काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले राष्ट्रियसभाको शुक्रबारको बैठक बहिस्कार गरेका छन्।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।
बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पुर्याएर मुलुकलाई हानी पुर्याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताएका थिए।
त्यसलगत्तै एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिएका थिए।
एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाएका छन्।
बैठकले अर्थमन्त्री शर्माले प्रस्तुत गरेको ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।