काठमाडौं- नेपाली कांग्रेसले २०७४ सालमा समानुपातिक सांसद् बनेकालाई यसपटक समानुपातिकमा नै नदोहोर्याउने नीति लिएको छ। कांग्रेसले विधानको व्यवस्था अनुरुप समानुपातिक सांसद नदोहोर्याउने नीति अख्तियार गरेकाले बन्दसूचीमा अघिल्लो पटक समानुपातिकतर्फ सांसद् बनेका नेताहरू नदोहोरिने गरी बन्द सूची निर्वाचन आयोगमा पेस गरिएको एक पदाधिकारीले जानकारी दिए।
यसअघि नै कांग्रेस महामन्त्री गगनकुमार थापाले भदौ ११ गते पार्टीका तल्ला निकायलाई अघिल्लो पटक समानुपातिक तर्फबाट निर्वाचित भएका व्यक्तिलाई उम्मेदवार सिफारिस नगर्न परिपत्र गरेका थिए।
'२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्ने,' थापाद्वारा जारी परिपत्रमा भनिएको थियो।
कांग्रेसको विधानमा एकपटक समानुपातिकबाट निर्वाचित भएको व्यक्ति लगत्तैको निर्वाचनमा समानुपातिकबाट पुनः उम्मेदवार हुन नपाउने व्यवस्था छ। पार्टी विधानको धारा ३३ (२) मा भनिएको छ,' प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा निर्वाचित व्यक्ति तत्काल त्यसपछिको प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको तर्फबाट समानुपातिक आधारमा पुनः उम्मेदवार हुन पाउने छैन।'

वैधानिक व्यवस्था अनुरुप पार्टीले परिपत्र जारी गरेपछि तल्ला तहले अघिल्लो पटक समानुपातिक तर्फबाट निर्वाचित भएका ४० जना नेताहरुको नाम सिफारिस गरेनन्। त्यसकारण यसपटक अघिल्लो पटक सामानुपातिक तर्फबाट सांसद बनेका नेताहरुले प्रत्यक्ष तर्फ चुनाव लड्नुपर्ने हुन्छ। तर कतिपय नेताहरुको क्षेत्र सत्ता गठबन्धनमा भागवण्डा गर्दा अर्कै पार्टीको भागमा पर्न जान्छ। त्यसकारण उनीहरुले टिकट पाउने सम्भावना कम छ। कतिपय नेताले टिकटका लागि आफ्नै पार्टीका नेतासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। कतिपय समानुपातिक सांसद् भने रिटायर हुने तरखरमा छन्।
७ नेतालाई टिकट पाउने आश
अघिल्लो पटक कांग्रेसबाट समानुपातिक सांसद बनेका ४० नेतामध्ये ७ जनाले यसपटक प्रत्यक्षमा टिकट पाउने पक्का देखिएको छ। अघिल्लो पटक समानुपातिकबाट सांसद् बनेका गृहमन्त्री बालकृष्ण खाण यसपटक प्रत्यक्षमा चुनाव लड्ने छन्। उनी रुपन्देही-३ बाट चुनाव लड्ने तयारीमा छन्। उनले टिकट पाउने पक्कापक्की छ।
कांग्रेस सह-महामन्त्री किशोरसिंह राठौर अघिल्लो पटक समानुपातिक सांसद् बनेका थिए। यसपटक उनलाई प्रत्यक्षतर्फ चुनाव लड्नैपर्ने बाध्यता छ। तर उनको क्षेत्र बर्दिया-२ भने गठबन्धन गर्दा कांग्रेसको भागमा नपर्ने सम्भावना बढी छ। त्यसकारण उनले बाँके-३ मा आँखा लगाएका छन्। सभापति शेरबहादुर देउवासँगको निकटता र पार्टी पदाधिकारीसमेत भएका कारण उनलाई टिकट पाउन धेरै गाह्रो छैन।
राज्यमन्त्री उमेश श्रेष्ठ कांग्रेसबाट लगातार २ पटक समानुपातिक सांसद भइसकेका नेता हुन्। उनी यसपटक चितवन-१ र २ बाट सिफारिस भएपनि उनले चितवन-१ बाट चुनाव लड्न बढी इच्छुक छन्। तर यो क्षेत्रमा राजेन्द्र बुर्लाकोटी, योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले र योजना आयोगका उपाध्यक्ष विश्व पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। वाग्ले काठमाडौं-५ बाट उम्मेदवार बन्ने सम्भावना पनि उत्तिकै छ। श्रेष्ठले चितवन-१ बाट टिकट नपाए २ नम्बर क्षेत्रबाट टिकट पाउने सम्भावना छ।

०७४ सालमा समानुपातिक सांसद् बनेका विनोद चौधरी यसपटक प्रत्यक्षमा चुनाव लड्ने तयारीमा छन्।नवलपरासी पूर्व-२ बाट चुनाव लड्ने योजना उनको छ। नवलपरासी-१ पूर्वमहामन्त्री डा शशांक कोइरालाको क्षेत्र हो। त्यसकारण चौधरीका आँखा २ नम्बर क्षेत्रमा छन्। तर यो क्षेत्रमा विष्णु कार्की समेत बलिया दाबेदार हुन्। चौधरीले यो क्षेत्रमा टिकट पाउँन कार्कीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। चौधरीले टिकट पाउने पक्का भएपनि क्षेत्र भने टुंग्गो लाग्न सकेको छैन। नवलपरासी पूर्वका दुवै क्षेत्रमा चौधरीले टिकट नपाए नवलपरासी पश्चिमबाट चुनाव लड्न सक्नेछन्।
सिरहा-२ बाटै पूर्वकोषाध्यक्ष चित्रलेखा यादव आकांक्षी छिन्। त्यसकारण रामचन्द्रको नाम ३ नम्बर क्षेत्रबाट सिफारिस भएको छ। सिरहा-२ मा चित्रलेखाले टिकट पाउने सम्भावना बढी छ।
नेतृ पुष्पा भुसालले यसपटक प्रत्यक्षमा चुनाव लड्ने तयारीमा छिन्। अर्घाखाँचीबाट उनले टिकट पाउने पक्का जस्तै छ।
कांग्रेसकी पूर्वकोषाध्यक्ष सीतादेवी यादवले सिरहा-३ बाट टिकट पाउने पक्का छ। तर उनीसँगै उनका छोरा डा सुवासचन्द्र यादव पनि प्रतिस्पर्धामा छन्। यादवले छोरालाई अघि सार्ने सम्भावना पनि छ। उक्त क्षेत्रमा सिरहाका पूर्वसभापति रामचन्द्र यादवले पनि दावी गरेका छन्। यादवको निर्वाचन क्षेत्र सिरहा-२ हो।
सिरहा-२ बाटै पूर्वकोषाध्यक्ष चित्रलेखा यादव आकांक्षी छिन्। त्यसकारण रामचन्द्रको नाम ३ नम्बर क्षेत्रबाट सिफारिस भएको छ। सिरहा-२ मा चित्रलेखाले टिकट पाउने सम्भावना बढी छ।
७ जनाले टिकटका लागि प्रतिस्पर्धा गर्नुपर्ने
यसअघि समानुपातिक तर्फबाट सांसद बनेकामध्ये कांग्रेका ७ नेताले भने टिकट पाउन आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। जसमध्येका एक हुन्-उद्योगमन्त्री दिलेन्द्र बडू। दार्चुलाका बडुले विक्रमसिंह धामीसँग टिकटका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ। धामी ०७४ सालमा वाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका नेता हुन्। धामी सभापति देउवासँग निकट मानिन्छन्।
