काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गत सोमबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा शनिबार नेताहरूले बोल्नेक्रम सकिएको छ। पदाधिकारी बसेर आज बैठकका निर्णयको मस्यौदा तयार पार्न थालेका छन्। उनीहरूले मस्यौदा तयार पारिसकेपछि आजै पदाधिकारी बैठकबाट केन्द्रीय समितिका निर्णय सार्वजनिक हुने भएका छन्।
बैठकमा सभापति शेरबहादुर देउवाको सहभागिता भने नरहने बताइएको छ। बैठकमा संकट उन्मुख अर्थतन्त्रका विषयमा पार्टीले सरकारलाई सुझाव दिने र आगामी निर्वाचनमा पनि गठबन्धनको निरन्तरता रहने सन्देश दिने बताइएको छ।
कांग्रेसले नयाँ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता तयारी छ। पौडेलका अनुसार विभाग तथा समिति गठन, भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन तथा पूर्णता दिने र पार्टीको मर्यादा क्रमका विषयमा छलफल हुनेछ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २ गते पुनः बस्ने भएको छ। शनिबार नै बैठक सक्ने तयारी गरिएको भएपनि निर्णय गर्न बाँकी रहेपछि साउन २ का लागि बैठक सारिएको हो।
कांग्रेस बैठकमा सभापतिको कार्यशैलीमाथि केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका थिए। यस्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि पार्टीभित्र प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै चर्को आलोचना भएको थियो।