काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भइसकेको छैन। मंसिर पहिलो साता निर्वाचन गर्ने तयारी भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउँदै आएका छन्। सरकारको तयारीअनुसार नै हिसाब गर्ने हो भनेपनि निर्वाचन आउन अझै ५ महिना छ। मुख्य राजनीतिक दलहरूले स्थानीय तह निर्वाचन परिणामकै समीक्षा गरिसकेका छैनन्। स्थानीय तहको निर्वाचनको समीक्षा नसक्दै दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थाल्ने कुरै भएन।
तर, प्रतिनिधि सभा सदस्यको निर्वाचनको माहौल भने तात्न थालिसकेको छ। स्वतन्त्र उम्मेदवारी र पार्टी घोषणाको क्रम बढेसँगै निर्वाचनको माहौल तात्न थालेको हो। स्थानीय चुनावको परिणाम सार्वजनिक हुने बित्तिकै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम स्वतन्त्र उम्मेदवारले सुरु गरेका हुन्। यो क्रम जारी छ।
स्थानीय तहको निर्वाचनमा पराजित भएकादेखि दल छाडेकासम्मले स्वतन्त्र उम्मेदवारी घोषणा गरी चुनावी माहौल सिर्जना गरिरहेका छन्। भिन्न पेसा/व्यवसायमा सक्रिय रहेकाहरू राजनीतिमा प्रवेश गर्ने क्रमसमेत सुरु भएको छ। कोही स्वतन्त्र उम्मेदवारी दिएर राजनीतिक मैदानमा प्रवेश गरेको घोषणा गरिरहेका छन् भने केहीले समानुपातिक मत तान्न दल घोषणा थालेका छन्।
मंगलबार मात्रै सञ्चारकर्ममा सक्रिय रहेका रवि लामिछानेले दल घोषणा गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेका छन्। उनको दलको प्रस्तावित चुनाव चिन्ह घण्टी राखिएको छ। लामिछाने नेतृत्वको दलको नामका विषयमा निर्वाचन आयोगमा उजुरी पर्ने क्रम पनि जारी छ। सामाजिक सञ्जालमा समेत पार्टीको नाम स्वतन्त्र हुन सक्छ वा सक्दैन भनेर पक्षविपक्षमा बहस भइरहेका छन्।

यद्यपि सञ्चारकर्मका चर्चित नाम लामिछानेको राजनीतिक भविष्यको आकलन गर्ने बेला भइसकेको छैन। राजनीतिक तलाउमा पौडन उनी कति खरो उत्रनेछन् भन्ने कुराको लेखाजोखा चुनावमा उनको दल र उक्त दलले खडा गरेका उम्मेदवारले प्राप्त गर्ने मतले संकेत देखाउने छ। यसअघि वैकल्पिक राजनीतिक शक्ति भनी दाबी गरिएका विवेकशील र साझा पार्टीले चुनावमा खासै खरो देखिन सकेका छैनन्। बलियो वैकल्पिक शक्ति बनाउने योजनासहित आएको नयाँ शक्ति पार्टीकोनिशाना विलोप भइसकेको छ।
मंगलबार 'राष्ट्रिय स्वतन्त्र पार्टी'को घोषणा गर्दै रविले भनेका छन्, ‘मैले टेलिभिजनमा दलहरुलाई सुध्रन, सप्रन भनेर कराएँ, तर दलहरु सप्रिएनन्। मेरो आवाज चर्को थियो, तर तपाईंहरुले कहिल्यै झर्को मान्नु भएन। दलहरु कहिल्यै सुनेनन्। सुनेनन् मात्रै होइन, जनमत गुमाउँदासमेत गठबन्धन गरेर सत्ता सञ्चालन गरिरहे,’ उनले भने, ‘अब उहाँहरुबाट केही हुँदैन। यहाँ कति हिलो र धुलो छ मलाई थाहा छ। सफा गर्न जाँदा म केही समय हिलोमा डुबेकै जस्तो देखिन सक्छु। तर, उस्तै नठान्नुहोला।’
रविकै भाषा अनुसार राजनीतिक फोहोर सफा गर्न हिलोमा छिरिसकेका छन्। अब राजनीति सफा गर्ने सन्दर्भमा हिलोसँगको पौठाजोरी र धुलोसँगको मुकाविला कसरी गर्लान्? त्यो समयसँगै खुल्दै जानेछ।
रवि दल घोषणा गरेर राजनीतिमा होमिए। तर, काठमाडौंका विभिन्न क्षेत्रमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको संख्या पनि थपिँदो छ। रविकै सहोदर दाजु हरिशरण लामिछानेले काठमाडौं–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उनले स्वतन्त्र उम्मेदवारहरूकाबीच 'गठबन्धन' बनाउने प्रयाससमेत थालिसकेका छन्।
लामिछाने दाजुभाइले एकै क्षेत्रमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्। उनीहरुबीच कटुतापूर्ण सम्बन्धको उजागर विगत दुई दिनका गतिविधिले गरिदिएका छन्। रविले दल घोषणा गर्नुभन्दा एक दिनअघि (सोमबार) हरिशरणले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुबीचमा एलाइन्स बनेको घोषणा गरेका थिए। रविले दल खोलेपनि हरिशरणले त्यो दलमा आफू कहिल्यै आबद्ध नहुने घोषणा मंगलबार गरेका छन्।
सोमबार ‘स्वतन्त्रहरूको तर्फबाट’ प्रेस नोट जारी गर्दै हरिशरणले आफू काठमाडौं–३ बाट, रञ्जु दर्शना काठमाडौं-५, पुकार बम काठमाडौं–१ र सुमन सायमी काठमाडौं-८ बाट चुनाव लड्ने घोषणा गरेका थिए। तर, सायमलीले भने हरिशरणले झुक्काएको बताएका छन्। ‘उहाँले मलाई झुक्काउनु भयो। अब उहाँसँग मेरो सहकार्य हुँदैन। म देशभरका स्वतन्त्रहरुको विचार बुझेर सञ्जाल बनाउने विचारमा छु,’ उनले भनेका छन्।

त्यसो त सायमी रविको दलसँग पनि आकर्षित छैनन्। ‘दलको विकल्प दल नै हो। तर जुन ग्राउन्डबाट आउनुपर्ने हो त्यो मैले पाइनँ,’ उनले भने, ‘रविजीले हतारमा निर्णय लिनुभयो। बेसविनाको घर बन्दैन। त्यो उहाँले बनाउन आवश्यक छ।’
उनीहरू बाहेक गायक सञ्जय श्रेष्ठले काठमाडौं–६ बाट उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन्। यस्तै इन्जिनियर आकर्षण पोखरेल र मुकुन्द घिमिरेले काठमाडौं–४ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौं–६ मा विवेकशील साझा पार्टी परित्याग गरेर अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
बालेनको विजयले ल्याएको उभार
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिले नयाँ दल खोल्ने र स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम जसरी बढेको छ, त्यसका लागि काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र (बालेन) शाहको जितले प्रोत्साहित गरेको छ। बालेन महानगरको मेयरमा निर्वाचित भएसँगै स्वतन्त्र उम्मेदवारी दिन चाहानेहरू हौसिएका छन्। चाहे रविले दल खोलेको सन्दर्भमा होस् वा स्वतन्त्र उम्मेदवारी घोषणाको हतारोमा नै किन नहोस् बालेनको जितको फ्याक्टरले काम गरेको देखिन्छ।
बालेनले स्थापित राजनीतिक दलहरुसँग बढ्दो वितृष्णालाई क्यास गरेर चुनवामा सफलता प्राप्त गरे। बालेन जितको जगमा उभिएर दलहरुलाई धक्का दिने प्रयासमा स्वतन्त्र उम्मेदवारी घोषणाको क्रमले तीव्रता पाएको हो। धरानमा हर्क साम्पाङ, काठमाडौंमा बालेन र धनगढीमा गोपाल हमालको जबरजस्त उदय भएपछि काठमाडौंमा स्वतन्त्र उम्मेदवारीको लहर देखिएको छ।

दल घोषणा गरेका रविले पनि त्यही जगमा वैकल्पिक दल बनाउने प्रयासमा छन्। उनले दल खोल्नु पछाडिको अर्को कारण समानुपातिक मत हो। काठमाडौंका मतदाताले नयाँ अनुहार रुचाएको विश्लेषण गरेका रविले दल नै नयाँ प्रस्तुत गरेका हुन्। आफ्नो छविका कारण देशभरबाट राम्रै अंकको समानुपातिक मत पाउन सकिने आकलन उनको छ। उनले पार्टी घोषणा कार्यक्रममा ‘फेसबुक लाइकलाई भोटमा कन्भर्ट’ गर्न सहज नभएको भनेर दिएको अभिव्यक्तिले यसको पुष्टि गर्छ। यसको परीक्षा उनी आफैँमा पनि हुने भएको छ। यद्यपि बालेनका विषयमा धेरैलाई धेरै कुरा थाहा नहुँदानहुँदै मतदाताको मन जतिसकेका थिए। तर, अहिले देखिएका स्वतन्त्रहरूका गुण–अवगुण जान्न मतदातालाई ५ महिनाको समय मिलिसकेको छ।
दलहरु के भन्छन्?
बालेन, साम्पाङ र हमालको जितले आफूहरुलाई सुध्रने सन्देश दिएको तर्क दलका नेताहरुले गर्ने गरेका छन्। तर, आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुप्रति उनीहरुले टिप्पणी गरिसकेको छैन। तर, रविको दल घोषणाका सन्दर्भमा भने दलका नेताहरुले टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले रविको दलप्रति कटाक्ष गरेका छन्। उनले रवि राजनीतिमा योग्य नभएको आशयको धारणा व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘निश्चित पेशा वा व्यवसायमा सफल हुन चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन। राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ।’

तर, सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसका नेताहरूको धारणा भने केही भिन्न छ। स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने र नयाँ दल बनाउने कुरालाई सकारात्मक रुपमा लिनुपर्ने कांग्रेसका महामन्त्री गगनकुमार थापा बताउँछन्।
‘नयाँ पुस्ताका साथीहरुले राजनीतिक आकांक्षा राख्ने कुरा, हामीहरु प्रतिनिधिसभामा र स्थानीय तहमा काम गर्छौं भन्ने कुरालाई सकारात्मकरुपमा लिन पर्यो। त्यसलाई थप प्रोहोत्साहित गर्ने हो,’ उनले भने, ‘केही गर्छु भन्ने हुटहुटी भएको साथीहरुलाई राजनीतिक दलहरुभित्र सहजै छिर्न सक्ने र मौका प्राप्त गर्न सक्ने अवस्था बनाउनुपर्छ। स्वतन्त्र उठ्दा चाहिँ स्वनिर्णय गरे पुग्यो। तर, पार्टीमा भने वर्षौं पर्खनुपर्ने अवस्था छ। त्यसको अन्त्यका लागि हामी पार्टीको सदस्यता प्रणाली नै बदलन्नुपर्छ भनेर लागेका छौं। यसो गर्दा नयाँ साथीहरुलाई बनेकै दलमा जाऔं भन्ने कुराका लागि सहज हुन्छ।’

उनी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका र नयाँ दल बनाएकाहरुले स्थापित दलहरुलाई केही कुरामा चुनौति थपिदिएको टिप्पणी गर्छन्। स्थापित दलहरुलाई नयाँ मुद्दा उठाउनुपर्ने र सान्दर्भिकता पुष्टि गर्नुपर्ने चुनौती थपिएको महामन्त्री थापाको बुझाइ छ।
‘यसले हामीलाई थप सुधार्न र निखार्न सन्देश दिएको छ। सँगै हामीले भनिआएको भोट बैंक भएको ठाउँ, जितेको ठाउँ भनेको कुरा केही पनि हुँदैन भन्ने सन्देश पनि दिएको छ,’ उनी भन्छन्, ‘अब हामीलाई नयाँ बनाउन पर्यो। नयाँ मुद्दा उठाउन पर्यो र आफ्नो सान्दर्भिकता पुष्टि गर्न पर्यो भनेर चुनौतीसमेत दिएको छ।’