काठमाडौं– राजनीति गर्न भनेर पत्रकारिता छाडेका रवि लामिछानेले आफू व्यवस्था होइन, अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताएका छन्।
आफ्नो उम्मेदवारी घोषणा गर्न राष्ट्रिय सभामृहमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
आफू नयाँ दल बनाएर अघि बढ्ने तयारीमा रहेको पनि उनले खुलाएका छन्। आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने पनि उनले घोषणा गरेका छन्।
‘म आमनागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान मान्छेहरुको साथ लिएर देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु,’ लामिछानेले भने।
अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।
उनले आफ्नो पार्टीका धारणा सार्वजनिक गर्दै क्षमता भएका युवाहरूलाई आफ्नो पार्टीमा आवद्ध हुन पनि आह्वान गरेका छन्। साथै ती युवाहरूलाई पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने उनले बताए।
लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अवलम्वन गर्ने पनि घोषणा गरे। तर निर्वाचनमा राइट टु नो भोटको व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए।
स्वतन्त्र उम्मेदवारी दिन लागेका सबैप्रति आफ्नो सम्मान रहेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नुपर्ने भएकाले दल गठन गरेको सुनाए।
उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए। प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नुपर्ने उनको अवधारणा छ।
यसरी पार्टीमा प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उसले चुनावअघि नै मन्त्रिपरिषदमा जाने सदस्य चयन गर्ने उनले बताए। उनले पार्टीका सदस्यलाई राइट टु रिकलको अधिकार पनि हुने बताए।
लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गरेका छन्। पार्टीमा कोही पनि कार्यकर्ता नहुने र सबै सदस्यमात्र हुने उनले बताए। सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए।
लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन्।