काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन कामय राखेर चुनावमा जानुपर्ने बताएका छन्। शनिबार पार्टी कार्यालयमा भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन्।
'प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो छोड्ने बेला भएको छैन,' उनले भने, 'माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन।'
एमाले अध्यक्ष ओलीसँग आफू सँगै जेलमा बसेकाले आफूले जति नजिकबाट उनलाई चिन्न कोही नभएको समेत उनले बताएका थिए। 'ओली र मसँगै जेल बसेको हो। ओलीलाई मैले जिति कसैले चिनेको छैन,' गठबन्धनको आवश्यकता औँल्याउँदै उनले ओलीको चरित्रचित्रण गरे।
कांग्रेस एक्लै चुनावमा गए पनि जित्न गाह्रो भएको उनको भनाइ थियो। 'हामी एक्लै जित्दैनौँ, त्यसैले गठबन्धन गरौँ,' आफू पार्टीमा जस्तोसुकै छलफल गर्न पनि तयार भएको समेत बताउँदै भने, 'मैले कसैलाई नभेट्ने भनेको छैन, शेखर आउनुस् म भेट्छु, छलफल गर्छु।'