बिहीबार, भदौ २, २०७९

४२ अर्बको धानचामल आयात, कार्यकर्ता तान्ने विषयमा प्रचण्ड-भुसाल जुहारी [२०७९-३-१५]

नेपाल समय  |  काठमाडौं, बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९, काठमाडौं

काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल समय समाचारका मुख्य शीर्षकहरू: 

  • देशका विभिन्न स्थानमा धान रोपाई र विभिन्न कार्यक्रम गर्दै मनाइयो राष्ट्रिय धान दिवस, अधिकांश नागरिक कृषिमा आश्रित भएपनि ४२ अर्बको धानचामल आयात। ४२ अर्बको धानचामल आयात
  • स्थानीय तहमा अनियमितता बढ्दै जानु चिन्ता विषय भएको राष्ट्रपति भण्डारीको भनाइ, आर्थिक सूचकमा उत्तारचढाव आएकाले अध्ययन आवश्यक भएको अर्थमन्त्रीको टिप्पणी। महालेखापरीक्षकको वार्षिकोत्सव
  • कार्यकर्ता तानातानका विषयमा माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता भुसालबीच जुहारी, एमालेमा माओवादीको बीउ रोपेको प्रचण्डको दाबीलाई भुसालले दिए नक्कलीको संज्ञा। दाहाल भुसाल दोहोरी
  • नागरिकतासम्बन्धी विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल भइरहेको गृहमन्त्रीको भनाइ, एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य थालेको जानकारी। पारित होला नागरिकता विधेयक?
  • युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोपमा थप ३६ कम्पनी अमेरिकाको कालोसूचीमा, अमेरिकी नीतिको पालना नगर्ने जुनसुकै कम्पनीलाई कालोसूचीमा राख्ने वासिंटनको चेतावनी। अमेरिकी चेतावनी

अब समाचार विस्तारमा 

मनाइयो धान दिवस

प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवसका अवसरमा आज खेतमा धान रोपाईका साथै दहीच्युरा खाएर मनाइएको छ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। आज देशका विभिन्न स्थानमा धान रोपाईंका कार्यक्रम गरी धान दिवस मनाइएको छ। 

मंगलबारसम्म देशभर करिब ८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागले जानकारी दिएको छ। असार मसान्तसम्म धान रोपाई हुने अधिकांश स्थानमा रोपाइँ सकिने विभागले भनाइ छ।  विभागका अनुसार देशभर १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ।

नेपालमा हरेक वर्ष धान दिवस मनाइएपनि वार्षिक रूपमा २७ अर्बको चामल र १५ अर्बको धान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौं रकम बाहिरिएको छ। विभागका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु २७ अर्ब १२ करोड एक लाख २३ हजार मूल्य बराबरको ४९ करोड ३० लाख ८१ हजार ८०३ केजी चामल आयात भएको छ। भारतबाट मात्रै रु २६ अर्ब ९३ करोड २९ लाख १० हजार मूल्य बराबरमा ४९ करोड ६ लाख ८६ हजार ९३५ केजी चामल आयात भएको छ। 

त्यस्तै मुलुकमा १५ अर्बभन्दा बढीको धान आयात भएको छ। विभागका अनुसार चालु आवको पहिलो ११ महिनामा १५ अर्ब ९२ करोड ११ लाख ७७ हजार मूल्य बराबरको ५४ करोड दुई हजार १८० केजी धान आयात भएको हो। धानको बीउ मात्रै रु ८७ करोड पाँच लाख ७२ हजार बराबरको कूल ५१ लाख १५ हजार ३० केजी आयात भएको छ। 

कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यवृद्धिका कारण मल ल्याउन नसकेको बताएका छन्। बुधवार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित ‘१९ औँ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७९’ कार्यक्रममा बोल्दै मन्त्री यादवले मलको ठेक्का लिएका ठेकेदारले मल ल्याउन नसकेका कारण ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताएका हुन्। 

मन्त्री यादवले धानको उत्पादन बढाउनका लागि यान्त्रिकरण, बजारीकरण, भण्डारण र किसानको लागत मूल्यको निर्धारण गर्नु आवश्यक रहेको बताए।

मन्त्रिपरिषद् निर्णय

सरकारले श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय गरेको छ। 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कार्यनिर्देशन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। 

सरकारले सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदामाथि लोकसेवा आयोगको परामर्श लिने, मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केभी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने र भेडेटार स्काइ वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय पनि गरेको छ।

भ्रष्टाचार गाउँगाउँ पुगेकोमा चिन्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी छन्। 

बुधवार महालेखापरीक्षकको कार्यालयको ६४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले स्थानीय तहहरुमा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताएकी हुन्। उनले स्थानीय तहका नेतृत्वले विगतका कमी, कमजोरीहरु नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताइन्। 

राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायहरुबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व संकलन, स्रोत र साधनको बाँडफाँड लगायतका सुधारका क्षेत्रहरु पहिचान गरी सरकारलाई महत्वपूर्ण सुझाव दिनुपर्ने बताइन्। 

