सोमबार, असोज १०, २०७९
नेपाल समय

कांग्रेसका स्थानीय जनप्रतिनिधि भन्छन् – गठबन्धनले कतै आश, कतै निराश

खिला कार्की  |  काठमाडौं, बुधबार, भदौ १, २०७९
खिला कार्की

खिला कार्की

काठमाडौं, बुधबार, भदौ १, २०७९

कांग्रेस समर्थक मतदाताले गठबन्धनका अन्य उम्मेदवारलाई चुनावमा मत दिँदा मन मान्दैन। भोट साटासाट गर्ने विषयले स्थानीय तह चुनावमा कतिपय ठाउँमा अन्योल देखिएको छ। शीर्ष राजनीतिक नेतृत्वले जिताउनुपर्ने उम्मेदवारलाई भाउ दिने र अन्यलाई वास्ता नगर्ने प्रवृत्तिलाई चिरफार गर्नैपर्छ। 

काठमाडौं- नेपाली कांग्रेस आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पाँचदलीय गठबन्धनबीच चुनावमा होमिँदै छ। २०७४ मा स्थानीय तहको चुनावदेखि गठबन्धन गरेर चुनावी अभियानमा होमिएको कांग्रेस गत स्थानीय तहको चुनावमा पनि सरकारमा रहेका पाँच दलबीच गठबन्धन गरेरै चुनावी मैदानमा उत्रिएको थियो। स्थानीय तह चुनावमा गठबन्धन गरेर चुनावी अभियानमा होमिएका कांग्रेसका जनप्रतिनिधिले भोगेको अनुभवबारे पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने प्रशिक्षणमा सहभागी हुन काठमाडौं आएका जनप्रतिनिधिसँग गरिएको कुराकानीः

कार्यकर्तामाथि प्रहार गर्ने हतियार बनाइएको छ
तीर्थ भट्टराई 
प्रमुख, रुपाकोट-मझुवागढी नगरपालिका, खोटाङ

अहिलेको अवस्थामा गठबन्धन केही ठाउँमा आवश्यकता हो भने केही ठाउँमा आफ्नो विपक्षमा रहेका कार्यकर्तामाथि प्रहार गर्ने हतियार बनाइएको छ। लामो समयदेखि संघर्ष गरेको इतिहास बोकेका, सिद्धान्त र निष्ठावान कार्यकर्तामाथि प्रहार गर्ने औजार बनाइएको छ। नेताहरूले आफूसँग असहत कार्यकर्तालाई रोक्न गठबन्धनको डन्डा बजार्ने तर आफू निकट भए गठबन्धन गरे पनि आफ्ना कार्यकर्तालाई टिकट दिने गरिएको छ। तथापि वर्तमान अवस्थामा गठबन्धन ठाउँ हेरेर सहज र असहज देखिन्छ। गठबन्धनको व्याख्या आफू अनुकूल गर्दा समस्या हुने देखिन्छ। खोटाङमा समग्रमा सहज भयो।

केही स्थानमा निष्ठावान नेता/कार्यकर्ता गठबन्धनका कारण प्रताडित हुने अवस्था पनि भयो। गठबन्धन आवश्यक छ भन्नेमा आममतदाता पनि देखिए। नेकपा एमालेले २०७४ को चुनावपछि जुन–जुन काम गर्यो, त्योबाट प्रताडित आममतदाता गठबन्धनको पक्षमा देखिए। स्थानीय तह र संसदीय र प्रदेशको चुनावमा पनि २०७४ मा एमालेले बढी जितेको तर कामभन्दा बढी मतदाताको अपमानमा समय खर्चेका कारण गठबन्धनलाई आमनागरिकले स्वीकारे। न्यायोचित रूपमा सिट बाँडफाँट भएको स्थानमा गठबन्धन गर्दा पनि भोट साटासाटमा सहज देखिन्छ। अन्यथा समस्या देखिन्छ।

भोट साटासाटमा अलि समस्या देखियो
सुशीला शाही
प्रमुख, लम्कीचुहा नगरपालिका, कैलाली

गठबन्धनका कारण भोट साटासाटमा अलि समस्या देखियो। स्थानीय चुनावमा अलि समय कमी भएका कारण मतदातालाई सिकाइको कमी देखियो। गठबन्धन गर्दा स्थानीय तह चुनावमा केही गल्ती पनि भएका छन्। भागबन्डामा आफूपक्षीय नेताहरू जोगाउन गठबन्धनका अन्य दललाई त्यो ठाउँ दिने काम भयो। जुन ठाउँमा पार्टी जित्दै थियो, त्यहाँ अरू पार्टीलाई ठाउँ दिनु गलत हो। गठबन्धन गर्दा पनि जसले जित्छ, उसैलाई सिट दिनुपर्यो। कांग्रेसले जित्ने ठाउँमा हामीलाई दिनुपर्यो। माओवादीले जित्ने ठाउँमा उसैलाई दिनुपर्यो। एकीकृत समाजवादी वा अन्य दलले जित्ने हो भने तिनैलाई दिनुपर्यो।

स्थानीय तह चुनावमा देखिएको यो समस्या आमचुनावमा पनि दोहोरिने खतरा छ। यसो भए गठबन्धनमा समस्या हुन्छ। उम्मेदवारी धेरै ठाउँमा दिनेभन्दा पनि गठबन्धन गरेपछि जित्नैपर्यो। पाँच–पाँच पार्टीका बीचमा गठबन्धन गरेपछि एउटा अर्को पार्टीको उम्मेदवारसँग हार्ने छुट हुँदैन। नेताहरूले आफ्नो समूहका नेताको राजनीति बचाइदिन कांग्रेसले जित्ने ठाउँमा माओवादी वा अन्य कुनै दललाई सुम्पने हो भने समस्या हुन्छ। भूगोल हेर्नुपर्यो, भूगोलमा कुन राजनीति दलको प्रभाव के हो हेर्नुपर्यो। सिट बाँडफाँट गर्दा अन्यथा गठबन्धन गरेको औचित्य हुँदैन। गठबन्धन पनि गर्ने अनि चुनाव पनि हार्ने हो भने त्यसको के औचित्य हुन्छ? 

गठबन्धन हुँदा चुनावमा जित निकाल्न सहज हुन्छ
खेलराज पाण्डेय
प्रमुख, बुटवल उपमहानगरपालिका, रूपन्देही 

दलहरूका बीचमा गठबन्धन हुँदा चुनावमा जित निकाल्न सहज हुन्छ। स्थानीय तहमा गठबन्धन गर्दा कांग्रेसलाई फाइदा पनि भएको छ। तर गठबन्धन गरेर जाँदा एक पार्टीको मत अर्को पार्टीका उम्मेदवारलाई खसाल्न त्यति सहज देखिएन। स्थानीय तह चुनावमा छोटो समय भएर पनि होला, ‘भोट ट्रान्सफर’ गर्न समस्या भयो। आउँदो संघ र प्रदेशको चुनावमा अलि सहज होला भन्ने लाग्छ। संघ र प्रदेशको चुनाव अगाडि गठबन्धनमा आबद्ध दलहरूले संयुक्त रूपमा ‘भोट ट्रान्सफर’ गराउन प्रशिक्षण दिन आवश्यक छ।

गठबन्धन गर्दा दलका कार्यकर्ताहरू चुनावी अभियानमा खट्ने कुरामा कमी हुने देखिन्छ। तर चुनावको कमान्डर कस्तो हुन्छ भन्नेले त्यो कुरा तय गर्दछ। कमान्डर अलि चलायमान भए कार्यकर्ता परिचालन उपयुक्त ढंगले हुन्छ। नत्र जितिहालिन्छ भनेर कार्यकर्ता अल्छी बन्ने देखिन्छ। अर्को भनेको गठबन्धनमा उम्मेदवार तय गर्दा पनि ध्यान पुर्याउनुपर्ने हुन्छ। उम्मेदवार तय गर्दा अलि बढी जनाधार भएको छान्न सके गठबन्धन हुँदा सहज जित हात पारेको देखिन्छ। तर कमजोर उम्मेदवार हुँदा गठबन्धन गरेको सबै स्थानमा जित निस्कन्छ भन्ने छैन। 

गठबन्धन गरेर जाँदा पार्टीलाई कहीँ न कहीँ हानि हुन्छ
तुलसीदेवी जोशी 
उपमेयर, वेदकोट नगरपालिका, कञ्चनपुर

गठबन्धन गरेर चुनावमा जाँदा दुई वटा पाटा हुन्छन्–सकारात्मक र नकारात्मक, फाइदा र बेफाइदा तथा सहज र असहज। हुन त हरेक कामका दुईटा पाटा हुन्छन्। गठबन्धन गरेर जाँदा पार्टीलाई कहीँ न कहीँ हानि हुन्छ। व्यक्ति अर्थात् उम्मेदवारलाई फाइदा हुन्छ किनभने एक्लै चुनावमा जाँदा पार्टीको संगठन निर्माणमा सहयोग पुग्छ। तर गठबन्धन गरेर जाँदा उम्मेदवारलाई फाइदा हुन्छ। संगठन परिचालन कमजोर बन्छ। अर्को कुरा भनेको अहिले पनि आममतदातालाई चुनाव चिह्न प्यारो छ।

चिह्नका कारण ‘भोट ट्रान्सफर’ कति हुने भन्ने हुन्छ। कांग्रेसका मतदातालाई अहिले पनि रुख चुनाव चिह्न प्यारो छ। गठबन्धन गर्दा पनि रुख चुनाव चिह्न भयो भने अन्य पार्टीका उम्मेदवारलाई भोट हालेजस्तो अनुभूति हुँदैन। चुनाव चिह्न भनेको संगठनको पहिचान हो। अर्को पार्टीको चुनाव चिह्नमा कसरी भोट हाल्ने भन्ने आममतदातामा समस्या देखिएको छ। आफ्नो पार्टीको चुनाव चिह्नभन्दा अन्य चुनाव चिह्नमा मतदाताले भोट हाल्न नरुचाएको पाइयो। 

गठबन्धन गरेर चुनावमा जानु नराम्रो होइन
आनन्द त्रिपाठी
प्रमुख, भानु नगरपालिका, तनहुँ

गठबन्धन गरेर चुनावमा जानु नराम्रो होइन। स्थानीय तह चुनावमा आएको परिणाम सबै पार्टीको गठबन्धनको कारण नै हो। कांग्रेसका नेता/कार्यकर्ता पनि अल्छी भइसकेका छन्। कोही संगठन गर्न मरेर लाग्नेवाला छैनन्। कांग्रेसभित्र अनुशासन, गुट–उपगुटको चपेटाका कारण समस्या छ। प्रतिस्पर्धा अरू पार्टीसँग गर्नुपर्नेछ । आफूले पाए ठीक, अरूले पाए देखाइदिने भन्ने प्रवृत्ति बढेको छ।  मतदाता पनि पनि धेरै चलाख भइसकेका छन्। आफूसँग को नजिक छ, को आफ्नो दुःख–सुखमा साथ दिने उम्मेदवार हो भन्ने मतदाताले पहिचान गर्न सक्ने भएका छन्। अलि फरक ढंगले आफ्ना नीति, कार्यक्रम र योजना अगाडि बढाउने उम्मेदवारको खोजीमा मतदाता देखिन्छन्।

त्यसैले यी कामसँगै गठबन्धन गर्न सके फाइदा हुन्छ। आममतदाताले गठबन्धनमै भोट हाल्छन् भन्ने कुरा स्थानीय तह चुनावमा देखिएन। पार्टीले गठबन्धन गरे पनि पार्टीका नेता/कार्यकर्ता गठबन्धनमा भोट हाल्न बाध्य हुन्छन्। स्थानीय तहमा मात्र होइन, आमचुनावमा पनि उम्मेदवार हेरेर भोट हाल्छन् भन्ने लाग्छ। आममान्छे उम्मेदवार कस्तो हो? उम्मेदवारले आफ्नो गाउँठाउँ र क्षेत्रको विकासमा कत्तिको योगदान हुन्छ भन्ने हेर्छन्। तर स्थानीय तह चुनावमा जस्तै आफूले चिनेको, आफूलाई चिन्ने उम्मेदवारलाई नै मतदान गर्दछन्। यसो भए पनि गठबन्धन गर्दा गठबन्धनकै पल्ला भारी हुने देखिन्छ। गठबन्धन स्थानीय तहमा भन्दा संघ र प्रदेशमा सहज हुन्छ। 

आममतदाताले पत्याइहाल्ने अवस्था छैन
महेश खरेल 
प्रमुख, पाँचखाल नगरपालिका, काभ्रे 

गठबन्धन गरेर चुनावमा जाने कुरा कांग्रेस नेता/कार्यकर्ताका लागि नौलो अभ्यास हो। हामीले जीवनमा कहिल्यै पनि अरूको चुनाव चिह्नमा मतदान गरेका थिएनौं। यसले गर्दा स्थानीय तह चुनावमा अलि कठिन भयो। तर पार्टीको निर्णयअनुरूप हामी गठबन्धन गरेर चुनावमा सहभागी भयौं। कठिनाइ पनि भए। कांग्रेसको धेरै मत थियो। माओवादी र अन्य पार्टीहरूको कम मत थियो। थोरै मत भएका पार्टीका उम्मेदवारलाई धेरै मत खन्याएर गठबन्धनका साथीहरूलाई जिताउन समस्या हुने देखियो। थोरै मत भएका उम्मेदवार भएका साथीहरूको सक्रियता कमी भयो भने चुनावमा जित निकाल्न सकिँदैन।

यसो हुँदा गठबन्धन भइहाल्दा पनि आममतदाताले पत्याइहाल्ने अवस्था छैन। त्यसैले सिट बाँडफाँट र उम्मेदवार छनोटमा पनि ध्यान दिन जरुरी छ। गठबन्धन गर्दा सुरु–सुरुमा सहज भएन। क्रमशः मनोनयनपछि सँगै काम गर्दै जाँदा सहज भयो। भोट साटासाट गर्ने विषय स्थानीय तहको चुनावमा भन्दा आमचुनावमा अलि फरक हुन्छजस्तो लाग्छ । किनभने, स्थानीय तहमा उम्मेदवारसँग आममतदाताको पहुँच सहजै हुने भएकाले आफूसँग कुन उम्मेदवार नजिक छ भनेर मतदाताले पार्टीभन्दा बढी व्यक्ति हेर्ने भएकाले अलि समस्या भएको थियो। तर आमचुनावमा त्यो कम हुन्छ भन्ने मलाई लागेको छ। यो विषयमा हामीले नेतृत्वलाई गठबन्धन गर्दासमेत तल्लो तहसम्म प्रशिक्षण र मतदाता शिक्षा कार्यक्रम लैजानुपर्छ भनेका छौं।  

स्थानीय तहको चुनावमा समस्या देखियो
कैलाशकुमार आले
प्रमुख, भोजपुर नगरपालिका, भोजपुर 

अहिले गठबन्धन देश र राष्ट्रका निम्ति आवश्यक छ। तर गठबन्धन गर्दा भोट साटासाट गर्ने विषयमा स्थानीय तहको चुनावमा समस्या देखियो। आममतदाताले मतदान गर्दा धेरै मत बदर हुँदा परिणाम नै उल्टो पनि भएको छ। स्थानीय तहमा उम्मेदवार धेरै अनि चुनाव चिह्न अलग–अलग हुँदा त्यो समस्या देखिएको थियो। गठबन्धन प्रभाव देखियो तर जति प्रभाव देखिनुपर्ने हो र परिणाम हात लाग्नुपर्ने हो, त्यो भएन। स्थानीय तहमा आशा गरेजस्तो परिणाम नआउनुका पछाडि उम्मेदवारको पनि प्रभाव पर्ने रहेछ। उम्मेदवारको व्यक्तित्वले पनि मतदातालाई प्रभाव पार्ने देखियो।

स्थानीय तह चुनावमा मतदाताले आफ्नो को नजिक छ, आफ्ना दैनिक समस्यामा को सँगै हुन्छ भन्ने हेरेर अलि फरक ढंगले मतदान गरेको पाइयो। मैले भोट साटासाटको विषय अझ कठिन पाएँ। धेरै मत भएको पार्टीको उम्मेदवार भएका ठाउँमा कम मत भएका पार्टीको मत खसाउन सहज हुने देखियो। तर कम मत भएको पार्टीको उम्मेदवारलाई धेरै मत भएको पार्टीले सर्लक्कै भोट खसाल्न भने समस्या देखियो। आमचुनावमा पनि यो तथ्यलाई नेतृत्वले बुझेर गठबन्धनमा सिट बाँडफाँट गर्नेछ भन्ने लागेको छ। 

गठबन्धन गर्दा पनि समस्या हुने रहेछ
किशोरी साह
उपप्रमुख, जनकपुरधाम उपमहानगरपालिका, धनुषा 

कांग्रेसका तर्फबाट मैले उपप्रमुख पाउँदा जनकपुरधाम उप–महानगरपालिका प्रमुखमा स्वतन्त्रले जित हात पारे।  हामीले गठबन्धनका उम्मेदवारलाई जनकपुरधाम उप–महानगरमा जिताउन सकेनौं। गठबन्धन गर्दा पनि समस्या हुने रहेछ भन्ने यो तथ्यले देखाउँछ। जनतालाई मात्र होइन, कार्यकर्तालाई पनि सम्झाउन र बुझाउन समस्या पर्यो। संगठनमा सधैं काम गरेर बसेका नेता/कार्यकर्तालाई छाडेर अरूलाई मतदान गर भन्दा ठूलो समस्या हुने रहेछ। अर्को पार्टीका नेता/कार्यकर्तालाई भोट हाल्न विगतमा कांग्रेसलाई विभिन्न मञ्चमा विरोध गरेको, नेता/कार्यकर्तालाई गाली गरेको भन्ने पनि सम्झने रहेछन्। भोट माग्न जाँदा नेता/कार्यकर्ताले अर्को पार्टीको उम्मेदवारको यो दोष हो, यो दोष हो भनेर दर्जनौं आरोप थोपरेर बस्ने गरेको पाइयो।

आफैं गठबन्धनको उम्मेदवार, गठबन्धनलाई भोट दिनुस् भन्दा आफैंलाई पनि असहज लाग्दो रहेछ। हामीले विगतमा जसको विरोध गर्यौं, जुन पार्टी, जुन मान्छे, उसैलाई भोट माग्न जाँदा नेता/कार्यकर्ता मात्र होइन, मतदाताले पनि प्रश्न गर्ने रहेछन्। गठबन्धनको ‘कल्चर’ नेपालमा बसिसकेको छैन। हामीले पहिलो पटक गठबन्धन गरेका छौं। अहिले गठबन्धनका कारणले सरकार बनेको छ। धेरै स्थानीय सरकारहरू बनेका छन्। फेरि संघीय, प्रदेश सरकार बन्छन् अनि विस्तारै गठबन्धन ‘कल्चर’ बन्न सक्ला। आफू बलियो भएको क्षेत्रमा हामी गठबन्धन नराम्रो भन्छौं। हामी कमजोर छौं, त्यहाँ हामी गठबन्धन राम्रो भन्छौं। जहाँ, जो कमजोर छ, त्यहाँ गठबन्धन गर्न सबै दलहरू तयार भए राम्रै हो। गठबन्धन हुँदा पार्टी कार्यकर्तालाई भोट कहाँ हाल्ने भन्ने विकल्प हुँदैन। तर ‘न्यूट्रल’ भोटलाई प्रभावित गर्ने विषय समस्या हो। कार्यकर्ताले पार्टीको निर्देशन मान्छन्। केही प्रतिक्रियास्वरुप अन्त जालान् तर पार्टीका नेता/कार्यकर्तासँग विकल्पै हुँदैन। 

गठबन्धन अहिले मुलुकको आवश्यकतै बनिसक्यो
भोजराज बोहरा 
प्रमुख, वेदकोट नगरपालिका, कञ्चनपुर

गठबन्धन अहिले मुलुकको आवश्यकतै बनिसक्यो। अहिले हाम्रो निर्वाचन प्रणालीमा प्रत्यक्ष मात्र होइन, समानुपातिकको पनि व्यवस्था छ। त्यही भएकाले कुनै पनि दलको बहुमत आउने देखिँदैन। सोही कारण दलहरूले बहुमत जुटाउन पनि गठबन्धन राष्ट्रिय आवश्यकता देखिन्छ। राष्ट्रिय स्तरमा गठबन्धनको आवश्यकता बन्यो। तर स्थानीय स्तरमा भने गठबन्धन गर्ने-नगर्ने भन्ने आ–आफ्ना आवश्यकता छन्। हामीले कञ्चनपुरमा स्थानीय तह चुनावमा गठबन्धन गरेनौं। हामीले गठबन्धनबिनै चुनाव जितेका हौं। हामीले समन्वय समिति पनि बनाएका छौं। अहिलेको गठबन्धनमा रहेका दुई पार्टीले आपसी गठबन्धन गरेका थिए, कञ्चनपुरमा। पार्टी एक्लै चुनावमा जाँदा संगठन बाँच्छ। चुनाव जित्ने-नजित्ने अर्कै पाटो हो। गठबन्धन गरेर चुनावमा जाँदा संगठनलाई भने बेफाइदा हुन्छ।

आमचुनावमा गठबन्धन के गर्ने भन्ने हाम्रो निर्णयमा भर पर्ने कुरा होइन। केन्द्रमा गठबन्धन गर्दा पनि सुदूरपश्चिमको हकमा प्रदेशमा पनि सरकार नबन्ने अनि संघमा पनि सरकार बनाउन समस्या हुने गरी गठबन्धन गर्नुहुन्न। कांग्रेसले २०७४ मा कञ्चनपुरका ६ वटै प्रदेशका सिट जितेको छैन। यहाँका सबै सिट २०७४ मा माओवादी र एकीकृत समाजवादीले जितेका छन्। यसको मतलव कञ्चनपुरका कुनै पनि प्रदेशमा कांग्रेस चुनावै नलड्ने हो? यो चुनौतीपूर्ण हो। कांग्रेसको मतभार हेर्ने हो भने हामी ५० प्रतिशत माथि छौं। त्यसैले कांग्रेसले कञ्चनपुरका प्रदेश निर्वाचन क्षेत्रका ५० प्रतिशत सिट पाउनुपर्छ। हामी प्रदेश सरकारमा कञ्चनपुरबाट शून्य हुने गरी गठबन्धन गर्ने पक्षमा छैनौं। 

स्थानीय चुनावमा गठबन्धन खासै प्रभावकारी भएन
सूर्य कुलुङ राई 
प्रमुख, महाकुलुङ गाउँपालिका, सोलुखुम्बु 

देशले नै आवश्यक ठानेर नेताहरूले गठबन्धन गरेका होलान्। ठीकै हो तर स्थानीय तह चुनावमा गठबन्धन खासै प्रभावकारी भएको मैले पाइनँ। सोलुखुम्बुका धेरै स्थानमा गठबन्धन पनि भएन। गठबन्धन नहुँदा पनि सोलुमा कांग्रेसले अत्यधिक जित निकाल्यो। हामीले गठबन्धन नगरी समन्वय समिति गठन गरेका छौं। तर संघ र प्रदेशको चुनावमा गठबन्धन आवश्यक हुन्छ भन्ने लागेको छ। किनभने, स्थानीय तहमा स्थानीय प्रभावका आधारमा पनि चुनाव जित्न सहज हुन्छ।

तर संघ र प्रदेशमा अलि फरक हुने भएकाले गठबन्धन आवश्यक हो। जहाँसम्म भोट साटासाट गर्ने विषय छ, यो ठूलो समस्या देखिन्छ। विशेषगरी कांग्रेसको भोट माओवादी उम्मेदवारलाई खसाल्न समस्यै हुने देखियो। सशस्त्र द्वन्द्वको समय माओवादीले दुःख दिएको अझै पनि हामीले बिर्सेका छैनौं। सोही कारण भोट साटासाटमा समस्या भयो। तर नेकपा एकीकृत समाजवादी, जसपाका उम्मेदवारलाई भोट खसाल्न कांग्रेस मतादाताले सहज मानेको हामीले पाएका छौं। 

अहिलेको निर्वाचन प्रणालीका कारण गठबन्धन जरुरी छ
वसन्त श्रेष्ठ
प्रमुख, बागलुङ नगरपालिका, बागलुङ

गठबन्धन गरेर चुनावमा जाँदा पार्टी र उम्मेदवारका लागि सहज देखियो। गठबन्धन भएपछि उम्मेदवारले अब जितिहाल्छन भन्ने एउटा सन्देश आममतदातामा पुगिसकेको हुँदो रहेछ। गठबन्धनले जित्छ भन्ने सन्देश पुगेपछि प्रतिपक्षबाट चुनाव लड्ने उम्मेदवारको मनोबल कमजोर हुने देखियो। अहिलेको निर्वाचन प्रणालीका कारण पनि गठबन्धन जरुरी छ। प्रत्यक्ष र समानुपातिक गरेर मिश्रित निर्वाचन प्रणाली भएका कारण कसैको बहुमत नआउने भएकाले गठबन्धन राष्ट्रको आवश्यकता हो।

किनभने, चुनावपछि कुनै न कुनै दलसँग मिलेर सरकार बनाउनु छ भने चुनाव अगाडि नै किन गठबन्धन नगर्ने? गठबन्धन गर्दा भोट साटासाट गर्न खासै समस्या देखिएन। स्थानीय तह चुनावमा समय छोटो भएका कारण मतादाता शिक्षा पुग्न नसकेको हुँदा मत बदर भए। तर संघ र प्रदेशमा यो समस्या हुँदैन भन्ने लाग्छ।

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय
राजनीति

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय
राजनीति

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना