सोमबार, असोज १०, २०७९

सर्लाही-४ : सिंह दाजुभाइको चेपुवामा अमरेश, गगन गए कति सहज?

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, असोज ४, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असोज ४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- ०७४ सालको निर्वाचनमा कांग्रेसले देशभर जितेका २३ सिट मध्येको एक हो, सर्लाही-४। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनमा थपिएको तत्कालीन राजपाको मतको भारीलाई पन्छाउँदै कांग्रेसले विजयको झण्डा फहराएको सर्लाही-४ यसपटक भने विवादमा फसेको छ। कांग्रेस भित्रको घर झगडा भुसको आगो जसरी सल्किरहँदा नेता-कार्यकर्ताको मनमा क्षेत्र गुम्‍ने डरले डेरा जमाएको छ।  

टिकटको लबिङका लागि काठमाडौं आएका नेता-कार्यकर्ताले भन्न थालेका छन्- हाम्रो घरझगडाको फाइदा अरुले नै उठाउने देखियो। अघिल्लो निर्वाचनमा कांग्रेसका डा. अमरेश कुमार सिंह वाम गठबन्धन र राजपाका संयुक्त उम्मेदवारलाई परास्त गर्दै विजयी भएका थिए।२९ हजार ६७४ मत सहित सिंह विजयी हुँदा तत्कालीन राजपाका राजेश कुमार मिश्रले २८ हजार १३६ मत प्राप्त गरेका थिए। 

तर, यसपटक भने परिस्थिति फेरिएको छ। एकै क्षेत्रका तीन सिंहको टकरावका कारण सर्लाही-४ मा कांग्रेसको राजनीति तरल बनेको छ। अघिल्लो पटक प्रतिनिधिसभामा निर्वाचत भएका डा. सिंह र सोही क्षेत्रको प्रदेशसभा 'क' मा निर्वाचित विरेन्द्र प्रसाद सिंहबीच बढेको विवाद उत्कर्षमा पुगेको छ। विरेन्द्र कांग्रेस मधेश प्रदेशका उपसभापति र मधेस सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री हुन्।

अमरेश र विरेन्द्रको विवादमा हिस्सेदार बन्‍न पुगेका छन्- जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह। विरेन्द्र र सुरेन्द्र सहोदर दाजुभाइ हुन्। सिंह दाजु भाइको पेलानमा डा. अमरेश सिंह परेका छन्। जसको पछिल्लो उदाहरण हो- डा. सिंह उम्मेदवारी सिफारिसमै नपर्नु। यो क्षेत्रबाट कांग्रेसले महामन्त्री गगनकुमार थापाको नाम एकल सिफारिस गरेको छ। अमरेशलाई पाखा लगाउन सिंह दाजुभाईले गगनको नाम सिफारिस गरेको सर्लाही कांग्रेसका एक नेता बताउँछन्। 

'अमरेश तह लगाउन सिंह दाजुभाईले गगनको नाम सिफारिस गरेका हुन्। अमरेश शेखर कोइराला निकटका नेता हुन्। सोही समूहमा सक्रिय महामन्त्रीलाई सिफारिस गर्दा अमरेशले विरोध गर्न पनि मिल्दैन,' सर्लाही कांग्रेसका एक नेता भन्छन्, 'सुरेन्द्र र विरेन्द्रको गगनसँग निकटता पनि छ। त्यसकारण गगनलाई अघि सारेर अमरेशलाई तह लगाउने रणनीति हो।'

०७४ सालको निर्वाचनमा अमरेश र विरेन्द्रसँगै थिए। तर निर्वाचनपछि उनीहरुबीच दूरी बढ्दै गएको देखिन्छ। कांग्रेसको १४औं महाधिवेशन अघिसम्म अमरेश र विरेन्द्र एउटै समूहमा क्रियाशील थिए। तर, महाधिवेशनका बेला विरेन्द्र विमलेन्द्र निधिसँग निकट बने। निधि र अमरेशको सम्बन्ध पहिल्यैबाट चिसिएको थियो। अमरेशको संरक्षणमै राजनीति अघि बढाएका विरेन्द्रले कित्ता फेरेपछि दुई नेताबीचको सम्बन्धमा पनि दूरी बढ्यो। 

सर्लाही-४ को क्षेत्रीय अधिवेशनमा अमरेश महाधिवेशन प्रतिनिधिमा पराजित भए। जुन अमरेशको राजनीतिक करियरकै ठूलो धक्का थियो। त्यही क्षेत्रबाट तीन पटक निर्वाचित भएका अमरेश पार्टी महाधिवेशन प्रतिनिधिमै पराजित हुन पुगे। जबकी उनले पार्टीको सह-महामन्त्रीका लागि तयारी गरिरहेका थिए। ८०० प्रतिनिधिले मत हालेको अधिवेशनमा अमरेशको पक्षमा जम्मा २४८ मत आएको थियो। अमरेशको पराजयमा विरेन्द्र र सुरेन्द्र प्रत्यक्ष र परोक्षरुपमा जोडिए। गुटगत हिसाबले फरक कित्तामा रहेकाले यो अस्वभाविक पनि थिएन। 

सिंह दाजु भाइको पेलानमा डा. अमरेश सिंह परेका छन्। जसको पछिल्लो उदाहरण हो- डा. सिंह उम्मेदवारी सिफारिसमै नपर्नु। यो क्षेत्रबाट अमरेशलाई पाखा लगाउन महामन्त्री गगनकुमार थापाको नाम एकल सिफारिस गरिएको छ। 

तर, जिल्ला सभापति सुरेन्द्र अमरेशलाई पारजित गर्न आफूहरुले भूमिका नखेलेको दाबी गर्छन्। 'गुटगत हिसाबमा प्रतिस्पर्धा भएको हो। तर पनि हामीले उहाँलाई महाधिवेशन प्रतिनिधि रोकेको होइन। सर्लाही-४ मा ५१ वटा वडा छन्। ५१ वडा सभापतिसहित ८ सय जना क्षेत्रीय प्रतिनिधि भएको क्षेत्रमा उहाँका पक्षमा २४८ सय मत परेको हो। २-४ भोटको तलमाथि परेको भए न हामीले हराएको भन्ने हुन्थ्यो। ६ सय मतले हार्ने अनि आरोप अरुमाथि लगाउने? यो राम्रो होइन,' सुरेन्द्र भन्छन्। 

अमरेश सर्लाही-४ बाट तीन पटक सांसद बने। विरेन्द्र प्रदेश सांसद, मन्त्री र पार्टीको प्रदेश उपसभापति बने। निर्वाचनपछि बढ्दै गएको दूरीलाई व्यक्तित्वको टकरावले अझ बढवा दिएको सर्लाही-४ कांग्रेसका एक नेता बताउँछन्। 'विरेन्द्र र अमरेशले एकअर्कालाई स्वीकार गर्न नसक्ने अवस्था बन्यो। दुई नेताबीच व्यक्तित्वको टकराव बढ्दै गयो। जसको परिणाम अहिले देखिँदैछ,' ती नेता भन्छन्, 'सिंह दाजुभाई अमरेशलाई विस्थापित गर्ने र क्षेत्रमा आफूहरु स्थापित हुने प्रयत्नमा छन्।'

त्यसो त सर्लाही कांग्रेसले अमरेशलाई पार्टीबाटै निलम्बित गरेको छ। स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप अमरेश माथि लागेको छ। सर्लाही कांग्रेसको अनुशासन समितिले गत असार २ गते अमरेशलाई निलम्बन गर्ने निर्णय गरेको थियो। तर, कारबाहीको निर्णय भने भदौ २० गते मात्रै सार्वजनिक भएको थियो। सर्लाही-४ बाट महामन्त्री थापाको नाम सर्वसम्मतरुपमा सिफारिस गरेपछि मात्रै अमरेशलाई निलम्बन गरेको पत्र सार्वजनिक भएको थियो। 


नेपाल समय
अमरेशलाई कारबाहीका लागि सिफारिस गरेको पत्र।

सर्लाही-४ मा को बन्ला कांग्रेसको उम्मेदवार?

सर्लाही-४ मा महामन्त्री थापाको नाम पार्टीको क्षेत्रीय समिति, जिल्ला समिति र प्रदेश समितिले सर्वसम्तरुपमा सिफारिस गरी केन्द्रमा पठाएको छ। तर, महामन्त्री थापाले भने साविककै निर्वाचन क्षेत्र काठमाडौं-४ बाटै निर्वाचन लड्ने बताइसकेका छन्। तर, सिंह दाजुभाइ भने गगन सर्लाही-४ बाटै चुनाव लड्ने दाबी गर्छन्।

'गगनजी जानुहुन्छ। यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन। उहाँ जस्तो युवा नेता, पार्टीको महामन्त्रीले चुनाव लडिदिनुपर्छ भन्‍ने माग छ। कार्यकर्ता र जनताको माग अनुसार नै उहाँको नाम सिफारिस भएको हो,' सुरेन्द्र भन्छन्, 'उहाँसँग हामीले छलफल पनि गरेका छौं। उहाँले ठिकै छ म विचार गर्छु भन्नुभएको छ। अब केन्द्रले टिकट दिएपछि न उहाँ जाने हो। त्यसकारण हामीसँग अहिले प्लान 'बी' छैन र आवश्यकता पनि छैन।'