राष्ट्रपति भण्डारीले संघ, प्रदेश र स्थानीय तहमा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारलाई नियन्त्रण गर्दै विकास र समृद्धिको वातावरण सिर्जना गर्न राज्यका सबै निकायको एकीकृत र समन्वयात्मक विकास हुनुपर्ने उल्लेख गरिन्। 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले लेखापरीक्षण गर्ने विधि र पद्धतिहरुमा भएका त्रुटीको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताए। सार्वजनिक खर्च तथा स्रोतको दुरुपयोग, राजश्वमा भएको  चुहावट, हिनामिना, औपचारिक क्षेत्रबाट अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव र सार्वजनिक तथा संगठित संस्था

सञ्चालनका विषयहरु महालेखापरीक्षकले थप ध्यान दिनुपर्ने उनको भनाइ छ। 

अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रको आकार फराकिलो हुँदै गएपनि आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव आइरहेको उल्लेख गरेका थिए। उनले अर्थतन्त्रमा पछिल्लो समय आर्थिक गतिविधिका परिसूचकहरुमा उत्तारचढाव भएको विषयमा गहन अध्ययन, विश्लेषण र मूल्याङ्कन जरुरी देखिएको उल्लेख गरे। 

ठाउँठाउँमा सडक अवरुद्ध

निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण १२ जिल्लामा सडक अवरुद्ध भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार सिन्धुली, दार्चुला, मोरङ, बागलुङ, प्युठान, धादिङ, दाङ, तनहुँ, पूर्वी नवलपरासी धनकुटा, उदयपुर र सोलुखुम्बुका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएका हुन्। 

अवरुद्ध सडकमा बीपी राजमार्ग, गोकुलेश्वर–दार्चुला सडक, लेटाङ कानेपोखरी सडक, प्युठान–भालुवाङ सडक पहिरोले अवरुद्ध छन्। पृथ्वी राजमार्गको धादिङ खण्ड, बुटवल-पाल्पा सडकखण्ड पनि अवरुद्ध छन्। पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको मध्यविन्दुमा सडक अवरुद्ध भएको छ। 

अवरुद्ध भएका ठाउँहरुमा वर्षा कम भएपछि तथा नदी, खोलाको बहाब कम भएपछि मात्रै खुलाउन सम्भव हुने बताइएको छ।

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका नदीमा पानीको सतह बढेकाले सचेत रहन गृह मन्त्रालयले आग्रह गरेको छ। बिहीबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने मौसम विभागको संकेत छ। 

नागरिकता विधेयक कहिले पास होला?

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको जानकारी दिएका छन्। 

बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री खाँणले नागरिकता सम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरुको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको बताएका हुन्। सो विधेयकको सम्बन्धमा निस्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताए। उनले आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने उल्लेख गरे। 

गृहमन्त्री खाँणले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताए। संसदीय समितिहरुलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको बताए। उनले संसदीय समितिहरुमा रिक्त रहेको सभापतिको चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई अवगत गराउने बताए। 

प्रचण्ड-भुसाल जुहारी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले नेता धनश्याम भुसालबीच कार्यकर्ता तानातानका विषयमा जुहारी चलेको छ। 

नेकपा हुँदा एमालेमा माओवादीको बीउ आफूले एमालेमा रोपेर आएकाले ती कार्यकर्ता माओवादीमा आउने दाबी गरेका प्रचण्डलाई भुसालले माओवादीले रोपेको बीउ नै नक्कली भएको जवाफ फर्काएका हुन्। 

बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको र केही समयपछि फुल्ने र फल्ने बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भए  एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने बताए। 

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदा समेत अहिले अत्तोपत्तो नभएको भन्दै नयाँलाई जिम्मेवारी दिन सोच्नुपर्ने उनको भनाइ छ। 

उता एमाले नेता घनश्याम भुसालले नेकपा हुँदा प्रचण्डले एमालेमा रोपेको बिउ नक्कली भएको र अहिले मक्किइसकेको भुसालले जवाफ फर्काएका हुन्। कम्युनिस्ट नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा नेता भुसालले कम्युनिस्ट आन्दोलनमा देखिएका कमजोरी हटाउन प्रयासरत हुँदै आएको बताए। 

नेता भुसालले कम्युनिस्ट पार्टीभित्रको बिउ हाइब्रिड नबनाएसम्म पार्टीहरूभित्र पहिरो गइरहने दाबी गरे। अब पनि एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट पार्टीभित्रका नेता, कार्यकता तान्ने खेल खेलिए वामपन्थीको हरिविजोग हुने दिन टाढा नभएको उनको भनाइ छ। 

६०/७० प्रतिशत कम्युनिस्ट फुटेर आफ्नै घरमा आगो लगाएको र त्यसमा आङ सेकेर एकअर्कालाई गालीगलौज गर्दै आएको उनले बताए।  

विमलाको राजीनामा

लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन्। माओवादीका लुम्बिनी प्रदेश प्रमुख सचेतक तुलाराम घर्ती मगरले पनि वलीले राजीनामा दिएको पुष्टि गरे। 

विवादमा पर्दै आएकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। जेठ ३१ दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई कुटेपछि उनी विवादमा तानिएकी थिइन्। 

कुटाइ प्रकरणपछि वली प्रहरी नियन्त्रणमा परेकी थिइन् भने पछि बिरामी भएको भन्दै उपचारका लागि बुटवल लगिएको थियो। बस्नेतको घर गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो। छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनले राजीनामा दिएकी हुन्। समितिले बुधबार प्रतिवेदन बुझाउँदै छ। 

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ 'ख' मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। 

एनबी गाभ्न नबिललाई अन्तिम स्वीकृति

नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई गाभ्न अन्तिम स्वीकृति पाएको छ। बुधबार राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नबिललाई एनबी बैंक गाभ्न अन्तिम स्वीकृति दिएको हो। 

कर्मचारीको तहगत मिलानमा समस्या देखिँदा केही समय नबिलले एनबीलाई गाभ्ने प्रक्रिया रोकिएको थियो। तर राष्ट्र बैंकले समस्या समाधानका लागि नबिलको सञ्चालक समितिलाई निर्देशन दिएपछि बुधबार एनबीलाई नबिलले गाभ्नेसम्बन्धी अन्तिम स्वीकृति दिएको हो। 

गभर्नर महाप्रसाद अधिकारीले दुवै बैंकका कर्मचारीको समस्या छलफल गरेर समाधान गरेर आउन अघिल्लो साता निर्देशन दिएर एउटा कार्यक्रममा भाग लिन विदेश गएका थिए।

एनबी बैंकको १०० सेयर बराबर नबिलको ४३ कित्ता सेयर हुने गरी सेयर स्वाप रेसियो मिलाइएको छ। त्यस्तै, यही सातादेखि नबिल बैंकको सीईओको जिम्मेवारी ज्ञानेन्द्र ढुंगानाले सम्हाल्नेछन्। नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड, निक्षेप २ खर्ब २१ अर्ब र कर्जा ३ खर्ब ७ अर्ब हुनेछ।

युद्धको मारमा व्यापार

युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानलगायत देशका थप ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ। 

जो वाइडेन प्रशासनले रूसको सैन्य र प्रतिरक्षा सामर्थ्य बढाउन सहयोग गरेको आरोपमा चीनका पाँच कम्पनीलाई कालोसूचीमा राखेको हो। यसअघि उसले २५ वटा चिनियाँ कम्पनीलाई कालोसूचीमा समावेश गरेको थियो। 

वासिङटनले रूस, संयुक्त अरब इमिरेट्स, लिथवानिया, पाकिस्तान, सिङ्गापुर, संयुक्त अधिराज्य, उज्वेकिस्तान र भियतनामका कम्पनीलाई कालोसूचीमा राखेको अलजजिराले जनाएको छ। रूसले युक्रेनमाथि आक्रमण गर्नुअघि ती देशका कम्पनीले रूसलाई सामग्री आपूर्ति गरेका थिए। 

कारबाहीले रूसलाई सहयोग गर्न खोज्ने विश्वभरका कम्पनी तथा व्यक्तिमाथि शक्तिशाली सन्देश दिएको र रूसलाई सघाउनेहरूको नियति पनि त्यस्तै हुने चेतावनी वासिङटनको छ। अमेरिकी नीति र कानूनको पालना नगर्ने संसारका जुनसुकै देशका कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी पनि वासिङटनले दिएको छ।


प्रकाशित: June 29, 2022 | 21:55:56 काठमाडौं, बुधबार, असार १५, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
भिडियो समाचार

गठबन्धनमा सिट बाँडफाँटका ३ आधार, एमालेलाई लाग्यो चुनाव [२०७९-४-२६]

सत्ता गठबन्धनले ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशीलताका आधारमा सिट बाँडफाँड गर्ने भएको छ।
नेपाल समय
भिडियो समाचार

अर्थमै फर्किए जनार्दन, सरकारविरुद्ध सुतेर प्रदर्शन [२०७९-४-१५]

सर्वोच्च अदालतले एकै व्यक्तिलाई पटकपटक आरक्षित गर्नुभन्दा एक व्यक्तिलाई एक पटक मात्र आरक्षण सुविधा प्रदान गर्ने व्यवस्था गर्न आदेश दिएको छ।
नेपाल समय
भिडियो समाचार

कल सेन्टरमा छापाका शृंखला, श्रीमतीको हत्यापछि आत्महत्या [२०७९-४-९]

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने भने चुनाव जित्न नसकिने टिप्पणी गरेका छन्।
नेपाल समय
भिडियो समाचार

बुबाआमा नपाले सम्पत्ति जफत, अबको विदेशयात्रा २ सय डलरमा सीमित [२०७९-४-४]

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले छोराछोरीले अपहेलना गरेका ज्येष्ठ नागरिकको पालनपोषण गर्ने जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताएकी छन्।
नेपाल समय
भिडियो समाचार

मोदीसँग नभेटी फर्किए प्रचण्ड, गायिका सुनारको हत्या कि आत्महत्या? [२०७९-४-१]

भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्किएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना