछि शर्मालाई सम्बोधन गर्न सभामुखले अनुमति दिएपछि एमालेले संसद बैठक बहिष्कार गरेको थियो।
संघीयता कार्यान्वयन गर्न सरकार गैरजिम्मेवार
संसदीय समितिले संघीयता कार्यान्वयनको सम्बन्धमा सरकार जिम्मेवार नभएको निष्कर्ष निकालेको छ। संघीय संसद राष्ट्रियसभा अन्तरगतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बुधबार संघीयतासम्बन्धी आफैंले तय गरेको रोडम्याप अनुसार सरकार नहिँडेको भन्दै असन्तुष्टि पोखेको हो। २०७५ साल मंसीर २४ गते आफैंले बनाएको संघीयतासम्बन्धी २९ बुँदे रोडम्याप कार्यान्वयनमा सरकार र सरकारका मन्त्रीहरु जिम्मेवार नभएको पाइएको हो। समितिले सरकारका मन्त्रीहरु नै संघीयताको कार्यान्वयन गर्न जिम्मेवार नभएको उल्लेख गरेको छ। संविधान र कानुनले किटान गरेको व्यवस्थाप्रति जिम्मेवार हुन पनि सचेत गराइएको छ।
समितिले अन्तर सरकारी वित्त परिषदको बैठक समेत नबसेर सरकारले संघ, प्रदेश र स्थानीय तहको वित्तिय व्यवस्थापनका विषयमा आवश्यक व्यवस्था गर्न नसकेको, स्थानीय तहमा निजामती कर्मचारीको सेवा व्यवस्थापनको कामलाई अघि बढाउन नचाहेको, संघ, प्रदेश र स्थानीय तहमा संविधान र कानुन विपरित जथाभावी बजेट विनियोजन गरेको भन्दै तत्काल त्यसलाई सच्याउन आवश्यक देखाएको छ।
जन्मसिद्धका सन्तानहरुलाई नागरिकता
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानहरुलाई नागरिकता दिने सवालमा सहमती जुटेको बताएका छन्।
जन्मसिद्धका सन्तानलाई संविधानको व्यवस्था अनुसार कानून बनाएर नागरिकता दिन सरकार तयार भएको सांसद महतोले बताएका हुन्। संसदमा रहेको पुरानो नागरिकता विधेयक फिर्ता गरेर नयाँ विधेयक लगि पारित गर्न सरकार सहमत भएको उनले जानकारी दिएका छन्।
संसदमा छिट्टै नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउन गृहमन्त्री बालकृष्ण खाँणले प्रतिवद्धता जनाएका छन्। संसदले ४ वर्षसम्म काम गरेको नागरिकता विधेयक फिर्ता लिने निर्णय सरकारले गरिसकेको छ।
चुनाव खर्च १० अर्ब
निर्वाचन आोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेका थियो। तलव भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धि लगायतका कारण बढी खर्च लाग्ने आयोगको अनुमान छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सुझाव दिएको छ। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २ मा निर्वाचन गर्न सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनकारी दिएका छन्।
निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ।
आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधि आगामी २०७९ मंसिर २२ गते पूरा हुने निश्कर्ष निकालेको छ।
३ हजार ३४ फर्म कारबाहीमा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता ठगीमा संलग्न ३ हजार ३४ फर्मलाई १ करोड ७७ लाख ८१ हजार रुपैयाँ जरीमाना गरेको छ।
चालू वर्षको असार २० सम्म गरिएको अनुगमनका क्रममा उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई उक्त मूल्य बराबरको जरिमाना गरिएको विभागले जनाएको हो। विभागका अनुसार यस अवधिमा बजार अनुगमनका क्रममा ३ हजार ३४ वटा व्यापारिक फर्ममा अनुगमन गरिएको थियो।
त्यसक्रममा विभिन्न बहानामा उपभोक्ता ठग्दै आएका १ हजार ३०१ वटा फर्मलाई कारबाही गरिएको विभागको तथ्यांक छ। उनीहरूले उपभोक्तासँग बजार मूल्यभन्दा बढी मूल्य लिने तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्दै आएका थिए। ती फर्मलाई २५ लाख ७५ हजार रुपैयाँ जरिमाना गरिएको छ।
६३ लाख ठग्ने महिला पक्राउ
९ जना युवालाई न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ६३ लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका९७ घर भई बुढानीलकण्ठ नगरपालिका ३ बस्ने २७ वर्षीया दिया भन्ने शोभा पौडेल हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा कार्यालयको टोलीले पक्राउ गरेको हो। उनले काठमाडौंको तिनकुने बस्ने नारायण बोगटीसहित नौ जनालाई ठगी गरेको पाइएको छ।
उनले ९ जनाबाट ६३ लाख २० हजार रुपैयाँ लिएको तर न्युजिल्याण्ड नपठाएको महाशाखाले जनाएको छ। ठगीमा परेको भन्दै वैदेशिक रोजगार विभागमा पुगेपछि विभागले शोभालाई पक्राउ गरिदिन महाशाखामा पठाएको थियो। प्रहरीले पक्राउ परेकी पौडेललाई वैदेशिक रोजगार विभागमा बुझाएको छ।
हेटौँडामा पनि हैजा
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ दुवाकोट र हेटौंडा उपमहानगरमा पनि हैजाका संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दुवाकोटका संक्रमितको टेकु र हेटौंडाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेका छन्।
काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, कोटेश्वर, कंलकी, सानेपा, डिल्लीबजार, कपन, बालाजु, बल्खु, थानकोट, नैकाप, कीर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन्। काठमाडौं उपत्यकाका धारा एवं इनारको पानी, ट्यांकरबाट वितरण गरिने पानी र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ। इकोलाई मानिसको दिसामा हुने जीवाणु हो।
बढ्यो नेप्से
बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। मंगलवार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधवार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ। बुधवार कारोबारमा आएका २२८ कम्पनीको ६२ लाख ६३ हजार कित्ता शेयर २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
बुधवार नेप्से १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ। जसमा विकास बैंक, वित्त र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।
नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएसँगै दुई कम्पनीको शेयर मूल्य शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन र सिवाईसी नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो।
बढ्यो हवाइ भाडा
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ।
भाडा बढेसँगै अब काठमाडौंबाट धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ। काठमाडौंबाट माउन्टेन फ्लाइटको भाडा १४ हजार ८९० रुपैयाँ पुगेको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको थियो। अहिले हवाई इन्धनको मूल्य १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुगेको छ।
३६ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन्। जसमध्ये दुईवटा चोरी सिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन्।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेन्जपोस्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ।
बाँकी ३४ गैँडा प्राकृतिक कारणबाट मरेका हुन्। तीमध्ये झण्डै आधा जुधेर मरेको तिवारीले बताए। गैँडा बुढो भएर, दलदलमा फसेर, बाघको आक्रमणमा परेर, खाडलमा परेर मरेका हुन्।
गत आवमा ३३ वटा गैँडा प्राकृतिक कारणबाट मरेका थिए। केही वर्षअघि एकै वर्ष प्राकृतिक कारणबाट ४४ गैँडा मरेका थिए।
महिला युरोकप सुरु हुँदै
बेलायतमा आज बुधबारदेखि महिला युरोकप फुटबल सुरु हुँदै छ। अधिकांश खेलमा झैं फुटबलमा पनि पुरुषका प्रतियोगिता हाबी छन्। अघिल्लो पटकको प्रतियोगिता अर्थात् सन् २०१७ सम्म महिला फुटबलले त्यति राम्रो बजार लिएको थिएन। तर त्यसयताका पाँच वर्षमा महिला फुटबलले राम्रै स्थान पाइसकेको छ।
महिला युरोकपको पाँच लाखभन्दा बढी टिकट बिक्री भइसकेको छ। यस पटकको प्रतियोगितालाई लिएर दर्शक र समर्थक माझ ठूलो उत्साह देखिएको छ। महिला युरोकप फुटबलमा १६ टोली सहभागी उद्घाटन खेलमा बुधबार आयोजक बेलायतले अस्ट्रियाविरुद्ध नेपाली समय अनुसार राति १२:४५ मा खेल्दै छन्।
खेल ओल्ड ट्राफोर्डमा हुनेछ। प्रतियोगिताको फाइनल खेल जुलाई ३१ मा हुनेछ। सन् २०२१ मा हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण एक वर्षपछि हुन लागेको हो। समूह ‘ए’ स् इंग्ल्यान्ड, अस्ट्रिया, नर्वे, उत्तरी आयरल्यान्ड छ।
समूह ‘बी' स्पेन, जर्मनी, डेनमार्क, फिनल्यान्ड र समूह ‘बी स् स्पेन, जर्मनी, डेनमार्क, फिनल्यान्ड छन्। यस्तै समूह ‘डी’ स् फ्रान्स, इटाली, बेल्जियम, आइसल्यान्ड छन्।
प्रतियोगिताको सबैभन्दा सफल टोली हो, जर्मनी। उसले आठ पटक यस प्रतियोगिताको उपाधि जितिसकेको छ। अघिल्लो प्रतियोगिता नेदरल्यान्डले जित्नुअघि जर्मनले लगातार ६ पटक उपाधि जितेको थियो।