विरेन्द्र भने गगन सर्लाही-४ नआए आफू उम्मेदवार बन्‍ने बताउँछन्। तर, गगनलाई नै चुनाव लडाउने प्रयासमा आफू रहेको उनको भनाइ छ। 'गगन दाइ आउने सम्भावना सकिइसकेको छैन। हामीसँगको छलफलमा उहाँले आउँछु भन्नुभएको छ,' विरेन्द्र भन्छन्, 'त्यसकारण हामी उहाँ आउनुहुन्छ भन्नेमा ढुक्क छौं। त्यसकारण अहिले नै विकल्पको खोजी गर्नु हतारो हुन्छ। यदी गगन दाइ केही समस्या पर्‍यो र आउनुभएन भने मात्र हो विकल्प खोज्ने। त्यसो हुँदा चुनाव म लड्छु।'

तर, अमरेश भने आफू नै सर्लाही-४ बाट उम्मेदवार हुने निश्चित रहेको दाबी गर्छन्। आफू उम्मेदवार बन्‍ने कुरामा आशंका गर्न नहुने अमरेशको भनाइ छ। 'सर्लाही-४ मा मैले नै टिकट पाउँछु। यसमा कुनै शंका गर्नुपर्दैन। त्यसकारण मैले टिकट पाउने कुरामा शंका छैन। म चुनाव लड्ने तयारी गर्दैछु,' उनले भने। क्षेत्र र जिल्लाले आफ्नो नाम सिफारिस नगरेपछि प्रदेशले सिफारिस गरेको उनको दाबी छ। 'जिल्लाबाट मेरो नाम सिफारिस नभएपनि प्रदेशबाट मेरो नाम सिफारिस भएको छ,' उनले भने। तर, प्रदेश उपसभापति विरेन्द्रले भने अमरेशको नाम प्रदेशले सिफारिस नगरेको बताए। 

सिंह दाजुभाइ भन्छन्- अमरेश रिङ आउट भइसके 

अमरेशले आफू उम्मेदवार बन्‍ने दाबी गरिरहँदा सिंह दाजुभाइले भने उनी रिङ आउट भइसकेको दाबी गरे। पार्टीबाट निलम्बित भइसकेका कारण अमरेशले टिकट पाउने सम्भावना सकिएको उनीहरुको दाबी छ। 'अमरेशजी माथि त पार्टीले कारबाही गरेको छ। स्थानीय तहको निर्वाचनमा तीन वटा पालिकामा पार्टीका उम्मेदवार हराउन उहाँले भूमिका खेल्नुभयो,' सुरेन्द्रले भने, 'जिल्ला समन्वय समितिको निर्वाचनमा छुट्टै उम्मेदवार खडा गर्नुभयो। उहाँ न जिल्लाको सम्पर्कमा हुनुहुन्छ, न क्षेत्रको। उहाँले विधि विधान उल्लंघन गर्दै हिँड्नुभएको छ। त्यसकारण उहाँ उम्मेदवार बन्ने सम्भावना शून्य छ।' 

सुरेन्द्रकै जस्तो तर्क विरेन्द्रको पनि छ। उनी पार्टी विधान अनुसार निलम्बित नेता उम्मेदवार हुनै नसक्ने जिकिर गर्छन्। 'अमरेश सिंह रिङ आउट भइसक्नुभयो। निर्वाचन क्षेत्र, जिल्ला कार्य समिति र प्रदेश समितिबाट उहाँको नाम सिफारिस भएको छैन,' उनी भन्छन्, 'त्यसकारण उहाँ चुनाव लड्ने कुनै सम्भावना छैन। उहाँलाई पार्टीले स्थानीय तहको निर्वाचनकै बेला निलम्बन गरिसकेको छ। निलम्बित भइसकेको मान्छे कसरी चुनाव लड्छ?'

गगन जाँदा कति सहज? 

