काठमाडौं– नेकपा एमाले नेता डा.राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी गगनकुमार थापालाई जितको बधाइ दिएका छन्। काठमाडौं क्षेत्र–४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यासी डा.भट्टराई थापाका निकटतम प्रतिद्वन्द्वी हुन्। भट्टराईले मंगलबार विज्ञप्ति जारी गरी काठमाडौं क्षेत्र–४ बाट कांग्रेस उम्मेदवार थापा विजयी भएकामा बधाई दिएका हुन्।
उनले भनेका छन्, ‘क्षेत्र–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकामा उहाँलाई मेरो हार्दिक बधाइ छ।’ भट्टराई थापासँग ७ हजार ४४७ मतान्तरसहित पराजित भएका हुन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘लोकतन्त्रमा एक पटकको जय–पराजय सधैंभरिका लागि रहँदैन। संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको लामो यात्रामा यस्ता कुराले तात्त्विक प्रभाव नपार्ने मान्यताका साथ म राजनीतिमा सक्रिय रहनेछु।’ उनले सत्ता गठबन्धनको अवस्थामा पनि एमालेलाई नेपाली जनताले भरपर्दो साथ र सहयोग दिएको बताए।