बिहीबार, असोज २०, २०७९

मिथिलाको वैभव जनकपुरधामलाई मधेसले कस्तो बनाउला?

जयन्त ठाकुर  |  काठमाडौं, बुधबार, माघ ५, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, माघ ५, २०७८, काठमाडौं

नेपाल समय

जनकपुरधाम– प्राचीनकालमा मिथिलाको राजधानीका रुपमा रहेको जनकपुरधाम हजारौं वर्षपछि फेरि राजधानी भएको छ। मधेस प्रदेशको प्रदेशसभाबाट दुई तिहाइ बहुमतका साथ मधेस प्रदेश स्थायी राजधानी जनकपुरधाम बनेको छ। 

पुराणअनुसार त्रेता युगमा मिथिला राज्य पूर्वमा महानन्दा नदी, दक्षिणमा गङ्गा नदी, पश्चिममा गण्डकी नदी र उत्तरमा हिमालयको तल्लो भागद्वारा घेरिएको थियो। अर्थात् यो भारतको बिहार र नेपालको दक्षिणपूर्वी भागमा अवस्थित एउटा भौगोलिक र सांस्कृतिक क्षेत्रका रूपमा प्राचीन कालदेखि चिनिँदै आएको छ। जनकपुरधाम भन्ने बित्तिकै राजा जनक, उनको देश मिथिला र सीताको नाम आइहाल्छ। त्यसैले जनकपुरधाम आफैंमा श्रद्धेय भूमि हो। मिथिलाकालीन जनकपुर निकै वैभवशाली रहेको पौराणिक ग्रन्थमा उल्लेख छ।

मिथिला जहाँ जनकले शासन गर्थे। उनले शासन गर्ने मिथिलाको राजधानी जनकपुरधाम थियो। जनकवंशको अन्त्य भएपछि मिथिलाको अस्तित्व ओझेलमा परेको विश्वास गरिन्छ। राजनीतिक रुपमा मिथिला कमजोर हुँदै गइरहेको थियो तर जनकपुरधामको भूमिका भने ओझेलमा परेको थिएन। 

मिथिला कमजोर हुँदै गए पनि जनकपुरधामले कुनै पनि राजनीतिक निर्णयमा आफ्नो भूमिका, राजनीतिक आन्दोलनमा भूमिका, ऐतिहासिक महत्त्व भने गुमाएको थिएन। जनकपुरधामले पटक पटक आफ्नो ऐतिहासिकता र विभिन्न राजनीतिक आन्दोलनमा आफ्नो भूमिका दर्शाउँदै आएको छ। 

जनकपुरधामको राजनीतिक इतिहास

जनकपुरधामले नेपालको विभिन्न परिवर्तनको आन्दोलनमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। नेपालमा अहिले संघीय शासन प्रणाली छ। विभिन्न आन्दोलनको बलमा नेपालमा संघीय व्यवस्थाका साथै गणतान्त्रिक व्यवस्था लागू भएको छ । यसमा जनकपुरधामले अग्रणी भूमिका निर्वाह गरेको छ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. विजयकुमार सिंह मधेस प्रदेशले राजधानीका रुपमा समृद्ध इतिहास बोकेको जनकपुरधाम पाउनु गौरवको विषय भएको बताउँछन्। ज्ञान विज्ञानको दृष्टिले त्रेता युग र द्वापर युगमै समृद्ध जनकपुरधाम राजनीतिक भूमिकाको दृष्टिले पनि पहिलेदेखि नै समृद्ध रहँदै आएको छ।

 ‘जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा सहिद दुर्गानन्द झाले तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेर गणतन्त्रको आन्दोलनमा बल पुर्‍याएका थिए।’

मिथिला भूमिमा बौद्ध तथा जैन धर्मको प्रभाव बढेको समयमा जनकपुरधाको राजनीतिक प्रभाव कम हुँदै गयो। आदि गुरु शंकराचार्यको मिथिला भ्रमण र शंकराचार्यसँगको मण्डन मिश्रको शास्त्रार्थले फेरि जनकपुरधामलाई प्रकाशमा ल्याएको नेता सिंह बताउँछन्।

मैथिलीका साहित्यकार परमेश्वर कापडी नेपालमा भएको प्रत्येक परिवर्तनको आन्दोलनको अगुवाइ जनकपुरधामले गरेको दाबी गर्छन्। संसारमै पहिलो पटक संघीयताको अभ्यास गर्ने यही भूमि रहेको दाबी गर्दै कापडीले नेपालको आधुनिक इतिहासमा समेत जनकपुरधामको राजनीतिक महत्त्व विशिष्ट रहेको बताए।

उनले भने, ‘जनकपुरधामस्थित जानकी मन्दिरको प्रांगणमा सहिद दुर्गानन्द झाले तत्कालीन राजा महेन्द्रमाथि बम प्रहार गरेर गणतन्त्रको आन्दोलनमा बल पुर्‍याएका थिए।’ यसका साथै २००७ सालमा प्रजातन्त्रका लागि भएको आन्दोलनमा यो भूमिको भूमिकालाई नकार्न नसकिने कापडी बताउँछन्। २०३६ सालमा जनकपुरधाममै पहिलो पटक पञ्चायती शासनविरुद्ध जुलुस निस्केको स्मरण गर्दै कापडीले २०६२ सालमा भएको दोस्रो जनआन्दोलनको अगुवाइ पनि जनकपुरधामले नै गरेको दाबी गरे। उनले भने, 'प्राचीन मिथिलालाई मधेसले फेरि राजधानीका रुपमा पाएको छ। अब यसलाई मधेसले कस्तो बनाउला हेर्न बाँकी छ।'

जनकपुरधामको इतिहास

श्रीमद्भागवत, वाल्मीकि रामायण, बृहदारण्यकोपनिषद्, गन्धारक सुरुचि जातक, शक्ति संगमतन्त्र, बृहत् विष्णुपुराण आदि ग्रन्थमा मिथिला र विदेह विषयमा चर्चा रहेको पाइन्छ। वाल्मीकि रामायणमा जनकपुरधामलाई मिथिलाको राजधानीको रुपमा चर्चा गरिएको छ। यस हिसाबले जनकपुरधामको इतिहास हजारौं वर्ष पुरानो रहेको प्रमाणित हुन्छ। मिथिलामाथि शासन गरेका शिरध्वज जनक आध्यात्मवादी थिए। आफ्नो आध्यात्मिक चेतनाकै कारण उनले राजर्षिको उपाधि पाएका थिए।