काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकाले नगरबासीलाई निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ। यस्तै, नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी पनि नगरले थालेको छ।
आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको नगरपालिकाले बताएको छ।
साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य सुविधा लिन पाउने व्यवस्था गरिने भएको छ। यसका लागि नगरपालिकाले अस्पतालसँग सम्झौता गर्नेछ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधाको विषय उल्लेख छ। नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएपछि सुष्मा कोइराला मेमोरियल अस्पतालसँग सम्झौता गरेर कार्यक्रम अघि बढाउने नगरपालिकाको योजना छ।
नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने कार्यक्रम पनि अघि सारिएको छ। शंखरापुरले शुक्रबार आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्दैछ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा शंखरापुर नगरपालिकामा राप्रपाले विजय हासिल गरेको थियो। नगर प्रमुखमा नरेश नापित निर्वाचित भएका छन्।