शुक्रबार, भदौ ३, २०७९

किन मौन छन् कांग्रेसका 'प्रभावशाली' यी नेता?

तीर्थराज बस्नेत  |  काठमाडौं, मंगलबार, असार १४, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

मंगलबार, असार १४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाली कांग्रेस १४औँ महाधिवेशनले केही स्थापित नेताहरुलाई किनारामा पुर्‍याउँदा केही नयाँ अनुहार भने केन्द्रीय पदाधिकारीमा स्थापित भएका छन्। १३ सदस्यीय पदाधिकारीमा सभापतिसहित केही पुराना नेता दोहोरिँदा नयाँले जबर्जस्त स्थान बनाए। यसले लामो समय कांग्रेसको सक्रिय राजनीति गरेका केही नेता भने मौन बन्नुपर्ने अवस्थामा सिर्जना गर्नसमेत बल दिएको छ। पार्टीको पदाधिकारीका लागि उम्मेदवारी दिएका तर चुनावी परिणामअनुसार पदमा आसीन हुन नकसेका केही नेताहरू यतिबेला मौन छन्। यस्तै पदाधिकारीका उम्मेदवार तय गर्न निर्णायक भूमिका खेलेका केही नेताहरूसमेत पछिल्लो समय 'निष्क्रिय' बनेका दिखिएका छन्। 

कांग्रेसको आन्तरिक जीवनसँग सम्बन्धित होस् वा राष्ट्रिय राजनीतिका सन्दर्भमा होस् पार्टीमा चुनाव हारेपनि केही नेताहरू भने उत्तिकै सक्रियताका साथ प्रतिक्रिया जनाइरहेका छन्। पार्टीका अभियान र गतिविधिमा सक्रिय हुन उनीहरूलाई पदले खासै अर्थ नराखेजस्तो पनि देखिएको छ। बरु पार्टीसत्तामा नहुँदा उनीहरूलाई आलोचनात्मक टिप्पणी गर्न सहज भएको छ।  

नेपाली कांग्रेसले अभिव्यक्ति स्वतन्त्रलाई 'बन्देज' छैन। पार्टीको औपचारिक धारणाबाहेक पनि नेताहरुले आ–आफ्नै ढंगले विचार राख्दै आएका पनि छन्। कांग्रेस नेताहरू पार्टी नेतृत्व र निर्णयबारे सार्वजनिक रूपमा नै खुलेर आफ्नो मत/अभिमत र धारणा राख्छन्। पार्टीको नेतृत्वमा सरकार हुँदा पनि सरकार र नेताहरूको आलोचना गर्ने र सुझाव दिने कामलाई कांग्रेसका नेताहरुले निरन्तरता दिएका छन्। राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा धारणा राख्न नेताबीच होडबाजी नै चल्ने गर्छ। यसलाई कांग्रेसका नेताहरु लोकतन्त्रको सुन्दर पक्षका रूपमा व्याख्या गर्छन्। यस अर्थमा वामपन्थी दलभन्दा कांग्रेसको चरित्र फरक देखिन्छ।

राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा  केही  नेताहरूको चासो कम सुनिन्छ। मुलुकको आर्थिक, राजनीतिक र कुटनीतिक मुद्दाबारे चर्का विवाद र बहस भइरहँदा पनि उनीहरूको मौनता छ।

पार्टीको शीर्ष पदमा नपुगे पनि कुनै बेला पार्टीको  'बागडोर' थामेका तर पदाधिकारीमा चुनाव हारेका केही नेताहरू महाधिवेशनयता मौनप्राय: छन्। पछिल्लो समय उनीहरू छलफल, बहस, प्रश्न, आलोचनामा कमै सहभागी देखिन्छन्। राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा उनीहरूको चासो कम सुनिन्छ। मुलुकको आर्थिक, राजनीतिक र कुटनीतिक मुद्दाबारे चर्का विवाद र बहस भइरहँदा पनि उनीहरूको मौनता छ। 

