सोमबार, असोज १०, २०७९

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

ढुलमुले चरित्रका कारण वाम गठबन्धनका सूत्रधार वामदेवको राजनीति ओझेल पर्ने संकेत
कौशल काफ्ले  |  काठमाडौं, शुक्रबार, साउन २७, २०७९

कौशल काफ्ले

कौशल काफ्ले

शुक्रबार, साउन २७, २०७९, काठमाडौं

नेपाल समय
राष्ट्रियसभाको बैठकमा धारणा राख्दै वामदेव गौतम।

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदो छ। ४ मंसिरमा हुने चुनावका लागि राजनीतिक दलका नेतृत्वहरू आन्तरिक तयारीमा जुटिसकेका छन्। चुनावी रणनीति निर्माणमा नेताहरू व्यस्त देखिन्छन्।

तर समकालीन नेताहरू चुनावी तयारीमा जुट्दै गर्दा सधैं नेपाली राजनीतिको केन्द्रमा हुने वामदेव गौतमको भने कुनै चहलपहल देखिन्न। कुन दलमा टेकेर कुन क्षेत्रबाट चुनाव लड्दै छन् भन्ने कुरा स्पष्ट छैन। गौतमको राजनीति कसरी अगाडि बढ्छ भन्ने अन्दाज लगाउन गाह्रो छ। उनी स्वयं यस विषयमा तत्काल केही नबोल्ने भन्दै पन्छिरहेका छन्। 

‘अहिले म यस विषयमा केही बोल्दिनँ। अहिले काम गर्दै छु। केही समयपछि आफैं खुल्छु,’ गौतमले नेपाल समयसँग भने।

हुन त, स्थानीय तह चुनावमा पनि गौतम खुलेका थिएनन्। उनले नयाँ ‘रोडम्याप’ निर्माण गर्न काम गरिरहेको भनेर त्यसबेला टारेका थिए। आफ्नो रोडम्याप स्थानीय तह चुनावपछि सार्वजनिक गर्ने र सक्रिय राजनीतिमा होमिने उनले बताएका थिए।

तर स्थानीय तह चुनावपछि पनि वामदेवको सक्रिय भूमिका देखिएन। यसबीचमा बाम एकताका लागि पहल गर्ने केही बैठकमा बाहेक अन्यत्र उनको सक्रियता देखिएन। कम्युनिस्ट पार्टी एकता गर्ने घोषणाका साथ ‘नेकपा एकता राष्ट्रिय अभियान’ पनि उनले नखोलेका हैनन्। 

बाम पार्टीहरू एकजुट बनाउने जोश बोकेर अभियान खोलेका गौतमको उत्साह केही दिन पनि टिकेन। गौतमले नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दा उनलाई आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालले साथ दिएका थिए। तर पछि तिनै गौतमलाई चार पार्टीले अभियानबाट निष्कासन गरे। 

गौतम उक्त अभियानमा पनि ‘पेन्डुलम’ बने। त्यसपछि तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यको बैठकमा आफूलाई सहभागी गराउन थाले। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसँगै गौतम पनि बैठकमा देखिन थाले। यद्यपि, अन्य दलहरूले अहिलको सत्ता गठबन्धनलाई नै आउँदो चुनावसम्मै निरन्तरता दिने घोषणा गरेसँगै गौतम छायामा परेका छन्।

‘नेकपा एकता राष्ट्रिय अभियान’ले गरेको कारबाही र तत्काल बाम एकता नहुने संकेत देखिएसँगै गौतम संकटमा देखिन्छन्। कुनै दलमा आबद्ध नरहेकाले कहाँबाट कसरी चुनाव लड्दै छन् भन्न सकिन्न। 

हुन त, २०७४ को प्रतिनिधिसभा चुनावमा पनि गौतम पराजित भएका थिए। त्यसबेला नेकपा एमालेबाट बर्दिया क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका थिए। उनलाई नेपाली कांग्रेसका सञ्जय गौतमले ७५३ मतान्तरले हराएका थिए।

तत्कालीन समय बाम गठबन्धनका सूत्रधारसमेत रहेका वामदेवले ४४ हजार ७६ मत ल्याए भने विजयी गौतमले ४४ हजार ८२९ मत ल्याएका थिए। मत परिणाम सार्वजनिक भएलगत्तै आफूले अन्तरघातकै कारण पराजय बेहोरेको आरोप उनले लगाएका थिए। 

गौतमका अनुसार उनलाई हराउन बर्दिया–१ का निवर्तमान सांसद श्याम ढकालसहित ८–९ जना नेताहरूको हात रहेको थियो। गौतमले आफूलाई हराउन केन्द्रीय सदस्य सूर्य थापा पनि लागेको मौखिक आरोप लगाएका थिए। 

यसरी पराजय बेहोरेका गौतम त्यसपछि पनि निरन्तर प्रयोग भइरहे। नेकपा विवाददेखि एमाले विभाजनसम्म आइपुग्दा उनमा ढुलमुले चरित्र देखिन्थ्यो। प्रायजसो गौतम पार्टीभित्र रहेका सबै गुटको प्रयोगमा परे। कहिले ‘प्रधानमन्त्री कार्ड’मा लोभिएर त कहिले सांसद बनाउने आश्वासनमा परेर उनी प्रयोगको पात्र बनिरहेका थिए। 

गौतम प्रयोग पर्नुमा उनकै आफ्नो स्वभावले पनि काम गरेको उनी निकट नेताहरू बताउँछन्। उनको स्वभावको चर्चा गर्दा अस्थिर र ढुलमुले पात्रको रूपमा चिनिन्छन्। पछिल्लो समय कतिपय निर्णय गर्ने क्रममा पनि उनी चुकेको पाइन्छ। 

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्। 

यसअघिको चुनावमा गौतमको पराजय हुनुमा यिनै ‘फ्याक्टर’ले काम गरेको थियो। २०४८ देखि लगातार बर्दिया–१ बाट चुनाव लडेका र तीन पटक जितेका गौतमले केही काम नगरेको भन्दै नागरिकमा व्यापक असन्तुष्टि देखिन्थ्यो। तीन पटक उप–प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत कसैले जागिर नपाएकोदेखि विकास निर्माणका काम नभएको गुनासो स्थानीयको थियो। चुनाव जितेपछि जनताले भेट्नै नपाउने भन्ने खाले गुनासो पनि सुनिएका थिए।

त्यस्तै, गौतमको घमन्डले पनि गत चुनावमा घाटा पुर्यायो। उनले २०७० को चुनावमा प्यूठान र बर्दिया दुवै ठाउँबाट उम्मेदवारी दिएका थिए। दुवै ठाउँबाट चुनाव पनि जिते। त्यसपछि उनले प्यूठानलाई रोज्दै ‘अब म बर्दिया फर्किन्नँ’ भन्ने अभिव्यक्ति दिएका थिए। यसरी २०७० को चुनावमा बर्दियाका जनतालाई धोका दिएका गौतमसँग २०७४ को चुनावमा बर्दियाले ‘बदला’ लियो।

त्यसपछि पनि अपरिपक्व निर्णय गर्नमा गौतम खप्पिस देखिए। चुनाव हारेका गौतमलाई पटक–पटक प्रधानमन्त्री पदले लोभ्याउन थालियो। संविधानमा रहेको व्यवस्थालाई बेवास्ता गर्दै उनी प्रधानमन्त्री हुन खेलिइरहे। कुनै सांसदलाई राजीनामा गराएर भए पनि गौतमलाई प्रतिनिधिसभामा छिराउने योजनासम्म बने। त्यो पनि सम्भव नभए राष्ट्रिय सभामा लगेर संविधान संशोधन गरेरै भए पनि प्रधानमन्त्री बनाउने आश्वासन उनले पाए। यसरी प्रधानमन्त्री पदको लोभमा वामदेव पटक–पटक प्रयोग भइरहे। अपरिपक्व र अस्वाभाविक हर्कत उनले दोहोर्याइरहे।

तत्कालीन नेकपाको सचिवालयको समीकरण पनि त्यस्तै थियो। ९ सदस्यीय सचिवालयमा वामदेव जसको पक्षमा ढल्कियो, उसैको बहुमत पुग्ने अवस्था थियो। सोही कारण विवाद समाधानको सूत्र फर्माउने उनै गौतम हुन्थे। उनलाई अनेक आश्वासनसमेत दिइन्थ्यो। 

कहिले माधव नेपालतिर लागेर ओलीलाई गाली गर्ने त कहिले तिनै ओलीसँग मिसिन पुग्ने ढुलमुले चरित्रबाट उनी मुक्त हुन सकेनन्। अस्थिर र ढुलमुले चरित्र भनिएकामा उनले त्यसबेला आपत्ति नै जनाएका थिए। ओलीले बोलाएको बैठकमा गएकोबारे प्रस्टीकरण दिँदै उनले भनेका थिए, ‘म कुनै पक्षको होइन। म एमाले हो। एमाले भएको प्रमाण पेस गर्न केन्द्रीय कमिटी बैठकमा गएको हो।’

त्यसलगत्तै गौतमले १८ असारमा पार्टी केन्द्रीय कमिटी बैठकमा बोली फेरे। माधव नेपाललाई नयाँ पार्टी गठन गरे साथ दिने प्रतिबद्धता जनाएका उनले नेपालमाथि नै प्रश्न गर्न थाले। पार्टीबाट राजीनामा नगरी माधव पक्षले विपक्षी दलका नेतालाई प्रधानमन्त्री प्रस्ताव गर्नु अनैतिक भएको बताएका थिए। उक्त बैठकमा पार्टी फुटाउने कुरा गलत हुने उनले सुनाए। 

गौतमको राजनीतिक पृष्ठभूमि हेर्दा पनि उनको ढुलमुले र अस्थिर चरित्र थप स्पष्ट हुन्छ। जस्तो, २०५४ मा फर्किऔं। त्यसबेला मनमोहन अधिकारी आलंकारिक अध्यक्ष र माधव नेपाल कार्यकारी महासचिव रहेका बेला गौतमले एमाले फुटाएका थिए। 

त्यसबेला गौतमले ‘औंलो पाउँदा डुडुलै निल्न’ खोजेझैं गरे। २०५१ मा तत्कालीन एमालेले ठूलो दलको हैसियतमा अल्पमतको सरकार चलाएको थियो। त्यसबेला पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधवकुमार नेपाल प्रधानमन्त्री र उपप्रधानमन्त्री भएर सरकारमा गए। वामदेव गौतमलाई उपमहासचिवको हैसियतमा पार्टीका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिइयो।

सरकारबाट एमाले बाहिरिने समयसम्म पार्टीभित्र गौतम बलियो भइसकेका थिए। माधव नेपालहरूले आफ्नै हातमा पार्टीको शक्ति ल्याउन प्रयास गरे। तर गौतम पक्षले त्यसै किन मान्थ्यो? उनकै सहयोगमा झलनाथ खनाल, सीपी मैनाली, राधाकृष्ण मैनालीलगायतका नेताहरूले माधव नेपाललाई महासचिवबाट हटाउने अभियानै चलाए। बरु नेपालको ठाउँमा एमाले वरिष्ठ नेता झलनाथलाई महासचिव बनाउने योजनामा उनीहरू लागेका थिए। 

यद्यपि, पार्टीको केन्द्रीय कमिटी बैठकमा अल्पमतमा पर्न सक्ने देखेपछि नेपालले निर्णय गर्न दिएनन्। उल्टै पार्टीको माइन्युट बोकेर हिँडे। त्यसबेलादेखि एमालेमा देखिएको विवाद २०५४ मा पार्टी विभाजन हुने स्थितिसम्म पुग्यो। २०५३ असोजमा महाकाली सन्धि संसद्बाट अनुमोदन भएपछि त्यही बहानामा वामदेवले २०५४ मा नेकपा माले गठन गरेका थिए।

यसरी पार्टी फुटाउनेदेखि ‘नेकपा एकता राष्ट्रिय अभियान’बाट निष्कासन हुँदासम्मका गतिविधि हेर्दा वामदेव अपरिपक्व नेताका रूपमा चित्रित हुने उनी निकटकै नेताहरू बताउँछन्। हुँदाहुँदा वामदेवको अबको राजनीतिक यात्रा कसरी अगाडि बढ्छ भन्न नसकिने अवस्था छ। यसले विस्तारै गौतम नेपाली राजनीतिबाट किनाराकृत हुँदै गएको देखाउँछ।

यो पनि


प्रकाशित: August 12, 2022 | 08:56:28 काठमाडौं, शुक्रबार, साउन २७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

चितवन शिवनगरको पुर्ख्यौली जग्गामा घर बनाएर सरे प्रचण्ड

प्रचण्डले शिवनगरमा बनाएको ६ कठ्ठाको एकतले घर पैतृक सम्पत्ति हो।
नेपाल समय
राजनीति

देउवामाथि दबाब बढाउन शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब बढाउनका लागि डा. शेखर कोइराला समूहले आन्दोलनका थप कार्यक्रम तय गरेको छ।
नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना