सोमबार, असोज १०, २०७९

हजार मत कमले जितहार भएका यी १३ निर्वाचन क्षेत्र, जसको यस्तो छ पछिल्लो अवस्था

खिला कार्की  |  काठमाडौं, बुधबार, भदौ ८, २०७९

खिला कार्की

खिला कार्की

बुधबार, भदौ ८, २०७९, काठमाडौं

नेपाल समय
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एक हजारभन्दा कम मतान्तरले जितेका १३ सांसद।

काठमाडौं– २०७४ सालको प्रतिनिधिसभा चुनावमा एक हजारभन्दा कम मतले १३ वटा निर्वाचन क्षेत्रमा जित–हार भयो। यीमध्ये हुम्लामा सबैभन्दा कम ४७ मतले माओवादी केन्द्रबाट विद्रोह गरेका छक्कबहादुर लामाले जित हात पारे। उनले नेपाली कांग्रेसका मंगलबहादुर शाहीलाई पराजित गरेका थिए। 

१३ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा पाँच सयभन्दा कम मतले हारजित भएको थियो। मुस्ताङ र मनाङमा मतदाता नै थोरै भएका कारण मतान्तर एक हजारभन्दा कम भएको देखिन्छ। बाम गठबन्धन भएका बेलामा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका नेताद्वय विजयकुमार गच्छदार र डा. नारायण खड्काले सुनसरी–३ र उदयपुर–१ बाट जित हात पारे। खड्का र गच्छदार दुवैले हजारभन्दा कम मतान्तरले जित निकालेका थिए।

काठमाडौं–१ बाट कांग्रेसका नेता प्रकाशमान सिंहले पनि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई हजारभन्दा कम मतान्तरले पराजित गरेका थिए। सबैभन्दा रोमाञ्चक परिणाम देखिएको बर्दिया–१ मा तत्कालीन एमालेका प्रभावशाली नेता वामदेव गौतमलाई कांग्रेसका तत्कालिन जिल्ला सभापति सञ्जय गौतमले पनि एक हजारभन्दा कम मतान्तरले उछिनेका थिए।

पाँच सयभन्दा कम मतान्तरले हारजित
बाम गठबन्धनका बाबजुद पनि पाँचवटा क्षेत्रमा नेपाली कांग्रेसमा चार जना उम्मेदवार पाँच सयभन्दा कम मतले पराजित भएका थिए। त्यस्तै, एक जना कांग्रेस उम्मेदवारले पाँच सयभन्दा कम मतान्तरले एमाले उम्मेदवारलाई पराजित गरेको देखिन्छ। सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पाँच सयभन्दा कम मतले एमाले उम्मेदवार भगवती चौधरीलाई पराजित गरेका थिए।

सो निर्वाचन क्षेत्रमा कांग्रेस नेता गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा एमालेकी भगवती चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन्। यहाँ ३२१ मतको फरकले हारजित भएको थियो। यो निर्वाचन क्षेत्रमा २०४८ सालयता सधैं विजय गच्छदारले जित निकाल्दै आएका छन्। उनी मधेशवादी दलबाट चुनावी मैदानमा रहेका बेलामा पनि २०६४ साल र २०७० सालको संविधानसभामा जित हात पारेका थिए। 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा भने यो निर्वाचन क्षेत्रमा एमालेको मत बढी देखिन्छ। यहाँ एमालेको ३५ हजार ५३, कांग्रेसको ३३ हजार ५७१, जसपाको ५ हजार ५१६, माओवादीको ३ हजार ८००, राप्रपाको ३ हजार ३३१ र नेकपा एसको ६२६ मत देखिन्छ। स्थानीय तहको मत परिणाम अनुसार पाँच दलीय गठबन्धन र एमाले–राप्रपा तालमेल हुँदा मतान्तर धेरै हुने देखिँदैन। 