राजनीतिकर्मीहरूका लागि महत्त्वपूर्ण विषयमा आफ्ना धारणा राख्नु, त्यसमा छलफल र बहस गर्नु प्राथमिकताकै विषय पनि हुन्। गत चुनावमा सभापतिमा प्रतिस्पर्धा गरेका विमलेन्द्र निधि, उपसभापतिमा प्रतिस्पर्धा गरेका महेश आचार्य र विजयकुमार गच्छदार, सभातपिमा उम्मेदवार दिने घोषणा गरे पनि उम्मेदवारी नदिएका गोपालमान श्रेष्ठ, देउवा प्यानलबाट उम्मेदवार तय गर्नमा भूमिका खेलेका कृष्णप्रसाद सिटौला र पूर्वकोषाध्यक्ष सीतादेवी यादव कम सुनिन थालेका नेतामा पर्छन्। कांग्रेसका केही कार्यकर्ता पंक्तिले खोजिरहे पनि उनीहरू किन मौन छन् त? राजनीतिक सक्रियता कम गर्नु कमजोर मानसिकता हो कि शक्तिसञ्चय? उनीहरू मौन बसेर शक्तिसञ्चयमा लागेको भने सम्बन्धित नेता निकटका स्रोतको बलियो दाबी छैन।

विमलेन्द्र निधि 

कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका प्रतिस्पर्धा गरेयता निधिको सक्रियता ओरालो यात्रामा छ। सभापति शेरबहादुर देउवाको समूहबाट विद्रोह गरेर उनैविरुद्ध लडेका पूर्वउपसभापति निधिले महाधिवेशनमा अपेक्षित नतिजा निकाल्न सकेनन्। महाधिवेशनकै क्रममा पहिलो चरणमा नतिजा नआए देउवालाई पराजित गर्न सबै मिल्ने उद्घोष निधिले गरेका थिए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन सकेनन्। कांग्रेस विधान अनुसार दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। पहिलो बनेका देउवा र दोस्रो बनेका शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धामा थिए। तेस्रो बनेका प्रकाशमान सिंह र चौथो बनेका निधि प्रतिस्पर्धाबाट बाहिरिए। 

नेपाल समय
विमलेन्द्र निधि

तर, दोस्रो चरणको निर्वाचनमा सिंह र निधि देउवालाई सघाउने निर्णयमा पुगे। उनीहरुको यो निर्णयलाई कांग्रेसको एउटा तप्काले आजपर्यान्त आलोचना गर्दै आएको छ। सभापतिमा सघाएपनि देउवा–निधि सम्बन्ध पहिलेझैं बन्न सकेन। देउवाले निधिलाई केन्द्रीय सदस्यमा मनोनित त गरेका छन्। तर, उनीहरूबीचको सम्बन्ध कसिलो छैन। महाधिवेशनपछि मधेस प्रदेशका जिल्ला अधिवेशन र मधेस प्रदेशको अधिवेशनमा देउवा–निधि गठजोड हुन सकेन। बरु निधिले शेखर समूहको साथ खोजे।  

स्थानीय तहको निर्वाचनमा निधिको प्रतिष्ठासँग जोडिएको जनकपुर उपमहानगरपालिकामा देउवाले सत्ता गठबन्धनको भागबन्डा मिलाउँदा जनता समाजवादी पार्टीलाई सुम्पिदिए। तर, निधि चुप भने बसेनन्। उनले आफू निकट मनोज साह सुडीलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएर चुनावी मैदानमा पठाए। निधिले अघि सारेका साह जनकपुर मेयरमा निर्वाचित भए। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लालकिशोर शाह चौथो बने। 

जनकपुर उपमहानगरको निर्वाचनमा देउवालाई आफ्नो शक्ति देखाइदिएका निधि त्यसयता मौन छन्। उनी पार्टी जीवन र राष्ट्रिय राजनीतिका कतिपय महत्वपूर्ण विषयमा आफ्नो धारणा सार्वजनिक गरेको देखिएको/सुनिएको छैन। उनले पछिल्लो पटक जेठ ५ गते आफ्नो आधिकारिक फेसबुक पेजमा विदेश अध्ययनमा साढे ४३ अर्ब बाहिरिएको समचारबारे टिप्पणी गरेका छन्। त्यसयता निधि न सार्वजनिक कार्यक्रममा देखिएका छन्, न त कुनै विषयमा बोलेका छन्। 

अचेल निधि केमा व्यस्त छन् त? जिज्ञासा राख्न खोज्दा उनी सम्पर्कमा आएनन्। उनका सहयोगीका अनुसार उनी छोराको विवाहमा व्यस्त हुँदा राजनीतिक विषयमा निष्क्रिय देखिएका हुन्। निधिका जेठा छोरा डा. अविरलको असार ९ गते विवाह सम्पन्न भएको छ। 

कृष्णप्रसाद सिटौला 

कुनै बेला नेपाली कांग्रेसको राजनीतिमा प्रभावशाली मानिने नेता कृष्णप्रसाद सिटौलाको राजनीतिक सक्रियता पनि पछिल्लो समय घट्दै गएको छ। कांग्रेसका पूर्वमहामन्त्री सिटौला १३औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका थिए। महाधिवेशनपछि उनले कांग्रेसभित्र तेस्रो धारको जन्म गराए।

नेपाल समय
कृष्णप्रसाद सिटौला

१३औं महाधिवेशनबाट जन्मिएको उनको गुट १४औं महाधिवेशनको पूर्वसन्ध्यासम्म सक्रिय नै थियो। तर, १४औं महाधिवेशनमा उनी नेतृत्वको गुट संस्थापन समूहमा विलिन हुन पुग्यो। १४औं महाधिवेशनमा सिटौला प्रतिस्पर्धामा उत्रिएनन्। बरु आफूसँग भएका नेताहरुको देउवासँग सहकार्य गरेर 'सेटलमेन्ट' गराउन केन्द्रित भए। नेता प्रदीप पौडेल सिटौलाकै कोटाबाट देउवाको प्यानलमा महामन्त्रीको उम्मेदवार बनेका थिए। तर, उनी पराजित भए। 

महाधिवेशनमा प्रतिस्पर्धामा नउत्रिएपनि सिटौलालाई देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। तर, सिटौला १४औं महाधिवेशनपछि उति सक्रिय देखिँदैनन्। सत्तागठबन्धनको बैठकमा कांग्रेसका तर्फबाट उनी सहभागी हुन्छन्। त्यसबाहेक उनको सक्रियता देखिँदैन। स्थानीय तहको निर्वाचनमा गृहजिल्ला झापामै खटिएका उनी त्यसयता कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। न त कुनै महत्वपूर्ण राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। यो अवधिमा राजनीतिमा उथलपुथल ल्याइदिने केही घटनाक्रम विकसित भए। तर, सिटौला ती सबै घटनाक्रमलाई वेवास्ता गरेर मौन बसेका छन्। 

सिटौलानिकट एक नेताका अनुसार सिटौला जिल्ला र आफ्नो समूहका नेताहरूबीच छलफलमा छन्। यसका साथै सरकारले सहयोग मागेका विषयमा सहयोग गर्ने काम पनि उनले गर्दै आएका छन्। 

गोपालमान श्रेष्ठ

देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिकको नेतृत्व गर्दा उपसभापति बनेका गोपालमान श्रेष्ठ पनि आजभोलि कम सक्रिय देखिन्छन्। १४औं महाधिवेशनमा सभापति लड्ने घोषणा गरेका श्रेष्ठ उम्मेदवार भने बनेनन्। संस्थापन समूहमा देउवापछि आफू नै 'सिनियर' नेता भएको दाबी उनले बेलाबखतमा गर्ने गरेका छन्। १४औं महाधिवेशनमा देउवाले आफूलाई सभापति बनाउन सहयोग गर्नुपर्ने तर्क समेत उनले गरेका थिए।

नेपाल समय
गोपालमान श्रेष्ठ

तर, अन्तिममा उनी केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरे र विजयी पनि भए। नयाँ कार्यसमितिको वरीयता निर्धारण गर्नेक्रममा श्रेष्ठले आफूलाई तेस्रो नम्बरमा राख्नुपर्ने दाबी गरेका थिए। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफ्नो वरीयता कायम हुनुपर्ने दावी उनको थियो। तर, वरीयतामा भने उनी १४औं नम्बरमा परेका थिए। 

उनी अहिले सार्वजनिक कार्यक्रममा देखिँदैनन् र एजेन्डामा धारणा पनि राख्ने गरेका छैनन्। तर, उनले आफू यथास्थितिमा रहेको दाबी गर्ने गरेका छन्। ‘म निष्क्रिय पनि छैन, सक्रिय पनि छैन,’ नेता श्रेष्ठले भने, ‘म जहाँ थिएँ, त्यहीँ छु।’ 

त्यसो त मिडियाले पार्टी पदाधिकारी र मन्त्रीहरूलाई मात्रै केन्द्रमा राख्ने गरेको गुनासो उनको छ। ‘पार्टीका पदाधिकारीका छन्, सरकारका मन्त्री छन्। मिडियाले उनैलाई खोज्छन्,’ उनले भने, ‘सडकमा आएर मेरो कुरा यो हो है भन्दै हिँड्ने कुरो भएन। आफ्नो ठाउँमा बस्ने हो, काम गर्ने हो।’

विजयकुमार गच्छदार

पूर्वउपसभापति विजयकुमार गच्छदारपनि महाधिवेशनयता निष्क्रिय छन्। एकातिर उनीमाथि विशेष अदालतमा मुद्दा चलिरहेको छ। अर्कोतर्फ १४औं महाधिवेशनमा उपसभापति लडेका उनी धनराज गुरुङसँग पराजित हुन पुगे। उनको राजनीतिक करियर निरन्तर ओह्रालो यात्रामा छ। २०७४ सालको निर्वाचनमा सुनसरी-३ बाट निर्वाचित गच्छदारलाई देउवाले २०७४ फागुन १ गते कांग्रेस संसदीय दलको उपनेतामा मनोनित गरेका थिए। तर, गच्छदार २०७६ माघ २२ गते संसदबाट निलम्बित भएका थिए।उनीमाथि प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गामा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको घटनामो दोषी रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अदालतमा मुद्दा परेसँगै उनी सांसद पदबाट निलम्बित बनेका थिए। 

नेपाल समय
विजयकुमार गच्छदार

१४औं महाधिवेशनमा उपसभापतिमा पराजित हुनु उनको राजनीतिक करियरको अर्को झट्का थियो। उपसभापतिमा पराजित भएपनि देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। तर, उनको राजनीतिक सक्रियता काहीँ कतै देखिँदैन।

महेश आचार्य 

बौद्धिक नेताको छवि बनाएका महेश आचार्य लामो समययता निष्क्रिय छन्। २०७४ को निर्वाचनमा मोरङ–३ बाट पराजित भएपछि आचार्यको सक्रियता कम हुँदै गएको हो। उनी सार्वजनिक मञ्चमा देखिन छाडेको लामै समय भइसकेको छ। उनी मिडियादेखि पनि टाढै छन्। 

१४औं महाधिवेशनमा आचार्यले उपभासपति पदमा प्रतिस्पर्धा गरेका थिए। तर, उनको भागमा पराजय पर्‍यो। महाधिवेशनताका मिडियाका लागि उनी समाचारको विषय बने। तर, ०७४ साल देखि ०७८ मंसिरसम्म र त्यसयता मिडियाले खोजेर पनि उपलब्ध नहुने नेतामा पर्छन्। 

नेपाल समय
महेश आचार्य।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्‍मा आचार्य अर्थराज्यमन्त्री बनेका थिए। मन्त्रालयको नेतृत्व गरेकै बखत नेपालमा खुलाबजार अर्थनीतिको जग हाल्ने काम भएको थियो। त्यसकारण पनि आर्थिक मुद्दामा सञ्चारमाध्यमले आचार्यलाई खोज्ने गरेका छन्। आर्थिक मुद्दामा उनको धारणा महत्त्वपूर्ण हुने बुझाइ कतिपयको छ। तर, आचार्यले आर्थिक मात्रै होइन, राजनीतिक मुद्दामा समेत आफ्ना धारणा राख्न छाडेको लामै समय भइसकेको छ। 

पछिल्ला केही महिनायता मुलुकको अर्थतन्त्र ओह्रालो यात्रामा छ। कतिपयले नेपाल श्रीलंकाझैं टाट पल्टने खतरा गरेको टिप्पणी गर्दै आएका छन्। यो बेला अर्थ मन्त्रालयको नेतृत्व सम्हालिसकेको र आर्थिक उदारीकरणको बाटोमा मुलुकलाई अघि बढाउने काम गरेका आचार्यको विश्लेषण प्रतीक्षित हुन्छ। तर, उनले यसबारेमा कहीँ-कतै बोलेको देखिँदैन। मुलुकको राजनीति र कूटनीतिका कतिपय महत्वपूर्ण विषयमा पनि आचार्यले मुख खोलेका छैनन्। आगामी निर्वाचनमा मोरङ–३ बाट निर्वाचन लड्ने तयारीमा छन्। तर, आफ्नै निर्वाचनमा क्षेत्रमा पनि आचार्य विरलै पुग्ने गरेका छन्। 

मोरङ कांग्रेसका कतिपय नेताहरुले आचार्यले निर्वाचन क्षेत्रमा सानो कोटरीलाई साथमा लिएको र जनताका मुद्दालाई चासो नदिएका कारण कांग्रेस कमजोर बन्न पुगेको टिप्पणी गर्दै आएका छन्। वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा आचार्यको क्षेत्रका २३ वडामा कांग्रेसले ३ वटामा मात्रै जित निकालेको थियो। यो तथ्यांकले पनि आचार्यको क्षेत्रमा कांग्रेसको अवस्थालाई प्रष्ट पारेको एक नेताको टिप्पणी छ। 

पार्टी संगठन र राष्ट्रिय मुद्दामा तपाईँको उदासीनता किन? भन्ने प्रश्नमा आचार्यले जवाफ दिन चाहेनन्। ‘के विषय बोल्नुपर्ने र? बोल्नुपर्ने केही छ जस्तो लागेन,’ उनले छोटो प्रतिक्रिया दिए। 

सीतादेवी यादव

पूर्वकोषाध्यक्ष सितादेवी यादव पनि राजनीतिक रूपमा सक्रिय छैनन्। १३औं महाधिवेशनमा निवर्तमान कोषाध्यक्ष चित्रलेखा यादवलाई पराजित गरेर सीतादेवी कांग्रेसको कोषाध्यक्ष बनेकी थिइन्। तर, १४औं महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिइनन्।

नेपाल समय
सीतादेवी यादव।

उनलाई सभापति देउवाले केन्द्रीय सदस्यमा समेत मनोनित गरेका छैनन्। कांग्रेसले समानुपातिक तर्फबाट सांसद् बनाएको थियो। संसद् बैठकमा भाग लिएपनि उनले छलफलमा भने कम मात्र  सहभागी हुने गरेकी छन्। 


प्रकाशित: June 28, 2022 | 19:57:08 काठमाडौं, मंगलबार, असार १४, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

रक्षात्मक अर्थमन्त्री, 'कम्फर्टेबल' सचिव!

दोस्रो इनिङ सम्हालेयता अर्थमन्त्री जनार्दन शर्मा पहिलो कार्यकालमा जस्तो क्रान्तिकारी र उत्तेजक रूपमा प्रस्तुत भएका छैनन्। बजेट पारित भइसकेको र चुनाव सँघारमा रहेकाले महत्त्वपूर्ण निर्णय गर्नुपर्ने झमेला नहुँदा पहिलो कार्यकालमा जस्तो सक्रिय छैनन् उनी।

बञ्चरेमा फोहोर फाल्न तीन बुँदे सहमति

काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फाल्न तीन बुँदे सहमति भएको छ।

कांग्रेस नेता लेखकले भने - अब ५ वर्षभित्र दोधारामा सुक्खा बन्दरगाह बन्छ, तटबन्धनको काम सुरु भइसक्यो