नेतृ सुजाता कोइरालाले मोरङ-२ बाट निर्वाचन लड्ने आकांक्षा देखाएकी छन्। तर यो क्षेत्रबाट अघिल्लो पटक निर्वाचित मीनेन्द्र रिजालको समेत दाबी छ। पिता गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्रसमेत रहेकाले सुजाताले इच्छा देखाएकी हुन्। उनले टिकट पाउने ग्यारेन्टी भने छैन।
यस्तै सिरहा-४ का पद्मनारायण चौधरी पनि टिकटका लागि प्रतिस्पर्धामा छन्। उनी यसपटक प्रदीप गिरिको निर्वाचन क्षेत्र सिरहा-१ बाट लड्ने सम्भावना बढी छ।
मोहन पाण्डे स्याङजा-१ मा टिकटका लागि प्रतिस्पर्धामा छन्। तर उनले टिकट पाउने सम्भावना भने न्यून छ। यो क्षेत्रमा कांग्रेस स्याङ्जाका सभापति राजु थापाले टिकट पाउने सम्भावना बढी छ। थापा संविधानसभा सदस्य भइसकेका नेता हुन्। उनी अघिल्लो निर्वाचनमा पराजित भएका थिए।

बहादुरसिंह लामा पनि टिकटको प्रतिस्पर्धामा छन्। उनी नुवाकोट-२ बाट निर्वाचन लड्ने तयारीमा छन्। तर टिकटका लागि उनले अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
दोलखाका जिपछिरिङ लामाले पार्टी केन्द्रीय समितिको बैठकमा निर्वाचन नलड्ने घोषणा गरेका थिए। तर उनको नाम सिफारिस भएको छ। उनी युवा नेताको चेपुवामा छन्। लामाले टिकट लिन केन्द्रीय सदस्यद्वय कुन्दन काफ्ले र अजयबाबु शिवाकोटीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यस्तै जिल्ला सभापति बर्मा लामा र नेता तारा कोइराला पनि प्रतिस्पर्धामा छन्।
हुम्लाकी रंगमती शाही पनि टिकटका लागि प्रतिस्पर्धामा छिन्। उनले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र अघिल्लो पटक पराजित भएका मंगल शाहीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
६ जनाको क्षेत्र खोसिँदै
समानुपातिक सांसदको अनुभव बटुलिसकेपछि प्रत्यक्षमा चुनाव लड्ने योजना बनाएका कांग्रेसका ६ नेताको सांसदको क्षेत्र भने खोसिने देखिएको छ। सत्ता गठबन्धनमा भागबन्डा मिलाउँदा उनीहरुको निर्वाचन क्षेत्र अर्को दलको भागमा पर्ने देखिएको हो।
२ पटक समानुपातिक सांसद भइसकेका नेता मीन विश्वकर्माको निर्वाचन क्षेत्र यसपटक कांग्रेसको भागमा पर्ने सम्भावना न्यून छ। विश्वकर्माको निर्वाचन क्षेत्र सुनसरी-१ हो। गठबन्धन गर्दा यो क्षेत्र जसपाको भागमा पर्ने देखिन्छ। जसपाका नेता अशोक राईलाई विश्वकर्माले छोड्नुपर्ने अवस्था छ।
केन्द्रीय सदस्य प्रकाश रसाइलीको क्षेत्र समेत कांग्रेसको भागमा पर्ने सम्भावना छैन। बझाङ रसाइलीको क्षेत्र नेकपा एसले पाउने सम्भावना बढी छ। त्यसकारण रसाइलीले नेकपा एसका भानुभक्त जैसीलाई छाड्नुपर्ने अवस्था छ।
सर्लाही-२ नागेन्द्रकुमार रायको प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्। सर्लाही कांग्रेसका पूर्वसभापति समेत रहेका रायको चुनाव क्षेत्र गठबन्धन बनाउँदा कांग्रेसको भागमा पर्ने सम्भावना न्यून छ। यो क्षेत्रमा नेपाल समाजवादी पार्टीका नेता महेन्द्र राय यादवको दावी छ। नेसपाले माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा लड्ने निर्णय गरिसकेको छ।
२ पटक समानुपातिक सांसद भइसकेकी डा डिला संग्रौला यसपटक प्रत्यक्षर्फ चुनाव लड्ने तयारीमा थिइन्। तर उनलाई डा शेखर कोइरालाको छाया भारी परेको छ।
कपिलवस्तु-१ का अतहर कमल मसुलमानको क्षेत्र समेत यसपटक खोसिने सम्भावना छ। ०७० सालमा स्वतन्त्र उठेर जितेका मुसलमान अघिल्लो पटक भने समानुपातिक सांसद बनेका थिए। यसपटक प्रत्यक्षमा लड्ने तयारी गरेपनि यो क्षेत्र माओवादीको भागमा पर्ने देखिन्छ। कपिलवस्तु-१ नेकपा माओवादी केन्द्रका चक्रपाणि खनालको क्षेत्र हो।
उदयपुर-१ की प्रमिला राईको क्षेत्र समेत यसपटक माओवादीको भागमा पर्ने देखिन्छ।
यस्तै झापा-५ की महेन्द्रकुमारी लिम्बूको समेत क्षेत्र खोसिने सम्भावना उत्तिकै छ। पार्टीले प्रत्यक्षतर्फ उनको नाम सिफारिस गरेपनि यो क्षेत्र माओवादीको भागमा पर्ने सम्भावना छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादीले रञ्जित तामाङलाई मैदानमा उतार्ने तयारी गरेको छ।
शेखरको छायामा डिला
२ पटक समानुपातिक सांसद भइसकेकी डा डिला संग्रौला यसपटक प्रत्यक्षर्फ चुनाव लड्ने तयारीमा थिइन्। तर उनलाई डा शेखर कोइरालाको छाया भारी परेको छ।
शेखर र डिलाको निर्वाचन क्षेत्र मोरङ-६ हो। त्यसकारण डिलाले यसपटक टिकट पाउने सम्भावना छैन। शेखरको छायामा परेकी डिलाका आँखा राष्ट्रिय सभामा छन्।
संसदीय राजनीतिबाट १९ जना रिटायर!
यसअघिका ४० जना सांसदमध्ये १९ जना सांसद् भने संसदीय राजनीतिबाट रिटायर हुने लाइनमा छन्। उमेर, स्वास्थ्य र निर्वाचन क्षेत्रको टुंगो नहुँदा ती सांसद् रिटायर हुने चरणमा पुगेका हुन्।
अर्घाखाँचीका मानबहादुर विश्वकर्मा उमेरका कारणले रिटायर हुने चरणमा छन्। यस्तै सर्लाहीकी मिना पाण्डे पनि स्वास्थ अवस्थाका कारण रिटायर हुने चरणमा छिन्। अछामका रामबहादुर विष्टको नाम उम्मेदवार सिफारिसमै परेको छैन। नवलपरासी पूर्वका सत्यनारायण खनाल, सुनसरीकी मीना सुब्बा, बाग्लुङकी ज्ञानकुमार छत्याल, दोलखाका दिव्यमणि राजभण्डारी पनि रिटायर हुने अवस्थामा पुगेका छन्।
यस्तै पर्वतका लालकाजी गुरुङ, मनाङ कर्मा घले, खोटाङकी हीरा गुरुङ, बाँकेकी सर्वत आरा खान, धनुषाकी मिनाक्षी झा, धनुषाकै समृति नारायण चौधरी, दाङकी विमला नेपाली, उदयपुरकी लक्ष्मी नेपाली, इलामकी सुजाता परियार, सप्तरीकी नमिता कुमारी चौधरीले बिदा लिनेछन्।
यस्तै महिला तथा बालबालिकामन्त्री उमा रेग्मीले पनि स्वास्थ्य र उमेरका कारण बिदा लिनेछिन्। पार्टी केन्द्रीय सदस्य नबनाएकोमा असन्तुष्ट पार्वता डिसी चौधरीको नाम सिफारिस भएको छैन।