धनगढी- ‘घर त दिएको छ तर कमाइ खाने छैन’ धना कामीले भने, ‘कि देश परदेश जानुपर्यो घरमा ताला लगाएर।’ मुक्त हलिया सुरक्षित आवास कार्यक्रम अन्तर्गत कञ्चनपुरको पुनर्वास नगरपालिका–९ सिताबस्तीमा संघीय सरकारको कृषि, भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलियाका लागि निर्माण गरिरहेको घरमै भेटिएका धना कामीले भने, ‘पानीको समस्या छ, रोजगारी छैन, लाइन त खिचियो तर मिटर बक्सका लागि समस्या छ।’
‘पहाडमा पनि अरुको घरमा काम गरेर खाएको, यहाँ आएर पनि केही छैन’ धनाले भने, ‘रोजगारी छैन, चार दिन सरकारले काम दिएको थियो त्यो पनि बन्द भयो।'
सोही बस्तीमा भेटिएकी जमुना दमाईको समस्या पनि उस्तै छ । जनमुनाले भनिन्, ‘रोजगारीकै खाँचो छ। छोराहरु भारतमा अर्काको भाडा धोएर खान्छन्। हामीलाई पनि समस्या छ। यहाँ रोजागरी छैन। घर मात्र कुरेर भएन।’ ‘चुनावका बेला सबै आउँछन्, दिन्छु भन्छन्,’ जमुनाले भनिन्, ‘पछि दिँदै दिँदैनन् ।’ सरकारले घर त बनाइदिएको छ तर जंगल जान दिँदैनन् घरको दक्षिणतर्फ दुधुवा नेशनल पार्कभित्र भारतीय सीमा सुरक्षा बलको क्याम्प देखाउँदै जमुनाल भनिन्, ‘तिमीहरुको सरकारले ग्यास सिलिण्डर दिदैन भनेर गालीगलौच गर्छन्।’