मंगलबार, कार्तिक २, २०७८

संखुवासभा घटना : प्रहरीसँगै खाने–बस्ने अभियुक्त पक्राउ नपर्नेमा ढुक्क थिए

नेत्र पी अधिकारी  |  काठमाडौं, मंगलबार, भदौ २९, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, भदौ २९, २०७८, काठमाडौं

नेपाल समय

विराटनगर– संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्यामा संलग्न व्यक्तिको पहिचान गर्न प्रहरीलाई पाँच दिन लाग्यो। सोमबार बिहान करिब ६ देखि साढे ६ बजेसम्मको घटनाबारे प्रहरीलाई झण्डै ३ घण्टापछि जानकारी भएको थियो। हत्या घटनाको मंगलबारदेखि मात्र प्रहरीले अनुसंधान अगाडि बढाएको थियो। 

घटनास्थलमा प्रहरी चौकी मादी, इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाइ धरान, केन्द्रीय अनुसन्धान व्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरसहित करिब ५० जना प्रहरी खटिएका थिए। 

धारिलो हतियार प्रयोग नभएको, पैसाका लागि हत्या गरिएको नदेखिनु, बालबालिकाको पनि हत्या हुनु र घटनाबारे नजिकका छिमेकीले पनि थाहा नपाउनु लगायतका कारणले प्रहरीलाई ‘क्लु’ पहिल्याउन निकै सकस परेको थियो। भौगोलिक विकटकता कारण पनि अनुसन्धान लम्बिएको थियो। 

विभिन्न आधारलाई लिएर गरिएको अनुसन्धानमा प्रहरी निष्कर्षमा पुग्न नसकेपछि यस प्रकारको घटना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिबाट हुन सक्छ भन्ने आधारलाई लिएर स्थानीयबासीसँग बुझ्न थाल्यो। यही आधारले प्रहरीलाई घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिन सफल भयो। 

प्रहरीले घटनाको प्रकृतिका आधारमा अनुसन्धान अगाडि बढाएकोे १ नम्बर प्रदेशका प्रहरी प्रमुख डीआईजी अरुण विसीले बताए। उनी घटनाको तेस्रो दिन साँझ घटनास्थल पुगेका थिए। उनका अनुसार लुटपाट, यौन हिंसा, रिसिवी, अंशवण्डा, धनसम्पत्ति देखेर प्लान बनाएको हो कि भनेर चार–पाँच वटा एंगलमा अनुसन्धान गरिएको थियो।

प्रत्येक विधामा अनुसन्धान गर्दा त्यस्तो कुनै उद्देश्य नदेखिएपछि अनुसन्धानको दायरा पनि कम हुँदै गएको थियो। लुटपाट वा अन्य कुनै प्लान बनाएर घटाइएको घटना भए हतियारको प्रयोग अवश्य हुने डीआईजी बिसी बताउँन्। ‘किनकी गरगहना, धनसम्पत्ति सबै भेटियो। त्यसपछि हामीले लुटपाट र प्लान भएको घटना नघटेको निश्कर्ष निकालेर त्यो पाटो बन्द गर्यौं,’ विसीले सुनाए। मानसिक स्वास्थ्य समस्याका कारण घटना भएको हुन सक्ने आधारलाई लिएर गरिएको अनुसन्धानले सफलता भएको उनको भनाइ छ।

पक्राउ नपर्नेमा ढुक्क थिए अभियुक्त कार्की

प्रहरी घटनास्थल पुगेदेखि नै प्रहरीसँगै बस्ने, सँगै खाने र प्रहरीलाई खाना पकाउने, दाउरा खोज्ने काममा सहयोग गर्ने कार्यमा खटिएका थिए घटनाका अभियुक्त २६ वर्षीय लोकबहादुर कार्की। शव पहिलो पटक देख्ने व्यक्ति भएकाले घटनास्थल पुग्ने सबै युट्युवरले उनको अन्तर्वार्ता लिन भ्याए। अन्तर्वार्तामा केही अल्मलिने बाहेक उनले निर्धक्कसँग बोलेको देखिन्छ। घटनाको अभियुक्त लोकबहादुर नै हो भन्ने सामान्य जानकारी प्रहरीले २–३ दिन अघि पाएको थियो। तर, पुष्टि गर्ने प्रमाण नहुँदा समस्या परिरहेको थियो।

अभियुक्तका केही कुराहरु बाझिने गरेका कारण घटनामा संलग्न व्यक्ति यही नै हो भन्ने लगभग आधार देखिँदै गएपछि प्रहरीले उसको घर सर्च गर्यो। घरमा रगतको टाटा लागेको सर्ट फेला पर्यो। प्रहरीले यो सर्ट कसको भनेर लोकबहादुरलाई सोध्दा उसले भन्यो, ‘यो भाइको हो।’ प्रहरीले उसको १८ वर्षीय भाइसहित राखेर सोध्दा भाइले भन्यो, ‘यो सर्ट बडाउ मरेको दिन दाइले लगाएको थियो।’ दाजुभाइको भनाइ बाझिएपछि प्रहरीले लोकबहादुरलाई शंकाको घेरामा राखेर अनुसन्धान अघि बढायो। 

घटना भएको गाउँ

लोकबहादुरको घरमा रडको टुक्रा र सर्टमा रगतको दाग देखिएपछि प्रहरीले लोकबहादुरमाथिको अनुसन्धान अघि बढाएर उसलाई घर–गाउँ भन्दा बाहिर नजाने गरी आफैंसँग राख्यो। हरेक पटक घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको लोकबहादुरले ‘के भन्ने सर?’ मात्र भनेर हैरान बनाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन्। घटनामा प्रयोग गरिएको चिर्पट अँगेनामा बालेर मुख्य प्रमाण नष्ट गरेको र घटना कसैले नदेखेका कारण प्रहरीसँगै हिँड्ने, खाने, बस्ने गर्दै आफू घटनामा संलग्न नभएको देखाउने काम उसले गरेको प्रहरीले बताएको छ।

राति १० बजेपछि मात्र अनुसन्धान

घटनामा संलग्न व्यक्ति नजिक–नजिक प्रहरी पुगे पनि भरपर्दो प्रमाण नहुँदा प्रहरीलाई अनुसन्धानमा समस्या हुँदै आएको थियो।

स्थानीयको भीड र युट्युबरको बिगबिगीका कारण दिउँसो काम गर्नै गाह्रो थियो। डीआईजी विसी भन्छन्, ‘राति १० वजेपछि मात्र अनुसन्धान सुरु हुन्थ्यो।’ घटनामा संलग्न लोकबहादुरले शुक्रबार राति दुई बजेमात्र अभियोग स्वीकार गरेको थियो। 

हत्याको कारण यस्तो 

लोकबहादुर रोजगारीको सिलसिलामा दुई पटक २०७१ र ०७६ सालमा कतार र ०७३ मा मलेसिया पुगे। तर उनी पूरा समय नबसी फर्कीए। अन्तिम पटक उनी मानसिक स्वास्थ्य समस्या भएर घर फर्किएको स्थानीयबासी बताउँछन्। मानसिक स्वास्थ्य समस्या देखिएपछि औषधि समेत खाने गरेको पाइएको वडाध्यक्ष खेमनाथ कटुवालले बताए। लोकबहादुरकी आमाको गत चैतमा निधन भयो। उनकी आमा तेजबहादुर कार्कीको घरमा लडेर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा झापामा मृत्यु भयो। घरमा काजक्रिया गर्ने खर्च समेत भएन। तेजबहादुरले ३५ हजार दिए। पछि तेजबहादुरले ऋणमा चर्को व्याज लिएको प्रहरी समक्ष अभियुक्त कार्कीले बयानका क्रममा भनेको प्रहरीले बताएको छ। 

तेजबहादुरको ऋण र विदेश जाँदाको ऋण तिर्न नसकेर ५ रोपनी जग्गा ५ लाखमा बेचेर ऋण तिरेको प्रहरीलाई उनले बयानका क्रममा बताएका छन्। तेजबहादुरले आफूलाई पागल भन्ने गरेको, तैंले कहिल्यै प्रगति गर्न सक्दैनस् भन्ने र हेप्ने गरेका कारण नै हत्या गरेको लोकबहादुरले स्वीकार गरेका छन्। लोकबहादुर बिहान ९–१० वजेमात्रै उठ्ने गर्थे। सोमबार बिहान तेजबहादुर धान गोड्नका लागि भन्दै बोलाउन उसको घर गएका थिए। बिहान ५ बजे नै अभियुक्त कार्कीका बुवा र भाइ घाँस काट्न गएका थिए। घरमा लोकबहादुर मात्रै थिए। उनी सुतिरहेका थिए।

तेजबहादुरले उनलाई उठाएर धान गोड्न दाजुभाइ आउनु भनेर आफ्नो घर फर्के। लोकबहादुरलाई अचानक रिस उठ्यो। तेजबहादुरले हेपेर बोल्ने गरेका कारण उनमा तनाव बढ्दै गएको पाइएको प्रहरीले बताएको छ। तेजबहादुर फर्कनेबित्तिकै घर नजिक रहेको दाउराको चिर्पट बोके र आफ्नो घर नजिक पुगेका तेजबहादुरलाई पछाडिबाट टाउकोमा प्रहार गरेर लडाएको उनले बयान दिएका छन्। लडेपछि तेजबहादुरले चिच्याउँदै भने, ‘लोकेले मलाई मारो।’ उनले चिर्पटले थप प्रहार गरिरहे। घरमा रहेका उनकी श्रीमती र बुहारी पनि कराउँदै घटनास्थल आएको अभियुक्तले दिएको बयानमा छ।

अभियुक्त कार्कीले बडीबुबाको हत्या गरेको बडीआमा कमला र भाउजु रञ्जनाले देखेपछि उनीहरुलाई पनि त्यही चिर्पटले हानेर हत्या गरेको बताएका छन्। त्यसपछि घर नजिकै बाटोको डिलमा आएका दुई जना बालबालिका दिपेन र गोमालाई पनि लखेटी–लखेटी हत्या गरेको घटनास्थलमा प्रहरीलाई देखाउने क्रममा बताएका थिए। ५ जनाको हत्यापछि घरको पछाडि खोले पकाउँदै गरेकी पार्वता कार्कीको टाउको पटक–पटक भित्तामा ठोक्काई हत्या गरी घर फर्केको उनले भनेका छन्। बडीबुबाको मात्र हत्या गर्ने मानसिकतामा रहेका अभियुक्त कार्कीले प्रमाण लुकाउन घटना देख्ने सबैको हत्या गर्न पुगेको बयानमा भनेका छन्। 

लोकबहादुरले प्रहरीलाई भनेका छन्, ‘हजुरबालाई देखिन, नभए उनलाई पनि मार्ने थिएँ।’ घटना घटाएपछि उनले सिधै प्रहरीकोमा जाने योजना समेत बनाएका थिए। तर घटनामा प्रयोग भएको चिर्पट दाउरा आफैंले घरमा कुँडो पकाउने चुलोमा लगेर डढाएको उनले प्रहरी बयानमा बताए। त्यसपछि लगाएको लुगा धोएर सुकाएपछि सबै प्रमाण नष्ट भएको उनलाई लाग्यो। त्यसपछि उनले घरैमा बस्ने निर्णयमा पुगेको अनुसन्धानमा खुलेको छ। सुरुको अनुसन्धानमा प्रहरी र स्थानीयले आशंका समेत नगरेपछि उनी समान्य व्यक्ति सरह घरैमा बसेका थिए। अनुसन्धानको क्रममा प्रहरीसँगै बसेर घटना नियालिरहेको समेत उनले बताएका छन्। 


प्रकाशित: September 14, 2021 | 08:21:00 काठमाडौं, मंगलबार, भदौ २९, २०७८
नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

अधिकारी नेपाल समयका प्रदेश १ प्रतिनिधि हुन्।
काठमाडौं, मंगलबार, भदौ २९, २०७८

थप समाचार

दुई वर्षभित्रै तावाखोलामा पक्की पुल बन्‍ने

ताप्लेजुङको सिरिजंघा र सिदिङ्वा गाउँपालिका जोड्नेगरी तावाखोलामा पक्की पुल बन्ने भएको छ।

धरानबाट मात्रै दसैंमा सात करोडको खसीबोका कारोबार

धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा रु सात करोड बराबरको खसीबोका कारोबार भएको छ।

पतिपत्नी कुटाकुट हुँदा पतिको मृत्यु

तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा पति र पत्नीबीच विवादपछि कुटाकुट हुँदा पतिको मृत्यृ भएको छ भने पत्नी गम्भीर घाइते भएकी छन्।

कोसी किनारामा प्याराग्लाइडिङ खस्दा वडाध्यक्ष घाइते

भेडेटारबाट उडेको प्याराग्लाइडिङ सप्तकोसी नदीको किनारामा खसेको छ।

आहा कन्याम !

संघले घोडामा चढेर घुम्न चाहने पर्यटकका लागि ६०० रुपैयाँ भाडा तोकेको छ। घोडामा चढेर फोटो खिच्दा ५० रुपैयाँ तिर्नुपर्छ।

कोरोना संक्रमणबाट प्रदेश १ मा हालसम्म २०८८ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट हालसम्म २०८८ जनाको मृत्यु भएको छ ।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C