नेता लेखकले दोधारा चाँदनी नगरपालिकामा भएको एक कार्यक्रममा नेता लेखकले भने, 'नेपाली कांग्रेसको सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढाएकोमा ०७४ सालको निर्वाचनमा कञ्‍चनपुर -३ मा कांग्रेस पराजित भएपछि प्रक्रिया अगाडि नबढेको हुँदा आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराएमा आगामी ५ वर्षभित्र सुक्खा बन्दरगाह निर्माण सम्पन्‍न हुनेछ।'

रेशम रिहाइको 'बार्गेनिङ' : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्‍जिताको उम्मेदवारी

‘टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ। प्रधानमन्त्रीपत्‍नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर बसेको छौं। आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्‍जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर विभेद गर्नेलाई हराउने हो।'

कांग्रेसका स्थानीय जनप्रतिनिधि भन्छन् – गठबन्धनले कतै आश, कतै निराश

कांग्रेसका मतदातालाई अहिले पनि रुख चुनाव चिह्न प्यारो छ। गठबन्धन गर्दा पनि रुख चुनाव चिह्न भयो भने अन्य पार्टीका उम्मेदवारलाई भोट हालेजस्तो अनुभूति हुँदैन। अर्को पार्टीको चुनाव चिह्नमा कसरी भोट हाल्ने भन्ने पार्टी समर्थक मतदातामा अन्योल छ।

कांग्रेसले लत्यायो आफ्नै निर्णय

केन्द्रीय समितिले गरेको निर्णय नम्बर ४ मा भनिएको छ, 'अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र पूर्णता दिने।'

सिन्धुलीबाट लड्दा प्रचण्डलाई कति सहज?

२०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार क्षेत्रबाट निर्वाचन लडिसकेका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० गरी दुई ठाउँबाट निर्वाचित प्रचण्डले २०७० सालको निर्वाचनमा भने काठमाडौं–१० र सिरहा–५ बाट लडेका थिए।

एकीकृत समाजवादीसँग पनि एकताको तयारी छ, नाम नेकपा रहन्छ : प्रचण्ड

पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ छ।

एमालेभित्र '१० भाइ'का दुःख- कसै-कसैले त टिकट पाउनै मुस्किल!

एमाले नचोइटिँदासम्म नेता माधव नेपालको पक्षमा रहेका १० भाइ पार्टी विभाजनपछि एमालेमै अडिए। १० भाइ एमालेमै बसे पनि अध्यक्ष ओली अझै दाहिना भएका छैनन्।

तेस्रो पार्टी संलग्न रहेको भन्दै भारतमाथि फिफाको प्रतिबन्ध

फिफो अल इन्डियन फुटबल फेडेरेसन(एआईएफएफ) मा तेस्रो पार्टी संलग्न रहेको भन्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।

थप समाचार

नेपाल समय
राजनीति

एमालेले बहुमत ल्याउने गरी चुनावको तयारी गरिरहेको छ : योगेश भट्टराई

त्यसका लागि पार्टीका सबै विभागहरुले विज्ञहरुसँग छलफल गरेर सो घोषणा पत्रको मस्यौदा तयार पार्ने योजना अनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए।
नेपाल समय
राजनीति

प्रतिनिधिसभाका ६४ वर्ष : यसरी मौलाए कम्युनिस्ट

पहिलो प्रतिनिधिसभा निर्वाचनमा ३.६६ प्रतिशत (१०९ मध्ये ४ जना) जितेका कम्युनिष्ट सांसदको संख्या बढेर पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा ६४ प्रतिशतभन्दा बढी (२७५ मध्ये १७७ जना) पुगेको छ।
नेपाल समय
राजनीति

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

गिरि अवस्था गम्भीर रहेको अस्पतालले जानकारी दिएको छ। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए।
नेपाल समय
राजनीति

वाइसिएललाई विश्राम लिन छुट छैन : अध्यक्ष दाहाल

वाइसिएललाई शान्तिपूर्ण फौजका रूपमा काम गर्न दाहालको निर्देशन।
नेपाल समय
राजनीति

जसपाको उम्मेदवार हुन तोकियो मापदण्ड

शुक्रबार बसेको जसपाको राजनीतिक समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारको मापदण्ड र योग्यताबारे प्रस्ताव गरेका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना