शुक्रबार, असोज २१, २०७९

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

खिला कार्की  |  काठमाडौं, शुक्रबार, असोज ७, २०७९

खिला कार्की

खिला कार्की

शुक्रबार, असोज ७, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रको परिणामबारे चोक–चोक र चिया पसलमा समेत चर्चा सुरु भएको छ। २०७४ को निर्वाचनमा वाम गठबन्धन भएको अवस्थामा समेत कांग्रेसले ४ वटा निर्वाचन क्षेत्रमा जित निकालेको थियो। 

२०७४ मा काठमाडौं–१ बाट पूर्वमहामन्त्री प्रकाशमान सिंह, काठमाडौं–४ बाट वर्तमान महामन्त्री गगन थापा, काठमाडौं–६ बाट केन्द्रीय सदस्य भीमसेनदास प्रधान र काठमाडौं–१० बाट केन्द्रीय सदस्य राजन केसीले जित हात पारेका थिए। २०७४ मा वाम गठबन्धन भएको अवस्थामा काठमाडौं– १ र १० नम्बर माओवादीको भागमा परे पनि दुवै क्षेत्रमा पराजित भएको थियो। बाँकी क्षेत्र एमालेका भागमा परेका थिए। एमालेका तर्फबाट काठमाडौं–२ बाट विजयी माधव नेपाल र काठमाडौं–८ बाट विजयी जीवनराम श्रेष्ठ अहिले नेकपा एकीकृत समाजवादीमा छन्। 

२०७४ मा एमालेले जितेको काठमाडौं–३ बाट विजयी कृष्ण राई, काठमाडौं–५ बाट विजयी ईश्वर पोखरेल, काठमाडौं–७ बाट विजयी रामवीर मानन्धर र काठमाडौं–९ बाट विजयी कृष्णगोपाल श्रेष्ठ भने एमालेमै छन्।

तर अहिले २०७४ को जस्तो अवस्था छैन। २०७४ मा वाम गठबन्धन थियो। अहिले कांग्रेस, माओवादी, एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीचमा गठबन्धन हुँदै छ। यसले गर्दा पनि काठमाडौं निर्वाचनलाई चासोका साथ हेरिएको छ। चासो निर्वाचन हारजितको मात्र नभएर काठमाडौंका कुन क्षेत्र पाँच दलीय गठबन्धनका कुन दललाई पर्छ भन्ने पनि देखिन्छ। पाँच दलीय गठबन्धन मात्र होइन, प्रमुख विपक्षी एमालेले पनि राप्रपालगायतका साना दलसँग गठबन्धन गर्दा कुन–कुन क्षेत्रमा उम्मेदवार दिन्छ, कुन–कुन क्षेत्र छाड्छ भन्ने पनि चासोका साथ हेरिएको छ।

अर्कोतर्फ काठमाडौं महानगरपालिकाको निर्वाचनमा बालेन साह स्वतन्त्र उमेदवारी दिएर महानगर प्रमुख भएपछि काठमाडौंमा स्वतन्त्र उम्मेदवारको संख्या ह्वात्तै बढेको छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवार मात्रै नभएर नयाँ नयाँ पार्टीका तर्फबाट समेत उम्मेदवारी घोषणा भएकाले पुराना पार्टीहरूलाई स्वतन्त्र उम्मेदवार र नयाँ पार्टीका उम्मेदवार चुनौती हुने देखिन्छ।   

यस पटकको निर्वाचनमा कांग्रेस एक्लै लडदा पनि काठमाडौंका १० मध्ये ८ निर्वाचन क्षेत्रमा सहजै जित निकाल्न सक्ने देखिएको नेताहरूको भनाइ छ। तर सत्ता गठबन्धनका कारण काठमाडौंका केही जित्न सक्ने क्षेत्र छाड्नुपर्ने भएकाले कांग्रेसलाई घाटा हुने देखिएको छ। कांग्रेसभित्र आफूले जित्न सक्ने क्षेत्र अरू दललाई नदिन दबाब पनि बढिरहेको छ। गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूले पाएको मतलाई आधार मान्दा अधिकांश निर्वाचन क्षेत्रमा सत्ता नेतृत्व गरिरहेको कांग्रेस बलियो देखिएको छ। 

काठमाडौं–१ : चिरपरिचित प्रतिस्पर्धी

नेपाल समय

काठमाडौं क्षेत्र नम्बर १ कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको क्षेत्र हो। यो क्षेत्रमा यस पटक पनि सिंह नै उम्मेदवार बन्ने निश्चित छ। २०७४ मा कांग्रेस नेता सिंहले १० हजार ९३६ मत ल्याएका थिए। उनका प्रतिद्वन्द्वी विवेकशील साझाका रवीन्द्र मिश्रले १० हजार ११८ मत पाएका थिए। यो क्षेत्रमा यस पटक पनि सिंहका चिरपरिचत प्रतिस्पर्धी रवीन्द्र मिश्र उम्मेदवार बन्दै छन् । उनी यस पटक राप्रपाबाट उम्मेदवार बन्ने सम्भावना छ । उनी अध्यक्ष राजेन्द्र लिङदेनपछिको वरीयताको उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्न लागेका हुन्। मिश्र राप्रपाबाट उम्मेदवार बनेर एमालेले सहयोग गरे यो क्षेत्रको प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ। यो क्षेत्रमा स्थानीय तहको मतलाई आधार मान्दा कांग्रेस पहिलो शक्ति हो भने एमाले दोस्रो। यो क्षेत्रमा कांग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, माओवादीको १ हजार १५९, राप्रपाको १ हजार १५९ र जसपाको २६ मत छ। यसबाहेक केही मत नेकपा एसको पनि यो क्षेत्रमा छ। यति हुँदा पनि एमाले र राप्रपाको गठबन्धन भएर मिश्र उम्मेदवार हुँदा दुवै गठबन्धनको हाराहारी मत देखिएकाले प्रतिस्पर्धा रोचक हुने देखिन्छ। काठमाडौं–१ बाट रवि लामिछानेको स्वतन्त्र पार्टीबाट पुकार बमले उम्मेदवारी दिँदै छन् भने नेपाल सुशासन पार्टी खोलेका पूर्वडिआईजी रमेश खरेलले पनि यही क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन्। एमालेले पनि काठमाडौं–१ बाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरेको छ।  

काठमाडौं–२ : सधैं टुरिस्ट जनप्रतिनिधि 


नेपाल समय

काठमाडौं २ नम्बर क्षेत्रबाट २०७४ को निर्वाचनमा एमालेका माधवकुमार नेपाल विजयी भएका थिए। नेपाल अहिले नेकपा एसका अध्यक्ष छन्। नेपाल अहिले चुनाव लड्न रौतहट–१ मा जाने भएपछि यो क्षेत्र पाँच दलीय गठबन्धनमा कसको भागमा पर्ने भन्ने निश्चित छैन। यो क्षेत्रमा कांग्रेस, माओवादी र नेकपा एसको दाबी छ। तर यो क्षेत्रमा दाबी गर्ने नेकपा एसका उपाध्यक्ष प्रमेश हमालको समानुपातिकको बन्दसूचीमा नाम समावेश भएकाले यो क्षेत्रको दाबी उसले छाडेको स्पष्ट हुन्छ। यो क्षेत्रबाट माओवादीले पूर्वसभामुख ओनसरी घर्तीको नाम सिफारिस गरेको छ। माओवादीले ओनसरी  घर्तीको नाम काठमाडौं–२ मा सिफारिस गरेकाले मोटामोटी पाँच दलका बीचमा यो क्षेत्र माओवादीका भागमा पर्ने सहमति भइसकेको अनुमान लगाउन सकिन्छ। यो क्षेत्रमा प्रतिनिधिसभाका लागि कांग्रेसले पुराना नेता लोकेश ढकाल, पूर्वसांसद दीपक कुइँकेल र क्षेत्रीय सभापति कवीर शर्माको नाम सिफारिस गरेको छ। एमालेले मणिराम फुँयालको एकल नाम यो क्षेत्रबाट सिफारिस गरेको छ। 

काठमाडौं–२ को भूगोलमा यो क्षेत्रमा बाहिरका उम्मेदवारले प्रतिस्पर्धा गर्दै आएका छन्। २०४८ मा काठमाडौंमा ५ वटा क्षेत्र हुँदाको अधिकांश भू–भाग अहिलेको क्षेत्र नम्बर २ मा पर्दछ। २०४८ मा यो क्षेत्र कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको चुनावी क्षेत्र हो। यो क्षेत्रमा २०४८ मा भण्डारीले जित निकालेका थिए। २०४८ देखि कहिल्यै पनि स्थानीय उम्मेदवारले जित हात पारेका छैनन्, २०७० को  उपचुनावबाहेक। २०७० मा निर्वाचित भएका माधव नेपालले यो क्षेत्र छाडेपछि कांग्रेस उम्मेदवार दीपक कुइँकेल निर्वाचित भएका थिए। भट्टराई र भण्डारी दुवै यो क्षेत्रका स्थानीय थिएनन्। भण्डारीको निधनपछि २०५० मा भएको उपचुनावमा यो क्षेत्रबाट राष्ट्रपति विद्या भण्डारी विजयी भइन्। भण्डारी २०५१ र २०५६ मा यो क्षेत्रबाट जनप्रतिनिधि बनिन्। यद्यपि काठमाडौं ७ वटा निर्वाचन क्षेत्रमा विभाजित हुँदा भने यो क्षेत्रमा अहिलेको क्षेत्र नम्बर १, ३ र ४ का केही भू–भाग समेटिएको थियो। यो क्षेत्रमा २०६४ देखि एमाले नेता माधव नेपालले प्रतिस्पर्धा गर्दै आएका थिए। नेपालले २०६४ मा जित निकाल्न नसके पनि माओवादीका झक्कु सुवेदी पनि यो क्षेत्रभन्दा बाहिरकै जनप्रतिनिधि बने। 

२०७४ मा नेपालले २७,३६६ मत पाउँदा कांग्रेसका दीपकप्रसाद कुँइकेलले १४ हजार ९०३ मत ल्याएका थिए। गत  स्थानीय तह निर्वाचनमा एमालेले यो क्षेत्रमा १७ हजार ३२८ मत पाएको छ भने कांग्रेसले १४ हजार १२८, माओवादीले ३ हजार १३१, एकीकृत समाजवादीले ७ हजार ९११ र जसपाले १२९ मत पाएको छ।

काठमाडौं–३ : एमालेका पुरानै, कांग्रेसबाट को? 

नेपाल समय

२०७४ को निर्वाचनमा ४५ सय बढी मतान्तरसहित एमालेले जितेको यो क्षेत्रमा गत स्थानीय तह चुनावमा भने कांग्रेस बलियो देखिएको छ। गठबन्धन नगरी कांग्रेस एक्लै गए पनि यो क्षेत्रमा एमालेका उम्मेदवारले विजय हासिल गर्न कठिन देखिएको छ। गठबन्धन भए यो क्षेत्रबाट गठबन्धनका उम्मेदवारले सहजै जित निकाल्ने देखिन्छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट एमालेका कृष्ण राईले १९ हजार १६९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अम्बिका बस्नेतले  १४ हजार ८८४ मत ल्याएकी थिइन्। गत स्थानीय तह निर्वाचनको परिमाण हेर्दा कांग्रेसको १५ हजार ७९५, एमालेको १४ हजार ८७६ माओवादीको १ हजार ७३०, राप्रपाको १ हजार ३१४, एकीकृत समाजवादीको १० मत देखिन्छ। 

यो क्षेत्रमा एमालेले वर्तमान सांसद कृष्ण राईलाई उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छ भने कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाका पूर्वमेयर सन्तोष चालिसे र महाधिवेशन प्रतिनिधि हरिबोल भण्डारीको नाम सिफारिसमा परेको छ। २०७४ मा कांग्रेसबाट उम्मेदवार बनेकी अम्बिका बस्नेतको नाम कांग्रेसले यस पटक समानुपातिकको बन्दसुचीमा समावेश गरेको छ। यो क्षेत्रमा सञ्चारकर्मी हरिशरण लामिछाने सरकारी जागिर छाडेर चुनावी मैदानमा उत्रिने घोषणा गरिसकेका छन्।  रेडियो नेपालमा मुख्य समाचार सम्पादक पदमा कार्यरत हरिशरण ‘स्वतन्त्र राष्ट्रिय सन्जाल’ नामक अभियानमा संलग्न भएर दलबाट दिक्क बनेका मानिसलाई त्यसमा संगठित गर्न सक्रिय छन्। यही क्षेत्रमा हरिशरणका भाइ अर्थात् स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि आँखा लगाइरहेका छन्। तर रविले आफ्नो उम्मेदवारी भने घोषणा गरिसकेका छैनन्। 

काठमाडौं–४ : पुरानै प्रतिस्पर्धीबीच टक्कर

नेपाल समय

काठमाडौं–४ कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो। यो क्षेत्रबाट गगन दुई पटक निर्वाचित भइसकेका छन्। २०७० मा एमालेका निर्मल कुइँकेललाई पराजित गरेका गगनले २०७४ मा वाम गठबन्धन भएको अवस्थामा पनि एमाले अध्यक्ष केपी ओलीका विश्वास पात्र राजन भट्टराईलाई पराजित गरेका थिए। गगन २०६४ मा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका थिए। २०७४ मा गगन २५ हजार ५५८ मत ल्याएर निर्वाचित भएका थिए। एमालेका राजन भट्टराई १८ हजार १४० मत ल्याएर पराजित भएका थिए।

काठमाडौंको यो क्षेत्रको चुनावलाई अत्यधिक चासोका साथ हेर्ने गरिएको छ। कांग्रेस महामन्त्री गगन र एमाले अध्यक्ष ओलीका विश्वास पात्र एंव परराष्ट्र सल्लाहकार राजनबीचमा यस पटक कडा टक्कर हुने देखिन्छ। वाम गठबन्धन भएका बेला राजनलाई ७ हजार ४१८ मतले हराएका थिए, गगनले। तर यस पटक स्थानीय तहमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्दा एमालेको मत कांग्रेसको भन्दा बढी देखिन्छ। यस पटक गगनलाई गठबन्धनको भर छ। यद्यपि एमाले र राप्रपाबीच गठबन्धन भएको अवस्थामा यो क्षेत्रमा पाँच दलीय गठबन्धन ५३८ मतले मात्र अगाडि देखिन्छ। गगनलाई पपुलर मतको भरथेग हुने कांग्रेस नेताहरू बताउँछन्।  

स्थानीय तहमा वडा अध्यक्षहरूले पाएको मत परिणामअनुसार एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६३, माओवादीले ८८४, एकीकृत समाजवादीले २ हजार ४१४, राप्रपाले २ हजार २९३, जसपाले ३१७ मत प्राप्त गरेको देखिन्छ। गगनको क्षेत्रमा ३ जनाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। नेपाल पुँजी बजार लगानीकर्ता संघ अध्यक्षसमेत रहेकी एमाले कार्यकर्ता राधा पोखरेल, सामाजिक सन्जालमा चर्चित मुकुन्द घिमिरे (मुकुन्दे) र  इन्जिनियर आकर्षण पोखरेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन्। 

काठमाडौं–५ : आशावादी ईश्वर 

नेपाल समय

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित भएको क्षेत्र हो, यो। कांग्रेस नेता नरहरि आचार्यसंग दुई पटक पराजित भएपछि वाम गठबन्धनका कारण ईश्वर २०७४ मा काठमाडौं–५ बाट निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा पोखरेलले २३ हजार २९ मत पाएका थिए। ईश्वरसँग २०७४ मा प्रतिस्पर्धामा रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए। यस पटक पनि यो क्षेत्रबाट एमालेले ईश्वरको एकल नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ। कांग्रेसले प्रवक्ता डा. महत, क्षेत्रीय सभपाति रमेश खड्का, श्याम खड्का, प्रेम खड्का, दामोदर खड्का, सुधा शर्मा, सम्पूर्णनारायण श्रेष्ठलाई सिफारिस गरेको छ। 

यो क्षेत्र पाँच दलीय गठबन्धन हुँदा कसको भागमा पर्ने पनि निश्चित नभइसके पनि कांग्रेसको भागमा पर्ने सहमति भइसकेको नेताहरूले बताएका छन्। यो क्षेत्रमा नेकपा एसको पनि दाबी देखिन्छ। नेकपा एसका तर्फबाट सुदेश पराजुलीको नाम सिफारिसमा परेको छ। सुदेश नेकपा एसको विद्यार्थी संगठनका अध्यक्ष हुन्। कांग्रेसले यो क्षेत्रमा सिफारिसमा परेका नामभन्दा बाहिरबाट अर्थशास्त्री एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने सम्भावना रहेको नेताहरूले बताएका छन्। स्थानीय तह निर्वाचनमा पनि एमालेको मत गठबन्धनको भन्दा बढी छ। काठमाडौंमा गठबन्धनभन्दा धेरै मत रहेको क्षेत्र यो मात्रै हो। स्थानीय तह निर्वाचनमा एमालेले १९ हजार ७०३, कांग्रेसले १४ हजार ८५३, माओवादीले १ हजार १६८, राप्रपाको २ हजार ८२२ र  एकीकृत समाजवादीको १ हजार ८२७ मत देखिन्छ। 

यो क्षेत्रमा २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा विवेकशील पार्टीका तर्फबाट मेयरकी उम्मेदवार रञ्जु दर्शना मैदानमा उत्रिने तयारीमा छन्। काठमाडौं महानगरको मेयरमा उठेकी रञ्जुले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन्। यसपालि उनी प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रने तयारीमा छन्। २०७० को चुनावमा काठमाडौं–५ बाट विवेकशील नेपाली दलका संस्थापक नेता उज्ज्वल थापाले चुनाव लडेका थिए। त्यसबेला रञ्जुले थापाका लागि भोट मागेकी थिइन्। कोभिडका कारण अघिल्लो वर्ष थापाको निधन भइसकेको छ।

काठमाडौं–६ : भीमसेन कि सबुज? 

नेपाल समय

काठमाडौं क्षेत्र–६ कांग्रेस एक्लैले पनि सहज जित निकाल्ने क्षेत्र हो। अघिल्लो निर्वाचनमा कांग्रेसका भीमसेनदास प्रधान १६ हजार ७८५ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट माओवादीका झक्कुप्रसाद सुवेदीले १५ हजार ४८५ मत ल्याएका थिए। स्थानीय तह चुनावको नतिजा हेर्दा काठमाडौं–६ मा कांग्रेसको १७ हजार २७७, एमालेको १४ हजार ३०३, माओवादीको २ हजार ४६२, एकीकृत समाजवादीको १ हजार ८५९, राप्रपाको १ हजार ८१६ मत छ। 

तर यो क्षेत्रमा कांग्रेसभित्र आन्तरिक किचलो देखिन्छ। यो क्षेत्रमा कांग्रेसबाट जिल्ला सभापति कृष्ण बानिया (सबुज) र पूर्वमन्त्री भीमसेनदास प्रधानको नाम सिफारिस भएको छ। यो क्षेत्रमा यी दुई नेताबीचको आन्तरिक किचलो चर्को छ। बानिया प्रकाशमान सिंह निकट मानिन्छन् भने प्रधान कृष्ण सिटौला निकट मानिन्छन्। बानिया र प्रधानको द्वन्द्वभन्दा पनि सिंह र प्रधानबीचको द्वन्द्वका कारण यो क्षेत्रमा समस्या पर्ने देखिन्छ। एमालेले यो क्षेत्रमा कल्पना रिजाल, योगेन्द्र संग्रौला, लेखनाथ फुँयाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिस गरेको छ। एमालेमा पनि यो क्षेत्रमा चर्चित उम्मेदवार देखिँदैनन्। 

स्वतन्त्र रूपमा टिच फर नेपालका सह–संस्थापक एवं शिक्षा सुधार अभियन्ता शिशिर खनाल रविको स्वतन्त्र पार्टीबाट र पपगायक सञ्जय श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। खनालले ४ मंसिरमा चुनावको मिति तोकिएको भोलिपल्टै काठमाडौं–६ बाट स्वतन्त्र लड्ने घोषणा गरेका थिए। उनले लामो समय शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेर काम गरेका छन्। राप्रपाका श्रेष्ठले पार्टीबाट टिकट नपाए स्वतन्त्र उठ्ने उद्घोष गरिसकेका छन्। २०७० मा भएको दोस्रो संविधानसभा चुनावमा श्रेष्ठ राप्रपा नेपालका तर्फबाट उम्मेदवार बनेका थिए।

काठमाडौं–७ : नेता व्यवस्थापन गर्ने क्षेत्र 

नेपाल समय

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा कांग्रेसका उम्मेदवार थिएनन्। यो क्षेत्रमा कांग्रेसले राप्रपाका विक्रम थापालाई सहयोग गरेको थियो। वाम गठबन्धनका तर्फबाट एमालेका रामवीर मानन्धर १८ हजार १०२ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत ल्याएका थिए। अहिले यो क्षेत्रमा एमालेका मानन्धर सिफारिसमा परेनन्। उनी वामदेव गौतम निकट भएका कारण सिफारिसमा नपरेको एमाले नेताहरूले बताएका छन्। यो क्षेत्रलाई अहिले गठबन्धनका नेताहरूले मात्र  होइन, एमाले नेताहरूले पनि नेता व्यवस्थापन गर्ने क्षेत्रका रूपमा लिएका छन्।

एमालेले यो क्षेत्रबाट बिपी ढकाल, इन्दिरा पन्त, श्याम घिमिरे, विद्यासुन्दर शाक्य र रघुजी पन्तको नाम सिफारिस गरेको छ। यीमध्ये रघुजी पन्त समानुपातिक सूचीमा परिसकेका छन्। पन्तबाहेक यो क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने कोही नेता छैनन्। त्यसो हुँदा एमालेले यो क्षेत्रमा गठबन्धन गरेको अवस्थामा राप्रपालाई सहयोग गर्न सक्ने संकेत देखिन्छ। त्यस्तै, कांग्रेसबाट सिफारिस विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, डा.रामशरण थपलिया, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाईं, सरोज थापा, सुशील भट्ट, प्रमिलासिंह डंगोललाई सिफारिस गरिएको छ। कांग्रेसमा पनि यो क्षेत्रमा कोही शीर्ष नेता छैनन्। सोही कारण यो क्षेत्रलाई दलहरूले नेता व्यवस्थापन गर्ने निर्वाचन क्षेत्रका रूपमा लिएका छन्। 

स्थानीय तह निर्वाचनको मत परिणामअनुसार यो क्षेत्रमा कांग्रेस पहिलो पार्टी बनेको छ। यो क्षेत्रमा कांग्रेसको मत १४ हजार १६७, एमालेको १२ हजार २०२, राप्रपाको २ हजार २७, माओवादीको ५७६ र एकीकृत समाजवादीको ३८, जसपाको १९८ मत छ। यो क्षेत्र पनि पाँच दलीय गठबन्धनका तर्फबाट कुन दलको भागमा पर्ने टुंगो लागेको छैन। यो क्षेत्रमा नेकपा एसको पनि दाबी छ। यो क्षेत्रमा जसपा नेता राजेन्द्र श्रेष्ठको दाबी रहेको छ। 