बालुवाटारको ललिता निवास जग्गा किनबेच प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि सुनसरी–३ बाट निर्वाचित सांसद विजय गच्छदार निलम्बित अवस्थामा छन्। उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ। मुद्दा विचाराधीन रहँदा वा दोषी करार हुँदा गच्छदारलाई पुनः उम्मेदवार बन्न बाटो खुल्ने छैन। उम्मेदवारी मनोनयनअघि नै फैसला भएर सफाइ पाएको खण्डमा मात्र गच्छदार उम्मेदवार बन्न सक्छन्।

गच्छदार उम्मेदवार बन्न नपाउने अवस्थामा यो क्षेत्रबाट कांग्रेसले प्रदेश–१ को प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई अगाडि ल्याउने सम्भावना छ। मुख्यमन्त्री पाएको खण्डमा प्रदेशमा बस्ने मनस्थितिमा रहेका कोइराला मुख्यमन्त्री पक्का नहुँदा भने प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारीमा छन्। क्षेत्र नम्बर ३ मा एमालेले भने भगवती चौधरीलाई नै उम्मेदवार बनाउने लगभग पक्का छ। पटक–पटक गच्छदारसँग पराजित भएकी उनी यसपटक गच्छदारको अनुपस्थितिमा बाजी मार्ने विश्वासमा छिन्।

बाम गठबन्धन भएको अवस्थामा पनि पाँच सयभन्दा कम मतान्तरले कांग्रेस उम्मेदवार पराजित भएको निर्वाचन क्षेत्र काठमाडौं–८ पनि हो। यो क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत ल्याएर विजयी भएका थिए। नेपाली कांग्रेसका नवीन्द्रराज जोशी १२ हजार ९५३ मत ल्याएर श्रेष्ठसँग पराजित भएका थिए। यो क्षेत्रमा ४४४ मतको फरकले हारजित भएको थियो। श्रेष्ठ बाम गठबन्धनबाट उम्मेदवार बन्दा नेकपा एमालेमा थिए। अहिले उनी एमाले छोडेर नेकपा एकीकृत समाजवादीतिर लागेका छन्। जोशीको भने निधन भइसकेको छ।

हालैको स्थानीय तह चुनावमा यो क्षेत्रमा कांग्रेसको मत बढी देखिएको छ। त्यसमाथि सरकारमा रहेका पाँच दलबीच गठबन्धन भएको अवस्थामा एमालेको भन्दा गठबन्धनको मत धेरै हुने स्पष्ट छ। यो क्षेत्र गठबन्धनको तर्फबाट नेकपा एसको भागमा पर्ने देखिन्छ। कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन भएका कारण कांग्रेसको बलियो उम्मेदवार समेत नभएका कारण यो क्षेत्र नेकपा एसको भागमा पर्ने निश्चित जस्तै छ। नेकपा एसको भागमा पर्दा यो क्षेत्रबाट फेरि जीवनराम श्रेष्ठ उम्मेदवार हुने निश्चित जस्तै छ। यो क्षेत्रमा स्थानीय तहको मतअनुसार कांग्रेसको १० हजार ८७२, एमालेको ९ हजार २५३, नेकपा एसको ५ हजार १४२, राप्रपाको ३ हजार १६० र माओवादीको १८९ मत देखिन्छ। 

यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका सुमन सायमीले उम्मेदवारी दिने भएका छन्। सायमी १३ हजार ३ सय ४१ मत ल्याएर चौथो स्थान हासिल गरेका थिए। चुनावी नतिजा सार्वजनिक भएसँगै उनी बालेन्द्र शाहको विजय जुलुशमा समेत सहभागी भएका थिए। उनी उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका समेत अध्यक्ष हुन्। श्रेष्ठलाई एमालेका उम्मेदवार भन्दा बढी चुनौती सुमन सायमी हुने देखिन्छ।

नेपाल समय
२०७४ को निर्वाचनमा काठमाडौं-८ बाट निर्वाचित जीवनराम श्रेष्ठ।

पाँच सयभन्दा कम मतान्तरले हारजित भएको अर्को निर्वाचन क्षेत्र कञ्चनपुर–३ पनि हो। कञ्चनपुर–३ मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टले २६ हजार ३६४ मत पाएका थिए। उनले नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखकलाई २५८ मतले पराजित गरेका हुन्। लेखकले २६ हजार १०६ मत प्राप्त गरेका थिए। २५८ मतले २०७४ सालमा पराजित कांग्रेस गत स्थानीय तहको निर्वाचनमा भने पहिलो दल बनेको छ। कांग्रेसको २१ हजार ७७२, एमालेको १६ हजार ११७, राप्रपाको ६ हजार ५०३, माओवादीको ५ हजार ९८१ र नेकपा एसको ३ हजार १२ मत देखिन्छ। 

