विराटनगर- मोरङ ग्रामथान ३ सिद्राहाका जयप्रकाश चौधरी (जेपी) गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्ष बन्नका लागि चुनावमा जान चाहेका थिए। वडाध्यक्षको उम्मेदवार हुनका लागि प्रयास पनि गरे। तर, निर्वाचन आफ्नो पक्षमा नआउलाका कि भन्ने उनलाई डर भयो। चुनाव लडेनन्।
वडाध्यक्ष हुन मन गरेका चौधरीलाई परिस्थितिले प्रदेशसभाको उम्मेदवार बनायो। थारु बाहुल्य क्षेत्र रहेको मोरङ-४ को प्रतिनिधि सभामा विनोद ढकाल, प्रदेश सभाको (ख) मा जीवन घिमिरेले टिकट पाउने निश्चित भएपछि उम्मेदवारको क्लस्टर मिलाउने क्रममा जयप्रकाशलाई प्रदेशसभाको टिकट मिल्यो। प्रदेश सभाका लागि नाम सिफारिस भएदेखि नै उनी करिव टिकट पाउनेमा निश्चित थिए।
चुनावी अभियानलाई तीव्रता दिएसँगै उनको पक्षमा माहोल बन्दै गएको थियो। माहोल राम्रो देखिएपनि मतगणनामा शुरुवाती अग्रता उनले लिन सकेनन्। उनको आफ्नो पालिकाको गणना शुरु भएपछि मतान्तरले घटाउँदै लगेका थिए।
विराटनगर-१९ को मत गणना गर्दा उनलाई जित्नका लागि आवश्यक हुने मत उनको पक्षमा आयो। कटहरीका वडा नम्बर ४, ५, ६ र ७ , ग्रामथान गाउँपालिका र बेलबारी नगरपालिकाको ५, ६ र ७ गणना गर्दा सम्म उनी ३५५ मतान्तरले अघि थिए। विराटनगर-१९ को गणना सकिँदा जयप्रकाशले ८८४ वडाको मत थप्दै नेपाली कांग्रेसका हेभीवेट उम्मेदवार नेविसंघका पूर्व केन्द्रीय सभापति गुरुराज घिमिरेलाई ४०६ मतान्तरले पराजित गरे। घिमिरेले १५ हजार ५९ मत ल्याउँदा चौधरीले १५ हजार ४६५ मत प्राप्त गरे।
विजयी भएपछि केही समयअघि मात्र वडाध्यक्ष बन्ने चाहना भएको तर डरले पछि हटेको सम्झिँदै उनले भने, 'वडाध्यक्ष बन्ने चाहना थियो। सांसद पदमा चुनाव जितियो। मतदातालाई धेरैधेरै धन्यवाद दिन चाहन्छु।'
४६ वर्षीय चौधरी १५ वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध भएर काम गरे। घरको आर्थिक अवस्था कमजोर रहेकाले जागिर खाँदै पढ्नुपर्ने बाध्यता थियो। जागिर नखाई अध्ययनलाई निरन्तरता दिन नसकिने भएपछि उनी २०६४ देखि विभिन्न संस्थाहरुमा आबद्ध रहे। उनी जुन संस्थामा आबद्ध भएपनि कामको प्रकृति एकै खालको थियो । महिला अधिकार, बालअधिकार, सशक्तीकरण, आवास अधिकारलगायतका क्षेत्रमा काम गर्ने संस्थामा उनले काम गरेका थिए।
दलित महिलाको अधिकार, महिलाको शिक्षा, शिक्षाबाट बञ्चित बालबालिकालाई अनिवार्य शिक्षाका लागि पैरवी, राम्रो विद्यालय, सामुदायिक विद्यालयको क्षमता विकास, समावेशीताका कुरा, हरेक क्षेत्रमा महिलाको सहभागीता, जिम्मेवार पदमा महिला, सशक्तीकरण, भूमीहिनलाई आवासको अधिकार, बाल अधिकार र उनीहरुको सर्वाङ्गीण विकासजस्ता सवाल उठाउँदा उठाउँदै उनले १५ वर्ष बिताए। उनले गरेका कामको परिणाम सानो क्षेत्रमा मात्रै देखियो। यसले सबै क्षेत्रमा व्यापकता पाउन सकेन। सामाजिक सेवामै आफूलाई समर्पित गरेका चौधरीलाई नीतिनिर्माण तहमा पुग्न सके यसले व्यापकता पाउने थियो भन्ने लागिरहनथ्यो। तर, त्यस स्थानसम्म पुग्नका लागि उनले मात्रै चाहेर सम्भव थिएन। प्रदेशसभा सदस्य भएर नीति निर्माण गर्ने उनको चाहना मोरङ ४ 'क' का मतदाताले अनुमोदन गरिदिएका छन्।
-1669210952.jpg?p=768&s=09dd33fa4573e77f65499acac54d64df)
प्रचार अवधि भर कृषिलाई चुनावी एजेण्डा बनाए। किसानका कुरा, मल, सिंचाई, भण्डारणको समस्या समाधान गर्नका लागि आफ्नो नीतिगत पहल हुने उनले बताए। दलित, बाँतरहरुको आर्थिक अवस्था सुधार, कृषिको समग्र विकास, कृषिमा आत्मनिर्भर बनाउने, कृषिको व्यावसायिकरण आफ्नो पहिलो प्राथमिकता रहेको चौधरीले बताएका छन्।
क्षमता विकाससँगै पूर्वाधारको विकासलाई पनि उनले समेटेका छन्। कृषि सडक निर्माण, भएका सडकहरुको स्तरोन्नति, स्थानीय खोलाहरुमा तटबन्ध निर्माण र खानेपानी विस्तार लगायतका सवालहरुलाई लिएर जनता समक्ष पुगेर मत मागेको चौधरीले बताए।
ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी विषयमा स्नातक गरेका चौधरी २०५१ सालदेखि एमालेमा आबद्ध भएका हुन्। तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट एमालेको राजनीतिमा आएका चौधरीले राजनीतिलाई नै पेसा बनाउने सोचेका थिएनन्। ‘सामाजिक क्षेत्रबाट आर्जन गरेको ज्ञान, सीपलाई नीति निर्माण तहमा पुगेर कार्यान्वयन गराउने लक्ष्यसहित यता लागेको हुँ,' जितेपछि राजनीतिको पृष्ठभूमिबारे उनले भने।
पारिवारिक राजनीतिक पृष्ठभूमि नभएका चौधरी सामान्य परिवारमा जन्मिएका थिए। एक वर्षमा नयाँ लुगा लगाउन पनि नपुग्ने आर्थिक अवस्थाबाट गुज्रिएर आएका जयप्रकाश प्रदेश सांसदमा निर्वाचित भएको खबरले स्थानीय खुशी भएका छन्। स्थानीय रामेश्वर चौधरीले भने, ‘जयप्रकाशको जितले जनतामा खुशी छाएको छ।’
संस्थापन (देउवा-सिटौला) समूहका उद्धव थापाले संस्थापन इतर समूहका घिमिरेलाई २ मत अन्तरले पराजित गरेका थिए। थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत ल्याएका थिए। गत वर्षको मंसिर २० गते प्रदेश सभापतिमा पराजित भएका घिमिरे एक वर्ष नपुग्दै अर्को पराजय भोग्न बाध्य भए।
