काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा शेखर कोइरालालाई बेवास्ता गरेको भन्दै उनी पक्षीय पदाधिकारीहरुले आपत्ति जनाए। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई एकलौटी गर्न खोजेको गुनासोसहित केही दिनअघि नेता शेखर कोइराला समूहले काठमाडौंको गौशालामा छुट्टै भेला डाक्यो। कांग्रेस सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियाले भ्रातृ संस्थाका समिति गठनमा शेखर समूहसँग छलफल नगरिएको भन्दै आपत्ति जनाउँदै संस्थापन पक्षमाथि औंला ठड्याए। सहमहामन्त्रीद्वय पाण्डे र परियारले नेविसंघ र तरुण दल गठन गर्दा नेता शेखरसँग सामान्य छलफलसमेत नगरिएको गुनासो गरे।
पार्टी सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनीत गरिसकेका छन्। देउवाको रोजाइमा परेका शेर्पा र गुरुङलाई मनोनीत गर्दा नेता शेखरसँग छलफलै नगरिएको र एकलौटी गरिएको पाण्डेको आरोप छ।
पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हुनअघि शेखर समूहले गौशालामा छुट्टै भेला बोलाएर सभापति देउवामाथि आक्रोश पोखेका थिए। उक्त भेलामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेसलाई एकलौटी बनाउन खोजेको, आफू हारिने डरले भ्रातृ संस्थाहरुको अधिवेशन नगराएको, गठबन्धनलाई प्राथमिकता दिएको आरोप लगाएका थिए।
कांग्रेस बैठक सुरु हुने दिन नै शेखर समूहले प्रधानमन्त्री देउवालाई पार्टी विधानअनुसार चल्न आग्रह गर्दै पार्टी मुख्यालयमै विरोध प्रदर्शनसमेत गर्यो। कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहका आ–आफ्नै बैठक अहिले पनि चलिरहेका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीलाई एकढिक्का बनाउन सभापति देउवाले शेखरसँग दूरी बढाउन नहुने सुझावसमेत दिएका छन्।
शनिबारको केन्द्रीय समिति बैठकमा गयल भई चितवन हानिएका शेखरले प्रधानमन्त्रीलाई पार्टी संरचनाविरुद्ध नजान आफूहरुले दबाब दिइरहेको बताए। उनले प्रधानमन्त्रीले पार्टीका नेता-कार्यकर्तासँग समदूरी राख्न सके मात्र कांग्रेसले ऊर्जा प्राप्त गर्न बताए।
शनिबारको बैठकमा पनि पार्टी सभापति देउवा र अर्का नेता शेखरबीचको तिक्तताको विषय उठान भयो। सहमहामन्त्री जीवन परियारले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेका कोइरालासँग सभापतिले छलफलसमेत नगर्नु विडम्बना भएको सुनाए। ‘भ्रातृ संस्थाका तदर्थ समिति गठनलगायतका विषयमा छलफलैै नगरी सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोज्नुभयो। शेखर कोइरालासम्म एक पटक छलफलसमेत भएन’, उनले भने।
गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ। शनिबार मन्त्रीहरूले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम सुरु भएको हो। पार्टीलाई जीवन्त बनाएर एकढिक्कामा लैजानुपर्नेमा सभापति देउवाले गठबन्धनलाई प्राथमिकता दिएको नेता शेखरको गुनासो रहँदै आएको छ।
शनिबारको बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीलाई एकढिक्का बनाउन नेता शेखरसँग प्रधानमन्त्रीले पहल गर्नुपर्ने, गठबन्धनलाई निरन्तरता दिए पनि पहिलो प्राथमिकता पार्टी मिलन हुनुपर्ने उनीहरुको धारणा छ। बैठकमा गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्माले प्रदेश सभापतिको प्रस्तावित मर्यादाक्रम नमिलेको भन्दै असन्तुष्टि जनाए। सबै ठाउँको सभापति माथिल्लो कमिटीको सदस्य हुने व्यवस्था भए पनि प्रदेश सभापति किन केन्द्रीय सदस्य नहुने भनेर उनले पार्टी नेतृत्वसँग प्रश्नसमेत गरे।
केन्द्रले प्रदेशलाई सहयोग नगरे ठूलो समस्या हुनेतर्फ उनले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए। थोरै मतले पराजित भएकाहरूलाई पनि जितेकाहरूले सँगै लिएर जाने वातावरण निर्माण गर्न उनले सुझाए। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पनि नेताहरूबीच बेमेल हुन-नहुनेमा जोड दिए। आगामी निर्वाचन सन्निकट रहेकाले पार्टीभित्र असन्तुष्टि हुँदा त्यसको लाभ अरुहरुले लिन सक्नेतर्फ उनले सचेत गराए। कांग्रेस गठबन्धनमा सहभागी भए पनि आगामी दिनमा विशेष ध्यान दिनुपर्ने सुझाव उनको रह्यो। भ्रातृ संस्थाहरूको निर्वाचन चाँडै गराउन र भिन्दै विचार राख्ने सबै नेता-कार्यकर्तालाई पार्टी सभापतिले बराबरको व्यवहार गर्नुपर्ने उनले सुनाए।
केन्द्रीय सदस्य सीता गुरुङले स्थानीय तह निर्वाचनमा गठबन्धनका कारण कांग्रेसलाई लाभ मिलेकाले त्यसलाई निरन्तरता दिइनुपर्ने बताइन्। उनले पार्टीलाई एकढिक्का बनाएर लैजान नेतृत्वले विशेष पहल गर्नुपर्ने धारणा राखिन्।
प्रधानमन्त्री निकट मानिने गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासनको नियमित ड्युटीअनुसार नै सूचना संकलन हुने हुँदा कसैको सुराकी, चियोचर्चा भएको भए त्यसैबेला भन्नुपर्ने बताए। ६ महिनापछि मिडियामा राजनीतिक लाभका लागि कुरा उठाउन आवश्यक नभएको उनको तर्क थियो। खाँणले निकाले प्रसंग केही दिनअघि नेता शेखरले आफ्ना गतिविधिमाथि सरकारले सुराकी लगाएको आक्षेप लगाएका थिए।
कांग्रेसभित्रको रडाको सतहमा आइसकेपछि कोइराला र पार्टी सभापतिबीचको तिक्तता झनै बढ्ने संकेत देखिँदै छन्।
मर्यादाधक्रममा असन्तुष्टि
जारी बैठकमा बोल्ने नेताहरुले प्रस्तावित मर्यादाक्रममाथि प्रश्न उठाएका छन्। शनिबार पार्टी कार्यालय सानेपामा जारी बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मर्यादाक्रम नमिलेको भन्दै सच्याउन आग्रह गरेका हुन्।
‘प्रदेश सभापतिहरूको एक मत विषय भनेको प्रस्तावित मर्यादाक्रम मिलेको छैन भन्ने हो,’ शर्माले बैठकमा भने, ‘सबै ठाउँको सभापति माथिल्लो कमिटीको सदस्य हुने व्यवस्था भएपनि प्रदेश सभापति किन केन्द्रीय सदस्य न हुने?’
केन्द्रले प्रदेशलाई सहयोग नगर्दा समस्या हुने उनले बताए। भने, ‘केन्द्रमा आउने लेबी केन्द्रले थोरै मात्र लिएर बाँकी तल पठाउनुपर्छ। थोरै मतले पराजित साथीहरुलाई पनि जितेकाहरूले सँगै लिएर जानुपर्छ।’
हिजो असहयोग गरेकालाई पनि कन्भिन्स गराएर सहयोग गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। ‘हिजो हामीलाई असहयोग गर्नेलाई कन्भिन्स गरेर सहयोग गर्ने वातावरण मिलाउनुपर्छ,’ उनले बैठकमा भने, ‘तल्लो निकायबाट थोरै मात्रको सिफारिस केन्द्रमा आउने वातावरण मिलाउनुपर्छ।’
राठौरलाई देउवाले रोके
जारी केन्द्रीय समिति बैठकमा नेताहरुले स्थानीय तहको निर्वाचनको विषयलाई लिएर नेताहरुबीच घोचपेच भएपछि सभापति देउवाले रोकेका छन्। केन्द्रीय सदस्य गोपाल दहितले अघिल्लो बैठकमा सहमहान्त्री किशोर सिंह राठौरलाई वडा जिताउन नसकेको भन्दै आलोचना गरेका थिए। आफ्नो वडामा कांग्रेस जिताउन सफल भएपनि राठौरले जिताउन नसकेको भन्दै उनले व्यंग्य गरेका थिए।
शनिबारको बैठकमा बोल्दै राठौरले दहितलाई जवाफ फर्काएका हुन्। उनले भने, '१० वटा पार्टी चाहार्दै आएको मान्छेले मेरो डिग्निटीमाथि प्रश्न उठाउने? मेरो वडाको चुनावी समीकरण र वस्तुगत स्थिति फरक थियो, जुन तपाईंलाई थाहा छैन। पार्टी फेर्दै हिड्नेले मेरोबारेमा प्रश्न उठाउने?'
प्रतिपक्षले समेत औंला उठाउने नसकेको मान्छेलाई १० वटा पार्टी चाहार्नेले प्रश्न उठाएको भन्दै राठौर आक्रोशित बनेपछि सभापति देउवाले रोकेका थिए। देउवाले राठौंरलाई सम्झाउँदै भने- 'तपाईं त पदाधिकारी हो नी यार! केन्द्रीय सदस्यलाई थर्काउन भएन नी!'