कञ्चनपुरको यो क्षेत्रबाट यो पटक एमालेका तर्फबाट वर्तमान सांसद दीपकप्रकाश भट्ट नै उम्मेदवार हुने निश्चितजस्तै छ। पाँच दलीय गठबन्धनबाट यो पटक कांग्रेस केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा उम्मेदवार बन्ने सम्भावना रहेको छ। आरजु कैलाली क्षेत्र नम्बर ५ छोडेर कञ्चनपुरबाट उम्मेदवार बन्ने चर्चा चल्न थालेको छ। यसो नभएमा रमेश लेखक उम्मेदवार बन्नेछन्। आरजुले आफ्ना लागि कैलाली भन्दा कञ्चनपुर सुरक्षित ठानेकी छन्।

पाँच सयभन्दा कम मतले हारजित भएका मनाङ र मुस्ताङमा भने मतदाता नै कम छन्। यी दुवै जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्। मनाङमा एमालेका पाल्देन गुरुङले जम्मा २ हजार ३०० मत पाएर विजयी भएका थिए। उनले कांग्रेसका टेकबहादुर गुरुङलाई २७९ मतले पराजित गरेका थिए। टेकबहादुरले २ हजार २१ मत पाएका थिए। मनाङमा गत स्थानीय तहको चुनावमा झिनो मतले एमाले अगाडि देखिएको छ। यो जिल्लामा एमालेको १ हजार २५८ र कांग्रेसको १ हजार २२० मत देखिन्छ। स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा अन्य पार्टीको मत शून्य देखिन्छ। यो पटक पनि मनाङमा पाल्देन र टेकबहादुरका बीचमा प्रतिष्पर्धा हुने देखिएको छ। 

यस्तै, मुस्ताङमा पनि मनाङकै जस्तो थोरै मतदाता छन्। मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ५४४ मत पाएका थिए भने नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३ हजार १८१ मत। तुलाचनले ३६३ मतान्तरले गौचनलाई पराजित गरेका थिए। मुस्ताङमा पनि स्थानीय तहको चुनावमा एमालेकै मत बढी देखिन्छ। यो जिल्लामा एमालेको ३ हजार १२८ र कांग्रेसको २ हजार ७४२ मत देखिन्छ। आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि तुलाचन र गौचनका बीचमा नै प्रतिष्पर्धा हुने देखिन्छ। 

सबैभन्दा कम मतान्तर हुम्लामा 
२०७४ सालको चुनावमा सबैभन्दा कम मतान्तरले हारजित भएको जिल्ला हो हुम्ला। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य छक्कबहादुर लामाले बाम गठबन्धनबाट उम्मेदवार बनेका आफ्नै पार्टीका आधिकारिक उम्मेदवार छिमिदोर्जे लामाविरुद्ध वागी उम्मेदवारी दिएर जित निकालेका थिए। उनले ८ हजार ४९१ मत पाएका थिए भने कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ मत पाएका थिए। लामाले ४७ मतको फरकले शाहीलाई पराजित गरेका थिए। वाम गठबन्धनका आधिकारिक उम्मेदवार छिमिदोर्जे लामाले २७ सय मत पाए। 

हालैको स्थानीय तह निर्वाचनमा त्यहाँ माओवादी केन्द्र नै पहिलो पार्टी बनेको छ। माओवादीको ६ हजार ४९३, एमालेको ६ हजार १४७, कांग्रेसको ४ हजार ७६४ र नेकपा एसको ८८८ मत छ। आगामी  मंसिरमा हुने चुनावमा हुम्ला गठबन्धनको कुन दलको भागमा पर्ने भन्ने स्पष्ट भएको छैन। अघिल्लो चुनावमा माओवादीका बागी उम्मेदवारले जितेका हुन्। हुम्लाकै प्र्रदेश (ख) बाट भने नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले जितेका थिए। उनी अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री छन्। हुम्लामा पाँच दलीय गठबन्धन बलियो भए पनि शाहीले समेत प्रतिनिधिसभा सदस्यमा दाबी गरेपछि कसको भागमा पर्ने भन्ने टुंगो लगाउन सकस परेको छ। 

पाँच सयमाथिको मतान्तरले हारजित 
पाँच सयभन्दा बढी र एक हजारभन्दा कम मतान्तरले हारजित भएका अन्य क्षेत्रहरुमा मोरङ–६, धादिङ–२, कपिलवस्तु–१, सर्लाही–१, उदयपुर–१, बर्दिया–१ र काठमाडौं–१ छन्। 

हजारभन्दा कम मतान्तरले हारजित भएको निर्वाचन क्षेत्र सर्लाही(१ पनि हो। यो निर्वाचन क्षेत्रमा राष्ट्रिय जनता पार्टीका प्रमोद साहले २२ हजार ३६ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवप्रसाद गौतमले २१ हजार ४६५ मत पाएका थिए। साहले गौतमलाई ५७१ मतले पराजित गरेका थिए। 

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसको २५ हजार ८३२, एमालेको १७ हजार ८१९, माओवादीको १५ हजार ९९५, लोसपाको ६ हजार ४६६, नेकपा एसको ६ हजार ४१, जसपाको ४ हजार ९७१, राप्रपाको १ हजार ५३ मत छ। यो क्षेत्रमा जनमत पार्टीको पनि ६८१ मत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएका छन्।

राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका सांसद साह अहिले उपेन्द्र यादव नेतृत्वको जसपामा छन्, जसपा पाँच दलीय गठबन्धनमा आवद्ध छ। यो क्षेत्रमा कांग्रेसको मत दोस्रो र गठबन्धनमा रहेको अर्को दल माओवादीको तेस्रो मत छ। जसपा यो क्षेत्रमा छैटौं पार्टीका रुपमा छ। यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको दाबी रहेको छ। त्यस्तै माओवादीबाट पनि रामचन्द्र सिंह कुशहवाको दाबी देखिन्छ भने एमालेले पुरानै उमेदवारलाई अगाडि बढाउने सम्भावना रहेको छ ।

मोरङ–६ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता लालबाबु पण्डितले नेपाली कांग्रेसका डा. शेखर कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए। एमालेका पण्डितले ३३ हजार ९४१ मत ल्याउँदा कांग्रेसका कोइरालाले ३३ हजार २६६ मत पाएका थिए। गत स्थानीय तहको निर्वाचनमा भने यो क्षेत्रमा कांग्रेस बलियो देखिएको छ। कांग्रेसको २७ हजार ८६, एमालेको २४ हजार ५५६, माओवादीको ४ हजार ९९६, जसपाको ३ हजार ९३९, राप्रपाको ३ हजार ११५, नेकपा एसको २ हजार ३५५ र लोसपाको ८९५ मत छ। पाँच दलिय गठबन्धनमा रहेका कांग्रेस, माओवादी, जसपा र नेकपा एसको मत जोड्दा यो क्षेत्रमा गठबन्धन धेरै अगाडि देखिन्छ। 

यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट १४ औं महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला नै चुनावी मैदानमा जाने देखिन्छ भने एमालेका तर्फबाट पनि वर्तमान सांसद लालबाबु पण्डित नै लड्ने निश्चितप्रायः छ। २०७४ सालको चुनावमा कांग्रेसले यो क्षेत्रका दुवै प्रदेशसभा कांग्रेसले जितेको थियो। तर यो पटक गठबन्धन गर्दा प्रदेश कसको भागमा पर्ने भन्ने दुविधा छ।

नेपाल समय
मोरङ-६ वाट निर्वाचित लालबाबु पण्डित।

धादिङ क्षेत्र नम्बर २ मा पनि २०७४ सालको निर्वाचनमा एक हजारभन्दा कम मतान्तरले हारजित भएको थियो। यो क्षेत्रमा एमालेका उम्मेदवार खेमप्रसाद लोहनीले नेपाली कांग्रेसका दिलमान पाख्रिनलाई ६४० मतले पराजित गरेका थिए। स्थानीय तहको निर्वाचनमा भने यो क्षेत्रमा कांग्रेस झण्डै ४ हजार मतले अगाडि देखिएको छ। यो क्षेत्रमा पाँच दलीय गठबन्धनमा रहेका दलहरुको मत जोड्दा नेकपा एमालेको भन्दा धेरै बढी देखिन्छ। स्थानीय तहको निर्वाचन परिणाम अनुसार कांग्रेसको २९ हजार ९६५, एमालेको २५ हजार ९३८, माओवादीको १४ हजार ३८०, राप्रपाको ५ हजार २८७, नेकपा एसको ३ हजार ४५६, र जसपा १ हजार ६० मत देखिन्छ। 

धादिङको यो क्षेत्रमा एमालेका तर्फबाट लोहनी नै उम्मेदवार बन्ने सम्भावना छ भने गठबन्धनका तर्फबाट भने वर्तमान जिल्ला सभापति रामनाथ अधिकारी, पूर्वसभापति रमेश धमला र केन्द्रीय सदस्य दिलमान पाख्रिनमध्ये को उम्मेदवार बनाउने भन्नेमा सकस पर्ने देखिन्छ। 

बाम गठबन्धन भएका बेलामा पनि कपिलवस्तु क्षेत्र नम्बर १ मा बाम माओवादी केन्द्रका नेता चक्रपाणि खनाललाई नेपाली कांग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले चुनौती दिएका थिए। तर खनालले उपाध्यायलाई ९४६ मतान्तरले पराजित गरे। खनालले २९ हजार ७९९ मत पाउँदा उपाध्यायले २८ हजार ८५३ मत पाएका थिए। 

कपिलवस्तुको यो निर्वाचन क्षेत्रमा स्थानीय तहको मतपरिणाम अनुसार कांग्रेसको २८ हजार २७१, एमालेको २६ हजार ८२३, जसपाको १३ हजार ५१०, माओवादीको ९ हजार ३३८, नेकपा एसको ३ हजार ७२२, लोसपाको ३ हजार ४२४ र राप्रपाको २ हजार ४८० मत छ। यो क्षेत्रमा एमालेका तर्फबाट वर्तमान प्रदेशसभा सदस्य विष्णु पन्थीले प्रतिनिधिसभा सदस्यमा दाबी गरेका छन्  भने गठबन्धनका तर्फबाट भने यो  क्षेत्र कसको भागमा पर्छ भन्ने यकिन भएको छैन। गठबन्धनबाट वर्तमान सांसद एवं कांग्रेस केन्द्रीय सदस्य अतहर कमाल मुसलमान, कांग्रेस नेता एवं भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय र माओवादी नेता एवं वर्तमान सांसद चक्रपाणि खनालको दाबी छ।

नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले बाम गठबन्धन भएको अवस्थामा पनि उदयपुर क्षेत्र नम्बर १ बाट बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी मञ्जुकुमारी चौधरीलाई पराजित गरेका थिए। खड्का ३३ हजार १४२ मत ल्याएर विजयी भएका थिए। एमालेकी मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत ल्याएकी थिइन्। खड्काले चौधरीलाई ५४८ मतान्तरले पराजित गरेका थिए। 

स्थानीय तहको मतपरिणाम अनुसार यो क्षेत्रमा एमाले अगाडि देखिएको छ। तर पाँच दलिय गठबन्धनमा रहेका दलहरुको मत जोड्दा भने गठबन्धनको मत बढी छ। यो क्षेत्रमा स्थानीय तहमा वडाध्यक्षले पाएको मतपरिणाम अनुसार एमालेको २१ हजार ६५२, कांग्रेसको २० हजार ७५७, माओवादीको ८ हजार १७९, जसपाको २ हजार ४२९, नेकपा एसको १ हजार ९९४ र राप्रपाको १ हजार ६३३ मत छ। यो क्षेत्रमा मंसिरमा हुने निर्वाचनमा पनि खड्का र चौधरीका बीचमा प्रतिष्पर्धा हुने देखिन्छ। यद्यपि चौधरीको विकल्पमा एमालेले राममणि पोखरेल र टेकबहादुर राउतलाई पनि उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ। 

तत्कालिन नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको उम्मेदवार बन्दासमेत पराजित भएका थिए। उनलाई नेपाली कांग्रेसका तत्कालिन जिल्ला सभापति सञ्जय गौतमले ७५३ मतान्तरले पराजित गरेका थिए। सञ्जयले ४४ हजार ८२९ मत ल्याउँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए। यो पटक वामदेव गौतमले एमाले छोडिसकेका छन्। उनी अहिले राष्ट्रियसभा सदस्य छन्। तर उनी राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर पाँच दलिय गठबन्धनमा आवद्ध भएर माओवादीको चुनाव चिन्हबाट मैदानमा जाने तयारीमा छन्। उनी बर्दिया वा प्यूठान कुन क्षेत्रबाट चुनावी मैदानमा उत्रने भन्ने टुंगो लागिसकेको छैन। 

यो क्षेत्रमा स्थानीय तह चुनावको मत परिणामअनुसार कांग्रेस झण्डै ३ हजारभन्दा बढी मतले अगाडि रहेको छ। स्थानीय तहमा कांग्रेसको २८ हजार ६१९, एमालेको २५ हजार ३१०, माओवादीको १७ हजार ११०, राप्रपाको ४ हजार ७८९, जसपाको ३ हजार ९५१, नेकपा एसको ६२३ र लोसपाको ३६१ मत छ। 

बर्दियाको यो क्षेत्रमा एमालेबाट प्रदेशसभा सदस्य कविराम थारु, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लक्ष्मण ज्ञवाली र प्रदेश उपसचिव लीला राना आकांक्षी छन्। गठबन्धनबाट भने कांग्रेसका तर्फबाट सञ्जय गौतम नै बलिया दाबेदार हुन्। गठबन्धनमा सहमति भएमा सञ्जयले वामदेवलाई सो क्षेत्र छोड्नुपर्ने सम्भावना पनि रहेको नेताहरुले बताएका छन्। 

एक हजारभन्दा कम मतान्तरले हारजित भएको निर्वाचन क्षेत्रमध्येमा काठमाडौं–१ पनि पर्छ। यो क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई ८१८ मतान्तरले पराजित गरेका थिए। सिंहले १० हजार ९३६ मत पाउँदा मिश्रले १० हजार ११८ मत पाएका थिए। स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसको ९ हजार ८९५, एमालेको ९ हजार ५४१, राप्रपाको १ हजार ३७६, र माओवादीको १ हजार १५९ मत छ। 

यो क्षेत्रमा एमालेका तर्फबाट प्रभावशाली उम्मेदवार देखिएका छैनन्। गठबन्धनबाट प्रकाशमान नै दोहोरिने सम्भावना छ। उनलाई स्वतन्त्र उम्मेदवारहरु चुनौती बन्ने देखिएको छ। नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुशासन पार्टीका अध्यक्ष रमेश खरेल, इनफ इज इनफ अभियन्ता पुकार बलमे यही क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। अघिल्लोपटक झिनो मतले पराजित रवीन्द्र मिश्रको समेत यही क्षेत्रमा उम्मेदवारी दिने तयारी छ।

यो पनि


प्रकाशित: August 24, 2022 | 13:31:25 काठमाडौं, बुधबार, भदौ ८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

चितवन शिवनगरको पुख्र्यौली जग्गामा घर बनाएर सरे प्रचण्ड

प्रचण्डले शिवनगरमा बनाएको ६ कठ्ठाको एकतले घर पैतृक सम्पत्ति हो।
नेपाल समय
राजनीति

देउवामाथि दबाब बढाउन शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब बढाउनका लागि डा. शेखर कोइराला समूहले आन्दोलनका थप कार्यक्रम तय गरेको छ।
नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना