बिहीबार, भदौ २, २०७९
नेपाल समय

देउवासँग किन झस्किए गगन–विश्व?

तीर्थराज बस्नेत  |  काठमाडौं, शुक्रबार, असार २४, २०७९
तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

काठमाडौं, शुक्रबार, असार २४, २०७९

काठमाडौं- नेपाली कांग्रेस १४औं महाधिवेशनको मतपरिणामले दुई प्रश्न उब्जाएको थियो। पहिलो- महामन्त्रीमा निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्माबीच सहकार्य होला कि संघर्ष? दोस्रो शेरबहादुर देउवाभन्दा फरक प्यानलबाट दुवै महामन्त्री चुनिएकाले उनीहरूको 'कमेस्ट्री' कस्तो होला? 

महाधिवेशनपछि ६ महिना बितिसकेको अवधिमा महामन्त्रीद्वय थापा र शर्माबीच शक्तिसंघर्षभन्दा सहकार्य कसिलो देखिन्छ। यद्यपि फरक प्यानलबाट आएका महामन्त्रीले सभापति देउवाको कार्यशैलीमा तात्त्विक भिन्नता सिर्जना गरेको देखिँदैन। अघिल्लो कार्यकालमा देउवाले जसरी पार्टी सञ्चालन गरेका थिए, पछिल्लो ६ महिना पनि ठिक त्यसैगरी पार्टी सञ्चालन गरिरहेका छन्। विधानले ६ महिनाभित्र गर्न निर्दिष्ट गरेका कांग्रेसले गर्न सकेको छैन। यसमा देउवालाई घच्घच्याउन युवा महामन्त्रीद्वयले पनि सकेको देखिएको छैन। 

विधान अनुसार सभापतिले ६ महिनाभित्र कोषाध्यक्ष मनोनयन, विभागका गठन, पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड, अनुशासन र लेखा समिति गठनलगायतका काम गर्नुपर्ने थियो। तर, देउवाको प्राथमिकतामा यी काम परेको देखिँदैन। विधान र पद्धति कार्यान्वनयको एजेन्डा लिएर निर्वाचित भएका महामन्त्रीद्वयका लागि यो विषय सुखद् होइन।  


नेपाल समय
महामन्त्रीमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै विश्वप्रकाश र गगन। फाइल तस्बिर

६ महिनाको अवधिमा महामन्त्रीद्वयले पार्टी सञ्चालनमा खास प्रभावकारी काम गर्न सकेका छैनन्। तर यो ६ महिनासम्म पार्टीको संयन्त्रको अनुभव लिएका महामन्त्रीद्वय थापा र शर्मा अब भने दबाबमूलक र हस्तक्षेपकारी कार्यमा सहकार्य गर्नुपर्ने अवस्थामा पुगेका छन्। 'महामन्त्रीद्वय मिलेर नगए पार्टी र व्यक्तिगत राजनीति सुखद् हुँदैन' भनेर उनीहरूले आफू निकटस्थहरूसँग सुनाउन थालेका छन्। 

पार्टीलाई गतिशील बनाउन सहकार्य गर्न सहमत भइसकेका महामन्त्री थापाले शुक्रबार राजधानीमा विश्लेषकसँग समसामयिक विषयमा छलफल गरिसकेका छन्। छलफलमा प्रा.डा. केदारभक्त माथेमा, कृष्ण खनाल, हरि शर्मा,  गेजा शर्मा वाग्ले र जुगल भुर्तेल उपस्थित थिए। महामन्त्री थापाले अगुवाहरूबाट पार्टीको भूमिका प्रभावकारी बनाउन गर्नुपर्ने कामबारे सुझाव लिएका थिए। आगामी निर्वाचनमा पार्टीलाई जिताउन गर्नुपर्ने काम, पार्टीका नीति र रणनीति तय गरी संस्थागत गर्ने उपायबारे पनि कार्यक्रममा छलफल भएको थियो। पार्टीमा युवा पुस्ताको भूमिका सुनिश्चित गर्न गर्नुपर्ने काम, पार्टीलाई उदारवादी र प्रगतीशील धारबाट अघि बढाउने उपायका विषयमा अगुवाहरूले सुझाव दिएका थिए।  

‘पार्टीमा युवा पुस्ता अघि आउनुपर्छ। युवाको आकर्षण बढाउन दुई महामन्त्री मिलेर अघि बढ्नुपर्छ। पार्टीमा रुपान्तरण आवश्यक छ,’ छलफलमा सहभागी एक अगुवाले भनेका थिए, ‘तर पुरानो पुस्तासँग संघर्ष गरेर अघि बढ्न सहज छैन। हिम्मत गर्न आवश्यक छ। कांग्रेसका ऐतिहासिक पक्ष, अहिलेको चुनौती र पाँच दलीय गठबन्धनको फाइदा माओवादीले लिएको देखिन्छ।’ यस्तै सहभागीले कांग्रेसलाई उदारवादी लोकतन्त्र र प्रगतिशील धारमा अघि बढाउनुपर्ने सुझाव दिएका थिए। स्रोतका अनुसार केही समययता महामन्त्रीद्वय बुद्धिजिवीहरूसँग निरन्तर संवादमा छन्। 

छलफल निरन्तर

महामन्त्रीमा निर्वाचित भएलगत्तै शर्माले भनेका थिए, ‘गगन र म हल बाँधेर कांग्रेस जोगाउन लाग्छौं।’ त्यसो त थापाले पनि शर्मासँगको सहकार्यमा जोड दिएका थिए, ‘मलाई विश्वप्रकाश शर्मा महामन्त्री हुँदा सहज छ। हामीले आफूलाई प्रमाणित गर्न पनि एकअर्कासँग मिल्नुपर्नेछ। परिपूरण गर्नुपर्ने छ। सकारात्मक हिसाबले तागत निर्माण गर्ने हो,’ थापाले भनेका थिए। त्यसबेला दुवै महामन्त्रीको सार थियो- हामीलाई असफल हुने छुट छैन।  

नेपाल समय
महामन्त्रीद्वय थापा र शर्मा। फाइल तस्बिर

महामन्त्रीकारूपमा दुई नेता सानेपा प्रवेश गरेको ६ महिनामा उनीहरूबीच न संघर्ष भयो, न त मजबुत सहकार्य नै। तर, स्थानीय तहको निर्वाचनपछि दुवै महामन्त्री सभापति देउवासँग झस्किएका छन्। उनीहरुको निष्कर्ष छ– अब सहकार्य नगर्ने हो भने एकअर्कालाई प्रयोग गरेर असफल बनाउने प्रयत्न गरिनेछ। जुन कुराको संकेत थापाले शुक्रबार बुद्धिजिवीहरुसँगको छलफलका क्रममा पनि गरेका थिए।

आफू निकटहरूसँग उनीहरुले भन्ने गरेका छन्, ‘सभापतिजीले हामीमध्ये कहिले एकलाई त कहिले अर्कोलाई नजिक बनाएर आफू बलियो भइरहने रणनीति अख्तियार गर्नु भएको छ। यसतर्फ हामी सचेत हुनुपर्ने भएको छ। हामीबीच सहकार्य नभए हाम्रो राजनीतिक भविष्य त खतरामा पर्छ नै सँगै पार्टीलाई गतिशील बनाउने सपना पनि पूरा हुँदैन।’ 

स्थानीय तहको निर्वाचनपछि महामन्त्रीद्वय पटकपटक छलफलमा जुटेका थिए। ‘उहाँहरू निर्वाचनपछि धेरै पटक छलफलमा जुट्नुभएको छ। अब सहकार्य गरेर अघि बढ्न सहमत हुनुभएको छ,’ महामन्त्रीद्वयको परामर्शलाई नजिकबाट नियालेका गगन निकट एक नेताले भने, ‘सभापतिले एकअर्काविरुद्ध प्रयोग गरेर भिडाउन सक्ने विषयमा सचेत भएर पार्टीको भविष्य र युवा पुस्ताको भूमिकाका लागि नयाँ विचार/दृष्टिकोण बनाउन आन्तरिक छलफल घनिभूत भएको छ। अब उहाँहरुले हरेक विषयमा समान धारणा बनाउनुहुनेछ। केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र दृष्टिकोण बनाउने सन्दर्भमा पनि उहाँहरू अब एकैठाउँ उभिनुहुनेछ।’

सहकार्यको सुरुवात

समान धारणा बनाएर अघि बढ्ने निष्कर्षमा पुगेका महामन्त्रीद्वयले सहकार्यको सुरुवातसमेत गरिसकेका छन्। अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)का सन्दर्भमा महामन्त्रीद्वय एकै ठाउँ उभिए। महामन्त्री थापाले असार १ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै एसपीपीबारे प्रधानमन्त्रीको जवाफ मागेका थिए। ‘नेपाली सेना संलग्न हुने कुनै पनि साझेदारी, चाहे छिमेकी देश होस्, चाहे शक्ति राष्ट्र होस्, नेपाल त्यसमा त्यसमा सहभागी हुन सक्दैन/हुन पाउँदैन/दिइँदैन,’ उनले भनेका थिए।

गगनको अभिव्यक्ति कांग्रेसकै कतिपय नेताहरुलाई मन परेको थिएन। तर सोही दिन साँझ शर्माले एसपीपीबारे आफ्नो धारणा सार्वजनिक गरे। ‘एसपीपी स्वीकार्य छैन भनेर अमेरिकालाई प्रष्ट भन्नुपर्छ। कांग्रेसको धारणा यही बन्नेछ र कांग्रेसको नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ,’ उनले भनेका थिए। यसरी एसपीपीमा दुवै महामन्त्री एकै ठाउँ उभिए। 

असार ६ गते महामन्त्रीद्वयले प्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई बालुवाटार पुगेर भेटेका थिए। जहाँ उनीहरूले एसपीपी अस्वीकार गर्ने पत्र लेख्नुपर्ने बताएका थिए। त्यसको भोलीपल्टै (असार ७) गते दुवै जना निर्वाचन आयोग पुगेका थिए। प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियालाई भेटेर उनीहरूले विदेशमा रहेका नेपालीलाई मताधिकारको दिलाउन ध्यानकर्षण गराएका थिए। 

झस्किए दुवै महामन्त्री

एमसीसीको विवाद चर्किएपछि त्यसलाई निर्णायक बनाउन प्रधानमन्त्रीसमेत रहेका देउवाले महामन्त्री गगनको भरपूर सहयोग लिएका थिए। गगनले देउवालाई बलियो साथ दिए। एमसीसी अनुमोदनका जटिलता हल गर्न देउवाले सत्ता गठबन्धनको बैठक होस् वा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको संवादमा नै किन नहोस्, थापालाई सँगसँगै हिँडाएका थिए। लामो रस्साकस्सीपछि थापाकै प्रस्तावअनुसार व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएको थियो। त्यसपछि भने राजनीतिक वार्ता, संवाद र बैठकमा गगनको भूमिका गौण बनेको छ। त्यसले गगनलाई झस्काएको छ। 

नेपाल समय
एमसीसी विवादित बनेका थापासहितका नेताहरू लिएर ओलीनिवास पुगेका देउवालगायतको भेट।

अघिल्लो कार्यकालमा देउवाले शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका थिए। तर, १४औं महाधिवेशनको सम्मुखमा आइपुग्दा महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका शर्मालाई देउवाले किनारा लगाए। संस्थापन समूहबाट महामन्त्रीको उम्मेदवार नबन्ने निश्चित भएपछि विद्रोह गरेका शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्री उम्मेदवार बने। त्यसपछि देउवाले शर्मालाई नजिक ठान्न सकेका छैनन्। आफूले नचाहेका थापा र शर्मा महामन्त्रीमा निर्वाचित भएपछि देउवाले पार्टी सञ्चालनमा उपसभापति पूर्णबहादुर खड्कालाई अघि सार्दै आएका छन्। जसलाई थापा र शर्माले सहज रूपमा लिन सकेका छैनन्। सभापति पछि पार्टीको 'शक्तिशाली' पद महामन्त्री हो। तर, खड्काले कांग्रेसमा छायाँ सभापतिका रूपमा काम गरिरहेका छन्। कतिपय अवस्थामा देउवाका विश्वासपात्र समेत रहेका प्रवक्ता डा. प्रकाशशरण महत हावी हुने गरेका छन्। यी सबै परिदृश्यले महामन्त्रीद्वयलाई झस्काइदिएको छ।  

महामन्त्रीद्वयलाई झस्काउने अर्को विषय

महामन्त्रीद्वयलाई भावी प्रधानमन्त्रीको बहसले समेत झस्काइदिएको छ। केही समय अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका थिए। त्यसयता भावी प्रधानमन्त्रीबारे चर्चा हुँदै आएको छ। हालसम्मको राजनीतिक परिदृश्यअनुसार ५ दलीय गठबन्धन आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्मै जाने देखिन्छ। यसअर्थमा निर्वाचनपछिको प्रधानमन्त्रीका बारेमा चर्चा हुनु अस्वभाविक होइन। प्रचण्डले देउवासँगको छलफलपछि नै प्रधानमन्त्री बन्ने उद्घोष गरेको आकलन छ। 

शुक्रबार महामन्त्री थापासँग छलफलमा बसेका प्रा कृष्ण खनालले आइतबार कान्तिपुरमा आलेख प्रकाशन गरे। उक्त लेखमा निर्वाचनपछिको पाँच वर्षे कार्यकाल बाँड्ने सहमति भइसकेको चर्चा भइरहेको विषय उल्लेख छ। उक्त लेखका अनुसार पहिलो आधा कार्यकाल प्रचण्ड प्रधानमन्त्री हुने र दोस्रो कार्यकाल देउवापत्नी आरजु प्रधानमन्त्री बनाउन छलफल भइरहेको छ। 

नेपाल समय
प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा।

‘देउवाको राजनीति अब विश्रामको मोडमा पुगेको छ, उनी अत्यन्त थकित पनि देखिन्छन्। तर त्यो विरासत उनी पार्टीमा होइन, परिवारमा सुरक्षित राख्न चाहन्छन्। गठबन्धनमा प्रधानमन्त्री हुने पालो अब मेरो भनेर उद्घोष गरिसके पुष्पकमल दाहाल प्रचण्डले। सुनिन्छ, दाहालले यो उद्घोष देउवाकै सहमतिमा गरेका हुन्। आफूपछि परिवारलाई नेतृत्वमा स्थापित गर्ने दुवैको साझा एजेन्डा पनि हो,’ खनालले लेखेका छन्, ‘चुनावपछिको पहिलो आधा कार्यकाल दाहाल प्रधानमन्त्री हुने, पछिल्लो आधा अवधि देउवा पत्नी आरजु राणा हुने रे। गएको चुनावमा नहारेको भए यसै पटक उनलाई त्यो अवसर जुट्न पनि सक्थ्यो। प्रधानमन्त्री बन्ने आरजुको आकांक्षा अदृश्य छैन। देउवानिकट एउटा गिरोह त्यसकै लागि खटेको छ।’ 

चुनावपछिको कार्यकाल 'सेयर' गर्ने विषयले महामन्त्रीद्वयलाई झस्काइदिएको छ। विश्लेषक खनालले देउवा–प्रचण्डबीचको उक्त साँठगाँठ बुझेरै गगनले प्रधानमन्त्रीको दाबी गरेको उल्लेख गरेका छन्। ‘देउवा–प्रचण्डको यो साँठगाँठ हुनु कुनै आश्चर्य पनि होइन। यही बुझेर गगन थापाले आफूलाई प्रधानमन्त्रीको दाबी गरेका छन्। मलाई यो स्वागतयोग्य लागेको छ। कम्तीमा उनले सभापति शेरबहादुर देउवाको आधिपत्यलाई खुला चुनौती त दिएका छन्। उनका सहयोगी, शुभेच्छुक र मतदाता सचेत नभए यो चुनौतीलाई देउवा–दाहाल गठबन्धनले पहिल्यै तुहाइदिन पनि सक्छ।’ 

गगनले दुई साताअघि कान्तिपुर टेलिभिजनको 'इटस् माइ शो'मा प्रधानमन्त्री बन्न यही पटक प्रयत्न गर्ने बताएका थिए। ‘नेपालका जति पनि पूर्वप्रधानमन्त्री हुनुहुन्छ। अब यो चुनावपछि कोही पनि व्यक्ति, (जुन सुकै पार्टीको होस्) प्रधानमन्त्री भएर थप गुन लगाइदिनुपर्ने कारण छैन। उहाँहरूको नेपालको राजनीतिमा ठूलो योगदान छ,’ उनले भनेका थिए, ‘संविधान ल्याइदिनुभयो। तपाईंहरुले बनाएको जमिनमा हामी आयौं। नयाँ साथीहरू आउनुभएको छ। अब हामीलाई मौका दिनुस् एक पटक। हाम्रो पुस्ताका साथीहरू प्रतिस्पर्धा गर्छौं। सक्यौं भने 'डेलिभर' गर्छौं। सकेनौं भने हामीलाई हटाएर अर्को आउँछ।’ 

गगनको प्रधानमन्त्री बन्ने आकांक्षा सार्वजनिक रूपमा नै प्रस्तुत भएपछि राजनीतिक वृत्तमा तरंग आएको थियो। गगनको यो घोषणालाई अर्का महामन्त्री शर्माले कसरी लिन्छन् भन्ने विषयमा मानिसहरूले जिज्ञासा राखेका थिए। तर यो कौतुहलतालाई पनि विश्वले लामो समय कुराएनन्। गगनले प्रधानमन्त्री बन्ने दावी गरेको केही दिनपछि हिमालय टीभीको कार्यक्रम 'यक्ष प्रश्न'मा उनले प्रष्टताका साथ भनिदिए- यसमा आपत्ति मान्नुपर्ने कारण छैन।

‘म भोलि गगनको प्रस्तावक भएँ भने आपत्ति मान्नुपर्ने के छ र? भोलि गगन थापा प्रधानमन्त्री बन्न आयोग्य मान्छे हुन् भनेर कसैले भन्यो भने छलफल गरौँला। कांग्रेसका दुवै महामन्त्री प्रधानमन्त्री बन्न र चलाउन सक्छौं भन्ने हो,' विश्वले थपे, 'सांसद् भएर अनुभव हासिल गरेको, मन्त्री भएर दक्षता प्रमाणित गरको, पार्टीको महामन्त्री राम्रो मत ल्याएर संगठन चलाएको गगन थापाले देशको प्रधानमन्त्री बन्छु भनेर आउँदा अस्वभाविक मान्नुपर्ने कारण छैन।’

त्यसो त केही दिन अघि मात्रै माओवादी केन्द्रकी नेतृ रेणु दाहालले प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै निर्वाचनपछिको प्रधानमन्त्री प्रचण्ड भएको दावी गरेकी छन्। यसले समेत गगन र विश्वप्रकाशको आशंकालाई थप बल पुर्‍याइदिएको छ। ‘अध्यक्ष प्रचण्ड फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्छ। जहिलै पनि प्रचण्डले अरुलाई मात्रै गुन लगाइरहने हो र? 'गिभ एन्ड टेक'को कुरा हो,’ उनले भनेकी छन्, ‘देश र जनता प्रचण्डलाई एकपटक प्रधानमन्त्री भएको हेर्न चाहेको छ। तत्काल होइन, चुनावपछि। आपसीसमझदारीका आधारमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्छ।’ 

स्थानीय तहको निर्वाचनपछि महामन्त्रीद्वय हरेक विषयमा एकै ठाउँ उभिएका छन्। यसको अर्थ अब उनीहरु अब संघर्ष होइन, मजबुद सहकार्य गर्ने तयारीमा छन्। महामन्त्रीद्वयको छलफललाई नजिकबाट नियालेका एक नेताको दाबी मान्ने हो भने गगनलाई अघि बढाउन शर्मा तयार छन्। 

‘देउवाले कहिले गगन र त कहिले विश्वलाई निकट राखेर मिल्न नदिने रणनीति अख्तियार गरेका छन्। जुन कुरा उहाँहरुले बुझिसक्नुभएको छ,’ ती नेता भन्छन्, ‘अर्कोतर्फ पार्टीमा सभापतिले भाउजू (डा आरजु राणा देउवा)लाई अघि सार्ने निश्चित नै छ।'

नेपाल समय
प्रचण्ड र आरजु।

टिकट वितरण गर्दा पनि काठमाडौंमा गगन र झापामा विश्वजीलाई पेलिएको अनुभव ती नेताको छ।  एकअर्कामा लडाएर बलियो भइरहने रणनीतिमा सभापति भएको उनको आरोप छ। 'अब यसरी हुँदैन। सहकार्य गर्नुपर्‍यो। नत्र दुवै जनालाई अप्ठ्यारो हुन्छ भनेर सहकार्य गर्ने निष्कर्षमा पुग्नुभएको छ,' ती नेता दाबी गर्छन्, 'तत्काललाई विश्वजीले गगनजीलाई सहयोग गर्ने सैद्धान्तिक सहमति भएको छ। दीर्घकालीन सहकार्य गर्ने तयारी भइरहेको छ। यसबारे उहाँहरुबीच घनिभूत छलफल भइरहेको छ।’

त्यसो त महामन्त्री शर्माले हेरक काम दुई जनाको परामर्शका आधारमा नै हुने गरेको दाबी गर्दै आएका छन्। ‘दुवै महामन्त्रीले जे कर्म गर्दैछौं। प्रायः सबै कुराहरू योजनाबद्ध, सोचेर विचार गरेर परामर्श गरेरै गर्छौं,’ उनले भनेका छन्। 

विश्लेषकहरु भने महामन्त्रीद्वयबीच कसिलो सहकार्य हुँदा उनीहरुको राजनीतिक भविष्य र पार्टी दुवैका लागि फाइदा हुने बताउँछन्। ‘गगनजी र विश्वप्रकाशजी प्रतिस्पर्धी होइनन्, परिपूरक हुन्,’ विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘त्यसकारण एकले अर्कालाई परिपूरकको भूमिका निर्वाह गरेर कांग्रेसको भविष्य सुनिश्चित गर्न लाग्नुपर्छ।’ वाग्ले महामन्त्रीद्वयको सफलताको सूत्र सहकार्य र थप प्रोएक्टिभ भूमिका भएको दाबी गर्छन्। 

‘गगन र विश्वप्रकाशलाई असफल हुने छुट त छैन नै सुस्त गतिमा हिड्ने छुटसमेत छैन। किनभने समय धेरै तीव्र गतिमा अगाडि बढिरहेको छ,’ उनी भन्छन्, ‘उहाँहरुको सफलता सूत्र भनेको उहाँहरूबीच सहकार्य र महामन्त्रीको रूपमा थप प्रोएक्टिभ भूमिका नै हो। अहिले उहाँहरुले संयुक्तरूपमा कार्य गर्न थालेपछि कांग्रेसमा नयाँ तरंग सिर्जना भएको छ भने जनता र कार्यकर्तामा आशा र उत्साह देखिएको छ।’

महामन्त्रीद्वयबीच एकता हुँदा पार्टीलाई विधि र पद्धतिमा चलाउन देउवामाथि दबाब बढ्ने टिप्पणी शंकर तिवारीको तर्क छ। ‘दुवै महामन्त्रीको एकताबाट पार्टीमा उत्साह बढेको छ। कार्यकर्तामा त्यो उत्साह प्रवाह भएको छ,’ उनी भन्छन्, ‘दुवै महामन्त्री एकसाथ उभिँदा र नीतिगत तथा वैचारिक अडान लिँदा देउवामाथि पार्टीलाई विधानअनुसार चलाउन दबाब पर्ने छ।’

६ महिनामा के गरे महामन्त्रीद्वयले? 

६ महिनाको कार्यकालबारे महामन्त्रीद्वय सन्तुष्ट छैनन्। विधि र पद्धति अनुरूप पार्टी सञ्चालन गर्न नसकिएको टिप्पणी थापाको छ। ६ महिनाको अविधिलाई समीक्षा गर्दै उनले भनेका छन्, ‘पार्टी संचालनको आन्तरिक विधि पालना गर्ने सन्दर्भमा हामी धेरै चुकेका छौं। आफ्नो मूल्यांकन गर्दैगर्दा पास मार्क पनि भेट्टाउन गाह्रो हुने अवस्था छ,’ उनले भने। 

चयन भएर आएपछि महामन्त्रीद्वयले सुरुमा केही दबाब सिर्जना गरेका थिए। तर पछिल्लो समय उनीहरूको दबाब सुस्त देखिएको छ। सुरुमा अघिल्लो कार्यकालमा झैं बेपर्वाह पार्टी सञ्चालन गर्ने सुविधा भने दिएनन्। कार्यसम्पादन समिति बनाउन र हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक बोलाउने वातावरण बनाउन सक्रिय भूमिका खेले। तर, पछिल्लो पटक भने चैतपछि एकैपटक असार २७ गते केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ। यो बीचमा स्थानीय निर्वाचन परेकाले त्यसमा लाग्नुपपर्दा समयमा नै बैठक बस्न नसकिएको उनीहरूको दाबी छ। 

स्थानीय तह निर्वाचनको बेला टिकट वितरणका लागि संसदीय समिति गठन गराउन महामन्त्रीद्वयले दबाब दिएका थिए। शीर्ष नेताको परामर्शमा टिकट बाँड्ने देउवा दाउमा महामन्त्रीद्वयको दबाब बाधक बनेको थियो। 

महामन्त्रीद्वयले अडान लिएपछि पदाधिकारी बाहेक वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागी हुने गरी संसदीय समिति बनाइएको छ। तर, संसदीय समितिको बैठकले टिकट बाँड्ने अधिकार भने सभापति देउवालाई नै दिएको थियो। त्यसो त स्थानीय तहको निर्वाचनको घोषणापत्र महामन्त्री थापा नेतृत्वको समितिले बनाएको थियो। यसपटक कांग्रेसले घोषणापत्र यथार्थपरक धरातलमा टेकेर ल्याएको भन्दै पार्टीभित्र र बाहिर पनि प्रशंशा भएको थियो। 

असफल हुने छुट छैन : विश्लेषक वाग्ले 

जनताले बढी अपेक्षा गरेका कांग्रेसका युवापुस्ताका प्रतिनिधि पात्र गगन थापा र विश्वप्रकाश शर्मा हुन्। विधि र विधानसम्मत रूपमा पार्टी सञ्चालन र कांग्रेस रूपान्तरण, पुस्तान्तरण र नेतृत्व हस्तान्तरण जस्ता कार्यसूचीका साथ गत महाधिवेशनमा लोकप्रिय मत हासिल गरी महामन्त्रीमा निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्माप्रति जनता र कांग्रेसका कार्यकर्ताको अपेक्षा उच्च छ। जुन कार्यसूची र संकल्पका साथ उहाँहरू निर्वाचित हुनुभएको थियो, उक्त कार्यसूची र संकल्प पूरा गर्न महामन्त्रीद्वयले पार्टीमा संयुक्त रूपमा थप प्रोएक्टिभ र निर्णायक भूमिका निर्वाह गर्नु जरूरी छ। 

नेपाल समय

गगन र विश्वप्रकाशले दीर्घकालीन समझदारीका साथ सहकार्य गरी जनता र पार्टीका सदस्यको भावना अनुरूप लोकतान्त्रिक र विधानसम्मतरूपमा पार्टी संचालन गरेर कांग्रेसलाई लोकप्रिय पार्टीकारूपमा स्थापित गर्नुपर्ने घडी हो। जनता र कांग्रेस कार्यकर्ताको अपेक्षा पुरा गर्न तथा अधिवेशनको समयमा गरेको संकल्प पूरा गर्न उहाँहरुका लागि पनि यो अग्निपरीक्षाको घडी हो। त्यसैले कांग्रेस र उहाँहरुको भविष्यका लागि पनि गगन र विश्वप्रकाशले दीर्घकालीन समझदारीका साथ सहकार्य गर्नुभन्दा श्रेष्ठ पनि छैन। 

गगन र विश्वप्रकाशलाई असफल हुने छुट त छैन नै्र सुस्त गतिमा हिँड्ने छुट समेत छैन। किनभने समय धेरै तीव्र गतिमा अगाडि बढिरहेको छ। उहाँहरुको सफलता सूत्र भनेको सहकार्य र महामन्त्रीको रूपमा थप 'प्रोएक्टिभ' भूमिका नै हो। अहिले उहाँहरुले संयुक्त रूपमा कार्य गर्न थालेपछि कांग्रेसमा नयाँ तरंग सिर्जना भएको छ भने जनता र कार्यकर्तामा आशा र उत्साह देखिएको छ। उहाँहरू आशाको सन्देश सञ्चार गर्न त सफल हुनु भएको छ तर उक्त आशालाई परिणाममा रुपान्तरण गर्न कति सफल हुनुहुनेछ भन्ने प्रश्नको निरूपण भविष्यले निर्धारण गर्नेछ। गगनजी र विश्वप्रकाशजी प्रतिस्पर्धी होइन, परिपूरक हो। त्यस कारण एकले अर्कालाई परिपूरकको भूमिका निर्वाह गरेर कांग्रेसको भविष्य सुनिश्चित गर्न लाग्नुपर्छ ।

दुई महामन्त्री एकजुट हुँदा देउवामाथि दबाब : तिवारी  

गगन थापा र विश्वप्रकाश शर्माबीचको सहकार्यको आधार १४औं महाधिवेशनको परिणामसँगै बनेको हो। पार्टी महाधिवेशनको परिणामपछि उहाँहरुबीचको सहकार्य भइरहेको छ। विश्वप्रकाश शर्माले १२औं महाधिवेशनमा एउटा रणनीतिक गल्ती गर्नुभएको थियो। त्यसलाई उहाँले १४औं महाधिवेशनमा सच्चाउनुभएको छ। उहाँको त्यो गल्ती सच्चिनुमा गगन थापाको साथ रह्यो। पार्टीभित्र गगन र विश्वप्रकाशको लोकप्रियताको ग्राफ महाधिवेशनको नतिजाले देखाएको छ। दुई महामन्त्रीले ल्याएको मत हेर्ने हो भने करिब एक हजारको फरक छ। त्यो मतभित्रको रहस्य विश्वप्रकाशलाई राम्रोसँग थाहा छ। प्रवक्ता भएलगत्तैदेखि उहाँले ‘गगन र विश्व’ भन्ने नारा दिएर गुप्त सहकार्यको त्यान्द्रो समातेर यो उपलब्धि हाँसिल गर्नुभएको हो। 

