चुनावी तालमेल गर्ने शीर्ष नेताहरूको धारणा
सत्तारुढ दलका शीर्ष नेताहरूले वर्तमान सत्ता गठबन्धनलाई कायम राख्नुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनलाई जोगाएर राख्नुपर्ने बताएका हुन्।
नेपाली काङ्ग्रेस तनहुँले पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरेका छन्। स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्ने उनको भनाइ छ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन्। माडी नगरपालिका-९ राईडाँडामा कुसुमखोला नमूना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँगै अघि बढ्ने भन्दै उनले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताए।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र ‘विन–विन’को सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन्। धनुषाको जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी तालमेलबारे छलफल भइरहेको समेत बताए।
अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकारले नै तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्दै सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताए। आफ्नो पार्टीप्रति जनताको दिनदिनै आकर्षण बढ्दै गएकाले आगामी स्थानीय तहको निर्वाचनमा धेरै स्थानमा जित्ने दाबी गर्दै उनले नेता-कार्यकर्तामा देखिएको उत्साहले पार्टीको भविष्य उज्जवल रहेको उल्लेख गरेका थिए।
ऊर्जा संकटमा देश
नेपाल विद्युत प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल कुनै पनि क्षेत्रमा लोडसेडिङ नहुने बताएका छन्। बिहीबार नेपाल विद्युत प्राधिरकणमा पत्रकार सम्मेलन गर्दै निर्देशक घिसिङले भारतबाट आयात हुने विद्युतमा समस्या भएकाले मंगलबारदेखि विद्युत कटौती गरिएको तर लोडसेडिङ नै हुन अवस्था नभएको बताएका हुन्।
प्राधिकरणले आज बेलुका १२ बजेदेखि महँगो मूल्यमा आयात गरेर औद्योगिक क्षेत्रमा बिजुली दिने तयारी गरेको बताए। प्राधिकरणले प्रति युनिट नेपाली ३८ रुपैयाँ महँगो दरमा भारतबाट बिजुली किनेर औद्योगिक क्षेत्रमा आपूर्ति गर्न लागेको घिसिङको भनाइ छ।
त्यस्तै, निर्देशक घिसिङले रुस र युक्रेन बीचको तनावको कारण विश्वभर विद्युत आयातमा समस्या बढ्दै गएको उनले बताए। नेपालमा ८ महिना विद्युत आयात गर्नु नपर्ने अवस्था रहेको बताए। तर, ४ देखि ५ महिनाको लागि करिव ४०० मेगावाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताए।
नेपालमा साँझको समयमा बिजुलीको माग १६०० मेगावाट पुग्ने गरेको प्राधिकरणले बताएको छ। भारतमा बिजुली महँगो हुने भएपछि माथिल्लो तामाकोसी, कालीगण्डकी, मध्यमर्स्याङ्दी र मर्स्याङ्दी आयोजनाको पानी जम्मा गरी साँझ पूर्णक्षमतामा चलाउँदै आएको प्राधिकरणले बताएको छ। यी आयोजनाबाट दिउँसो कम बिजली उत्पादन हुने गरेको छ। अहिले प्राधिकरणका आफ्ना आयोजनाबाट ५२२, सहायक कम्पनीका आयोजनाबाट ३११, निजी उत्पादनकबाट ३१० मेगावाट आपूर्ति भइरहेको बताएको छ।
निर्वाचन शान्तिपूर्ण बनाउन निर्देशन
गृहमन्त्री बालकृष्ण खाँडले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण, निष्पक्ष, भयरहित वातावरण सिर्जना गर्न निर्देशन दिएका छन्।
बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँडले सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए। उनले बैठकमा चिनियाँ विदेशमन्त्रीको सुरक्षा तयारीका बारेमा पनि छलफल भएको बताए। चिनियाँ विदेशमन्त्री वाङ यी भोलि (शुक्रवार) तीन दिने नेपाल भ्रमणमा आउँदै छन्। बैठकमा समसामयिक सुरक्षा स्थिति र निर्वाचनको तयारीका बारेमा पनि छलफल भएको उनले जानकारी दिए।
प्रवक्ता पोखरेलले आगामी स्थानीय तहको निर्वाचनमा अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल भएको जानकारी दिए।
यस्तै निर्वाचन आयोगले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ।
बिहीवार भएको नियमित पत्रकार सम्मेलनमा आयोगले यसबारेमा जानकारी दिएको हो। यो कार्यक्रम देशका विभिन्न १५ स्थानमा केन्द्रमा एक र १४ वटा जिल्लाहरुमा सञ्चालन हुने र सातै प्रदेशका सदरमुकाममा कार्यक्रम सञ्चालन गरिने आयोगले बताएको छ। पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सुर्यप्रसाद अर्यालले अहिले आयोगले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका दलहरुमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलहरुले आयोगमा पठाएका विवरणहरुको रुजु गर्ने काम गरिरहेको बताए।
सहप्रवक्ता अर्यालले निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत आवश्यक हुने मतदाता शिक्षा सामग्री तयारीका लागि विभिन्न ४ वटा समूहमा संघसंस्था सूचिकृतका लागि सूचना गरिएकोमा अडियो तथा भिडियो सामग्री उत्पादनमा ६१ वटा, भिडियो तथा टेलिभिजन प्रशारणमा १५ वटा, सूचना एवं सन्देश प्रकाशनमा १९ वटा, सामाजिक सञ्जाल प्रवर्द्धनमा ४५ वटा संघसंस्थाहरुको आवेदन दर्ता भएको पनि जानकारी दिए।
संघीयताको अनुभुति गर्न नसकेको प्रदेश सरकारको गुनासो
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले संघीयताको अनुभुति गर्न नसकेको बताएका छन्।
बिहीवार बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले काठमाडौंमा आयोजना गरेको ‘एफ.एम., रेडियो र टेलिभिजन सञ्चालनमा कानूनी सहजीकरणका उपाय’ का विषयमा सञ्चार सरोकारवालासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताएका हुन्। प्रदेश सरकारले बनाएका ऐन, कानूनहरुलाई कार्यान्वयन पनि गर्न नसकेको बताए। मन्त्री खनालले संघले प्रदेशलाई अधिकार दिन नखोजेर सामन्ती चरित्र देखाएको बताए।
मन्त्री खनालले प्रदेश सरकारकै मातहतको सचिव मन्त्रालयमा नहुँदासम्म संघीयता साँचो अर्थमा कार्यान्वयन हुन नसक्ने बताए। संघ मातहतका कर्मचारीले प्रदेशको समस्या बुझ्न नसकेका कारण प्रदेश सरकारको निर्णय कार्यान्वयन नभएको उनले बताए।
उनले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनलाई सरोकारवालाको भावना विपरित हुनेगरी संशोधन नगरिने पनि स्पष्ट पार्नुभयो । मन्त्री खनालले सञ्चार रजिष्ट्रारको कार्यालयलाई बलियो बनाइने पनि बताए।
चोभारमा सुख्खा बन्दरगाह
काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालनमा आउने भएको छ। असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो। इन्टरमोडेल यातायात विकास समितिका अध्यक्ष आशिष गजुरेलले सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन हुने बताए। समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उनको भनाइ छ।
बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारहरुको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका अध्यक्ष आशिष गजुरेलले जानकारी दिए। सबै पूर्वाधारहरुको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहज रुपमा सञ्चालन हुने उनले बताए।
हाल वीरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको अध्यक्ष गजुरेलले जानकारी दिए। सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रुपमा अगाडी बढाउन काम गरिरहेको उनले बताए।
सपुतको प्रष्टीकरण
गायक प्रकाश सपुतले कसैको दबाबमा पछिल्लो गीत पीरका केही दृश्य नहटाएको स्पष्टीकरण दिएका छन्।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गायक प्रकाश सपुतले पीर गीतमा रहेको देहव्यापार सम्बन्धी दृश्य कसैको दबाबमा नभई समाजको भावनालाई लिएर हटाएको बताएका हुन्। उनले उक्त सीनले समाजमा र त्यस्तै पेशामा आधारित मानिसलाई झनै पीर परेको भन्दै गीतबाट केही दृश्य हटाउनु परेको बताए।
त्यस्तै अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेजहरु आएको बताइन्। उनले गीतबाट उक्त दृश्य हटाउने कुरा गायक सपुतको नितान्त व्यक्तिगत कुरा रहेको बताए।
गायक सपुतको पछिल्लो गीत ‘पीर’ मा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरुको दुःख देखाइएको छ। नेकपा (माओवादी केन्द्र) निकटका भातृसंगठनहरुले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गर्नु आपत्ति जनाएका थिए।
युक्रेनी राष्ट्रपतिको आग्रह
रुसले युक्रेनमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरका मानिसलाई सडकमा उत्रिएर आफ्नो देशप्रति समर्थन जनाउन अपिल गरेका छन्।
यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार सम्बोधन गर्दै संसारभरिका मानिसलाई सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन आग्रह गरेका हुन्। युक्रेनले निरन्तर रुसी बमबारी झेलिरहेको छ।
रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको बताउँदै उनले सबै त्यसको विपक्षमा उभिनुपर्ने बताए। उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्।
'तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्,' उनले भने।