काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीमा दलहरू व्यस्त छन्। कुनै दल गठबन्धन बनाउने कसरतमा छन्, कतै गठबन्धनमा सिट बाँडफाँटको प्रयास जारी छ। योसँगै घोषणापत्र लेखन र उम्मेदवार चयनको काम पनि दलहरूको प्राथमिकतामा छ।
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमा दलहरूले उम्मेदवार चयन गर्नुपर्नेछ। तर प्रत्यक्षतर्फ चुनाव लड्न इच्छुक र टिकट पाउने सम्भावना रहेका महिला नेतृहरूको संख्या भने नगन्य छ।
दलहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट दिन हिचकिचाउने गरेको आरोप लाग्दै आएको छ। उम्मेदवारी सिफारिसमै महिलाको संख्या कम भएको भन्दै नेतृहरूले आक्रोशसमेत व्यक्त गरिररहेका छन्। तर कतिपय महिला नेतृहरूले समानुपातिक तर्फबाट सांसद बन्न सहज भएकाले प्रत्यक्षतर्फ चुनाव लड्न अनिच्छा देखाएको आरोप पनि लाग्दै आएको छ।
संविधानले समानुपातिक समावेशीको सिद्धान्तअनुरूप ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ। त्यस कारण दलहरूले अधिकांश महिलालाई समानुपातिक निर्वाचन प्रणालीबाट समेट्ने गरेका छन्। तर केही महिला नेतृहरूले प्रत्यक्ष चुनाव लड्ने तयारी गरिरहेका छन्। प्रतिनिधिसभाका १६५ सिटमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट १७ जना महिला नेतृले टिकट पाउने सम्भावना छ। यो सामग्री प्रत्यक्ष तर्फ चुनाव लड्ने तयारीमा रहेका नेतृ र उनीहरूको निर्वाचन क्षेत्रको लेखाजोखामा केन्द्रित छ।
कांग्रेसका ६ नेतृ चुनाव लड्ने तयारीमा
सत्तारुढ नेपाली कांग्रेसबाट ६ जना नेतृ प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा र काठमाडौं–३ बाट टिकट पाउने सम्भावना बोकेकी अम्बिका बस्नेत समानुपातिकमा परेका छन्। तीबाहेक ६ जना नेतृ चुनावी मैदानमा उत्रने तयारीमा छन्।
महालक्ष्मी उपाध्याय ‘डिना’
कांग्रेस सह–महामन्त्रीसमेत रहेकी डिनाको नाम मकवानपुर–२ बाट सर्वसम्मत सिफारिस भएको थियो। उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छिन्। उनी २०७४ मा समेत सोही क्षेत्रबाट चुनाव लडेकी थिइन्। उनी एमाले उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन्। खतिवडा अहिले नेकपा एसमा आबद्ध छन्। उनी यस पटक मकवानपुर–१ बाट चुनाव लड्नेछन्। अघिल्लो निर्वाचनमा खतिवडा ४६ हजार ४८१ मत ल्याएर विजयी हुँदा डिनाले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन्। मकवानपुर–२ मा दलहरू एकल प्रतिस्पर्धामा जाँदा एमाले बलियो देखिन्छ।
तर सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा गणित डिनाको पक्षमा छ। मकवानपुर–२ मा समेटिएका स्थानीय तहका वडाअध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्दा एमालेले ३६ हजार ८६६ मत प्राप्त गरेको थियो। कांग्रेसले ३४ हजार २४० मत प्राप्त गर्दा माओवादीले २२ हजार ६०७ मत, नेकपा एसले २ हजार ७१९ र राप्रपाले १ हजार ५३६ मत ल्याएको थियो। यो निर्वाचन क्षेत्रमा गठबन्धनको मत ५९ हजार ५६६ मत हो।
चित्रलेखा यादव
कांग्रेसबाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेकी अर्की नेतृ हुन्, चित्रलेखा यादव। अघिल्लो पटक समानुपातिक तर्फबाट सांसद बनेकी यादव यस पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छिन्। कांग्रेसकी पूर्वकोषाध्यक्षसमेत रहेकी यादव सिराह–२ बाट चुनाव लड्ने तयारीमा छन्। यो क्षेत्रमा २०७४ मा माओवादी केन्द्रका सुरेशचन्द्र यादव निर्वाचित भएका थिए।
यादवले २० हजार १५८ मत ल्याएर विजयी हुँदा तत्कालीन संघीय समाजवादी फोरमका शत्रुघ्नप्रसाद सिंहले १७ हजार २६० र कांग्रेसका रामचन्द्र यादवले १५ हजार ५९७ मत ल्याएका थिए। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यो निर्वाचन क्षेत्रमा जसपा बलियो देखिन्छ। तर जसपा सत्ता गठबन्धनमा छ। सोही कारण यादवलाई चुनाव जित्न सहज हुने विश्लेषण गरिएको छ।
स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा समेटिएका वडामा वडाध्यक्षहरूले पाएको मतका आधारमा जसपाले २१ हजार ९७, कांग्रेसले १९ हजार ४७४, माओवादीले ११ हजार ६५८ मत ल्याएका थिए। यस्तै, जनमत पार्टीले ५ हजार १०१, नेकपा एसले ३ हजार ९२३, लोसपाले ९७९ र राप्रपाले २५३ मत प्राप्त गरेका थिए। सिरहा–२ मा गठबन्धनको मत ५६ हजार १५२ हो।
सीतादेवी यादव
कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यस पटक पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। उनी अघिल्लो पटक समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्। उनले सिरहा–३ बाट चुनाव लड्ने तयारी गरेकी छन्। तर उनीसँगै उनका छोरा डा. सुवासचन्द्र यादव पनि प्रतिस्पर्धामा छन्। यादवले छोरालाई अघि सार्ने सम्भावना पनि छ। उक्त क्षेत्रमा सिरहाका पूर्वसभापति रामचन्द्र यादवले पनि दाबी गरेका छन्। यादवको निर्वाचन क्षेत्र सिरहा–२ हो।
सिरहा–२ बाट अघिल्लो पटक चुनाव लडेका रामचन्द्र तेस्रो भएका थिए। सिरहा–३ मा अघिल्लो निर्वाचनमा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका थिए। उनले २३ हजार २७२ मत ल्याएर विजयी हुँदा तत्कालीन संघीय समाजवादी फोरमका अशेश्वर यादवले २१ हजार २२० र कांग्रेसका अमर रेग्मीले ११ हजार ७७८ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा अघिल्लो पटक तेस्रो बनेको कांग्रेस यस पटक सत्ता गठबन्धनको मतका कारण बलियो अवस्थामा छ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा एकल प्रतिस्पर्धा हुँदा एमाले नै बलियो देखिन्छ। एमालेले २० हजार ३२८ मत पाउँदा कांग्रेसले १८ हजार २६, जसपाले १४ हजार ८९३, माओवादीले ९ हजार ४८१ नेकपा एसले ६ हजार २७४, जनमत पार्टीले १ हजार ५७७, राप्रपाले ९५४ र लोसपाले २५८ मत प्राप्त गरेका थिए। यो क्षेत्रमा गठबन्धनको मत ४८ हजार ६४७ मत हो।

किरण यादव
केन्द्रीय सदस्य किरण यादव महोत्तरी–२ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। यादव अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन्। उनलाई तत्कालीन राजपाका शरतसिंह भण्डारीले पराजित गरेका थिए। ३० हजार ७२२ मत ल्याएर भण्डारी विजयी हुँदा यादवले १३ हजार ९७४ मत प्राप्त गरेकी थिइन्। यस पटक यादवलाई सत्ता गठबन्धनको मतको आशा छ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा समेटिएका स्थानीय तहका वडाध्यक्षहरूले प्राप्त गरेको मत आधार मान्दा लोसपा बलियो देखिन्छ। लोसपाले १७ हजार ५७७ मत ल्याउँदा कांग्रेसले १६ हजार ९३८ मत ल्याएको थियो। यस्तै, जसपाले ८ हजार ५३२ मत प्राप्त गर्दा एमालेले ७ हजार ५७, माओवादीले ६ हजार ५०६, नेकपा एसले १ हजार १९६ र राप्रपाले १२९ मत प्राप्त गरेका थिए। महोत्तरी–२ मा सत्ता गठबन्धनको मत ३३ हजार १७२ हो।
सीता गुरुङ
गुरुङ पनि दोस्रो पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। तेह्रथुमकी गुरुङ अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन्। उनलाई नेकपा एमालेका भवानीप्रसाद खापुङले पराजित गरेका थिए। स्वास्थ्यमन्त्रीसमेत रहेका खापुङ अहिले नेकपा एसमा क्रियाशील छन्। खापुङ २१ हजार ३३५ मत ल्याएर विजयी हुँदा गुरुङले १९ हजार ३१४ मत प्राप्त गरेकी थिइन्। यस पटक सत्ता गठबन्धनको समेत मत थपिँदा गुरुङलाई सहज हुने विश्लेषण गरिएको छ। तर पार्टीभित्रकै तुलसी सुब्बा फ्याक्टरको व्यवस्थापन भने गुरुङका लागि चुनौतीपूर्ण देखिन्छ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा तेह्रथुममा एमाले बलियो देखिन्छ। एमालेले २२ हजार ३१२ मत प्राप्त गर्दा कांग्रेसले २१ हजार ९११, माओवादीले ६८६ र नेकपा एसले ५४६ मत प्राप्त गरेका थिए। तेह्रथुममा गठबन्धनको मत २३ हजार १४३ मत हो। यसरी हेर्दा तेह्रथुममा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
एमालेबाट ५ नेतृको सम्भावना
एमालेबाट ११ जना महिला नेतृको नाम प्रतिनिधिसभा सदस्यका लागि पार्टीको तल्लो तहबाट सिफारिस भए पनि ५ जना नेतृले टिकट पाउने सम्भावना धेरै रहेको नेताहरू बताउँछन्। यीसमध्ये भगवती चौधेरी र जुलीकुमारी महतोको नाम सर्वसम्मत सिफारिस भएको थियो।
भगवती चौधरी
सुनसरी–३ बाट चौधरीको नाम सर्वसम्मत सिफारिस भएको छ। उनले टिकट पाउने पक्काजस्तै रहेको एमाले नेताहरू बताउँछन्। चौधरी २०७० मा भएको संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन्। उनी तेस्रो प्रयासमा यो क्षेत्रमा विजयको झन्डा फह¥याने प्रयासमा छन्। अघिल्लो निर्वाचनमा ३८ हजार ९७२ मत ल्याएर गच्छदार विजयी हुँदा चौधरीले ३८ हना ६५१ मत प्राप्त गरेकी थिइन्।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मत आधारमा सुनसरी–३ मा एमाले बलियो देखिन्छ। एमालेले ३५ हजार ५३ मत ल्याउँदा कांग्रेसले ३३ हजार ५७१, जसपाले ५ हजार ५१६, माओवादीले ३ हजार ८००, राप्रपाले ३ हजार ३३१ र नेकपा एसले ६२६ मत प्राप्त गरेका थिए।
जुलीकुमारी महतो
धनुषा–३ बाट महतोको नाम सर्वमम्मत सिफारिस भएको छ। उनले पनि टिकट पाउने पक्काजस्तै भएको एमाले नेताहरू बताउँछन्। महतो यसअघि समानुपातिकतर्फबाट सांसद् बनेकी थिइन्। धनुषा–३ मा अघिल्लो निर्वाचनमा एमालेले तत्कालीन राजपा (हाल लोसपा) का नेता राजेन्द्र महतोलाई समर्थन गरेको थियो। ३० हजार ७२५ मत ल्याएर महतो विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधिले २७ हजार ८४७ मत प्राप्त गरेका थिए।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतका आधारमा यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। कांग्रेसले २२ हजार ४२८ मत ल्याउँदा एमालेले १७ हजार ९६, लोसपाले ८ हजार ७६३, जसपाले ८ हजार २४३ मत ल्याएका थिए। यस्तै, नेकपा एसले ३ हजार ७२५, जनमत पार्टीले २ हजार ४९१, माओवादीले ६६५ र राप्रपाले ५०१ मत प्राप्त गरेका थिए।
विद्या भट्टराई
कास्की–२ बाट विद्या भट्टराईले टिकट पाउने पक्काजस्तै छ। पति रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा विजय प्राप्त गरेकी भट्टराईलाई पुनः दोहो¥याउने निश्चितजस्तै रहेको एमाले नेताहरू बताउँछन्।
