काठमाडौं- कोरोना भाइरसको संक्रमणका कारण मानिसको जीवनशैली मात्र परिवर्तन भएको छैन, यसले हाम्रा चाडपर्व मनाउने तरिका पनि परिवर्तन गरिदिएको छ। राजधानीको नागपोखरीमा विगतका वर्षहरूमा नागपञ्चमीका दिन मेला नै लाग्ने गरेको थियो।
तर यसवर्ष भने बाहिरबाटै भक्तजनहरूलाई पूजाआजा गर्न मात्र दिइएको तर मेलाको आयोजना भने नगरिएको स्थानीय अगुवा तथा नक्साल बक्सिङ क्लवका अध्यक्ष नवीन तण्डुकारले बताए।
मानिस र प्रकृतिकाबीच निकट सम्बन्ध रहेकाले मानिसहरूमा नागभय नहोस् र शान्तिसुरक्षाका लागि नागपूजा गर्ने परम्परा रहेकाले आफूहरूले पनि यही रूपमा नागपूजालाई निरन्तरता दिइएको बताए।
यसपाली भक्तजनहरूले नागपोखरी भित्र प्रवेश गर्न पाएनन्। कोभिडका बेला भिड गर्न नहुने भएकाले बाहिरबाटै पूजा गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। भक्तजनहरूले पनि कोभिडको बाध्यता बुझेकाले सहज भएको उनले उल्लेख गरे। भक्तहरूले बाहिरबाटै नागको पूजा गरेपनि आफूहरूले भित्र गएर मूल नागको प्रतिमामा नै पूजा गरेको उनले उल्लेख गरे।
श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीका दिन घरका मूलढोकामा नाग टाँसेर मनाइएको छ। नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ।
नाग रिसाए पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्ने परम्परा बसेको बताइन्छ। प्रत्येक घरको जगमुनि नागको बास हुने र नाग रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता चल्दै आएको छ। घरमा गरिने वास्तुपूजा पनि नागकै स्वरूप हो। त्यसैकारण घरमा नागपूजा गर्ने गरिएको छ।