काठमाडौं– दोस्रो संविधानसभा निर्वाचनका बेला सिरहा–५ बाट उम्मेदवारी घोषणा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘मधेशसँग मेरो 'लभ' परेको छ। मेरो यो मायामा कहिल्यै कमी आउने छैन।’
मधेशसँग 'लभ' परेको बताएका प्रचण्डलाई मतदाताले पनि माया दिए। आफ्नो प्रतिनिधि बनाएर जिताएर पठाए। ‘प्रचण्ड’ले मधेशी जनतासँग झन् गहिरो लभ परेको बताएका छन्।
२०७४ को प्रतिनिधिसभा चुनावमा माओवादी रोज्ने कि मधेशवादी दल रोज्ने भन्ने दोधारमा मधेशी जनता देखिए। तर त्यसबेला पनि आफ्नो हुलमुल लिएर प्रचण्ड मधेश झरे। माओवादीले मधेशमा थुप्रै कार्यक्रम गर्यो। भाषणका क्रममा प्रचण्डले पुरानै ‘स्टाइल’मा आफ्नो मधेशसँगको 'लभ' जारी रहेको बताए। २०७० को चुनावताका पनि प्रचण्डले मधेशसँग 'लभ' परेको भन्दै 'सेन्टिमेन्ट' लिन खोजेका थिए। २०७४ को चुनावताका मधेशमा रक्षात्मक देखिएका उनले पुरानै रणनीति 'लभ रिलेसन' प्रयोग गरेका थिए।
२०७६ मंसिर ३ गते परासीमा आयोजित औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै उनले आफ्नो 'लभ' नटुटेको दाबी गरेका थिए। आफ्नो लभ नटुटेको दाबी गर्न उनले मेलाको मञ्चलाई प्रयोग गरेका थिए। मधेशीसँग डिभोर्स नभई झन् प्रेम गहिरो भएको जिकिर गरेका उनले थपेका थिए।
'मधेशी जनतासँग गरेको लभ डिभोर्स गरेको छैन। तपाईंहरू मसँग डिभोर्स गर्न खोजेको हो र? हो भने मैले बुझ्ने गरी भन्नुहोला।मधेशसँग अझ गहिरो लभ छ। निर्वाचनका बेला पनि सबभन्दा बढी मेहेनत मैले मधेशमै गरें। मधेशी जनताप्रति प्रेमकै परिणामले गर्दा हो,' तत्कालीन नेकपामा एक जना अध्यक्ष रहेका प्रचण्डले उपस्थितलाई प्रश्न गरे, 'तपाईं यसलाई खण्डन गर्न चाहनुहुन्छ? मधेशी जनतासँग भेट हुन्छ भनेर प्रमुख अतिथि आएको छु; परासीमा घण्टौं बसेको छु; यो जीवित सत्यले तपाईंलाई डिभोर्स गर्न लागेको जस्तो लाग्छ?’
वाक्पटु राजनीतिज्ञ प्रचण्डले ताली पाउन र आफूमाथि आएका प्रश्न पन्छाउन आफैँले भनेअनुसार काम गरेनन्। संविधान निर्माण गर्दा मधेशी मुद्दालाई उपेक्षा गरेको आरोप उनीमाथि लाग्यो। मधेशी जनताले माओवादीलाई हेर्ने नजर फेरियो।
यो पनि
हुन पनि, माओवादी र मधेशबीच रोचक सम्बन्ध छ। माओवादीले सानो मेहनतले आफ्नो पक्षमा मधेशको जनमत बढाएको थिएन। कुनै बेला मधेशी जनतालाई आफूप्रति आकर्षित गर्न माओवादी नेताहरूले धोती, कुर्ता र गम्छा लगाएर मधेश पनि घुमेका थिए। अन्य कम्युनिस्ट पार्टीले वर्गीय मुद्दा उठाएर राजनीति गर्न खोज्दा माओवादीले मधेशमा जातीय मुक्ति र क्षेत्रीय उत्पीडनको सवाल चर्काएर नेतृत्व गर्न खोजेको थियो। खासमा मधेशीलाई पहिचानका लागि बोल्न सिकाउने पहिलो दल नै माओवादी थियो भन्दा फरक नपर्ला।
अहिले त्यही मधेशमा माओवादी ‘निरीह’ बन्न पुगेको छ। सशस्त्र युद्धमा धेरै मधेशीले बलिदान गरे पनि माओवादी मधेशमै कमजोर देखिँदै आएको छ। संविधान निर्माणपछि उपेक्षामा पर्दै गएको महसुस गरेको मधेश माओवादीसँग रुष्ट मात्र बनेको छैन, विस्तारै मधेशले माओवादीलाई पत्याउन छाडेको मतपरिणामले देखाउँछ।
यस पटक मधेश प्रदेशमा माओवादीले ५ दलीय सत्तारुढ गठबन्धनको समर्थनमा प्रतिनिधि सभातर्फ ६ जना उम्मेदवार उठाएको थियो। सिरहा-३, धनुषा-१, महोत्तरी-१, सर्लाही-२, सर्लाही-३ र रौतहट-३ मा माओवादीका उम्मेदवार थिए। तीमध्ये एक सिट जितेको छ।
सिरहा-३ मा एमालेका लीलानाथ श्रेष्ठले २८ हजार ६४ मत ल्याउँदा माओवादीका विश्वनाथ साहले २६ हजार ८८२ मत ल्याए। धनुषा १ मा पनि माओवादीका उम्मेदवार मातृकाप्रसाद यादवले पराजय व्यहोरे। जनता समाजवादी पार्टीका दीपक कार्कीले २७ हजार ४३१ मत ल्याएर जित्दा यादवले जम्मा २१ हजार ४८३ मत ल्याए।
त्यस्तै, पार्टी उपमहासचिव गिरिराजमणि पोखरेलले पनि मधेशबाट जित निकाल्न सकेनन्। महोत्तरी-१ मा एमाले उम्मेदवार लक्ष्मी महतो २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत ल्याए।
सर्लाही ३ मा पनि माओवादीले आफ्नो पक्षमा जित निकाल्न सकेन। एमालेका हरिप्राद उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर चुनाव जित्दा माओवादी उम्मेदवार नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत पाए। रौतहट ३ मा भने पूर्वमाओवादीसमेत रहेको स्वतन्त्र उम्मेदवार प्रभु साहले जित निकाले। माओवादीका उम्मेदवार रवीन्द्र पटेल तेस्रो भए। पटेललाई स्वतन्त्र उम्मेदवारद्वय साह र ओमप्रकाशले उछिनेका छन्।
सबैतिर पराजय व्यहोर्दा सर्लाही-२ ले भने माओवादीको चुनाव चिह्नको साख जोगाइदिएको छ। मधेश प्रदेशबाट माओवादीको चिह्न लिएर चुनाव लडेका महिन्द्र राय यादव विजयी भए। यादवले २३ हजार ५२९ मत ल्याएर जित्दा लोसपाका राजेन्द्र महतोले २१ हजार ५१८ मत ल्याएका छन्। यादव आवद्ध दल नेपाल समाजवादी पार्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा जाने निर्णय गरेको थियो।

मधेशको प्रदेश सभातर्फ पनि माओवादीका अधिकांश नेता पराजित भए। प्रदेशसभा सदस्यका लागि १५ क्षेत्रमा उम्मेदवार खडा गरेको माओवादीले ४ सिट मात्र जित्यो। महोत्तरी-१ (२), सर्लाही-४ (२), रौतहट-४ (१) र पर्सा-१ (१) मा माओवादीले जित्दा सप्तरी-१ (१), सप्तरी-२ (२), सिरहा-२ (१), सिरहा-४ (१), धनुषा-२ (२), महोत्तरी-४ (२), सर्लाही-२ (१), बारा-३ (१), बारा-४ (१), पर्सा-३ (१) र पर्सा ४-(२) मा भने पराजय खेप्नुपर्यो।
स्थानीय तह निर्वाचनमा पनि मधेशमा माओवादीको हैसियत सुखद देखिएन। त्यसबेला सत्तारुढ पाँच दलीय गठबन्धन भए पनि माओवादीले २०७४ को निर्वाचनमा जितेका स्थानीय तह पनि जोगाउन सकेन।
स्थानीय चुनावमा माओवादी केन्द्रले मधेशका १३६ स्थानीय तहमध्ये ९ स्थानमा जितेको छ। ७ वटा नगरमा मेयर र दुई गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका छन्। त्यस्तै, पाँच नगरमा उपमेयर र चार गाउँपालिकामा उपाध्यक्ष चुनिएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा यो पार्टीले १३ जना मेयर र ८ अध्यक्ष गरी २१ स्थानीय तहमा प्रमुख जितेको थियो। त्यस्तै, १८ जना उपमेयर र ६ जना गाउँपालिका उपाध्यक्ष मधेशमा जितेको थियो। यस पटक १३९ वडाध्यक्ष, १४० महिला सदस्य, १३४ दलित महिला सदस्य र २४९ सदस्यसहित जम्मा मधेशमा माओवादीका कुल ६८० जना स्थानीय जनप्रतिनिधि आएका छन्।
यसरी हरेक निर्वाचनमा माओवादी क्रमशः खुम्चिँदै जानुमा पार्टीभित्रको गुटबन्दी पनि कारक रहेको उक्त पार्टीकै नेताहरू स्वीकार्छन्। मधेशको राजनीतिमा माओवादीतर्फबाट गिरिराजमणि पोखरेल र मातृकाप्रसाद यादवबीच गुटबन्दीको प्रतिस्पर्धा हुने गरेकाले कमजोर हुन पुगेको माओवादीकै एक नेताले दाबी गरे। महोत्तरीमा माओवादीबाट राजनीति गरिरहेका ती नेताका अनुसार पार्टीबाट सधैं सत्तामा रहेका पोखरेल र यादवले मधेश विकासका लागि कुनै ठोस मोडल नल्याएकाले पनि अहिलेको अवस्था आएको हो।
अर्कोतर्फ पार्टीको महाधिवेशनदेखि नै देखिएको दुई नेताको टकरावले थप क्षति पुर्याएको ती नेताको दाबी छ। ‘पोखरेल र यादवबीच टकरावजस्तो भइदियो। अनि सत्तामा हुँदा पनि उहाँहरूले कुनै विकासको मोडल मधेशलाई दिन सक्नुभएन। यसकोे क्षति पार्टीले बेहोर्नुपर्यो,’ उनले भने।
मधेश राजनीतिका जानकार रोशन जनकपुरी मधेशमा माओवादी मात्र नभएर गणतन्त्रपछि उदायएकासँगै पुराना मधेशवादी दललाई पनि मतदाताले नपत्याएको देखिन्छ। ‘गणतन्त्रपछि आशा बोकेर आएका दलहरू एजेन्डाबाट हटे। आन्दोलनका बलमा उनीहरूले मधेशमा आफ्नो अस्तित्व बनाएका थिए। तर यी कुरालाई विस्तारै उनीहरूले भुल्दै गए,’ जनकपुरीले भने, ‘माओवादीले मधेशमा उठाएको जात, वर्ग, क्षेत्र र जातिका एजेन्डा इमानदारीपूर्वक उठाइरहेको र संसद् तथा सडकमा सक्रियता राखेको भए आज यो अवस्था आउने थिएन।’
जनकपुरीका अनुसार मधेशमा माओवादीको आकर्षण दोस्रो संविधानसभापछि घट्न थालेको हो। पहिलो संविधानसभा चुनावका बेला मधेश मुद्दाबारे माओवादी जति आक्रमक थियो, दोस्रो संंविधान सभा चुनावका बेला घट्यो। त्यसप्रति मधेश सन्तुष्ट हुन सकेन। 'माओवादीलाई मधेशले पत्याउन छाड्यो। यसको नतिजा हालै सम्पन्न निर्वाचनमा देखिएको छ,' उनले भने।