२०७६ मंसिरमा भएको उपनिर्वाचनमा भट्टराईले कांग्रेसका खेमराज पौडेललाई पराजित गरेकी थिइन्। भट्टराईले २४ हजार ३९४ मत ल्याउँदा पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका थिए। वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा एमाले नै बलियो देखिन्छ। एमालेले २ हजार ११६४ मत प्राप्त गर्दा कांग्रेसले १९ हजार ८ मत प्राप्त गरेको थियो। राप्रपाले २ हजार ७९, नेकपा एसले २ हजार ५३, माओवादीले १ हजार १९८ मत प्राप्त गर्दा जसपाले १५३ मत ल्याएको थियो।

शान्ता चौधरी
यसअघि समानुपातिक सांसद बनेकी शान्ता चौधरी यस पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। एमालेले उनको नाम दाङ–१ बाट सिफारिस गरेको छ। अघिल्लो निर्वाचन पनि यो क्षेत्र एमालेले नै जितेको थियो। दाङ–१ मा एमालेका मेटमणि चौधेरी ३७ हजार ९०८ मत ल्याएर विजयी हुँदा कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत प्राप्त गरेकी थिइन्। सहरी विकासमन्त्रीसमेत रहेका मेटमणि अहिले नेकपा एसमा क्रियाशील छन्। सोही कारण शान्ताले टिकट पाउने सम्भावना प्रबल छ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। कांग्रेसले २९ हजार ७५७ मत प्राप्त गर्दा एमालेले २७ हजार २५, माओवादीले १९ हजार २७६, राप्रपाले २ हजार ३५०, नेकपा एसले २ हजार ३४१ र जसपा ८०७ मत प्राप्त गरेका थिए।
पद्मा अर्याल
स्याङ्जा–२ बाट यसअघि पनि निर्वाचित भएकी एमाले सचिव पद्मा अर्याल जितलाई निरन्तरता दिने दाउमा छन्। उनले स्याङ्जा–२ बाट टिकट पाउने पक्का छ। अघिल्लो निर्वाचनमा उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। ३५ हजार १४२ मत ल्याएर अर्याल विजयी हुँदा कांग्रेसका श्रेष्ठले ३१ हजार ४३६ मत ल्याएका थिए।
स्थानीय तहमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ। कांग्रेसले ३६ हजार ८०६ मत ल्याउँदा एमालेले ३४ हजार ८०९ मत ल्याएको थियो। यस्तै, माओवादीले १ हजार २४३, राप्रपा ५११ र नेकपा एसले २३३ मत प्राप्त गरेको थियो।
नेकपा माओवादीबाट ५ नेतृ मैदान उत्रिँदै
नेकपा माओवादी केन्द्रबाट पाँच महिला नेतृ प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। यी पाँच नेतृले टिकट पाउने सम्भावना धेरै छ।
पम्फा भुसाल
ऊर्जामन्त्रीसमेत रहेकी नेतृ भुसाल ललितपुर–३ बाट चुनाव लड्ने पक्का छ। उनी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। २४ हजार ३६ मत ल्याएर भुसाल निर्वाचित हुँदा कांग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२८ मत प्राप्त गरेका थिए।
स्थानीय तह निर्वाचनको परिणामलाई आधार मान्ने हो भने ललितपुर–३ मा कांग्रेस बलियो छ। कांग्रेसले १८ हजार ५४५ मत ल्याउँदा एमालेले १७ हजार ७०९, माओवादीले ७ हजार ७२७, नेकपा एसले ५ हजार १२९ र राप्रपाले ४ हजार ३४२ मत ल्याएका थिए।
बिना मगर
कञ्चनपुर–१ मा मगर दोस्रो जितको खोजिमा छन्। उनले टिकट पाउने पक्का छ। त्यस कारण उनी चुनावी अभियानमा सक्रिय छिन्। अघिल्लो निर्वाचनमा पनि उनले जित निकालेकी थिइन्। ३८ हजार ४६७ मत ल्याएर मगर विजयी हुँदा कांग्रेसका दिवानसिंह विष्टले १९ हजार २१९ मत प्राप्त गरेका थिए।
स्थानीय तह निर्वाचनका परिणामका आधारमा यो क्षेत्रमा एमाले बलियो देखिन्छ। एमालेले १८ हजार ७७३ मत ल्याउँदा कांग्रेसले १८ हजार ७३२, माओवादीले १५ हजार २८९, नेकपा एसले ३ हजार ५२१ र राप्रपाले २ हजार ६९२ मत ल्याएका थिए।

रेखा शर्मा
यसअघि समानुपातिक सांसद रहेकी रेखा शर्मा यस पटक प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। नेकपा माओवादी केन्द्रले दाङ–२ बाट उनको नाम सिफारिस गरेको छ। अघिल्लो पटक यही क्षेत्रबाट निर्वाचित भएका कृष्णबहादुर महरा समानुपातिकतर्फबाट उम्मेदवार बनेपछि शर्माले टिकट पाउने सम्भावना धेरै छ। अघिल्लो निर्वाचनमा महरा ४० हजार ४२ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका राजु खनालले २५ हजार ८९७ मत प्राप्त गरेका थिए।
स्थानीय तह निर्वाचनको परिणामअनुसार यो क्षेत्रमा एमाले बलियो देखिन्छ। एमालेले ३३ हजार ५९३ मत प्राप्त गरेको थियो। कांग्रेसले २३ हजार ३०१, माओवादीले १० हजार ४७८, राप्रपाले ३ हजार २६४ र नेकपा एसले २ हजार ९४२ मत प्राप्त गरेका थिए।
ओनसरी घर्ती
पूर्वसभामुख घर्तीको नाम रोल्पाबाट सिफारिस भएको छ। तर रोल्पामा उनका श्रीमान् वर्षमान पुन उम्मेदवार हुने निश्चित छ। त्यस कारण घर्ती काठमाडौं–२ बाट उम्मेदवार हुने सम्भावना धेरै छ। अघिल्लो पटक उनी समानुपातिक तर्फबाट सांसद बनेकी थिइन्। काठमाडौं–२ मा अघिल्लो निर्वाचनमा एमालेबाट माधवकुमार नेपाल विजयी भएका थिए। नेपाल अहिले नेकपा एसका अध्यक्ष हुन्। नेपाल यस पटक रौतहट–१ बाट चुनाव लड्दैछन्। त्यस कारण सत्ता गठबन्धनले काठमाडौं–२ मा घर्तीलाई अघि सार्ने सम्भावना धेरै छ।
अघिल्लो निर्वाचनमा २७ हजार ३६६ मत ल्याएर नेपाल विजयी भएका थिए। कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार ९०३ मत प्राप्त गरेका थिए। स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा यो क्षेत्रमा एमाले बलियो देखिन्छ। एमालेले १७ हजार ३२८ मत ल्याउँदा कांग्रेसले १४ हजार १२८, नेकपा एसले ७ हजार ९११, राप्रपाले ७ हजार २०० र माओवादीले ३ हजार १३१ मत प्राप्त गरेका थिए।
कमला रोका
रुकुम पूर्वमा रोका दोस्रो जितको खोजीमा छन्। अघिल्लो निर्वाचनमा उनले कांग्रेसका हरिशंकर घर्ती मगरलाई पराजित गरेकी थिइन्। १० हजार ४३४ मत ल्याएर रोका विजयी हुँदा मगरले ४ हजार ६ मत प्राप्त गरेका थिए। स्थानीय तहको मत परिणामका आधारमा रुकुम पूर्वमा माओवादी बलियो देखिन्छ। माओवादीले ११ हजार ६२१ मत ल्याउँदा कांग्रेसले ६ हजार ५३३ र एमालेले ४ हजार ५२१ मत प्राप्त गरेका थिए।
नेकपा एसकी एक्ली ‘वृहस्पति’ रामकुमारी
नेकपा एसबाट प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेकी एक्ली नेतृ हुन्, रामकुमार झाँक्री। नेकपा एसकी सचिवसमेत रहेकी झाँक्री गुल्मी–२ बाट चुनाव लड्ने तयारीमा छन्। यसअघि उनी समानुपातिकतर्फबाट सांसद् बनेकी थिइन्। गुल्मीमा उनले एमालेका सचिव गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। विष्ट अघिल्लो निर्वाचनमा विजयी भएका थिए। ३४ हजार ६१८ मत ल्याएर विष्ट हुँदा कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत प्राप्त गरेका थिए।
स्थानीय तह निर्वाचन परिणामका आधारमा यो क्षेत्रमा एमाले बलियो देखिन्छ। एमालेले ३१ हजार २५३ मत ल्याउँदा कांग्रेसले २९ हजार ८२१, माओवादीले १ हजार ८४१, नेकपा एसले ६५८ र राप्रपाले १०१ मत प्राप्त गरेका थिए।