काठमाडौं–७ मा पर्यटन व्यवसायी प्रशन्न अर्यालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमीकी छोरी मानुषीले आँखा लगाएकी छन्। २०७० को चुनावमा यो क्षेत्रमा माओवादी उम्मेदवार हिसिला पराजित भएकी थिइन्। 

काठमाडौं–८ : बलियो कांग्रेस, नेकपा एसलाई छाड्नुपर्ने बाध्यता 

नेपाल समय

काठमाडौं–८ मा कांग्रेस एक्लै बलियो देखिएको छ। अघिल्लो निर्वाचनमा एमालेबाट जीवनराम श्रेष्ठ १३ हजार ३९७ मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत पाएका थिए। तर विगतमा जुन दलले जितेको हो, सोही दलका भागमा पर्ने भएकाले यो क्षेत्र नेकपा एसलाई पर्र्ने निश्चित छ। यो क्षेत्रका प्रभावशाली नेता नवीन्द्रराज जोशीको निधन भएका कारण पनि कांग्रेसले सहजै यो क्षेत्र नेकपा एसलाई छाड्ने देखिन्छ। २०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका श्रेष्ठ यतिबेला एकीकृत समाजवादीमा छन्। समाजवादीबाट श्रेष्ठ नै चुनावी मैदानमा उत्रिने निश्चित छ। कांग्रेसले यो क्षेत्रमा स्व. नेता नवीन्द्रका दाइ राजुराज जोशी र श्रीमती सपना जोशीको नाम सिफारिस गरेको छ। एमालेले यो क्षेत्रका राजेश शाक्यको एकल नाम सिफारिस गरेको छ। 

यो निर्वाचन क्षेत्रमा स्थानीय तहमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने कांग्रेसको १० हजार ८७२, एमालेको ९ हजार २३५, एकीकृत समाजवादीले ५ हजार १४२, माओवादीको १८९ र जसपाको ९७ मत छ, जुन एमालेको मतभन्दा ७ हजार ६५ मत बढी हो।

तर यो क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा महानगरको मेयर उम्मेदवार बनेका सुमन सायमी स्वतन्त्र उम्मेदवार बन्दै छन्। सामाजिक अभियन्ता सायमीले काठमाडौं महानगरको मेयरमा १३ हजार ७ सय ७० भोट ल्याएका थिए। उनी उपत्यकाव्यापी सडक विस्तारपीडित संघर्ष समितिका अध्यक्ष पनि हुन्। सायमीलाई काठमाडौंका मेयर बालेन्द्र साहको समेत साथ रहेको बताइन्छ। 

काठमाडौं–९ : आकांक्षीको ओइरो 

नेपाल समय

यो निर्वाचन क्षेत्रमा यस पटक कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। वाम गठबन्धन भएका बेला २०७४ को चुनावमा एमालेका कृष्णगोपाल श्रेष्ठले २२ हजार ८ ५२ मत पाएर निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८०२ मत ल्याएका थिए। यो क्षेत्रबाट एमालेले कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य र विद्यासुन्दर शाक्यको नाम सिफारिस गरेको छ। कांग्रेसले यो क्षेत्रमा ध्यानगोविन्द रञ्जित, नानु बास्तोला, तीर्थराम डंगोल, गौरीप्रसाद दवाडी, जयकृष्ण महर्जन र धर्मराज गौतमको नाम सिफारिस गरेको छ। 

स्थानीय तह निर्वाचन परिणामअनुसार यो निर्वाचन क्षेत्रमा कांग्रेसको १९ हजार ९१६, एमालेको १९ हजार २८२, राप्रपाको २ हजार ४०१, माओवादीको ६९५, एकीकृत समाजवादीको ४६५ र जसपाले ९२ मत छ। गठबन्धनसँग २१ हजार १६८ मत हुँदा एमाले र राप्रपाबीच तालमेल भए गठबन्धनभन्दा एमाले बलियो हुन आउँछ।

यो क्षेत्रबाट विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे फेरि चुनाव लड्ने तयारीमा छन्। २०७४ को प्रतिनिधिसभा चुनावमा यही क्षेत्रबाट उठेका उनले ४ हजार ९४६ मत पाएका थिए। तर अहिले पाण्डे विवेकशील साझाबाट कारबाहीमा परेकाले स्वतन्त्र उम्मेदवार हुने निश्चित छ। यो क्षेत्रमा पाँच दलीय गठबन्धनमा रहेको माओवादीको पनि दाबी देखिन्छ। माओवादीले यो क्षेत्र पाए हितमान शाक्य उम्मेदवार हुने सम्भावना छ। 

काठमाडौं–१० : पुरानैको सम्भावना 

नेपाल समय

कांग्रेसका केन्द्रीय सदस्य राजन केसीले २०७० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर खोसेको क्षेत्र हो, काठमाडौं–१०। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका केसी २४ हजार १९० मतसहित निर्वाचित भएका थिए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका हितमान शाक्यले २१ हजार ९०७ मत ल्याएका थिए। 

एमालेले यो क्षेत्रमा विनोद श्रेष्ठ, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन र शरव महर्जनको नाम सिफारिस गरेको छ। सुरेन्द्र मानन्धर २०७० को निर्वाचनमा पनि केसीसँग पराजित भएका थिए। महर्जन कीर्तिपुर नगरपालिकाका निवर्तमान प्रमुख हुन्। माओवादीबाट हितमान शाक्य र अञ्जना विशंखेले इच्छा देखाएका छन्। शाक्य २०७४ मा केसीसँग पराजित भएका हुन् भने विशंखे संविधानसभा सदस्य हुन्। तर शाक्य यस पटक काठमाडौं–१० भन्दा ९ मा बढी इच्छा गरिरहेका छन्। नेकपा एकीकृत समाजवादीले वटुकृष्ण थापालाई अगाडि सारेको छ। 

स्थानीय तह चुनावमा यो क्षेत्रमा कांग्रेसको २४ हजार ६७५, एमालेको १८ हजार ८३८, माओवादीको ४ हजार ९४२, राप्रपाको २ हजार ४९६, नेकपा एसको १ हजार ३४२ मत छ। स्थानीय तह चुनावमा एक्लै अगाडि भएको कांग्रेस गठबन्धन भएको अवस्थामा अझ बढी सुरक्षित देखिन्छ।


प्रकाशित: September 23, 2022 | 15:25:43 काठमाडौं, शुक्रबार, असोज ७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
राजनीति

ओलीले भीम रावलको क्षेत्रमा झपट बोहोरालाई उम्मेदवार बनाए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई पाखा लगाउँदै उनको निर्वाचन क्षेत्र अछाम-१ मा झपट बोहरालाई उम्मेदवार बनाएका छन्।
नेपाल समय
राजनीति

सत्तारुढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट सिध्याउने

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले बालुवाटारमा जारी छ।
नेपाल समय
राजनीति

राप्रपाले टुंग्यायो उम्मेदवारको नाम, झापामा एमालेसँग तालमेल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ।
नेपाल समय
राजनीति

जसपा बाहिरिएपछि सत्ता गठबन्धनको बैठकमा भित्रियो लोसपा

सत्तारुढ गठबन्धनको बालुवाटारमा बसेको बैठक छोडेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेपछि गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई भित्र्याएका छन्।
नेपाल समय
राजनीति

एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिने भएकी छन्। उनले सामाजिक सञ्‍जालमार्फत स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी गराएकी छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना