विराटनगर– गत मंसिर ४ गते सम्पन्न निर्वाचनको मोरङमा प्रदेश र प्रतिनिधिसभाका १८ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम परिणाम अनुसार मोरङमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा १० जना पहिलो पटक संसद प्रवेश गर्दैछन्। प्रदेशसभा पहिलो पटक प्रवेश गर्ने एक जना संविधानसभा सदस्य पनि छन्। प्रतिनिधिसभामा ४ र प्रदेशसभा २ जना यसअघि नै संसद प्रवेश गरिसकेका छन्।
को–को पुग्दैछन् पहिलो पटक प्रतिनिधिसभामा?
प्रतिनिधिसभा तर्फ ६ क्षेत्र रहेको मोरङबाट २ जना पहिलो पटक संसदमा पुग्दैछन्। क्षेत्र नं. ३ बाट निर्वाचित डा. सुनिल शर्मा पहिलो पटक संसदमा पुग्दैछन्। ०७४ को निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग पराजित भएका कांग्रेसका शर्मा ५ वर्षपछि ढकाललाई नै पराजित गर्दै पहिलो पटक संसदको यात्रा गर्दैछन्।
क्षेत्र नंं ५ का योगेन्द्र मण्डल (जोगी) पहिलो पटक प्रतिनिधिसभा सदस्यका रुपमा संसदमा पुग्दैछन्। सामाजिक अभियान्ता मण्डल सत्ता र प्रतिपक्षी दुवै गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै पहिलो पटक संसदमा प्रवेश गर्दैछन्। स्वतन्त्र उम्मेदवार मण्डलले निवर्तमान प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डललाई पराजित गरि संसदको यात्रा तय गरेका हुन।
प्रदेशसभा तर्फ मोरङबाट १० जनाले पहिलो पटक संसद भवनमा प्रवेश गर्दैछन्। मोरङ १ (क) बाट निर्वाचित उमाकान्त गौतम पहिलो पटक प्रदेशसभाको यात्रा तय गरेका हुन्। एमाले उर्लाबारी नगर कमिटीका पूर्व अध्यक्ष गौतमले निवर्तमान प्रदेशसभा सदस्य माओवादी केन्द्रका कुशल लिम्वुलाई पराजित गरेका हुन्। १ (ख) बाट निर्वाचित खड्ग बस्नेत पनि पहिलो पटक संसदमा पुग्दैछन्।
मोरङ ३ (क) बाट मानप्रसाद लिम्वु र ३ (ख) बाट निर्वाचित ज्ञानेन्द्र सुवेदी पहिलो पटक प्रदेशसभामा पुग्दैछन्। लिम्वुले कांग्रेस उम्मेदवार तथा बहालवाला वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापाको निधनपछि टिकट पाएका थिए। उनले पथरीशनिश्चरे नगरपालिकाका निवर्तमान प्रमुख किशोर राईलाई पराजित गरेका हुन। ३ (ख) बाट एमालेका सुवेदीले एकिकृत समाजवादीका लक्ष्मी श्रेष्ठलाई पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्। सुकुना माविका पूर्व प्रधानाध्यापक समेत रहेका श्रेष्ठलाई पराजित गर्दै बेलबारी नगरपालिकाका पूर्व प्रमुख सुवेदीले पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दैछन्।
मोरङ ४ (क) बाट जयप्रकाश चौधरी र (ख) बाट निर्वाचित भीम पराजुली पनि पहिलो पटक प्रदेशसभाको यात्रा तय गरेका हुन्। एमालेका चौधरीले नेविसंघका पूर्व सभापति गुरुराज घिमिरेलाई पराजित गरे भने ४ (ख) का पराजुलीले प्रदेश सरकारका पूर्व मन्त्री एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेलाई पराजित गरे। सामाजिक क्षेत्रमा लामो समय विताएका चौधरी र विराटनगर महानगरपालिकाका पूर्व प्रमुख पराजुली पहिलो पटक प्रदेशसभाको यात्रा तय गरेका हुन्।
५ (क) का गयानन्द मण्डल र ५(ख) का अमृत अर्यालको पनि प्रदेश सभाको यात्रा पहिलो हो। नेपाली कांग्रेसका मण्डल ०६४, ०७० को संविधानसभा निर्वाचिनमा पराजित भएका थिए। संविधानसभा सदस्य हुन नपाएका मण्डल पहिलो पटक प्रदेशसभामा पुग्ने भएका हुन्। ५ (ख) बाट निर्वाचित अर्यालको प्रदेशसभाको यात्रा पहिलो भएपनि प्रतिनिधिसभामा पुगिसकेका व्यक्ति हुन्।
०७४ को प्रदेशसभा सदस्यमा निर्वाचित दुई जना सांसद मात्रै मोरङबाट पुनः निर्वाचित भएका छन्। क्षेत्र नं. २(ख) बाट एमाले उम्मेदवार लीलाबल्लव अधिकारी र ६ (ख) बाट निर्वाचित केदार कार्की संसदमा पुनः दोहोरिएका हुन्। पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री अधिकारीले कांग्रेसका विनोद कार्की र बहालवाला आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले एमालेका पर्शुराम वस्नेतलाई पराजित गर्दै पुनः प्रदेशसभाको यात्रा तय गरेका हुन्।