सोमबार, असोज १०, २०७९

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

खिला कार्की  |  काठमाडौं, आइतबार, साउन २९, २०७९

खिला कार्की

खिला कार्की

आइतबार, साउन २९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेसँगै पाँच दलीय गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएर ११ सदस्यीय कार्यदल गठन गरी सिट बाँडफाँटको गृहकार्य थालेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये कसलाई कति दिने, कसले कुन क्षेत्र छाड्ने भनेर दलहरू गृहकार्यमा जुटेका छन्। शीर्ष नेतृत्वबाहेक सबै दलका अन्य नेताहरूले सम्मानजनक सिट बाँडफाँट नभए क्षति हुने सुनाइरहेका छन्।

तर शीर्ष नेताहरू मात्र नभएर झन्डै तीन दर्जन बढी निर्वाचन क्षेत्रमा गठबन्धनमा आबद्ध दलका केन्द्रीय नेताहरू आकांक्षी भएका कारण कार्यदललाई अप्ठेरो पर्ने देखिन्छ। अझ सिट बाँडफाँटमा दलहरूले २०७४ मा आफूले जितेको ठाउँ नछाड्ने अडान लिए कांग्रेसभित्र शीर्ष नेताहरू नै उम्मेदवार बन्न नपाउने अवस्था आउँछ। 

झापा-१ 


झापा क्षेत्र नम्बर १ कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको निर्वाचन क्षेत्र हो। शर्मालाई २०७४ मा झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीले हराएका थिए। कार्कीले ३६ हजार १७३ मत ल्याएर विजयी भएका थिए भने शर्माले ३३ हजार ३१० मत पाएका थिए। शर्मा २०७० मा एमालेका रविन कोइरालासँग पराजित भएका थिए।

स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्दा सबैभन्दा धेरै भोट एमालेको छ। दोस्रो कांग्रेस र माओवादीको चौथो भोट छ। माओवादीको भन्दा २ हजार बढी भोट राप्रपाको छ।  एमालेको मत ३१ हजार २३२ छ । कांग्रेसको मत २४ हजार ५९ छ भने राप्रपा ५ हजार ९२२ र माओवादी ३ हजार ९०५ भोट छ। यो निर्वाचन क्षेत्रमा अहिले पनि गठबन्धनका दुई दल कांग्रेसका महामन्त्री शर्मा र माओवादी नेता कार्की दुवै आकांक्षी देखिएका छन्। दुवै केन्द्रीय नेता आकांक्षी हुँदा गठबन्न्धनलाई सिट टुंगो लगाउन महाभारत पर्ने देखिन्छ।

मोरङ-४ 

पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता महेश आचार्य २०४८ देखि नै उम्मेदवार बन्दै आएको निर्वाचन क्षेत्र हो, मोरङ–४। तर २०७४ को चुनावमा माओवादीका अमनलाल मोदीले आचार्यलाई ५ हजार मतले पराजित गरेका थिए। मोदीले २८ हजार १६२ भोट प्राप्त गरेका थिए भने आचार्यले २३ हजार ६८९ भोट पाएका थिए। स्थानीय तहको चुनावमा वडा अध्यक्षमा पाएको भोटलाई आधार मान्दा झन्डै यो निर्वाचन क्षेत्रमा १२ हजार भोटले माओवादीभन्दा कांग्रेस अगाडि छ।

मोरङ क्षेत्र–४ मा एमालेको २५ हजार ७३०, कांग्रेसको २१ हजार ८९४, माओवादीको ९ हजार ९९०, राप्रपाको ४ हजार ६७४, जसपाको ३ हजार ११२  र नेकपा एसको १ हजार २५५ भोट रहेको छ। आचार्यको पुनः मोरङको क्षेत्र नम्बर ४ बाट उम्मेदवार दाबी छ। अघिल्लो पटक आचार्यलाई पराजित गरेका माओवादी सांसद मोदीले आफू निर्वाचित भएको क्षेत्र सुरक्षित रहेको भन्दै दाबी छाडेको देखिँदैन। सोही कारण यो क्षेत्रको सिट टुंगो लगाउन समस्या हुने नेताहरूको बुझाइ छ। 

मोरङ-५ 


मोरङ क्षेत्र नम्बर ५ कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालको निर्वाचन क्षेत्र हो। यो क्षेत्रबाट २०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता शिवकुमार मण्डल अर्याललाई हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। २०७४ को चुनावमा मण्डल २२ हजार ९४५ भोटले विजयी भएका थिए भने कांग्रेसका अर्यालले १९ हजार ९५३ हजार भोट पाएका थिए।

तर स्थानीय चुनावमा वडा अध्यक्षले पाएको भोटका आधारमा सबैभन्दा अगाडि कांग्रेस छ भने माओवादी चौथो दल बनेको छ। यो क्षेत्रमा स्थानीय तहमा कांग्रेसले १९ हजार ४९८, एमालेले १५ हजार ६८०, जसपाले १३ हजार २४९, माओवादीले ११ हजार ६२८ भोट पाएको देखिन्छ। स्थानीय चुनावमा यो निर्वाचन क्षेत्रमा कांग्रेसको सबैभन्दा धेरै भोट भएका कारण अर्यालको दाबी देखिन्छ। तर २०७४ मा माओवादीले जितेका कारण उसले पनि यो क्षेत्र सहजै छाड्ने देखिँदैन। 

प्यूठान 

प्यूठान मसालका महामन्त्री मोहनविक्रम सिंहको गृहजिल्ला हो। प्यूठानबाट सिंह पत्नी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल वाम गठबन्धनबाट २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन्। अहिले पनि प्यूठानबाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवार दाबी गरिरहेकी छन्। एउटा निर्वाचन क्षेत्र रहेको प्यूठानबाटै कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेलले उम्मेदवारीको आकांक्षा देखाएका छन्।

२०७४ को चुनावमा पौडेल १६ हजार २२८ मतान्तरले विजयी भएकी थिइन्। उनले ४१ हजार ५१४ र निकटतम प्रतिस्पर्धी पोखरेलले ३१ हजार २८६ मत पाएका थिए। प्यूठानमा वडा अध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने एमाले सबैभन्दा ठूलो दल देखिन्छ। दोस्रोमा कांग्रेस र तेस्रोमा माओवादी छ।

प्यूठानमा स्थानीय तहमा एमालेको ३९ हजार ८७७, कांग्रेसको २१ हजार ५६४, माओवादीको १७ हजार १६३, नेकपा एसको १ हजार ४१७ र राप्रपाको ४३३ मत छ। गठबन्धन गरेर जनमोर्चाले पनि १० वडा वडामा वडाध्यक्ष हात पारेको छ। गठबन्धनमा रहेका दलमध्ये सबैभन्दा बढी भोट भएको भन्दै कांग्रेसले प्यूठान छाड्न नहुने अडानमा नेताहरू देखिन्छन्। 

तनहुँ– १

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो, तनहुँ– १। २०४८ देखि लगातार निर्वाचित हुँदै आएका पौडेललाई २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठ (किसान)ले पराजित गरेका थिए। श्रेष्ठले ३४ हजार ४८९ भोट पाएका थिए भने पौडेलले २७ हजार ६७५ भोट ल्याएका थिए। किसान अहिले नेकपा एसमा छन्।

स्थानीय तहको भोटमा नेकपा एसको १०००  पनि भोट आएको देखिँदैन। स्थानीय चुनावमा कांग्रेसको ३३ हजार १०६, एमालेको २२ हजार २१०, माओवादीको ८ हजार ४७४, राप्रपाको  १ हजार ७७५ र नेकपा एसको ८९२ भोट छ। यो क्षेत्रमा वरिष्ठ नेता पौडेल भएको र स्थानीय तहको निर्वाचनमा धेरै आएकाले कांग्रेसले छाड्ने अवस्था देखिँदैन। 

सिन्धुपाल्चोक– १ 

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अघिल्लो निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादीबाट निर्वाचित भएका थिए। सापकोटासँग पराजित कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतले सोही क्षेत्रबाट उम्मेदवार बन्ने अडान लिएका छन्। बस्नेतले गठबन्धन गरेर सो क्षेत्र माओवादीलाई छाडे विद्रोह गर्ने चेतावनीसमेत दिएका छन्।

सापकोटाले २०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेर ४० हजार ५०४ भोट ल्याएका थिए। उनले बस्नेतलाई १० हजार ७०० बढी मतान्तरले पराजित गरेका थिए। बस्नेतले २९ हजार ७९८ भोट ल्याएका थिए। तर गत वैशाखको स्थानीय तह चुनावमा कांग्रेस पहिलो र माओवादी तेस्रो स्थानमा छ। स्थानीय चुनावमा कांग्रेसको २९ हजार ८९, एमालेको २८ हजार ६२०, माओवादी १३ हजार ३६९, राप्रपाको  ३३२ र नेकपा एसको १८७ भोट देखिन्छ। 

नुवाकोट–१ 

कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले यो पटक नुवाकोटको क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरेका छन्। तर सो क्षेत्रमा २०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट माओवादीका हितबहादुर तामाङ निर्वाचित भएका थिए। तामाङले कांग्रेस नेता एवं महतका दाइ डा. रामशरणलाई पराजित गरेका थिए। तामाङले ३६ हजार ४७३ र डा. रामशरण महतले २७ हजार ९२० मत मात्र प्राप्त गरेका थिए।

२०६४ र २०७० को निर्वाचनमा डा. महतसँगै पराजित भएका तामाङले वाम गठबन्धन भएका बेला जित निकालेका थिए। तर स्थानीय तह चुनावमा भने यो क्षेत्रमा मतका आधारमा कांग्रेस पहिलो र माओवादी दोस्रो भएको छ। स्थानीय तह चुनावमा कांग्रेसको २८ हजार ९६२, माओवादीको २३ हजार २००, एमालेको १८ हजार २६७, राप्रपाको ४ हजार ७८ र नेकपा एसले २ हजार २४५ भोट ल्याएको छ। यसअघि काठमाडौं क्षेत्र नम्बर ५ बाट उमेदवार बनेका कांग्रेस प्रवक्ता महतले नुवाकोट–१ दाबी गरेपछि सिट टुंगो लगाउन गठबन्धनमा सकस पर्ने देखिन्छ। 

बारा– ३ 

जनता समाजवादी पार्टीका सांसद रामबाबुकुमार यादव २०७४ को आमनिर्वाचनमा बारा–३ बाट संघीय संसद्मा निर्वाचित भएका थिए। यादवसँग पराजित कांग्रेस सह–महामन्त्री फर्मुल्ला मन्सुर यस पटक पुनः सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने अडानमा छन्। यादवले २१ हजार ३३६ मत ल्याउँदा मन्सुरले १६ हजार ६८ मत पाएका थिए। दोस्रोमा एमालेका अदयानन्द पाण्डेयले १६ हजार ३६२ मत पाएका थिए।

स्थानीय तह चुनावमा एमालेको २३ हजार ६५४, कांग्रेसको १७ हजार ५५४, जसपाको ११ हजार २७९, माओवादीको ८ हजार २४८, नेकपा एसको ३ हजार ३९५ र  लोसपाको २ हजार २०६ भोट रहेको छ। जसपाका मधेस प्रदेश अध्यक्ष रहेका यादव र कांग्रेस सहमहामन्त्री रहेका मन्सुरको दाबीका कारण गठबन्धनलाई सिट बाँडफाँटमा समस्या भएको नेताहरू बताउँछन्। 

मकवानपुर– २ 

नेकपा एसका नेता तथा पूर्वमन्त्री विरोध खतिवडा र कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय दुवैले मकवानपुर–२ मा उम्मेदवारीको दाबी गरेका छन्। दुवैको दाबी रहँदा गठबन्धनले कसलाई टिकट दिने भनेर निर्णय गर्न चुनौती थपिनेछ। २०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका खतिवडाले कांग्रेस सह–महामन्त्री उपाध्यायलाई ११ हजार ९६३ भोटले हराएका थिए।

खतिवडाले ४४ हजार ७४४ र उपाध्यायले ३२ हजार ६८१ भोट ल्याएका थिए। स्थानीय तह चुनावमा भने एमालेको ३६ हजार ८६६, कांग्रेसको ३४ हजार २४०, माओवादीको २२ हजार ६०७ र नेकपा एसले २ हजार ७१९ भोट ल्याएका छन्। मकवानपुर–२ मा पनि नेकपा एसका सचिव खतिवडा र कांग्रेस सह–महामन्त्री उपाध्यायबीच कडा टक्कर देखिन्छ।  

कपिलवस्तु–१ 

माओवादी नेता चक्रपाणि खनाल र कांग्रेस नेता पूर्वमन्त्री दीपकुमार उपाध्याय दुवैले कपिलवस्तु–१ बाट संघीय संसद्को उम्मेदवारी दाबी गरेका छन्। यहाँ गठबन्धनलाई खनाल र उपाध्यायमध्ये एकलाई रोज्न कठिन हुने देखिन्छ। अघिल्लो निर्वाचनमा खनालले उपाध्यायलाई हराएका थिए।

वाम गठबन्धनबाट उम्मेदवार बनेका खनालले २९ हजार ७९९ मत प्राप्त गर्दा उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए। स्थानीय तह चुनावमा भने यो निर्वाचन क्षेत्रमा कांग्रेस पहिलो रहेको छ। कांग्रेसको २८ हजार २७१, एमालेले २६ हजार ८२३, जसपाले १३ हजार ५१०, माओवादीले ९ हजार ३३८, नेकपा एसले ३ हजार ७२२ र लोसपाले ३ हजार ४२४ भोट ल्याएका थिए। 

लमजुङ–१ 

माओवादी नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र कांग्रेसका पुराना नेता दिलबहादुर घर्ती दुवैले लमजुङ–१ बाट संघीय संसद्का लागि उम्मेदवारीको दाबी गरेका छन्। २०७४ को चुनावमा गुरुङले घर्तीलाई पराजित गरेका थिए। वाम गठबन्धनबाट उम्मेदवार बनेका गुरुङ २०७४ मा ८ हजार ४३४ मतान्तरले विजयी भएका थिए।

उनले ३९ हजार ४६८ भोट पाउँदा घर्तीले ३१ हजार ३४ मत ल्याएका थिए। स्थानीय तह चुनावमा भने माओवादीको न्यून भोट देखिएको छ। सबैभन्दा बढी एमालेले ४० हजार १९७, दोस्रो कांग्रेसले ३५ हजार २७६, तेस्रो माओवादीले ६ हजार १२७, चौथो राप्रपाले १ हजार १८४ र  पाँचांै जसपाले १९० मत ल्याएका छन्। पुराना नेता घर्ती रहेको र स्थानीय तह चुनावमा कांग्रेसले बढी भोट पाएका कारण यो क्षेत्रमा पनि गुरुङ र घर्तीमध्ये एउटालाई छान्न गठबन्धनलाई समस्या हुने देखिन्छ।  

धनुषा–४ 

माओवादी नेता मातृका यादव र कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद ढुंगाना दुवैले धनुषाको क्षेत्र नम्बर–४ मा उम्मेदवारीको दाबी गरेका छन्। यादवले आफूले नपाए माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सो क्षेत्रबाट उम्मेदवार बन्न सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। यादवले २६ हजार ४१८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार २९६ मत प्राप्त गरेका थिए।

कांग्रेसका आनन्द ढुंगानाले १५ हजार ६७९ मत ल्याएका थिए। स्थानीय तह चुनावमा भने माओवादीको भोट पाँचांै नम्बरमा रहेको छ। पहिलो नम्बरमा रहेको कांग्रेसको २५ हजार १९५, दोस्रो एमालेको २३ हजार ६३०, तेस्रो जसपाको ८ हजार ३७८, चौथो नेकपा एसको ८ हजार १६४ र पाँचौं नम्बरमा रहेको माओवादीको ४ हजार ४३४ मत रहेको छ। 

सोलुखुम्बु 

कांग्रेस नेता बलबहादुर केसी र माओवादी सांसद हेमकुमार राई दुवैले सोलुखुम्बुबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारीको दाबी गरेका छन्। अघिल्लो निर्वाचनमा राईले केसीलाई पराजित गरेका थिए। वाम गठबन्धनका उम्मेदवार राईले २० हजार ७४७ भोट ल्याउँदा केसीले १७ हजार २९४ मत ल्याएका थिए।

गत स्थानीय तह चुनावमा कांग्रेसको १९ हजार ६८, एमालेको १६ हजार ५९७, माओवादीको १२ हजार ४२५ र नेकपा एसको १६३ मत देखिन्छ। २०४८ देखि जित्दै आएको सोलुखुम्बुमा केसी २०६४ र २०७४ मा मात्र पराजित भएका हुन्। त्यसैले पनि सोलुखुम्बुमा सिट बाँडफाँट गर्दा कुन मापदण्ड अपनाउने भन्नेमा गठबन्धनका नेताहरूलाई सकस पर्ने देखिन्छ। 

डोटी 

नेकपा एसका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले यस पटक पुनः डोटीबाट संघीय संसद्को निर्वाचनमा उम्मेदवारीको दाबी गरेका छन्। तर स्थानीय तहको चुनावमा कांग्रेसले दुई तिहाइ बढी स्थानमा जित हासिल गरेको बताएर कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पुनः संघीय संसद्का लागि उम्मेदवार हुने दाबी पेस गरेका छन्। वाम गठबन्धन भएपछि २०७४ मा आलेले नै बलायरलाई पराजित गरेका थिए।

आलेले २०७४ मा ३२ हजार ५१० भोट ल्याउँदा बलायरले ३० हजार ८७८ मत पाएका थिए। तर स्थानीय तह चुनावमा भने नेकपा एस चौथो पार्टी भएको छ। स्थानीय तह चुनावमा कांग्रेसको ३४ हजार ४७, एमालेको २४ हजार ९१६, माओवादीको ७ हजार ७८९, नेकपा एसले ३ हजार २०५ भोट ल्याएको छ। वर्तमान सरकार गठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका आले र सुदूरपश्चिम प्रदेश अध्यक्ष बलायरबीचको मागदाबीले डोटीको सिट बाँडफाँटमा संकट आउने देखिन्छ। 

दाङ–३ 

स्वास्थ्य राज्यमन्त्री तथा नेकपा एसका सांसद हिराचन्द्र केसीले दाङको क्षेत्र नम्बर ३ बाट पुनः उम्मेदवारीको आकांक्षा राखेका छन्। तर गत निर्वाचनमा पराजित कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीको बलियो दाबेदारीका कारण दाङ–३ को सिट बाँडफाँटमा पनि समस्या हुने देखिएको छ। केसी ६ हजार ५५७ मतान्तरले विजयी भएका थिए।

केसीले ४० हजार २८७ र गिरीले ३३ हजार ७३० मत प्राप्त गरेका थिए। यो निर्वाचन क्षेत्रमा एमालेको ३८ हजार ६५८, कांग्रेसको ३० हजार ९८९, माओवादीको १२ हजार ८८० र नेकपा एसको १ हजार ९३८ भोट देखिन्छ। 

रोल्पा 

रोल्पामा पनि गठबन्धनमा आबद्ध कांग्रेस र माओवादीका दुई पुनबीच सिट कसले हात पार्ने भन्नेमा टकराव छ। रोल्पामा कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र माओवादी नेता वर्षमान पुन दुवै आउँदो निर्वाचनमा उम्मेदवार बन्ने रस्साकस्सीमा लागेका छन्। अमरसिंह २०७४ मा वर्षामानसँग पराजित भएका थिए। माओवादीको सबैभन्दा सुरक्षित मानिने यो क्षेत्रमा स्थानीय तह चुनावमा समेत ऊसँग तालमेल नगरी कांग्रेसले एमालेसँग तालमेल गरेको थियो।

२०७४ मा वर्षामानले ४२ हजार ८४ मत ल्याउँदा अमरसिंहले २० हजार ३३७ मत पाएका थिए। स्थानीय तह चुनावको नतिजाअनुसार माओवादीलाई पराजित गर्न बाँकी सबै दल एकै ठाउँ हुनुपर्ने अवस्था छ। स्थानीय तह चुनावमा माओवादीको ४० हजार ७९१, कांग्रेसको २४ हजार ६६४, एमालेको १५ हजार ३०१, राप्रपाको  १ हजार २१८ र नेकपा एसको ९५० भोट देखिन्छ। 

जुम्ला 

कांग्रेसको कर्णाली प्रदेश सभापतिमा निर्वाचित ललितजंग शाहीले जुम्लाको एक मात्र निर्वाचन क्षेत्रबाट संघीय संसद्मा उम्मेदवारीको चाहना राखेका छन्। तर सोही क्षेत्रबाट माओवादीका निर्वाचित सांसद गजेन्द्रबहादुर महतले पनि निरन्तरताको दाबी छाडेका छैनन्। त्यसैले जुम्लाको सिट कसले पाउने भन्ने टकराव सुल्झाउन गठबन्धनलाई समस्या हुने देखिन्छ। २०७४ मा जुम्लामा २२ हजार १७३ भोट ल्याएर महत प्रतिनिधिसभा सदस्य चुनिएका थिए।

कांग्रेसका देवेन्द्रबहादुर शाहीले १४ हजार १४९ मत पाएका थिए। स्थानीय तहको चुनावमा बढी भोट पाएको र प्रदेश सभापतिको नै दाबा रहेकाले कांग्रेसलाई यो क्षेत्र छोड्न कठिन हुने देखिन्छ। स्थानीय तह चुनावमा कांग्रेसको १६ हजार ७५, माओवादीको १४ हजार १७५, एमालेको ६ हजार ९६२ र नेकपा एसको ६ हजार १९५ भोट रहेको छ। 

तेह्रथुम  

तेह्रथुममा कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ र एकीकृत समाजवादीका नेता तथा वर्तमान स्वास्थ्यमन्त्री भवानी खापुङबीच प्रतिस्पर्धा देखिन्छ। गुरुङ २०७४ मा खापुङसँग पराजित भएकी थिइन्। खापुङले वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर गुरुङलाई पराजित गरेका थिए।

खापुङले २१ हजार ३३५ मत प्राप्त  गर्दा गुरुङले १९ हजार ३ सय १४ मत ल्याएकी थिइन्। गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा नेकपा एस अत्यन्तै कमजोर बनेका कारण यो क्षेत्रमा कांग्रेसको सशक्त दाबी देखिन्छ। स्थानीय तह चुनावमा एमालेको २२ हजार ३१२, कांग्रेसको २१ हजार ९११, माओवादीको  ६८६ र नेकपा एसको ५४६ मत रहेको छ। 

ललितपुर– २ 

२०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका कृष्णलाल महर्जन ललितपुर–२ बाट निर्वाचित सांसद हुन्। उनी अहिले नेकपा एसमा आबद्ध छन्। उनले पुनः सोही क्षेत्र दाबी गरेका छन्। तर हालैको स्थानीय तह चुनावमा नेकपा एस अत्यन्तै कमजोर भएसँगै कांग्रेस ललितपुरका पूर्वसभपातिसमेत रहेका चन्द्र महर्जनले सो क्षेत्रमा दाबी गरेका छन्।

कृष्णलालले २०७४ मा चन्द्रलाई हराएका थिए। कृष्णलालले २७ हजार ७१३ मत प्राप्त गर्दा चन्द्रले १६ हजार ९४५ मत  ल्याएका थिए। तर स्थानीय तह निर्वाचनमा नेकपा एसको मत धेरै कम भएकाले पनि चन्द्र महर्जनको दाबी बलियो बन्दै गएको नेताहरूको भनाइ छ। स्थानीय चुनावमा नेकपा एसको मत राप्रपाको भन्दा कम रहेको छ। स्थानीय तह चुनावमा कांग्रेसको २१ हजार ८१, एमालेको १७ हजार ७१२, माओवादीको ५ हजार २५४, राप्रपाको ३ हजार ५९३ र एसको ३ हजार १९२ मत रहेको छ। 

ललितपुर–३ 

ललितपुर–३ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र कांग्रेस केन्द्रीय सदस्य मदन अमात्यबीच कसले सिट हात पार्ने भन्नेमा होडबाजी देखिन्छ। काठमाडांै उपत्यकामै माओवादीले दाबी गर्ने क्षेत्र ललितपुर–३ हो। तर गठबन्धनका तर्फबाट भुसाल उम्मेदवार बन्दासमेत झिनो मतान्तरले पराजित अमात्य त्यो क्षेत्र छाड्ने पक्षमा देखिँदैनन्।

अझ स्थानीय तह चुनावको मतको अवस्थापछि अमात्य झनै उत्साहित भएको बताइन्छ। भुसालले २०७४ मा २४ हजार ३६ र अमात्यले २२ हजार ३२८ मत ल्याएका थिए। तर अहिले स्थानीय तह चुनावमा भने कांग्रेसको मत माओवादीको भन्दा दोब्बर बढी छ। स्थानीय तह चुनावमा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादीको ७ हजार ७२७ र नेकपा एसको ५ हजार १२९ मत रहेको छ।  

जाजरकोट 

माओवादी नेता शक्तिबहादुर बस्नेत र कांग्रेस केन्द्रीय सदस्य राजीव शाह दुवैले उम्मेदवारीको आकांक्षा देखाएका कारण यहाँ पनि सिट बाँडफाँटमा समस्या हुने देखिएको छ। अघिल्लो निर्वाचनमा शाह माओवादीका बस्नेतसँग पराजित भएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र बस्नेत दुवैले दाबी गरेका कारण कार्यदलमा जाजरकोटको विषय टुंगो लगाउन समस्या हुने देखिन्छ।

वाम गठबन्धनबाट उम्मेदवार बन्दा बस्नेतले ३२ हजार २८१ र शाहले २३ हजार २८९ मत पाएका थिए। तर स्थानीय तह चुनावमा कांग्रेस माओवादीभन्दा बलियो देखिएको छ। स्थानीय तह चुनावमा एमालेको २४ हजार ४, कांग्रेसको २२ हजार ३४२, माओवादीको १८ हजार ६२२ र नेकपा एसको २ हजार ३३४ भोट देखिन्छ। 

सिरहा–२ 

पूर्वउपसभामुख तथा कांग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र माओवादीका निर्वाचित सांसद सुरेशचन्द्र दासको दाबीले सिरहाको क्षेत्र नम्बर २ पनि पेचिलो बन्ने देखिन्छ। अघिल्लो निर्वाचनमा दास प्रत्यक्षबाट निर्वाचित भएका थिए भने यादव कांग्रेसबाट समानुपातिक सांसद भएकी थिइन्। २०७४ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका दासले कांग्रेस उम्मेदवार एवं तत्कालीन जिल्ला सभापति रामचन्द्र यादवलाई तेस्रो स्थानमा पुर्या‍एका थिए।

दासले २० हजार १४८ मत पाएका थिए भने जसपाका शत्रुधनप्रसाद सिंहले १७ हजार २०६ र कांग्रेसका यादवले १५ हजार ५९७ मत पाएका थिए। स्थानीय तह चुनावमा भने यो क्षेत्रमा माओवादी धेरै पछि परेको छ। स्थानीय तह चुनावमा एमालेको २० हजार ३२८, कांग्रेसको १८ हजार २६, जसपा १४ हजार ८९३, माओवादी ९ हजार ४८१ र नेकपा एसको ६ हजार २७४ मत छ। यो क्षेत्रमा माओवादी आफूले जितेको क्षेत्र भनेर दाबी नछाड्ने र कांग्रेसले स्थानीय तहको मतपरिणामअनुसार आफ्नो मत दोब्बर भएको र हेभिवेट उम्मेदवार भएको भन्दै दाबी गर्दा समस्या सिर्जना हुने देखिन्छ। 

सिरहा–४ 

जसपा नेता तथा सिरहा–४ बाट प्रत्यक्षमा निर्वाचित सांसद राजकिशोर यादवको क्षेत्रमा माओवादी नेता तथा पूर्वमन्त्री अजयशंकर नायकको दाबी रहेको छ। यो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार बनेको अवस्थामा नायकलाई यादवले पराजित गरेका थिए।

यादवले २१ हजार १४४ मत प्राप्त गर्दा नायकले १७ हजार ५७५ मत ल्याएका थिए। अहिले यो क्षेत्रमा नायकका लागि माओवादीले दाबी नछाड्ने देखिन्छ। यो क्षेत्रमा स्थानीय तह चुनावमा एमालेको १४ हजार ६७१, जसपाको १३ हजार ६१४, कांग्रेसको १२ हजार ८०६, माओवादीको ११ हजार ६८६, जनमत पार्टीको ६ हजार १४२ र नेकपा एसको ३ हजार ६०० मत देखिन्छ। 

पर्सा–१ 

जनता समाजवादीका नेता तथा वन तथा वातावरणमन्त्री प्रदीप यादव, कांग्रेस केन्द्रीय सदस्य अजयकुमार चौरसिया र संविधानसभा सदस्य अनिल रुंगटा दुवैले पर्सा–१ बाट प्रतिनिधिसभा सदस्यमा दाबी गरेका छन्। सोही  कारण पर्साको यो निर्वाचन क्षेत्र पनि पेचिलो बनेको छ। यादवले २०७४ को चुनावमा रुंगटालाई पराजित गरेका थिए।

यादवले २१ हजार १३२ मत पाउँदा रुंटाले १६ हजार ४८१ मत ल्याएका थिए। यो निर्वाचन क्षेत्रमा स्थानीय तह चुनावमा जसपाको १५ हजार ७०६, एमालेको १३ हजार ३३५, कांग्रेसको १२ हजार ९०२, माओवादीको ३ हजार ७४६, लोसपाको २ हजार ८६ र नेकपा एसको १ हजार ६०३ मत देखिन्छ। चौरसिया र रुंगटा दुवै कांग्रेस सभापति देउवाका विश्वास पात्र भएकाले यो क्षेत्रमा कांग्रेसको चासो बढी देखिएको छ।

दाङ–१ 

सहरी विकासमन्त्री मेटमणि चौधरी गत संघीय निर्वाचनमा दाङ–१ मा एमालेबाट निर्वाचित हुन्। उनी हाल नेकपा एसमा छन्। तर सो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी र पार्वता डीसी चौधरी तथा पूर्वसांसद सुशीला चौधरीले टिकटका लागि दाबी गरेका छन्। मेटमणिले वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेर २०७४ मा कांग्रेसकी सुशीला चौधरीलाई पराजित गरेका थिए।

त्यो बेला मेटमणिले ३७ हजार ९०८ मत ल्याउँदा सुशीलाले २४ हजार ७४ मत पाएकी थिइन्। तर स्थानीय चुनावमा नेकपा एसको मत अत्यन्तै कम भएकाले कांग्रेसको दाबी बलियो बनेको छ। स्थानीय तह चुनावमा कांग्रेसको २९ हजार ७५७, एमाले २७ हजार २५, माओवादीको १९ हजार २७६, राप्रपाको २ हजार ३५० र नेकपा एसको २ हजार ३४१ म्त रहेको छ। 

भोजपुर 

तीन–तीन पटक भोजपुरबाट संघीय संसद्मा निर्वाचित हुँदै आएका माओवादी सांसद सुदन किराँतीले यस पटक पुनः उम्मेदवारीको दाबी गरिरहँदा कांग्रेसले स्थानीय तह चुनावमा राम्रो नतिजा आएको बताएर उमेशजंग रायमाझीको दाबीलाई बल पुगेको छ। वाम गठबन्धन भएका बेला किराँतीले ३४ हजार ३९४ मत ल्याएका थिए। रायमाझीले २१ हजार ६९६ मत पाएका थिए।

तर स्थानीय तह चुनावमा एमालेको २७ हजार ६५६, कांग्रेसको २३ हजार ५९९, माओवादीको १४ हजार ७६१, नेकपा एसको १ हजार ९४५ र जसपाको १ हजार ६४५ मत देखिन्छ। माओवादीको भन्दा स्थानीय तह चुनावमा कांग्रेसको मत राम्रो देखिएपछि टिकट पाउनुपर्ने भन्दै भोजपुर कांग्रेसका नेताहरूले लबिइङ थालेका छन्। 

गोर्खा–१ 


माओवादीका निर्वाचित सांसद हरिराज अधिकारी गोरखा–१ बाट संघीय संसद्को चुनाव लड्ने तयारीमा छन्। तर सोही क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले पनि दाबी गरेका छन्। अधिकारीले श्रेष्ठलाई ३ हजार २१७ मतान्तरले पछि पारेका थिए। अधिकारीले २९ हजार ८६० मत ल्याउँदा श्रेष्ठले २६ हजार ६४३ मत पाएका थिए। स्थानीय तह चुनावमा पनि माओवादीको भन्दा कांग्रेसको मत परिणाम राम्रो भएकाले श्रेष्ठको दाबीमा बल पुगेको छ।

स्थानीय तह चुनावमा गोरखा क्षेत्र नम्बर २ मा माओवादीको मत परिणाम राम्रो रहेको देखिन्छ। तर गोरखा–२ मा भने कांग्रेस अगाडि छ। गोरखा–२ मा कांग्रेसको २७ हजार ८४, माओवादीको २५ हजार ४७२, एमालेको १४ हजार ५६६, जसपाको २ हजार ७५४ र नेकपा एसको ७० मत देखिन्छ।

गोरखा–२ 

बाबुराम भट्टराईले २०६४ यता जित्दै आएको गोरखा–२ मा तीन वटा पार्टीको आ–आफ्नो दाबेदारीले जटिलता देखिने अवस्था आएको छ। बाबुराम अहिलेको सत्ता गठबन्धनमै रहेर गोरखा–२ मा चुनाव उठ्ने तयारीमा छन्। उनले हालै मात्र नयाँ पार्टी गठन गरिसकेका छन्।

बाबुराम पनि सत्ता गठबन्धनमै आए गोरखा–२ मा उम्मेदवार तय गर्न गठबन्धनका दलहरूलाई झनै सकस पर्नेछ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसदबाट राजीनामा दिएर गोरखा–२ मा उम्मेदवार हुने पक्षमा छन्। यो क्षेत्रमा माओवादी नेता हितराज पाण्डे पनि उम्मेदवार बन्न इच्छुक छन्। यो क्षेत्रमा पर्ने पालिकाभित्रका वडामा स्थानीय तह चुनावमा आएको मत हेर्दा माओवादी अगाडि देखिन्छ। यसपालि कांग्रेसले पनि दाबी गर्दै छ।

सधैं क्षेत्र नम्बर २ अरू पार्टीलाई छाडेको भन्दै कार्यकर्तामा असन्तुष्टि देखिएको कांग्रेस नेताहरू बताउँछन्। केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे क्षेत्र नम्बर २ मा प्रमुख दाबेदार छन्। उनी सभापति देउवा निकटका हुन्। यो क्षेत्रमा माओवादी वडाध्यक्ष उम्मेदवारहरूले २२ हजार २५० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवारले २१ हजार १३६ मत पाएका छन्। यहाँ एमालेलाई ७ हजार ९२६ र जसपालाई ७ हजार ५४ मत मिलेको छ। यहाँ जसपालाई आएको मत बाबुरामको हो।

पाल्पा–२ 

नेकपा एमालेबाट जितेर सांसद भए पनि नेकपा एसतिर लागेका सोमप्रसाद पाण्डे पाल्पा–२ मा पुनः उम्मेदवार बन्न चाहन्छन्। तर सो क्षेत्रमा नेकपा एसको संगठन कमजोर भएको स्थानीय तह निर्वाचन परिणामले देखाएको भन्दै कांग्रेसका निवर्तमान जिल्ला सभापति वीरबहादुर रानाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने इच्छा देखाएका छन्।

राना अहिले प्रदेशसभा सदस्य छन्। पाण्डेले ३४ हजार ८९९ मत ल्याउँदा कांग्रेस उम्मेदवार हरिप्रसाद नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका थिए। तर स्थानीय तह चुनावमा नेकपा एसको मत ५०० पनि नपुगेकाले पाण्डेको दाबेदारीमा ठेस पुग्ने देखिन्छ। स्थानीय तह चुनावमा यो क्षेत्रमा एमालेको ३० हजार ५६६, कांग्रेसको २९ हजार ३९, माओवादीको ४ हजार ३१३ र नेकपा एसको ४३३ भोट देखिन्छ। पाण्डे माधव नेपालका सम्धीसमेत भएकाले यो क्षेत्रको सिट कसले हात पार्ने भन्नेमा रस्साकस्सी हुने देखिन्छ। 

रामेछाप 

एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापको सिट बाँडफाँट गर्न गठबन्धनमा सकस पर्ने देखिन्छ। वाम गठबन्धन भएका कारण २०७४ को चुनाव जितेका माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठ पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन्। तर कांग्रेसले जिल्ला सभापति कान्छाराम तामाङ र लब न्यौपानेमध्ये एक जनालाई उम्मेदवार बनाउन चाहेको छ।

२०७४ मा श्रेष्ठले ४२ हजार ११६ मत पाउदा कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम)ले ३५ हजार ७७१ मत प्राप्त गरेका थिए। स्थानीय तह चुनावमा कांग्रेसको भोट माओवादीको भन्दा झन्डै दोब्बर देखिन्छ। स्थानीय तह चुनावमा कांग्रेसको ४१ हजार ५१, एमालेको ३९ हजार ३३, माओवादीको २७ हजार ३९ र नेकपा एसको १५ हजार ७० भोट देखिन्छ। 

सर्लाही–२ 

जसपा छाडेर बाबुराम भट्टराईको पार्टीमा अध्यक्ष भएका नेता महिन्द्र राय यादवले जित्दै आएको सर्लाही–२ मा कांग्रेस नेता जंगीलाल रायले दाबी गरेका छन्। यो क्षेत्रमा महिन्द्र राय र कांग्रेस कसले टिकट पाउने भन्ने स्पष्ट छैन। २०७४ को चुनावमा महेन्द्र राय यादव २९ हजार १९१ मतका साथ विजयी भएका थिए भने कांग्रेसका जंगीलाल रायले १८ हजार ९७६ मत ल्याएका थिए।

तर अहिले जसपा छाडिपछि महेन्द्र रायको दाबी भोटका हिसाबले कमजोर हुने देखिन्छ। स्थानीय तहमा जसपाको भन्दा कांग्रेसको भोट अगाडि छ। स्थानीय तह चुनावमा कांग्रेसको २४ हजार ६२०, जसपाको १९ हजार ६४२, लोसपाको १२ हजार ३६६, माओवादीको ७ हजार ७३७ र एमालेको ७ हजार ६७९ मत रहेको छ। 

सर्लाही–१ 

२०७४ मा जसपाका सांसद प्रमोद साह सर्लाही–१ बाट निर्वाचित भएका थिए। यही निर्वाचन क्षेत्रमा पूर्वराज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठको दाबी छ। स्थानीय तह निर्वाचनमा अत्यधिक सफलता मिलेको भन्दै आफूले सिट पाउनुपर्ने कांग्रेसको दाबी छ।

साहले २२ हजार ३६ मत ल्याएर विजयी बन्दा वाम गठबन्धनका ध्रुवप्रसाद गौतमले २१ हजार ४६५ मत प्राप्त गरेका थिए। कांग्रेसका श्रेष्ठले २० हजार ७५ मत ल्याएका थिए। स्थानीय तह चुनावमा कांग्रेसको २५ हजार ८३२, एमालेको १७ हजार ८१९, माओवादीको १५ हजार ९९५, लोसपाको ६ हजार ४६६, नेकपा एसको ६ हजार ४१ र जसपाको ४ हजार ९७१ मत रहेको छ। 


प्रकाशित: August 14, 2022 | 11:15:40 काठमाडौं, आइतबार, साउन २९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
राजनीति

प्रचण्ड भन्छन्- म प्रधानमन्त्रीको रेसमा छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन्।
नेपाल समय
राजनीति

भक्तपुर-१ मा ढुक्क नेमकिपा, २ मा एमाले र कांग्रेसको 'भाले भिडन्त'

२०७४ को प्रतिनिधिसभा चुनावमा पहिलो पटक एमाले नेता महेश बस्नेतले कांग्रेस उम्मेदवारलाई हराएको क्षेत्र हो भक्तपुर–२। नत्र भक्तपुर १ नेमकिपाको र भक्तपुर २ कांग्रेसको पेवा जस्तै थियो। एमालेका महेश बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याएर जित्दै गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दमननाथ ढुंगाना १८ हजार ६ सय ८७ मत ल्याएर पराजित भएका थिए।
नेपाल समय
राजनीति

सरकारमाथि राष्ट्रपतिको हस्तक्षेप, क्याबिनेटका प्रस्ताव जानकारी गराउन पत्र

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले पत्रमार्फत् भने राष्ट्रपतिले क्याबिनेट पठाउने प्रस्तावबारे नै अग्रिम जानकारी गराउन राष्ट्रपतिले दबाब दिएको छ।
नेपाल समय
राजनीति

संघीय संरचना अनुरुप विकास हुन सकेन : राज्यमन्त्री श्रेष्ठ

देशको आर्थिक अवस्था अहिले पनि दयनीय रहेको उल्लेख गर्दै रेमिट्यान्सबाट पैसा आएन भने राज्य सञ्चालन गर्न गाह्रो हुने उनको भनाइ थियो।
नेपाल समय
राजनीति

आचारसंहिता व्यवहारिक बनाउन दलहरुको सुझाव, प्रधानमन्त्री देउवाले पनि आयोग पुगेर गरे हस्ताक्षर

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो र व्यवहारिक बनाउन सुझाव दिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना