बिहीबार, जेठ १२, २०७९

रेणुपछि सिर्जनालाई भोट माग्न काठमाडौंमा सभा, आईपीओमा कोटा पाउँदै विदेशका श्रमिक [२०७९-१-२३]

नेपाल समय  |  काठमाडौं, शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९, काठमाडौं

काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहितको नेपाल समय समाचारका मुख्य शीर्षकहरू

  • 'बीपी कोइरालालाई फाँसी दिनुपर्छ' भन्नेहरू गठबन्धनको विरोधमा उत्रिएको देउवाको आरोप, महिला उम्मेदवारमाथि छोरी र श्रीमती भनेर कुप्रचार भएको प्रचण्डको गुनासो। 
  • सर्वोच्च अदालतले बदर गर्‍यो थुनामुक्त हुन पाउनु पाउनुपर्ने पूर्वमन्त्री आलमको माग, मुद्दाको अन्तिम फैसला नहुन्जेल थुनामै राख्ने जिल्ला र उच्चको आदेश सदर । 
  • बजार पुँजीकरण ४२ खर्बबाट ३३ खर्बमा झर्नु राम्रो नभएको डेपुटी गभर्नर मिश्रको टिप्पणी, २ महिनाभित्र विदेशका नेपाली श्रमिकलाई आईपीओमा कोटा दिने प्रतिबद्धता । 
  • कोरोना महामारीका कारण भारतमा ४७ लाखले ज्यान गुमाएको डब्लुएचओको तथ्यांक, इजिप्ट, पाकिस्तान, इन्डोनेसिया, बंगलादेशलगायतमा ज्यान गुमाउनेको संख्या उच्च ।
  • र, चीनको हाङझाओमा आयोजना गर्ने भनिएको १९औं एसियाली खेलकुद स्थगित, पहिलो एकदिवसीय खेलमा जिम्वाबे 'ए'सँग नेपाल तीन विकेटले पराजित ।

अब समाचार विस्तारमा

सबै जिल्ला पुगे मतपत्र
स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै आज सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जानकारी दिएको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ। आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृतलगायत कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ। 

कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने आयोगको चेतावनी छ। 

सिर्जनालाई भोट माग्न सभा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा उत्रिएको आरोप लगाएका छन्। काठमाडौंको शान्तिवाटिकामा शुक्रबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन्। 

कांग्रेसको महाधिवेशन र केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरेपनि केही सीमित मान्छेहरू गठबन्धनका विरुद्धमा लागेकोमा देउवाको आक्रोश थियो। उनले काठमाडौंमा महिला उम्मेदवारले मेयरमा हार्न नहुनेसमेत बताए। देशकै राजधानीमा महिलालाई हराउँदा राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना भएकाले महिलालाई हराउन नहने उनको भनाइ छ। 

प्रकाशमानको पत्नी हुनु सिर्जनाको पाप नभएको भन्दै देउवाले आमाबुवाले कसैसँग बिहे गर्दिनु गलत नभएको बताएका थिए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उम्मेदवारहरूमाथि नकारात्मक प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारप्रति आपत्ति जनाए। 

महिलाहरु कार्यकारी भूमिकामा रहेका ठाउँमा राम्रो काम भएको उनको टिप्पणी छ। पुरुषहरूले देशमा धेरै राज गरेपनि सारै ठूलो लछारपाटो लगाउन नसकेको उनको भनाइ थियो। यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक्लै गरेर नहुने भएकाले गठबन्धन गर्नुपरेको बताएका थिए। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले गठबन्धनभन्दा प्रतिगमन बलियो भएको टिप्पणी गरेका थिए।

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहले काठमाडौंमा गठबन्धनको जित निश्चित भएको दाबी गरेकी छन्। सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको र जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

आफूले महानगरलाई महान् घरजस्तो बनाउने र सबैलाई सम्मान गर्ने उनको भनाइ छ। महानगरबासी सबैलाई अपनत्व दिने गरी काठमाडौं बनाउने उनको दाबी छ। 

पूर्वमन्त्री जेलमै
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले जिल्ला तथा उच्च अदालतकै आदेश सदर गरेको छ। 

मुद्दाको अन्तिम फैसला नहुन्जेल आलमलाई थुनामै राख्ने जिल्ला अदालत र उच्चको आदेशलाई सर्वोच्चले सदर गरेको हो। न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइपछि सर्वोच्चले आदेश गरेको हो। 

योसँगै आलमको माग बदर भएको छ भने उनी थुनामुक्त नहुने भएका छन्। नेता आलममाथि २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको केही व्यक्तिको ज्यान लिएको आरोप लागेको छ। 

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालत गएका थिए। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए। 

आलम नक्खु कारागारमा छन्। उनीमाथि तीन वटा मुद्दा लगाइएको छ। उनीविरुद्ध ३२ वर्ष कैदको माग गरिएको छ।

आईपीओमा विदेशका नेपाली श्रमिकलाई कोटा
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजीबजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजीबजार सम्मेलनमा बोल्दै मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐन बन्न सक्नु पर्ने बताएका हुन्। उनले शेयर बजार पछिल्लो समय उचारचढाव आएकाले बजारमा सबै क्षेत्रको अपरिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए। 

बजारमा टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने धारणा राखेका मिश्रले पछिल्लो समय ४२ खर्बको पुँजीकरणबाट ३३ खर्बको पुँजीकरणमा झर्नु राम्रो नभएको गुनासो गरे। 

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताए। कार्कीले नेपाली पूँजीबजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधार र प्रविधि मैत्री बनाउने जानकारी दिए ।  उनले साना तथा मझौला कम्पनीहरुलाई नेप्सेले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्ने बताए। 

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्न लागिएको बताए। उनले श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रीपरिषद्बाट पास हुने वितिकै लागू गरिने जानकारी दिएका हुन्।  

अध्यक्ष हमालले एनआरएनलाई पनि ३ महिना भित्रमा नेपाली शेयर बजारको सेकेण्डरी मार्केटमा लगानी गर्न दिने व्यवस्था गर्ने बताए। उनले नेपाल सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय अनुसार शेयर मार्केट शुक्रबार पनि खोल्ने निर्णय गरिएको जानकारी समेत दिएका हुन्। 

वर्षाको मात्रा बढ्दै
जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ।

शुक्रवार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको हो। विभागको आँकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। 

गत वर्षमा मनसुन अवधिभर ६ वटा स्टेशनहरुमा वर्षाको रेकर्ड तोडिएको जानकारी दिए। उनका अनुसार चरिकोट, खैरहनीटार, बाजुरा, दमौली, खाटमार्फा र जोमसोम स्टेशनहरुमा पहिलाको रेकर्डहरुलाई ब्रेक गरेर धेरै वर्षा मनुसुन अवधिमा भएको हो। उक्त मनसुन वर्षाले ७९ जनाको निधन भएको थियो, जसमा बाढीको कारण ४३, चट्याङको कारण २७ जना र भारी वर्षाको कारणले १६ जनाको मानवीय क्षति भएको थियो।

त्यस्तै जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक डा.अर्चना श्रेष्ठले यो वर्ष पनि सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको बेलैमा सचेत रहन आग्रह गरिन्। 

वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले नेपालमा मौसम पूर्वानुमान गर्ने छुट्टै अनुसन्धान केन्द्र नहुँदा समस्या भइरहेको गुनासो गरेकी थिइन्। उनले विभागमा अनुसन्धानका लागि स्किल ह्यूमेन रिसर्चहरुको आवश्यक रहेको उल्लेख गरिन्।

आगामी मनसुन सिजनमा प्रदेश १ को उत्तरी भूभाग, मधेस प्रदेशको अधिकांश भूभाग र वागमती प्रदेका दक्षिणी भूभागहरुमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको र बाँकी भूभागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ। 

ओलीको भोट माग्ने नैतिक आधार छैन : गगन थापा
सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको दाबी गरेका छन्।  

