काठमाडौं- सम्भवतः सैनिक जवान लवकुमार गुरुङ र सरोज तामाङको परिवारका लागि बिहीबार जीवनकै सबैभन्दा ठूलो खुसीको दिन थियो। झुटो मुद्दामा साढे २ वर्ष जेल जीवन बिताएका गुरुङ र तामाङ जेलमुक्त हुने पक्का भएको थियो।
सैनिक विशेष अदालतले एसएमजी चोरी प्रकरणमा उनीहरुलाई निर्दोष ठहर गर्दै थुनामुक्त गर्न आदेश दिएपछि उनीहरू रिहा भएका छन्। सैनिकद्वय गुरुङ र तामाङले सफाइ पाएसँगै उनीहरुका परिवार शुक्रबार जंगी अड्डा अगाडि खुसी साटिरहेका थिए। कहिले खुसीको आँस झार्दै थिए, कहिले आफ्नो छोरा र श्रीमान्ले पाएको यातना सम्झेर भक्कानिँदै थिए।
छोरा जेलमुक्त लागेकोमा खुसीको आँसु बगाएकी सरोज तामाङकी आमा छोराले पाएको पाएर यातना सम्झेर झनै भक्कानिइन्। 'मेरो छोरोलाई झूटो अभियोग स्वीकार्नका लागि यतिसम्मको यातना दिए कि उसले के खाइरहेको छु भन्नेसम्म थाहा पाउन छाडेको थियो। यति कुटे कि हप्तौंसम्म बेहोस बनाए,' उनले आँसु खसाल्दै छोराले पाएको यातना सुनाइन्।
लबकुमार गुरुङकी श्रीमती प्रमिला तामाङलाई पनि खुसीको कुनै सीमा थिएन। २८ महिनापछि न्याय पाएका श्रीमानलाई भेट्न जान उनी निकै आतुर देखिन्थिन्।
उनको मुहारमा खुसीको जुन चमक देखिन्थ्यो, विगत सम्झिँदा उति नै धेरै पीडाका धर्सा देखिन्थे। उनले भक्कानिँदै भनिन्, 'मलाई विगत नसम्झाउनुस्। म केही बोल्नै सक्दिन।'
एसएमजी हतियार चोरी गरेको आरोपमा साढे २ वर्ष जेल सजाय भोगेका लवकुमार गुरुङ र सरोज तामाङलाई सैनिक अदालतले निर्दोष ठहर गरेसँगै उनीहरूलाई लिन दुवैको परिवार चितवन पुगेका छन्। तर, उनीहरूको एउटा गुनासो छ– न्याय त पाइयो तर पूर्ण रूपमा पाइएन्। अनाहकमा चार महिना यातना र २८ महिना जेलमा राखेर उल्टै ३ वर्ष बढुवा रोक्का गर्ने निर्णयले हामीलाई मर्माहत बनाएको छ। क्षतिपूर्ति त परको कुरा उल्टै बढुवा रोक्का गर्दा पूर्ण न्यायको अनुभव गर्न पाइएको छैन।
भिडियोमा हेर्नुहोस्
(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)
यो पनि: अढाई वर्षदेखि जेलमा रहेका दुई निर्दोष सैनिक रिहा, कारागारबाट गण लगियो