सोमबार, मंसिर १९, २०७९

फेरिए चन्दननाथका लिङ्‍गा

नवीन अभिलाषी  |  काठमाडौं, मंगलबार, असोज ११, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

मंगलबार, असोज ११, २०७९, काठमाडौं

नेपाल समय

नेपालगञ्ज- जुम्ला जिल्लाको सदरमुकाम खलङ्‍गास्थित चन्दननाथ मन्दिर कर्णालीकै प्रसिद्ध मन्दिर हो। यो मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ। मन्दिरमा पूजाआजा नगरे देशमा अनिष्ट हुन्छ भन्ने भनाइ स्थानीयले पालना गर्छन्। घटस्थापनाको दिन मन्दिरको लिङ्‍गो फेर्ने चलन छ। भव्य रुपमा लिङ्‍गो फेरेर मात्रै कर्णालीमा दसैं भित्र्याउने परम्परा छ। 

जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको मन्दिरमा ५२ हातको लिङ्‍गो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना सुरु गर्छन्। घटस्थापनाकै दिन बटुक भैरवनाथ मन्दिरमा भने ४८ हातको लिङ्‍गो र ४८ हातकै ध्वजा र नेजा सहितको लिङ्‍गा फेरिन्छ। लिङ्‍गो ठड्याएपछि मात्र कर्णालीमा घटास्थापना सुरु हुन्छ। औपचारिक रुपमा दसैं पर्वको माहोल बन्छ। 

नाग पञ्चमीको दिन ५२ हातको सबैभन्दा ठूलोसहित तीनवटा अरु लिङ्‍गा काटिन्छन्। त्रयोदशीको दिन लिङ्‍गो तानिन्छ र घटस्थापनाको  दुई दिन अगाडि मात्रै लिङ्‍गो ताछ्ने, खुर्कने र मिलाउने गरिन्छ। घटस्थापनाको दिन रातो, सेतो, रङ्गीविरङ्गी कपडाले लिंगो पूरै ढाकिन्छ। लिंगोको टुप्पोमा पताका लगाएर मन्दिरमा ठड्याइन्छ। 

ठड्याउने क्रममा लिंगो भाँचियो वा खण्डित भयो भने पूरै देशमा अनिष्ट हुन्छ भन्ने भनाइ छ जुम्लाबासीको। 'चन्दननाथको लिंगो फेर्ने संस्कृति कर्णालीको आस्थाको धरोहर हो, कुनै कारणले यो लिङ्‍गो भाँचियो भने देशमा अनिष्ट हुन्छ,' चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए। 

एक वर्षमा ५२ हप्ता हुन्छ। मन्दिरमा ५२ हाते लिंगो नै खडा गर्ने प्रचलन छ। 'यो सयौँ वर्ष पुरानो परम्परा हो। यसलाई कर्णाली तथा सभ्यताको एउटा महत्वपूर्ण पक्षको रुपमा लिने गरिन्छ र हरेक घटस्थापनाको दिन लिंगो राखिएपछि दशैको सुरुवात भएको मानिन्छ,' चन्दननाथ भैरवनाथ मन्दिर गुठीव्यवस्थापन समितिका सचिव जितबहादुर महतले भने, 'धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ, त्यस कारणले चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन छ। तर जंगलमा ५२ हातको लिङ्‍गो पाउन छोड्यो।' समितिका सचिव महतले बताए वनजंगल नासिँदै गएपछि ५२ हाते लिङ्गा पाउन मुस्किल भएको बताए।

प्रत्येक वर्ष तीन वटा लिङ्‍गो फेरिन्छ। चन्दननाथ, अखडा देवी र बटुक भैरवनाथको गरी तीनवटा फेरिन्छ भने अर्को विजयी स्तम्भ पनि खडा गर्ने परम्परा छ। देवताको जयघोष र पूजा आरती, भजनकिर्तन हुन्छ। स्थानीयको ठूलो जमघट हुन्छ मन्दिर क्षेत्रमा मेला नै लाग्छ। नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्‍गो ठड्याउने काम हुन्छ।  

लिङ्‍गो ठड्याउँदा नेपाली सेनाले तोप सहितको सलामी दिने गर्छन्। लिङ्‍गोमा फूल अछेता, पैसा हाल्नेको भिड पनि बाक्लो हुने गरेको छ। मनको इच्छा पुरा हुने, माटो लिँदा उब्जनी बढ्ने, पुरानो लिङ्‍गोको ध्वजा लिएर लगाउँदा भूतप्रेत नलाग्ने जस्ता सामाजिक मूल्य मान्यता अहिले पनि कायमै रहेका छन्।

पुरानो लिंगो निकाल्दा मानिसहरुले लिंगोमा बाँधिएका ध्वजा र नेजाहरु घर लैजान्छन्। पुराना ध्वजा र नेजा लिए शक्ति प्राप्त हुने र अनिष्ट नहुने यहाँ जनविश्वास छ। लिंगो गाड्दा खनिएको माटो समेत बोकेर घरमा लिने गरिन्छ। 'मनको इच्छा पुरा हुने, माटो लिँदा उब्जनी बढ्ने, पुरानो लिङ्‍गोको ध्वजा लिएर लगाउँदा भूतप्रेत नलाग्ने मान्यता अहिले पनि कायमै छ।' गुठीका अध्यक्ष कठायतले बताए। 'मन्दिरको माटो लिएर खेतमा हाल्ने र जमरा राख्ने चलन छ। तर विगतको जस्तो स्थानीयको सक्रियता देखिन्न।' अध्यक्ष कठायतले बताए। 

किन घट्दैछ रौनक?
एक दशक पहिलेसम्म लिङ्गा फेर्न तत्कालीन कर्णाली अञ्चलका जिल्लाबाट विभिन्न बस्तु पठाउने चलन थियो। जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह आउथ्यो। हुम्लाबाट ठेटुवा, चौरी फुर्को र थाप्का आउथ्यो भने मुगुबाट मास, मुगी दाल, राडीपाखी, ठेटुवा र चौरी पठाइन्थ्यो। तर त्यो अहिले सबै रोकिएको छ। 

'अहिले त सुरक्षाकर्मीकै भरमा लिङ्‍गो फेर्नु पर्ने अवस्था छ। भक्तजनको आर्कषण पनि घट्दै जान थालेको छ।' अध्यक्ष कठायतले बताए। यसअघि सरकारी कर्मचारी, स्थानीय ढाणथपाल लगायत गाउँका क्षत्री र सेनाको पल्टनले लिंगो ल्याउने प्रचलन थियो। जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा चन्दननाथ नगरपालिका–३ रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो ल्याउने गरिन्छ।