प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरुले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने समेत बताएका हुन्। महामन्त्री थापाले २०७४ साल यताको ५ वर्ष कम्युनिष्टले सरकार चलाएको र यो समय खेर फालेको आरोप लगाए। 

महामन्त्री थापाले अबको ५ वर्ष नेपाली काँग्रेसलाई सबै तहको सरकारको जिम्मा दिनुपर्ने बेला भएको बताए। उनले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली काँग्रेससँग रहेको पनि दाबी गरेका थिए। 

भारतको रेकर्डभन्दा १० गुणा बढी संक्रमितको मृत्यु
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या करिब ४७ लाख रहेको जनाएको छ। 

यो भारतको सरकारी तथ्यांकभन्दा करिब १० गुणा बढी हो। कोरोना भाइरसको महामारीका कारण देशभर ४ लाख ८१ हजार जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

धेरै देशले कोरोनाका कारण ज्यान गुमाउनेहरूको संख्या निकै कम गणना गरेका संगठनको भनाइ छ । संगठनका अनुसार कोरोनाका कारण विश्वभर करिब १ करोड ५० लाख मानिसको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ । हालसम्मको तथ्यांकमा विश्वभर कोरोनाबाट मृत्यु हुनेहरूको संख्या ५४ लाख मात्रै रहेको उल्लेख छ ।

संगठनको पछिल्लो विवरणअनुसार कोरोना महामारीबाट विश्वभर ज्यान गुमाउनेमध्ये एक तिहाइ संख्या भारतमा रहेको देखिएको छ। भारत सरकारले भने संगठनको प्रतिवेनमा गरिएको आकलनमाथि प्रश्न उठाएको छ।

मृतकहरूको गणना विधि विश्वसनीय नरहेको भारतीय अधिकारीको दाबी छ। तर अन्य अध्ययनमा पनि भारतमा कोरोनाबाट मृत्यु हुनेहरूको संख्या सरकारी तथ्यांकभन्दा बढी रहेको देखिएको छ। संगठनले महामारी सुरु भएपछि ज्यान गुमाउनेको संख्या महामारीअघिको सोही अवधिमा रहेको अन्तरका आधारमा पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो।

सरकारी विवरणको तुलनामा भारतबाहेक इजिप्ट, पाकिस्तान, इन्डोनेसिया, बंगलादेश, बोलिभिया, सर्बिया, कजखस्तान, फिलिपिन्स, रुसलगायत देशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या उच्च छ। संगठनका अनुसार इजिप्टमा ११ गुणा, पाकिस्तानमा ८, इन्डोनेसियामा ७, बंगलादेशमा ५ गुणा बढीले ज्यान गुमाएका देखिएको छ। त्यस्तै, बोलिभिया, सर्बिया, कजखस्तान, फिलिपिन्स, रुसमा ज्यान गुमाउनेको संख्या ३.५ देखि ४.५ गुणा बढी छ।

एसियाली खेलकुद स्थगित
चीनको हाङझाओमा यसै वर्ष आयोजना गर्ने तयारी भएको १९औं एसियाली खेलकुद स्थगित भएको छ। 

चीनमा कोभिड–१९ को महामारी तीव्र रुपमा बढिरहेका कारण एसियन गेम्स स्थगित भएको हो। चीनको ओलिम्पक कमिटी सिओसी र आयोजक हाङझाव एसियाली खेलकुद कमिटी एचएजिओसीले छलफल गरेर एसियाली खेलकुद अर्को वर्ष गर्ने निर्णय गरेका हुन्। 

‘एशियन ओलम्पिक काउन्सिलले १९ औं एसियाली खेल सेप्टेम्बर १० देखि २५, २०२२ सम्म चीनको हाङ्झावमा हुने तय गरेको थियो। तर उक्त प्रतियोगिता स्थगित गरिएको छ,’ प्रतियोगिता आयोजकको आधिकारिक वेबसाइटमा राखिएको विज्ञप्तिमा लेखिएको छ, ‘एसियाली खेलकुद प्रतियोगिताका लागि नयाँ मिति पछि घोषणा गरिनेछ।’ 

एसियाली खेलकुदका लागि नेपालमा पनि तयारी तीव्र भइरहेको छ। एसियाली खेलकुदकै लागि आज तेक्वान्दो र पौडीको छनोट भइरहेको छ। 

कराँते, कबड्डी, बक्सिङ, बास्केटबल लगायत धेरै खेलको त छनोट सम्पन्न भइसकेको छ। एसियाली खेकुदको नयाँ मिति भने घोषणा गरिएको छैन। 

नेपाल पराजित
नेपाल र जिम्बावे ए बीचको पहिलो एक दिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले जिम्बावे एसँग तीन विकेटको हार बेहोरेको हो। तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा टस हारेर सुरुआति ब्याटिङ गरेको नेपालले १३६ रन मात्र बनाएको थियो। नेपालले ३१ ओभर तीन बलमै सम्पूर्ण विकेट गुमाएर सो रन बनाएको हो। 

जवाफमा जिम्बावेले सात विकेट गुमाएर २६ ओभरमै १३७ रनको लक्ष्य पूरा गरेको हो। जिम्बावेविरुद्ध नेपाली कप्तान सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिएका थिए। त्यस्तै, सोमपाल कामी र सागर ढकालले पनि समान १–१ विकेट गिराए। 

त्यसक्रममा जिम्बावेका इनोसेन्ट कियाले ४८ रन बनाउँदा सेफस जुवाओले ३२ रनको योगदान दिए। रोय कियाले पनि १४ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन नै गरेनन्।


प्रकाशित: May 6, 2022 | 20:17:00 काठमाडौं, शुक्रबार, वैशाख २३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
भिडियो समाचार

तलबभत्ता र सामाजिक सुरक्षालाई बजेटमा प्राथमिकता, दुई स्थानमा सुरु भएन मतगणना [२०७९-२-८]

उता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले आगामी बजेटमा सामाजिक सुरक्षालाई विशेष जोड दिइने बताएका छन्।
नेपाल समय
भिडियो समाचार

मौन अवधि तोड्न दलहरूको प्रतिस्पर्धा, मतदानको तयारी पूरा [२०७९-१-२९]

मौन अवधि तोड्न दलका नेता, उम्मेदवार, समर्थक र कलाकार अग्रपंक्तिमा, दलका कार्यकर्ताहरूबीच ठाउँठाउँमा झडप हुँदा उम्मेदवारसहित कैयौँ घाइते।
नेपाल समय
भिडियो समाचार

जेठ ७ गते नीति तथा कार्यक्रम आउँदै, हत्या आरोपमा माओवादी उम्मेदवार पक्राउ [२०७९-१-२८]

प्रवक्ता केसीले आसन्न निर्वाचनलाई भयरहीत, स्वतन्त्र र निष्पक्ष गराउन विभिन्न प्रविधिको प्रयोग गरेका र निर्वाचन आयोगसँग सहकार्य गरेर सिसिक्यामेरा समेतको माध्यमबाट निगरानी गर्ने काम गरिरहेको बताए।
नेपाल समय
भिडियो समाचार

भोलिदेखि मदिराको बिक्रीवितरण प्रतिबन्ध, जिम्बावेविरुद्धको सिरिजमा नेपालको जित [२०७९-१-२६]

आर्थिक संकटसँगै हिंसा बढ्दै गएपछि श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा, विदेशी मुद्राको अभावबाट उत्पन्न सङ्कट समाधान गर्न माग गर्दै प्रदर्शन जारी
नेपाल समय
भिडियो समाचार

मतदान गर्ने दिन पानी पर्ने प्रक्षेपण, एन्फा विवाद छानबिन गर्न कमिटी गठन [२०७९-१-२५]

निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले नै व्यहोर्ने जनाएको छ। त्यस्तै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय समेत भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना