काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेको नेकपा माओवादीले १६५ निर्वाचन क्षेत्रमध्ये जम्मा १८ सिटमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन सक्यो। चुनावी परिणामबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा १७ मंसिरदेखि बसिरहेको बैठकले सरकार गठनका लागि सबै विकल्पमा जाने निर्णय गरेको समाचार बाहिर आयो।
महासचिव देव गुरुङले सरकार गठनमा माओवादीको पनि हकदाबी रहेको बताएर कांग्रेसलाई अप्ठेरोमा पार्ने छनक दिए। नयाँ सरकार गठनबारे सबै विकल्पमा खुला रहने माओवादी केन्द्रको निर्णयले सत्ता गठबन्धनको प्रमुख दल कांग्रेस भने झस्किएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले गठबन्धनभित्रैबाट बहुमत पुर्याउन कोसिस गर्ने र सम्भव नभए अन्य विकल्पमा खुला रहने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए। उनले भने, ‘हामी अहिले गठबन्धनमै छौं। यसलाई तोड्ने पक्षमा छैनौं तर सरकार गठनका सबै विकल्पमा खुला छौं। अन्य पार्टीसँग पनि छलफल गर्छौं।’
माओवादी केन्द्रको पहिलो दिनको बैठकको निर्णयबारे समाचार बाहिरिएलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्क्ष नारायणकाजी श्रेष्ठलाई फोन गरेर सोधीखोजी गर्नुपर्यो।
माओवादीको यो निर्णयपछि प्रचण्डलाई प्रधानमन्त्रीमा अफर गरेर गठबन्धनबाट छुट्याउन लागेको संकेत कांग्रेस नेताहरूले पाएका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभामा कम मत ल्याउनुमा कांग्रेसकै हात रहेको आरोप केही माओवादी नेताहरूले लगाइरहेका छन्। कांग्रेससँग गठबन्धन गर्दा प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने तर अन्यत्र सर्न सकिए त्यो अवसर प्राप्त हुन सक्ने केही माओवादी नेताको बुझाइ छ।
आफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्य गरिरहेका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादीको यो निर्णयले निश्चय पनि झस्काएको हुनुपर्छ। अहिलेको गठबन्धनले सरकार सञ्चालनका लागि पूर्ण बहुमत नल्याएकाले जनमत पार्टीलाई सरकारमा भित्र्याएर आफू प्रधानमन्त्री हुने देउवाको रणनीति छ। संसद्मा तेस्रो तर निर्णायक शक्तिको रूपमा स्थापित भएको माओवादीले आफूले नेतृत्व नपाए प्रतिपक्षीमा बस्नेसम्मको विकल्प राखेर कांग्रेससँग बार्गेनिङ गर्न थालेको बुझ्न कठिन छैन।
कांग्रेसभित्रै पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले यसको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ। माओवादीले कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नपाए एमालेसँग सहकार्य गर्छ कि भन्ने डर देउवालाई छ। कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भइरहेको रडाकोको लाभ लिने दाउमा माओवादी रहेको देखिन्छ। यसको संकेत माओवादी प्रवक्ता कृष्णबहादुर महराले दिइसकेका छन्। ‘अहिले हामी गठबन्धनमै छौं। बहुदलीय व्यवस्थामा अन्य पार्टीसँग छलफलको कुरालाई खुला राख्नु स्वाभाविक हो। माओवादीलाई जताबाट फाइदा पुग्छ, त्यतै लाग्ने हो,’ महराले शनिबारको बैठकपछि पत्रकारलाई भनेका थिए।
माओवादीले प्रचण्डलाई प्रधानमन्त्री दिइए मिल्न सकिने संकेत दिएपछि एमाले नेताहरूले उक्त निर्णय सकारात्मक रहेको बताउन थालेका छन्। एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ कम्युनिस्ट एकताको पक्षमा पहल गरिरहेको समय माओवादीले सरकार गठनमा विकल्प खुला राख्ने निर्णय गर्नु सकारात्मक रहेको बताउँछन्।
उनले भने, ‘सम्भावित तीन विकल्पबारे एमालेले गृहकार्य गरिरहेको छ। अहिले सरकार बन्ने पहिलो परिस्थिति भनेको कांग्रेस–माओवादी, एमाले–माओवादी र कांग्रेस–एमालेको हो। त्यसैले हामीले सबै विकल्पमा छलफल गरिरहेका छौं। सबैसँग संवाद भइरहे पनि कम्युनिस्ट पार्टी एक भएर सरकारको नेतृत्व लिन सक्नुपर्छ,’ उनले भने। राजनीतिमा असम्भव केही नहुने हुँदा अहिले नै यही हुन्छ भन्न सक्ने अवस्थामा भने नरहेको उनले बताए।

यसअघि नै एमाले नेतृत्वमा चुनावी सहकार्यमा गएको राप्रपा र जसपालाई साथ लिएर माओवादीलाई समेत गठबन्धनबाट फुत्काउन सके संघीय सरकार बन्न सक्ने एमालेको बुझाइ छ। २७५ सांसद रहने प्रतिनिधिसभामा सरकार निर्माणका लागि १३८ सांसद चाहिन्छ। एमाले, माओवादी, राप्रपा र जसपा मिले संसद्मा १४७ सिट पुग्छ। एमाले अध्यक्ष ओली सकभर आफैं नेतृत्व लिने, त्यो हुन नसके कांग्रेसबाट माओवादीलाई अलग्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार रहेको जनाउ दिएको बताइन्छ।
यदि कांग्रेसबाट माओवादीले सहकार्य तोडे केन्द्रमा मात्र नभई प्रदेशमा पनि एमाले–माओवादी गठबन्धनको पल्ला भारी हुनेछ। प्रदेश १ मा एमाले पहिलो पार्टी बनेको छ। त्यहाँ प्रत्यक्ष ५६ सिटमध्ये एमालेले २५, कांग्रेसले १७, माओवादीले ९, नेकपा एसले ३ र राप्रपाले दुई सिट जितेका छन्। समानुपातिकमा पनि एमाले पहिलो दल भएकाले एमाले–माओवादी मिले सरकार गठन सहजै हुन सक्छ।
मधेस प्रदेशमा एमाले पहिलो दल बनेको छ। ६४ सिटमा एमालेले १५, कांग्रेसले १३, जसपाले ९, लोसपाले ७, जनमतले ६, माओवादीले ४ र ६ जना स्वतन्त्रले जितेका छन्। समानुपातिकमा कांग्रेस पहिलो दल भए पनि एमाले, माओवादी, जसपासहितको सरकार बन्न सक्ने अवस्था यहाँ पनि छ।
६६ सिट रहेको बागमती प्रदेशमा अहिलेसम्म कांग्रेसले २५ सिट जितेको छ। यहाँ माओवादीले १४, एमालेले ९, राप्रपाले ७, नेकपा एसले ५, नेमकिपा र हाम्रो नेपाल पार्टीले १÷१ सिट जितेका छ। प्रत्यक्षमा एमाले कमजोर रहे पनि समानुपातिकमा पहिलो शक्ति भएकाले माओवादी, राप्रपासहितलाई जोड्दा सरकार बन्न गाह्रो देखिँदैन।

प्रत्यक्षतर्फ ५२ सिट रहेको लुम्बिनीमा एमालेले १८, कांग्रेसले १७, माओवादीले ५, जसपाले २, नागरिक उन्मुक्ति पार्टीले २, लोसपाले २, जनमतले १ र ३ स्वतन्त्र ३ सिटमा विजयी भएका छन्। यहाँ पनि समानुपातिकमा एमाले अगाडि हुँदा माओवादी, जसपा मिले सरकार गठन हुन सक्ने देखिन्छ।
प्रत्यक्षमा २४ सिट रहेको कर्णाली प्रदेशमा कांग्रेसले ९, माओवादीले ९, एमालेले ५ र एक स्वतन्त्रले जितेका छन्। कर्णालीमा पनि समानुपातिकतर्फ एमाले अगाडि छ। माओवादी र एमाले मिलेर प्रदेश सरकार बन्न सक्ने देखिन्छ।
३२ सिट रहेको सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षमा एमाले कमजोर देखिएको छ। कांग्रेसले १२, माओवादीले ८, नागरिक उन्मुक्ति पार्टीले ५, एमाले र नेकपा एसले ३÷३ र १ स्वतन्त्रले जितेका छन्। समानुपातिकमा एमाले पहिलो शक्ति भएकाले माओवादीसहित केही साना दलसँग सहकार्य भए सरकार गठन हुन सक्छ।
कांग्रेसबाट माओवादीलाई छुट्याएर प्रचण्ड वा ओलीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने मत एमालेभित्र बलियो बन्दै गएको छ। यसका लागि विशेषगरी एमालेका दोस्रो तहका नेताले माओवादी केन्द्रसँग सम्पर्क र छलफल बढाएका छन्। माओवादी केन्द्रभित्र पनि कतिपयले वामपन्थी एकता र वाम सरकारका लागि नाइँ भन्न नहुने प्रचण्डलाई सुझाएका छन्। यही गठबन्धन कायम राख्ने हो भने सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने र पहिले आफूले नेतृत्व गर्न पाउनुपर्ने अडान लिन शनिबारको बैठकमा प्रचण्डमाथि दबाब दिइएको स्रोतको दाबी छ।
देउवाले पार्टीको नेतृत्वमा सरकार गठनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई विभिन्न दलका शीर्ष नेताहरूसँग कुरा गर्न खटाएका छन्। यसको पहलस्वरुप खड्काले बिहीबार माओवादी अध्यक्ष प्रचण्डसँग भेटेका थिए भने शनिबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर देउवालाई प्रधानमन्त्री बनाउन र सत्ता गठबन्धनबाट नछुट्टिन आग्रह गरेका थिए। प्रचण्डले चुनावअघि पाँचदलीय गठबन्धन २० वर्षसम्म टिक्ने दाबी गरेका थिए। तर चुनावपछि बसेको पार्टीको पहिलो पदाधिकारी बैठकमा उनले एमालेसँग सहकार्यको विकल्प खुला राख्ने निर्णय गराएपछि कांग्रेसलाई अप्ठेरो पार्ने नियत देखिएको छ। सबै विकल्प खुला राखेको माओवादी केन्द्रको मुख्य रणनीति जोसँग मिलेर सरकार बनाए पनि पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने देखिन्छ।