महामन्त्री थापा सर्लाही-४ जाँदा चुनाव जित्‍न सहज हुने विश्लेषण स्थानीय नेताहरुको छ। तर, त्यसका लागि उनले केही फ्याक्टर म्यानेज गर्नुपर्ने छ। सबैभन्दा पहिला त उनले किनारामा परेका अमरेशलाई विश्वासमा ल्याउन आवश्यक छ। त्यसका लागि गगनले अमरेशको व्यवस्थापन गर्नुपर्नेछ।  

'उहाँले सबैभन्दा पहिला अमरेशजीको व्यवस्थापन गर्नुपर्ने हुन्छ। पार्टिभित्रको विवादलाई मत्थर बनाउन सक्नुपर्छ। गठबन्धनमा रहेको माओवादीले यो क्षेत्रका २ वटा पालिकामा जितेको छ। त्यसकारण माओवादीलाई असन्तुष्ट हुने अवसर दिन हुँदैन,' सर्लाही कांग्रेसका अर्का एक नेता भन्छन्। 

त्यसो त सर्लाही-४ बाट नाम सिफारिस भएपछि गगनको भेटघाट सर्लाहीका नेता-कार्यकर्तासँग बाक्लिएको स्रोतको दाबी छ। गगनले केही दिन अघि सर्लाही-४ का माओवादी नेता शिवपुजन रायसँग समेत छलफल गरेका थिए। यो क्षेत्रमा एमाले कमजोर मानिन्छ। 

अघिल्लो पटक पनि वाम गठबन्धनले तत्कालिन राजपालाई समर्थन गरेको थियो। यस्तै जनता समाजवादी पार्टी पनि सर्लाही-४ मा कमजोर मानिन्छ। जसपा अहिले गठबन्धनमै आवद्ध छ। त्यसकारण एमाले यस क्षेत्रमा उम्मेदवार बनाउने प्रभावशाली नेताको खोजिमा छ। यद्यपी सोमबार मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राज्यमन्त्री खोभारी रायलाई पार्टी प्रवेश गराएका छन्। विवादित पृष्ठभूमीका रायलाई सर्लाही-४ बाट उम्मेदवार बनाउने तयारी स्वरुप ओलीले रायलाई पार्टीमा स्वागत गरेको स्रोत बताउँछ। राप्रपाबाट राजनीति सुरु गरेका राय नेपाल सद्भावना पार्टी हुँदै मधेसी जनअधिकार फोरम र माओवादीमा समेत पुगिसकेका व्यक्ति हुन् ।  

पछिल्लो समय उनी जसपा निकट रहेपनि निस्क्रिय  थिए। राय २ वर्षअघि काठमाडौको एक जुवा खालबाट पक्राउ परेका थिए। उनी केही बर्ष पहिला काठमाडौमा भएको एक गोली काण्डमा समेत मुछिएका थिए । खोभारी एमालेबाट उम्मेदवार बनेको अवस्थामा आफू उम्मेदवार हुनुपर्ने बाध्यात्मक अवस्था आइपर्ने माओवादी नेता शिवपुजनले बताउँन थालेका छन्। त्यसकारण गगन सर्लाही-४ बाट उम्मेदवार बन्दा शिवपुजनको व्यवस्थापन गर्नुपर्ने हुनसक्छ। 

तर एमाले र लोसपाबीच तालमेल भए सर्लाही-४ मा लोसपाले सत्ता गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नेछन्। गत स्थानीय तहको निर्वाचनमा लोसपाले एउटा नगरपालिकामा विजय प्राप्त गरेको थियो भने केही पालिकामा दोस्रो भएको थियो।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने सर्लाही-४ मा कांग्रेस नै बलियो देखिन्छ। कांग्रेसले २३ हजार १३१ मत प्राप्त गरेको थियो। यस्तै माओवादीले १८ हजार ६१५ मत प्राप्त गर्दा लोसपाले १४ हजार ७३१ मत प्राप्त गरेको थियो। 

एमालेले ११ हजार ६७४ मत ल्याउँदा जसपाले ६ हजार ४३३, जनमत पार्टीले २ हजार ६१२, नेकपा एसले ६०९ र राप्रपाले २९७ मत प्राप्त गरेका थिए। सर्लाही-४ मा गठबन्धनको मत ४८ हजार ७८८ हो। आन्तरिक विवादको समधान, अमरेशको व्यवस्थापन र गठबन्धनमा आवद्ध दलहरुको मत विग्रन नदिने हो भने सर्लाही-४ मा गगनलाई चुनाव जित्‍न सहज देखिन्छ। 


प्रकाशित: September 20, 2022 | 09:05:42 काठमाडौं, मंगलबार, असोज ४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

चितवन शिवनगरको पुर्ख्यौली जग्गामा घर बनाएर सरे प्रचण्ड

प्रचण्डले शिवनगरमा बनाएको ६ कठ्ठाको एकतले घर पैतृक सम्पत्ति हो।
नेपाल समय
राजनीति

देउवामाथि दबाब बढाउन शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब बढाउनका लागि डा. शेखर कोइराला समूहले आन्दोलनका थप कार्यक्रम तय गरेको छ।
नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना