काठमाडौं- केही दिनयता वाम नेताहरूबीच छलफल र भेटघाट बाक्लिएको छ। विशेषगरी नेकपा माओवादी केन्द्रका नेताहरूले नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले)का शीर्षसहित दोस्रो तहका नेताहरूसँग छलफल र भेटघाटलाई तीव्रता दिएका छन्। भेटघाट भएको स्वीकार्ने नेताहरू एजेन्डाका विषयमा भने प्रष्ट रूपमा खुल्न चाहँदैनन्। पछिल्ला भेटघाटका विषयलाई सामान्य रूपमा लिनुपर्ने बताउने माओवादीले एजेन्डा मिल्ने दलसँग एकता हुनसक्ने बताउने गरेको छ । एमालेले भने तत्काल वाम एकता वा तालमेल हुने सम्भावना नरहेको दाबी गर्दै आएको छ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच भएको २ घण्टा लामो छलफलले राजनीति तरंगित बनेको छ। आइतबार अपराह्न ओली निवास बालकोटमा दुई नेताबीच छलफल भएको थियो।
नेपालमा अमेरिकी चासो बढ्दै गएपछि श्रेष्ठले ओलीसँग भेटेको बताइएको छ। श्रेष्ठले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समेत छुट्टै भेट गरेका थिए। श्रेष्ठले समसामयिक विषयमा नेताहरूसँग भेटवार्ता गर्नु स्वभाविक भएको बताएका छन्।
एमाले-माओवादी नेताहरूको भेटको शृंखला यतिमा मात्र सीमित छैन। जेठ ५ गते एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ऊर्जामन्त्री समेत रहेकी माओवादी नेतृ पम्फा भुसालसँग भेट गरेका थिए। भुसालको कार्यकक्षमा दुई नेताबीच करिब ४५ मिनेट छलफल भएको थियो। जहाँ वाम गठबन्धनको सम्भावनाबारे समेत छलफल भएको स्रोतको दाबी छ। यद्यपि यो विषयमा एमाले-माओवादी कुनै पक्षले पनि मुख खोलेका छैनन्।
यस्तै जेठ २८ गते एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच खुमलटारमा भेटवार्ता भएको थियो। दुई प्रमुख कम्युनिस्ट पार्टीका नेताहरूबीच निरन्तर छलफल हुनुलाई अर्थपूर्ण मानिएको छ। असार १ गते एमाले नेता घनश्याम भुसाललाई प्रमुख वक्ता बनाएर युवा वाम बहस समूहले वामपन्थी एकताका लागि अभियान थाल्दैछ।
०७४ सालमा स्थानीय निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले उसैसँग संयुक्त सरकार सञ्चालन गरिरहेको थियो। तर प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा भने कांग्रेसले भन्दा बढी सिट एमालेले दिएपछि माओवादी र एमालेबीच रातारात तालमेलको निर्णय भएको थियो। पछि उनीहरूले पार्टी नै एकता गरेका थिए। पछिल्ला भेटघाटलाई पनि यसअघिकै दृश्यसँग जोडेर तुलना गर्न थालिएको छ।
स्थानीय तहको निर्वाचनको परिणामले पहिलो दलबाट दोस्रोमा खुम्चिएको एमाले आगामी निर्वाचनमा पुन: पहिलो शक्तिकै रुपमा उभिन चाहन्छ। त्यसका लागि अहिलेको गठबन्धन तोड्नुपर्ने चुनौती एमालेसँग छ। स्थानीय तहको निर्वाचन परिणामप्रति माओवादी सन्तुष्ट देखिएको छ। तर परिणामले माओवादीलाई नेपाली राजनीतिको निर्णायक शक्तिका रुपमा उभ्याइदिएको छ। राजनीतिक लाभहानीको हिसाबकिताब गरेर माओवादी जता ढल्किन्छ, पासा त्यतै पल्टिने अवस्था छ। त्यसकारण पनि एमाले-माओवादी नेताहरुको भेटले राजनीति तरंगित बनाइदिएको छ।
स्थानीय तहको निर्वाचन सकिएको र दुई तह (प्रतिनिधिसभा र प्रदेशसभा)का निर्वाचनको मिति तोक्ने विषयमा छलफल चलिरहेका अवस्थामा दुई मुख्य वाम दलका नेताबीचको छलफलका विषयमा राजनीतिकवृत्तमा विभिन्न विश्लेषण हुन थालेका छन्। यद्यपि भेटका क्रममा मुलुकको राजनीतिक अवस्था र भूराजनीतिबारे छलफल भएको बताइएको छ। वाम गठबन्धनका बनाउने विषयमा भने भेटमा छलफल नभएको दाबी श्रेष्ठले गरेका छन्।
नेपालमा अमेरिकी चासो बढ्दै गएको अवस्थामा एमाले र माओवादी नेताले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा संसदलाई जानकारी गराउनुपर्ने माग गर्दै आएका छन्। जेठ १२ गते प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले लिएको एक चीन एक नीतिमा प्रश्न उठाएका थिए। जेठ पहिलो साता तीनदिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले नेपालमा रहेका तिब्बती शरणार्थीलाई भेटेको प्रसंग उप्काएर ओलीले सरकार माथि प्रश्न उठाएका थिए। हालै अमेरिकी सेनाका प्यासिफिक कमान्डर जर्नेल चार्ल्स ए फ्लिनले नेपाल भ्रमण गरेका थिए। प्रधानसेनापति प्रभुराम शर्मा र प्रधानमन्त्री देउवाले चाँडै अमेरिका भ्रमण गर्दैछन्।
माओवादी केन्द्रका नेता गुरूङले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीचको भेटलाई स्वाभाविक रूपमा लिइएको प्रतिक्रिया दिए। ‘एमाले अध्यक्ष ओली र नेता नारायणकाजी बीचको भेटघाट एउटै सदनमा, एउटै प्रक्रियामा रहेपछि नहुने प्रश्नै भएन। राष्ट्रिय स्वाधिनताको प्रश्नमा जोसँग विचार मिल्छ हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौं,' उनले भने, 'विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानु परेको हो।'

उनले राष्ट्रिय स्वाधीनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने धारणा राखे। विगतमा संसद विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले आफ्नो पार्टीले कांग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानु परेको नेता गुरूङले दोहोर्याए।
उता एमाले भने तत्काल वाम एकता र सहकार्यको सम्भावना नरहेको दाबी गर्दै आएको छ। सोमबारको सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले ज्ञवालीले यस्तो दाबी गरेका हन्। 'नेकपा एमाले मूलत: बलियो राष्ट्रिय शक्तिका रूपमा थप सुदृढ बनाउने अभियानमा छ। यसमा वामपन्थी र अरू दलहरू पनि एजेन्डाका रूपमा जोडिन सक्छन्। निर्वाचनअगाडि तत्काल एकता र सहकार्य हुने सम्भावना छैन,' उनको भनाइ छ।
अध्यक्ष ओली र माओवादीका श्रेष्ठबीच भेटको उल्लेख गर्दै समग्र राजनीतिक विषयमा छलफल भएको उनले बताए। 'हाम्रो विभिन्न दलहरूमाथि इस्युबेस्ड समर्थन र आलोचना हो। मुलुकका सामु देखिएका केही निश्चित मुद्दामा छलफल गरिरहेका छौँ। तत्काल वामपन्थी तालमेल र गठबन्धनको सम्भावना छैन,' उनले दोहोर्याए।

त्यस्तै एमालेले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको ज्ञवालीको भनाइ छ। यस्तै कांग्रेससँग बार्गेनिङका लागि वाम एकताका लागि विभिन्न हल्ला चलाइएको उनको भनाइ छ। 'हामीले कसैलाई प्रधानमन्त्री अफर गरेका छैनौँ। नेकपा एमाले अहिले कसैलाई प्रधानमन्त्री अफर गर्ने मूडमा छैन, अफर गर्न चाहँदैन आवश्यक ठान्दैन,' ज्ञवालीले थपे, 'यो नेपाली कांग्रेससँग बार्गेनिङ बढाउने कुरा मात्र हो। चुनावमा ५० प्रतिशत सिट दिने कि नदिने भनेर बार्गेनिङ बढाउने सुनियोजित प्रचारबाजी मात्रै हो। एमाले यस्ता धन्दामा छैन।'
000
वाम नेताहरूबीच बाक्लिएको भेटघाट र छलफललाई वर्तमान सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेसले कसरी हेरेको छ? कांग्रेसका नजरमा २०७४ सालमा माओवादीले दिएको धोकाको पुनरावृत्ति हुने सम्भावना कति छ?
कांग्रेस नेताहरु राजनीतिक दलका नेताहरुबीचको भेटघाट र छलफललाई सामान्य रुपमा लिनुपर्ने बताउँदै आएका छन्। उपसभापति धनराज गुरुङ नेपाली राजनीति सँधै तरल रहेकाले खेल खेल्ने प्रयास हुनुलाई आश्चर्य मान्न नुहने बताउँछन्। राजनीतिमा दौडधुप हुनु, छलफल हुनुलाई अनौठो मान्न नहुने उनको भनाइ छ। 'राजनीति दौडधुप हुन्छ। भेटघाट र छलफल हुन्छन्। वामगठबन्धनको बहस पनि चलिरहेको छन्। कहाँ के बनाउने भन्ने कुरा हरेक कोणबाट प्रयास हुन्छन्। यसलाई अनौठो र आश्चर्य मान्न हुँदैन,' उनी भन्छन्, 'मैले नेपाली राजनीतिमा तरलता देख्छु। यस्तोमा धेरै खेल खेलिँदै आएको हाम्रै आँखाले देखेका छौं। यस्ता खेलले राजनीतिक अस्थिरता बढाउँछन्। यो नेपाली राजनीतिको नकारात्मक पाटो हो।'

०७४ सालको वाम गठबन्धन, नेकपाको निर्माण र विभाजनसम्मका तथ्य केलाउँदा तत्काल वाम गठबन्धन बनिहाल्ने अवस्था नरहेको कांग्रेस नेताहरुको विश्लेषण छ। नेकपा कसरी विभाजन भयो र ओलीको प्रधानमन्त्रीत्व कालमा प्रतिनिधसभा विघटन र संविधान च्यात्ने प्रयासबारेका प्रश्न निराकरण नहुन्जेल वाम एकता भइहाल्छ भनेर विश्वास गर्ने अवस्था नरहेको ती नेताहरुको टिप्पणी छ।
'उहाँहरुले हिजो मिल्नुभएको हो भनेर आज पनि मिल्नुहुन्छ भन्ने पनि हुँदैन। अर्कोतर्फ हाम्रा बीचमा गठबन्धन छ र त्यो स्थायी हो भनेर पनि सोच्नु हुँदैन। राजनीतिमा केही पनि अस्वाभाविक हुँदैन। उहाँहरु मिल्ने कुरा उहाँहरुको चाहनाले हुने हो। विभाजित हुने कुरा अन्तरद्वन्द्वका कारणले हुने हो,' महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, 'हिजो उहाँहरु के कारणले विभाजित हुनुभएको थियो! तत्कालिक कारण अन्त्य भएको छैन। कारण अन्त्य नभईकन उहाँहरुले मिल्नुहुन्छ भन्ने लाग्दैन। तर, राजनीतिमा विपरीत दर्शन भएकाहरूबीच त गठबन्धन हुन्छ भने उहाँहरू कम्युनिस्ट विचारधारा मान्नेहरु हुनुहुन्छ। त्यसकारण के गर्ने नगर्ने भन्ने कुरा उहाँहरुको हो। हामी जहाँ छौं, त्यहाँ छँदैछौं।'
लोकतन्त्रिक परिपाटीलाई बलियो बनाउने कुरामा कांग्रेस अडिग रहेको उनको भनाइ छ। 'हामी लोकतान्त्रिक परिपाटीलाई बलियो बनाउने कुरामा अडिग छौं। तर ओली लोकतान्त्रिक परिपाटीलाई बलियो बनाउने कुरामा कस्ता छन् भन्ने कुराको भुक्तभोगी त प्रचण्ड कमरेड र माधव कमरेड हुनुहुन्छ,' शर्मा भन्छन्, 'पार्टीभित्रको द्वन्दका कारण संसद विघटन गरेको, संविधान च्यात्ने प्रयासस्वरुप अलोकतान्त्रिक गतिविधि गरेकोमा ओली कमरेडले आत्मलोचना गरेको अवस्था पनि होइन। संसदीय विघटनको निर्णय बदर गर्ने सर्वोच्चको परामादेश सही थियो भनेर उहाँले स्वीकारेको अवस्था होइन। त्यस कारण मूल कुराबाट पछि हटेको हो भन्ने हो पनि उहाँरुको कुरा हो।'

उनी भूराजनीतिको कुरा बहाना मात्र भएको टिप्पणी गर्छन्। 'भूराजनीतिको कुरा बहाना मात्र हो। भूराजनीतिको मनोवैज्ञानिक आवरण देखाएर बाम गठबन्धनको दिशामा उहाँहरू अग्रसर हुनुहुन्छ भने कांग्रेसको संस्थागत टिप्पणी अहिले हुने कुरा रहेन। तर हिजो जे कारणले विभाजन भएको हो त्यसको अन्य भइसकेको छैन। संसद विघटन गरेर संविधान डिरेल गर्न खोज्दा विभाजनमा जानुपरेको यथार्थ ताजै छ,' उनी भन्छन्, 'त्यसकारण परिदृश्य नफेरिइकन एकता वा गठबन्धन गर्नेकी नगर्ने भन्ने कुरा उहाँहरुकै हो। हामी सतर्क हुन र धोकाको भाग-२ नलेख्न आग्रह मात्र गर्न सक्छौं।'
भूराजनीतिमाथि छलफल आफैंमा निरर्थक रहेको बुझाइ कांग्रेसको छ। भूराजनीतिक चलखेल बढ्यो भनेर हाउगुजीको विषय बनाउनु पर्नेगरी केही नभएको प्रवक्ता डा. प्रकाशशरण महत बताउँछन्।
'भूराजनीतिक चलखेलको कुरा उहाँहरूले के नयाँ भएको छ र उठाउनुभएको हो कुन्नि! हिजोका दिनमा पनि मित्र राष्ट्रबाट नेपाल भ्रमण हुँदै आएको हो। अहिले सैनिक अधिकारीको भ्रमण पनि त्यसैको शिलशिला हो। प्रधानसेनापति अमेरिका जाने, प्रधानमन्त्री अमेरिका जाने विषय पनि सामान्य हो,' पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महत भन्छन्, 'हिजोका दिनमा पनि चीन, भारत, अमेरिकाबाट उच्चस्तरका भ्रमण हुन्थे। हाम्रा तर्फबाट पनि भएकै हुन्। यो नयाँ विषय होइन। त्यसकारण भूराजनीतिक चलखेल बढ्यो भनेर हाउगुजी बनाउनुपर्ने विषय केही पनि छैन।'

वाम गठबन्धनका सन्दर्भमा नेताहरुबीच छलफल चलेको भएपनि त्यसले अहिलेको गठबन्धनलाई असर गर्ने उनको भनाइ छ। 'जहाँसम्म कम्युनिस्ट पार्टीका नेताहरुबीच भेटघाट बढेको र बाम गठबन्धन बनाउने प्रयास गरेको भन्ने कुरा छ,' महत भन्छन्, 'चुनाव अघि नै ओलीजीले यो गठबन्धन रहँदैन भनेर बताउँदै आउनुभएको हो। व्यक्तिगत रुपमा उहाँहरुबीच छलफल चलिरहेको पनि होला। तर अहिलेको गठबन्धनमा समस्या आउँदैन।'
एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन अघि ज्योतिषीको हवला दिँदै असार १७ गते सत्ता गठबन्धनका लागि ठूलो खड्गो रहेको दाबी गर्दै आएका थिए। सत्ता गठबन्धन एमालेले चाहेका दिनसम्मका लागि मात्रै भएको उनले टिप्पणी गर्दै आएका थिए।