नेपाल समय

धेरैलाई के लागेको थियो भने महाधिवेशनपछि विश्वप्रकाश शर्माले शेरबहादुरको विश्वासपात्र बनेर काम गर्नुहुनेछ। तर, विश्वप्रकाश शेरबहादुरको भित्रिया हुन नसक्ने कुरा महामन्त्रीमा प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएसँगै प्रष्ट भएको थियो। गगन थापाले जहिल्यै एजेन्डाको कुरा गर्नुहुन्छ। विधान उल्लंघनको कुरामा संलग्न नहुने कुरा गर्नुहुन्छ। 

अहिले विश्वप्रकाशले दिर्घकालीन राजनीति सोच्नुभएजस्तो देखिन्छ। उहाँले कांग्रेसमा पुस्तान्तरण हुँदाको नेता गगन थापा हो भनेर बुझ्नु भएको छ। गगनसँग विपरीत रहने कि सँगै जाने भन्ने दुई विकल्प उहाँसँग थिए। तर, उहाँले गगनसँगै मिलेर जाने विकल्प रोज्नु भएको छ। नेविसंघको राजनीतिको वरीयतालाई बिर्सिएर कार्यकर्ता र आम मानिसले गगनको अनुमोदन गरेको कुरालाई विश्वप्रकाशले पनि अनुमोदन गर्नु भएको छ। उहाँले आफ्नो भित्री घेरामा रहेका मानिसलाई पनि यस विषयमा सहमत गराइसक्नुभएको छ। 

प्रदीप पौडेल निकट व्यक्तिहरू गगन थापासँग सहकार्य गरेर जाने कुरामा सहमत भएनन्। त्यसकारण उनीहरूबीचको सहकार्य सहज भएन। गगनको विपरीत ध्रुवमा बस्दा क्षति भइरहेको कुरा प्रदीप पौडेलले बुझ्न सक्नुभएन। तर, विश्वप्रकाशले बुझ्नुभएको छ। गगनलाई नेता बनाएर गगनलाई बनाएर आफू नेता बन्ने प्रयास उहाँको देखिन्छ। दुवै नेताको एकताबाट  उत्साह सिर्जना भएको छ। र, त्यो कार्यकर्ता लेभलसम्मै पुगेको देखिन्छ। गगन र विश्वप्रकाशसँगै हुँदा नीतिगत र वैचारिक अडानबाट लिँदा देउवालाई विधानअनुसार पार्टी चलाउन दबाब पुग्नेछ।

पछिल्लो समय गठबन्धन कायमै राखेर निर्वाचनपछिको पहिलो आधा कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने र दोस्रो कार्यकाल पत्नी आरजुलाई प्रधानमन्त्री बनाउने गाइँगुईँ राजनीतिक वृत्तमा सुनिन थालेको छ। प्रचण्डपुत्री रेणु दाहालले प्रचण्ड प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएर त्यसको आंशिक पुष्टि गरिदिएकी छन्। त्यसकारण भोलिको राजनीतिमा पनि देउवाले गगन र विश्वप्रकाशलाई भन्दा आरजुलाई च्यापेको देखिनेछ। यसको अर्थ देउवाले देउवाले गगन र विश्वलाई होइन, आरजुलाई उत्तराधिकारी बनाउने सम्भावना प्रबल छ। त्यसकारण दुई महामन्त्रीले विद्रोह गर्दा पार्टीमा दबाब बढ्नु स्वभाविक हो। त्यसकारण शेरबहादुर देउवाले गुप्त राजनीति गर्न चाहनुभएको छ। पार्टी सञ्चालनमा पनि पूर्णबहादुर खड्का र प्रकाशशरण महत हावी हुनुभएको छ। यसले पनि दुवै महामन्त्रीलाई झस्काएको छ। त्यसकारण उहाँरुबीच सहकार्यको विकल्प देखिँदैन। 


तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
राजनीति

पुनर्विचारका लागि पठाइएको नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ।
नेपाल समय
राजनीति

पश्चिम सेती र सेती नदी-६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय
राजनीति

निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह गरेको छ।
नेपाल समय
राजनीति

गगनले भने - फोहोरको समस्या नबल्झिने गरी हल खोजौं

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र सहरी विकास मन्त्रीसहितको बैठकमा तत्कालाई अवरोध हटाउने सहमतिप्रति खुसी व्यक्त गर्दै नबल्झिने गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।
नेपाल समय
राजनीति

नागरिकता विधेयक दोस्रो पटक पारित

नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना